कथा: अनन्तपुर एक्सप्रेस
के तपाईँ अहिलेसम्म पनि डेटिङ जानुभएको छैन ?
यदि छैन भने आउनुहोस् ।
यो इलाका अनन्तपुर गाउँपालिका वडा नं. ३ मा पर्दछ ।
विस्तृत जानकारीका लागि सम्पर्क गर्नुहोस्: हिलारियस रिसोर्ट एन्ड डेटिङ स्पट प्रा. लि. । अग्रिम बुकिङ गर्नेलाई एक बोतल अफ्रिकी वाइन र एउटा डेटिङ स्टाफ सित्तैमा ।
यो विज्ञापनले मेरो वयस्क मनमा समेत बेचैनी पैदा गरिदियो । हत्तपत्त फोन डायल गरेँ ।
“हेलो… हिलारियस रिसोर्ट ?”
“हेलो हजुर… हाउ क्यान आई हेल्प यू सर ?”
“मैले विज्ञापन सुनेको थिएँ । त्यही भएर…”
“हजुर, केका बारेमा जान्न चाहनुहुन्छ सर ?”
“खासमा यो लेख्ने डेटिङ भनेको के हो, मलाई बुझाइदिनुहुन्छ ?”
“यो नबोली लेखेर मात्र गरिने डेटिङ हो सर । प्रत्येक टेबलमा एक बोतल वाइन, खाली पाना र कलमहरू उपलब्ध हुन्छन् । तपाईँको इच्छाअनुसारको पार्टनरसँग डेट जान सक्नुहुन्छ, तर बोल्न पाइँदैन ।”
“हस्, धन्यवाद । अनि कति खर्च लाग्छ, दररेट के-कस्तो होला ?”
“मेनु चाहिँ यहाँ आएर मात्र हेर्न पाइन्छ सर । किनभने यो एभ्रीडे अपडेट हुन्छ । त्यस्तो महँगो चाहिँ पर्दैन । हामी मुनाफाभन्दा सेवामा रमाउँछौँ सर । ढुक्क हुनुभए हुन्छ । थप जानकारीका लागि हाम्रो डेटिङ एप डाउनलोड पनि गर्न सकिन्छ सर ।”
“हस्, धन्यवाद ।”
“हस्, धन्यवाद सर । चाँडै भेटौँला ।”
“हस्… हस्…”
यात्रा गर्ने मेरो सौख होइन, आवश्यकता हो । नयाँ-नयाँ ठाउँको हावापानी, संस्कृति र खानपानको स्वाद लिनु, मान्छेको कुरा बुझ्नु अनि आफ्नो सोचाइलाई फराकिलो पार्दै जानु— यी मेरा आवश्यकता हुन् । हाहा-हुहु गर्दै नौलो ठाउँ डुल्न निस्कनु र दुई-चारवटा फोटो फेसबुकमा पोस्ट्याउँदैमा यात्राको सार भेटिन्न । त्यो आफ्नो उमेरको बर्बादी मात्र हो जस्तो लाग्छ । सबैजना मजस्तै आवश्यकता परिपूर्तिका लागि घुम्न निस्कून्, म यो पनि चाहन्नँ ।
कीर्तिपुरको डेराको बास छोडेर म अनन्तपुरको रिसोर्टतर्फ हान्निने निधो गरेँ । कसैलाई भनेर वा जानकारी गराएर यात्रामा निस्कने मेरो बानी होइन । घुम्न गएँ भनेर पछि फेसबुकमा पोस्ट्याउने मन पनि कहिल्यै हुँदैन । केही कुरा अनौठो, जीवनप्रद अथवा भित्रैबाट छुन सक्यो भने डायरीमा नोट गरेर फर्कने गर्छु । यात्राका क्रममा आममान्छेका साना ठानिएका कुराका पछाडि कति ठूलो दर्शन भेटिन्छ । कतिपय यात्रामा भने यातायात व्यवसायी र होटेलका साहुजीलाई शुभलाभ मात्र हुन्छ ।
