लघुकथा: विध्वंस
“होसियार ! होसियार !! इन्क्लाब जिन्दावाद ! इन्क्लाब जिन्दावाद !!”
राज्यसँग असन्तुष्ट पक्षले सडकमा नारा लगाए, जुलुस निकाले । उनीहरूले देशमा व्यवस्थित कार्यप्रणाली, सुशासन, पारदर्शिता, सुनिश्चित भविष्यको माग राखेका थिए । नेतृत्व गर्नेले पहिला माइकले भने, अरूले जिन्दावादले समर्थन जनाए भने असमर्थन मुर्दावादले गरेका थिए । उनीहरूले शान्त तवरले राज्य पक्षलाई दबाब दिन खोजेको प्रस्टै देखिन्थ्यो ।
अपरिचित अनुहार हुलमा मिसियो । सडक जाम भयो, बाटो अवरुद्ध गरे, गाडी छेउमा लामबद्ध लागे । ढुङ्गामुढा हुन थाल्यो । तोडफोड, आगजनी लगायत ठुलै जनधनको क्षति भयो । शान्तिपूर्ण जुलुस अचानक छारस्ट हुन पुग्यो । विध्वंसक गतिविधि बढ्यो, उग्र रूप लियो ।
नाइकेले सम्हाल्न सकेन, हिंसात्मक बन्यो, भागाभाग भयो, दौडधुप हुन थाल्यो, कसैले टेरेनन् । नाइके पछि हट्यो, उसलाई दबाब आयो र औंला ठड्याउँदै भनियो, “घटनाको पूर्ण जिम्मा तैले नै लिनुपर्छ ।” ऊ भयभीत भयो ।
सुरुको सङ्गठन बिलायो, कोही घर फर्के त कोही अँध्यारो मुख लगाएर बसेका थिए । तेस्रो पक्षको सक्रियता बढ्यो । को के भन्ने कसैले सुइँको पाएनन् । नाइकेलाई निल्नु न ओकल्नु भयो । घटनाको पूर्ण जिम्मेवारी उसले नै लिनुपर्ने देखियो ।
आफू ताक्छु मुडो बन्चरो ताक्छ घुँडो भनेझैँ भयो, नाइके शिथिल भयो, निराश देखियो । ऊ ठुस्स के बसेको थियो ? एकले कालो अनुहार लगाउँदै भन्यो, “मौकाको फाइदा लिने गिद्धे दृष्टि भएको चक्रव्यूहमा क्या नमज्जाले फसियो, यो विध्वंसको जिम्मा कस्ले लिन सक्छ हँ ?” ऊ मलिन भयो ।
गैँडाकोट ४, नवलपुर


