लघुकथा: फूलको अस्तित्व
बगैँचामा आफूसँगै बसेका प्रेमी सुवासलाई नजिकै ढकमक्क फक्रिएको गुलाफतिर एकोहोरिएको देखेर चमेलीले मुस्कुराउँदै सोधिन्—
“तिमीलाई फूल साह्रै मन पर्छ, होइन ?”
“हो, मलाई फूल असाध्यै मन पर्छ ।”
“सायद ! फूल मन पर्ने भएर नै तिमी मलाई ‘फूल’ भनेर बोलाउँछौ, हो ?”
“हो त ! फेरि तिम्रो त नामै पनि चमेली, जो आफैँमा एउटा सुन्दर फूल हो क्यारे !” सुवासले हल्का फुर्क्याउँदै भन्यो ।
चमेली मुसुक्क मुस्कुराइन् ।
केही बेरपछि त्यहाँबाट उठेर जाँदै गर्दा सुवासले त्यो गुलाफलाई चुँड्न हात अगाडि बढायो । त्यो देखेर चमेलीले तुरुन्तै उसलाई रोक्दै भनिन्— “फूल मन पराउने मान्छेले यसरी उसको अस्तित्व नै मेट्नु त भएन नि सुवास !”
सुवास मौन थियो । चमेलीको मनमा भने एउटा गहिरो प्रश्न गुन्जिरहेको थियो— “कतै मेरो अस्तित्व पनि… यसरी नै… !?”
सल्यान, कर्णाली प्रदेश