यिनै कुराहरू मनमा खेलाउँदै झोला प्याक गरेँ । के नै चाहियो र, जम्मा दुई जोड कपडा, १ बोतल पानी, ब्रस, चार्जर, डायरी र एउटा पुस्तक । दिउँसो १ बजेतिर ब्यागप्याकसहित अनन्तपुरको यात्रामा निस्किएँ ।
यात्राको बीच-बीचमा मैले बाटोमा भेटिएका मान्छेलाई अनन्तपुरका बारेमा सोधेँ, तर कसैले पनि सोचेजति सूचना दिएनन् अथवा दिन सकेनन् । विज्ञापनले झुक्याउने नै त होला नि भन्ने सोच मनमा धेरै पटक आयो । तर बाटो लागिसकेको मान्छे कुनै एउटा गन्तव्य नपुगी त कसरी हुन्छ र ! यही मनोभावले उत्प्रेरित भई म हिँडिरहेँ, एक्लै चुपचाप, चुपचाप । दुई दिनको बस यात्रा र तीन दिनको कठिन पैदल यात्रापछि म अनन्तपुर पुगेँ ।
अनन्तपुर वास्तवमा अनकन्टार ठाउँमै रहेछ । यहाँका मानिसहरूको अन्य नेपाली समुदायसँग त्यति सम्बन्ध नै नहुने रहेछ । बरु उपल्लो तिब्बततिरकासँग भने बेला-मौकामा आउजाउ भइरहने रहेछ । नेपालको नागरिकता मात्र बोक्ने अनन्तपुरवासीहरूको मन, धन र कर्म सबै तिब्बतसँग जोडिने रहेछ ।
अग्ला हिमाल वरिपरि र बीचको खुला ठाउँमा सम्भाला नै प्रतीत हुने भू-सौन्दर्यको उपल्लो प्राकृतिक चेत थियो । हिमालमुनि हरियो जङ्गल, जङ्गलभित्र देखिने स-साना मोहक झरनाहरू । जङ्गलको पल्लो छेउमा चुपचाप सेतो निर्मल जल लिएर बगिरहेको मन्नत खोला । यसरी खोला पनि चुपचाप बग्न सक्दो रहेछ । हुन सक्छ, खस्ने र खसाउने ठाउँहरू यहाँ छैनन् । एउटै जे छ, त्यो चुपचाप छ, शान्त छ । खुला चौरमा पहेँला र कलेजी भुइँफूलहरूले हरियो गलैँचामा बुट्टेदार पृष्ठभूमि तयार पारेका थिए । नागबेली लहरा र अन्य बुट्यान टेक्दै अगाडि बढ्नुपर्थ्यो, यसरी हिँड्दा खुट्टालाई बडो आनन्द, बडो मलमल अनुभव भएको थियो ।
जङ्गल सुरु हुनुअघि एउटा अजङ्गको दक्षिण फर्केको ढुङ्गा थियो । ढुङ्गा यति विशाल थियो कि रिसोर्टको डेटिङ स्पट र डिलक्स रुमहरूको सबै संरचना त्यही ढुङ्गामाथि ठडिएका थिए । दुवैतिर भयङ्कर ड्रागनले मुख बाइरहेको गेटको अघिल्तिर हातमा सेतो गुलाफ लिएर एक युवती उभिरहेकी थिइन् ।
“आइपुग्नुभयो, निवाँ जी !”
“हजुर…” म एकछिन अवाक भएँ । यिनले मेरो नाम कसरी थाहा पाइन् ?
“ल, हजुरलाई हिलारियस रिसोर्ट एन्ड डेटिङ स्पटमा भव्य स्वागत छ ।”
“धन्यवाद ।”
त्यसपछि रिसेप्सनमा केहीबेर बसेँ । त्यहाँ पाहुनाको फोटो लिने चलन रहेछ । झोलासँगै उभिदिएँ । एकजना कालो वर्णको केटोले पाटो मिलाई-मिलाई केही फोटाहरू खिच्यो ।
“सर… चिया, कफी के लिनुहुन्छ ?”
“चिया खाऊँ न त…” (मनमा कफी भए पनि मैले चिया नै भनिदिएँ) ।
“कुन खाऊँ सर ? ग्रिन टी, ह्वाइट टी, गोल्डेन टी, यार्चा टी, रोज टी… कि तुलसी टी ?”
