लघुकथा: यन्त्रको जालो
अँध्यारो कुनाबाट एउटा आकृति मुस्कुरायो । समीर झस्कियो, “तिमीलाई म यहाँ आउने कसरी थाहा भयो ?”
“मलाई तिम्रो पाइला होइन, तिम्रो रोजाइ थाहा छ,” आकृतिले भन्यो ।
समीरले जे सोच्थ्यो, उसले प्रश्न अगावै उत्तर दिन्थ्यो । समीरलाई लाग्यो— कसैले उसको दिमागको साँचो हातमा लिएको छ ।
“तिमी मेरो साथी हौ कि जासुस ?” समीरले कामेको स्वरमा सोध्यो ।
वरपरका रूखहरू सुसाए, तर समीरको मनमा भावना हराएर मेसिन चलेजस्तो भयो । अन्त्यमा उसले सोध्यो, “तिमीलाई मेरो आँसुको पीडा कसरी थाहा भयो ?”
आकृतिले एउटा चम्किलो ट्याब्लेट थमाइदिँदै भन्यो, “मैले तिम्रो मन चिनेको होइन बाबु, तिम्रो मोबाइलको ‘डाटा’ पढेको हुँ । तिमीले जे हेर्छौ, म त्यही बन्छु ।”
समीर ब्युँझियो । उसको हातमा मोबाइल थियो, तर मनमा डर, कतै प्रविधिको जालोले उसको मौलिकता त निल्दै छैन ?
उदयपुर


