पोखरा उडान र खिन्न मन
मनको कुनामा अन्नपूर्णको रहस्य आफ्नै आँखाले प्रत्यक्ष देख्ने अभिलाषा छ । नामै कति रहस्यमय र अर्थपूर्ण लाग्छ– अन्नपूर्ण अर्थात् अन्नले पूर्ण, अन्नरूपी हिउँले भरिएको हिमाल– अन्नपूर्ण हिमाल ! नाम सुन्नेबित्तिकै मनमा सेताम्मे हिमाल, नीलो आकाश र त्यसको फेदीतिर पुग्ने एउटा अधैर्य यात्रा उभिन्छ ।
यात्रा प्रस्थानको मिति नजिकिँदै जाँदा मनमा अनेक कुरा खेल्छन् । बाटो र बासको सुविधा, पदयात्री, परिदृश्य र खानपानका कुराले सताउँछन् । मौसमले साथ देला कि नदेला ? बाटोमा गुराँस फुलेका जङ्गल कति भेटिएलान् ? पदयात्रीको हुल कति होला ? यात्रा सुरु हुनुअघि नै मन भने बाटोमा पुगिसकेको हुन्छ । कहिले पहाडको घुम्तीमा उभिन्छ, कहिले हिमालको फेदीमा पुगेर टाढासम्म फैलिएको सेतो शिर नियाल्छ ।
यात्राको तयारी केवल झोलामा सामान मिलाउनु मात्र होइन रहेछ; मनलाई पनि घरको परिचित घेराबाट निकालेर अपरिचित बाटोतिर पठाउनु रहेछ । त्यसैले प्रस्थानको दिन नजिकिँदै जाँदा उत्साहसँगै एउटा अनौठो बेचैनी पनि बढ्दै जान्छ । आफूले कल्पना गरेको अन्नपूर्ण र आँखाले देख्ने अन्नपूर्ण एउटै होला कि फरक ? बाटोले कस्तो स्वागत गर्ला ? प्रकृतिले कति नजिक आउन देली ?
घरबाट निस्किँदा बिहानको समय छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टाअघि नै पुग्नुपर्ने हुँदा म एकदमै हतारमा छु । चाहिने सामानको जोहो गर्न बिर्सिएला कि भनी सबै बन्दोबस्त मिलाउँछु । खासगरी लट्ठी, चस्मा, टोपी, मोबाइल र अन्नपूर्ण मार्गको टिपोट साथमा राख्छु । झोलामा सामान थपिँदै जान्छ, तर मनमा भने यात्राका दृश्यहरू थपिँदै जान्छन् ।
घरको दलान छाडेर बाहिर निस्कँदा यात्रा वास्तवमै बल्ल प्रारम्भ हुन्छ । पछाडि छुटिरहेको परिचित संसार र अगाडि खुलिरहेको अपरिचित बाटोबीच म आफूलाई उभिएको पाउँछु । यही क्षणमा यात्राको अर्थ अलिकति फेरिन्छ– गन्तव्यमा पुग्नु मात्र यात्रा होइन, आफूलाई परिचित परिवेशबाट केही समयका लागि अलग्याएर नयाँ भूगोल र नयाँ अनुभूतिसँग जोडिनु पनि यात्रा रहेछ । म क्रमशः यात्राका तरेलीहरूमा तैरिँदै जान थाल्छु ।
बिहानको समय सदुपयोग गर्दै पोखरामा भेटघाट र आराम गर्ने मेरो योजना छ । बुद्ध एयरबाट हिमाली दृश्य मज्जाले नियाल्ने धोको पनि छ । विमानको झ्याल मेरा लागि सानो पर्दाजस्तो वा आँखीझ्याल बन्छ, जसको सानो छेउबाट हिमाल र पहाडको दृश्य खुल्ने प्रतीक्षा गर्छु । तर दुर्भाग्य, मौसम सफा रहँदासम्म विमानले उड्ने सुरसारै गर्दैन ।
समयभन्दा एक घण्टा ढिलो गरी जब विमानले जमिन छाड्छ, त्यतिबेलासम्म मौसम बिग्रिसकेको हुन्छ । उडान ढिलो हुनुको झर्कोभन्दा हिमाल नदेखिने सम्भावनाले मनलाई बढी सताउँछ । चैतको याममा पनि मौसमले खुलेर आफूलाई देखाउन आनाकानी गर्दा प्रकृतिप्रेमी मेरो मन अलि खिन्न हुनु स्वाभाविकै हो । ‘मौका आउँछ, पर्खिंदैन’ भनेजस्तै आकाशबाट हिमाली सुन्दरता हेर्ने मेरो धोको अधुरै रहन्छ । मौका त आएको हो आकाशबाट बाहिर हेर्ने, तर देख्नुपर्ने दृश्य बादलभित्र लुक्न पुगेको छ ।
काठमाडौँमा छँदा मौसम सफा नै थियो, तर जब विमानले आकाशको गति समातेर पश्चिमतिर उड्न थाल्छ, हिमाली चुचुरालाई बादलले घ्वाप्लाक्कै छोपेर अदृश्य बनाइदिन्छ । अब आकाशबाट हिमाली दृश्य कहाँ देख्न पाउनु ! मात्र सेताम्मे बादलका थुप्रा देखिन्छन् ।
विमानको झ्यालबाट बाहिर हेर्दा बादलको सेतो विस्तार मात्र देखिन्छ । तलको धर्ती हराएको छ, माथिको आकाश पनि बादलले छोपेको छ । क्षणभरलाई लाग्छ, विमान कुनै भूगोलमाथि होइन, सेतो कुहिरोको अथाह समुद्रमाथि उडिरहेको छ ।
हावाले तिनलाई स्वात्त उडाएर लगिदिए हुन्थ्यो भन्ने लाग्छ अथवा कसैले सिनित्त सोहोरेर कतै थुपारिदिए हुन्थ्यो कि जस्तो पनि लाग्छ । हिमाल हेर्ने उत्सुक आँखालाई बादलले यति सजिलै निराश बनाइदेला भन्ने लागेको हुँदैन । तर प्रकृतिसँग आफ्नो चाहना पूरा गराउने कुनै करार हुँदैन । ऊ आफ्नै लयमा चल्छ, आफ्नै समयअनुसार खुल्छ र छोपिन्छ ।
मनमा प्रार्थना गर्छु– ‘हे प्रभु ! आजको दिन एकैछिनका लागि बादललाई कतै भुल्याइदेऊ । हिमाललाई छोप्नबाट जोगाइदेऊ । हिमाललाई छोपिरहेको बादल कतै पन्छाइदेऊ । त्यसको उज्यालो शिर एकपटक आँखाभरि देखाइदेऊ !’