“रोज टी खाऊँ न त…” (मनमा यार्चा टी भए पनि मैले रोज टी भनिदिएँ) ।
रिसेप्सनको भित्तामा टाँगिएको बडेमानको सेतो कमलको फूलमा बुद्धको ध्यानस्थ पेन्टिङ बडो शालीन र शानदार थियो । एकैछिनमा चिया आइपुग्यो । मगमग गुलाफको बास्ना आयो । युवतीतिर फर्केँ । मुस्कुराउँदै तिनले एउटा साँचो थम्याइन् ।
“रुम नं. ५0४ सर… बसेरै खानु न सर चिया ।”
“हुन्छ, हुन्छ… धन्यवाद ।” (अहिलेसम्म उभिरहेको म, झोला समेत नराखेको देखेर युवतीले भनिन्) ।
“प्लिज बी कम्फर्टेबल सर…”
“थ्याङ्क यू ।” म झोला बोकेरै बसेँ । युवती मरी-मरी हाँसिन् । ‘अहिले रुममा गइहाल्नुपर्छ’ भनेर खासमा मैले झोला राख्न नचाहेको थिएँ । युवतीले रुमबोयलाई बोलाइन् । उताबाट कसैको आवाज आएन । त्यसपछि मेरो झोला आफैँले बोकिदिँदै भनिन्:
“टाढाबाट आउनुभएको छ । थाक्नुभएको होला । आउनुहोस्, म रुम देखाइदिन्छु ।”
यति मिठो आतिथ्यलाई मैले नस्वीकार्ने कुरा भएन । हामी रिसोर्टको लिफ्टतिर लाग्यौँ । भर्खरै पो बत्ती गएछ । हामी सिँढीबाट नै रुम नं. ५०४ तर्फ उक्लियौँ ।
“फिफ्थ फ्लोर मात्र हो सर… तपाईँ केयू पढाउनुहुन्छ है सर ?”
“हजुर…” (म फेरि झस्किएँ, यो सब यिनलाई कसरी थाहा भयो ?) युवतीको अनुहारतर्फ हेर्दै सोधेँ:
“तपाईँले केयू पढ्नुभएको हो ?”
“हजुर हो नि, स्कुल अफ म्यानेजमेन्ट, २०१७ को ब्याच ।”
“ओहो… खुसी लाग्यो । म तो स्कुल अफ आर्ट्सतिर हो ।”
“थाहा छ सर… हजुरले लाइफ आर्ट पढाउनुहुन्थ्यो । केयूले जम्मै कुरा सिकायो तर लाइफ म्यानेजमेन्ट चाहिँ पढाएन सर ।”
“हो र ? लाइफ म्यानेजमेन्ट त गर्ने होला नि, पढ्ने होइन होला ।”
“हुन त हो सर… तर म स्कुल अफ म्यानेजमेन्टको विद्यार्थी हुँ । सबै कुरा म्यानेज गर्न सकिन्छ जस्तो लागिहाल्छ नि ।”
“त्यसो त मैले पनि लाइफ आर्ट पढाउन सकेको छैन ।”
“ल सर, हजुरको रुम आइपुग्यो । फेरि पनि यहाँलाई स्वागत छ । केही परे रिसेप्सनको नं. मा कल गर्नुहोला ।”
“हस्… धन्यवाद । अनि तपाईँ यति टाढा पनि जब गर्न आउनुभएको ?”
“होइन सर… मेरो घर नै यतै हो ।”
“तपाईँको नाम ?”
“तिर्सना… तिर्सना शर्मा ।”
“म निवाँ… निवाँहाङ ।”
“थाहा छ सर… हजुरको नाम निवाँहाङ याम्फु हो । घर सङ्खुवासभा, मकालु गाउँपालिका वडा नं. ३ मा पर्छ । हजुरको मोबाइल नं. ९८४१…”
“इन्ट्रेस्टिङ… तपाईँलाई कसरी थाहा भयो ?”
“हजुरले बुकिङ फर्ममा डिटेल खुलाउनुभएको थिएन र सर ?”
“ओहो… इम्प्रेसिभ ।”
“ओके सर, ह्याभ अ नाइस टाइम । केही परेमा अवश्य भन्नुहोला । म नै तपाईँको सेवामा हाजिर छु है !”
