लघुकथा: गन्जी
गन्जी फाटेछ । सोचेँ— ‘अब मिल्काउनु पर्छ ।’
नुहाउन लाग्दा सबै मैला कपडा एकै ठाउँमा थुपार्ने बानी । गन्जी त्यसमा पर्ने नै भयो । अनि धोइएछ । धोएको कपडा कसैले मिल्काउँछ ? मैलो पो मिल्काउने त ! सोचेँ— ‘एकपटक लगाउँछु; अनि मिल्काउने ।’
फेरफार गर्दा फेरि हेरेँ । लाग्यो— ‘अब चैं मिल्काउने नै…’
यसपटक गन्जी अलिक छुट्टै पनि राखेँ । तर वासिङ् मेसिनमा कपडा हाल्दा वरपरका सबै समेटिएछ; त्यसमा त्यो पनि परेछ: फेरि धोइएछ । छतमा कपडा उठाउँदा देखिहालेँ । धोइएको कपडा नलगाई मिल्काउन मिल्छ ?
फेरि खोल्दा भनेँ पनि— “मलाई अब नयाँ गन्जी चाहियो; ई…, यो त फाटेछ ।”
अनि सोचेँ— ‘यति भनेपछि त जहाँ राखे पनि अब यो मिल्काउने वर्गमै पर्छ ।’ तर त्यस्तो भएनछ । गन्जी फेरि धोइएछ ।
एक मनले भन्यो— ‘नलगाऊँ क्यार ।’ अर्को मनले भन्यो— ‘लास्ट चान्स लगा ।’ पछिल्लो मनले जित्यो ।
तपाईँलाई के लाग्छ— ‘के म यो गन्जी अन्तिम पटक लगाउँदै छु ?’
म चैं उसै भन्न सक्दिनँ: अन्तिम पनि हुनसक्छ ।
बोझेपोखरी, ललितपुर