मेरो प्रार्थनामा बालसुलभ आग्रह मिसिएको छ । हिमाललाई आकाशबाट हेरेर तृप्त हुने इच्छा जागेको छ । यात्रामा निस्किएको मानिस कहिलेकाहीँ प्रकृतिसँग यस्तै निजी सम्बन्ध गाँस्न खोज्दोरहेछ । आफूले चाहेको दृश्य आजै देख्न पाऊँ, आफूले सुनेको सौन्दर्य आजै आँखामा उतार्न पाऊँ भन्ने लोभ जाग्दोरहेछ ।
तर कस्तो नमज्जा ! पोखराको मौसम धमिलिएको मात्र छैन, आकाशको अनुहार नै अलमलिएको जस्तो देखिन्छ । पोखराबाट अलग्गै स्वरूपमा देख्न पाइने ‘माछापुच्छ्रे’ हिमालसमेत बादलको घुम्टोभित्र लुट्पुटिएको रहेछ । जसलाई देख्ने कल्पना गर्दै म यहाँसम्म आइपुगेको छु, त्यही हिमाल आँखाअगाडि भएर पनि आँखाबाट ओझेल परेको छ ।
माछापुच्छ्रेको नाम सुन्नेबित्तिकै मनमा उसको माछाको पुच्छरजस्तै शिरको आकृति आउँछ । पोखराबाट हेर्दा त्यो हिमाल अरू हिमालभन्दा अलि फरक आकृतिको, आकर्षक लाग्छ । तर आज ऊ पनि बादलको पर्दाभित्र हराइरहेको छ । प्रकृतिले कहिलेकाहीँ आफ्नो सबैभन्दा सुन्दर दृश्यलाई यति सजिलै लुकाइदिन्छे कि हेर्न आतुर आँखासँग प्रतीक्षाबाहेक अर्को विकल्प रहँदैन ।
अब मेरो मनमा अनेकौँ तर्कनाहरूको बाढी आउन थाल्छ । एउटा विचार आउँछ– भोलि मौसम खुल्ला कि ? अर्को विचार आउँछ– कतै यही मौसमले यात्राभरि साथ दिइरहने त होइन ? अनि अर्को मनले भन्छ– यात्रामा निस्किएपछि सबै कुरा आफूले चाहेजस्तो कहाँ हुन्छ र ! यात्रामा हिँड्नुसँगै धैर्य गर्न सक्नुपर्छ, पर्खिन सक्नुपर्छ । प्रतीक्षाको फल मीठो हुन्छ ।
यद्यपि मनभित्रै आँधीबेरी चल्न सुरु हुन्छ । मेघ गर्जन्छ । चट्याङ परेझैँ कानै खाने आवाज र आँखै मिर्मिराउने ज्योति चम्किन्छ । बाहिरको आकाश शान्तजस्तो देखिए पनि भित्रको आकाश भने स्थिर छैन, मन अशान्त छ । यो अशान्ति खराब मौसमले दिएको चुनौती हो । हिमाल नदेखिएको पीडा एउटा सानो कुराजस्तो लागे पनि यात्रामा निस्किएको मानिसका लागि त्यही सानो कुराले पनि मनको सन्तुलन हल्लाइदिँदोरहेछ; किनभने पदयात्राको मुख्य ध्येय नै आँखाकै सामुन्ने सफा सेतो हिमाल देख्ने हो ।
विमानबाट ओर्लिएर बाहिर निस्किँदासम्म मेरो मन हुन्डलिइरहेको हुन्छ । आँखा उत्तरतिर, हिमालतिर पटक–पटक पुग्छन् । तर अहँ, हिमाल कस्तो छ ? कता छ ? केही खोजखबरै गर्न सकिने अवस्था छैन । दृष्टिले जति खोजे पनि बादलको पर्दाभन्दा पर केही भेटिँदैन ।
विमानस्थलको फराकिलो परिसरमा मानिसहरू आ–आफ्ना गन्तव्यतिर लागिरहेका छन् । कसैका हातमा झोला छन्, कसैलाई आफन्त लिन आएका छन्, कसैका अनुहारमा यात्राको थकान छ । म भने अरूजस्तो कुनै हतारमा छैन । मेरो हतार त हिमाल हेर्नमा छ, जुन अहिले सम्भव भइरहेको छैन ।