“ओके मिस तिर्सना… धन्यवाद ।”
मिस तिर्सना गएको हेरिरहेँ । उनले फर्केर हेर्लिन् कि जस्तो लागेर आयो । आखिर रिसोर्ट नै डेटिङ स्पट भएपछि यति आशा जाग्नु के नौलो कुरा भयो र ! म सरासर कोठा नं. ५०४ मा छिरेँ । झोला फालेँ । जुत्ता नखोली बेडमा ढङ्ग्रङ्गै पल्टिएँ । ओहो, कति आरामदायी ! कति शान्त ठाउँ ! मन मानेन । जुरुक्क उठेर उत्तरतर्फको झ्याल खोलेँ । पारिपट्टि सेताम्मे हिमाल । हिमालमुनि जङ्गल, झरनाहरू । चुपचाप बगिरहेको मन्नत खोला । बेलाबेला स-साना चराहरूको फ्याट्टफुट्ट आवाज । बडो अद्भुत, मनोरम ठाउँ ! मलाई त सम्भाला यहीँ हो जस्तो लाग्यो ।
एउटा टेबलमा एस्ट्रे थियो । भित्ताको सोकेसमा थरीथरीका रक्सी, चुरोट र लाइटरहरू थिए । मैले चुरोट त छाडिसकेको थिएँ । बेलाबेला सर्ट प्याक रक्सी खान्थेँ । त्यो पनि वर्षमा एक-दो पटक । एकपटक रक्सी खाएपछि फेरि कहिले खान्छु, मलाई थाहा हुँदैनठ्यो । रक्सी खानका लागि कि त म अत्यन्तै दुःखी हुनुपर्थ्यो कि अत्यन्तै खुसी । तर म न कहिल्यै अत्यन्तै दुःखी नै भएँ, न कहिल्यै अत्यन्तै खुसी नै ! जीवन उपल्लो उत्कर्षमा होइन, जीवन मध्यममा छ, विस्तारै चल्छ भन्ने सिद्धान्त मैले बाल्यकालदेखि नै अपनाएको रहेछु । कहिलेकाहीँ अत्यन्तै खुसी भएर हाँस्दा पनि आमा भन्नुहुन्थ्यो, “धेरै नहाँस है ! देउताले देखेर… ए ! यसलाई दुःख पुगेनछ भन्छन् ।” त्यसपछि म हत्तपत्त दुःखी भएको अभिनय गर्थेँ । आमा चाहिँ हाँस्नुहुन्थ्यो । यसरी बाल्यकालदेखि नै मध्यमार्गी भएको मैले पछि बल्ल बुजेँ — मध्यमार्गी हुनु भनेको त बुद्धमार्गी पो हुनु रहेछ । जे होस्… आज चाहिँ चुरोट तान्न मन लाग्यो । पहिले कञ्चनजङ्घा धूप बालेँ । सोकेसमा भएको एउटा विदेशी ब्रान्डको चुरोट सल्काएँ ।
टेबलको मेनु पढ्न थालेँ । झन्डै १०० पेजको मेनु मेरो जीवनकै पहिलो थियो । मेनुको पहिलो पेजमा लेखिएको थियो:
मायाको अभावमा धेरै मानिसहरू गम्भीर मानसिक रोगी हुन्छन् ।
जाबो… लठारिन पाइनँ भनेर कात्तिके कुकुरजस्तो रुँदै नहिँड्नु, जीवन भोग मात्र पनि होइन ।
लेख्दै मेट्दै गर्ने राइटिङ डेटमा जानुअघि ह्यान्डराइटिङ सुधार्नु ।
यहाँका स्टाफहरूलाई आँखा नलगाउनु, तर डेटमा लैजान पाइन्छ ।
मेनुको अन्तिम लाइनले मलाई ठूलै राहत दियो । मैले हत्तपत्त रिसेप्सनको नम्बर डायल गरेँ ।
“हेलो रिसेप्सन !”
“हजुर भन्नुहोस्… हाउ क्यान वी हेल्प यू सर ?”
“म एक्लै आएको मान्छे, कोसँग डेटमा जाने होला ?”
“तपाईँ के-सँग डेटमा जान चाहनुहुन्छ ?”
“के-सँग मतलब ? पार्टनरसँग जाने होइन र डेटिङ ?”
“आई एम सरी सर… यो थिममा आधारित डेटिङ हो । यहाँ थिमलाई प्रायोरिटी दिइन्छ, मान्छे गौण हुन्छ । तपाईँ को-सँग डेट जानुभयो भन्दा पनि के-सँग जानुभयो भन्ने आधारमा हाम्रो प्राइसिङ हुन्छ सर ।”
“ओहो… हाउ नाइस !” सरप्राइज भएँ (मन चाहिँ खिन्न हुँदै थियो) ।
“त्यसैले डेटिङका क्रममा मान्छेमा भन्दा तपाईँ थिममा फोकस हुनुपर्छ । मान्छेमा फोकस हुनुभयो भने हाम्रो अटोमेटिक सेक्युरिटी अलर्ट हुन्छ । तपाईँको डेट क्यान्सिल हुन्छ र हामी स्टाफलाई तुरुन्तै कारबाही गर्छौँ ।”
“अनि पार्टनरको मेनु चाहिँ कता होला ?”
“पार्टनर होइन सर… थिमको मेनु भन्नु राह्रो हुन्छ । अम… पेज नं. ६९ हेर्नुहोस् न ।”
मेनुको पेज नं. ६९ यस्तो थियो:
प्रेम: १० डलर
धोका: २० डलर
विवाह: ३० डलर
डिभोर्स: ४० डलर
एकमुष्ट प्याकेज बुकिङ गर्नेलाई २५ प्रतिशत छुट ।
अब मलाई प्रशस्त दुविधा भयो । प्रेमको मूल्य नै हुँदैन भन्ने मान्छे म, आज १० डलरमा प्रेम बिक्रीमा छ । मैले अर्को चुरोट सल्काएँ र झ्यालबाहिर हेरेँ । रिसोर्टको पल्लो बगैँचामा एक जोडी रातो छातामुनिको सेतो रङ्गको टेबलमा मस्त केही लेखिरहेका थिए । टेबलमा सेतो फूलदानीमा रातो गुलाफ राखिएको थियो । मैले जीवनमै पहिलो पल्ट लेख्ने डेटिङ चलेको देखेँ । अब मेरो मन पनि काबुमा रहेन । डेटिङ जाने हुटहुटी फेरि चल्यो र फेरि रिसेप्सनमा फोन गरेँ ।
“हेलो…”
“हजुर भन्नुहोस् सर…”
“मलाई अहिलेलाई प्रेमसँग डेट गराइदिनुहुन्छ ?”
“एकछिन है सर… को खाली छ, म बुझ्छु । अनि कल गर्छु है सर ।”
“हस्, हस्, हुन्छ ।”
(मनमा अधीरता बढेको महसूस हुन्छ, ‘खाली छैन कि कुनै प्रेम ?’ प्रश्न आफैँ आउँछ) फोन बजिहाल्छ ।
“हेलो सर… प्रेमहरू त सबै इन्गेज रहेछन् । एकजनालाई जसोतसो म्यानेज गरेका छौँ, तर अलि एक्सपर्ट भएकाले मूल्य अलि-अलि बढी छ सर । के गर्नुहुन्छ ?”
“अँ… हुन्छ, नो प्रब्लम । तर प्रोफेसनल नै हो नि ?”
“स्कुल अफ म्यानेजमेन्टको प्रोडक्ट हो सर । तपाईँले धेरै नै सिक्नुहुन्छ ।”
“मिस तिर्सना ?”
“हजुर, एक्ज्याक्ट्ली सर… खासमा उहाँले ओभरल म्यानेजमेन्ट हेर्नुहुन्छ । यो डेटिङ स्पटको कन्सेप्ट नै उहाँको भएकाले अलि कस्ट लिनुहुन्छ । उहाँले नै सबै स्टाफहरूलाई ओरिएन्ट गर्ने हो सर । डाउट नगर्नुहोस् न ।”
“होइन, डाउट होइन । म झन् खुसी छु । के यहीँ रुममा लेख्ने हो हामीले ?”
“नो सर… तल ग्राउन्ड फ्लोरको स्विमिङ पुलसाइडको टेबल नं. १०५ मा बस्दै गर्नुहोस् । हजुरको अर्डर त्यहीँ आउँछ है सर ।”
“हस्, धन्यवाद । कुनै ड्रेस कोड छ कि ? के लगाएर जाने होला डेटिङ ?”
“त्यस्तो स्पेसल ड्रेसकोड छैन सर । जस्ट हाफपेन्ट र गन्जीमा चाहिँ नजानुहोला । कुनै ड्रेसको खाँचो पर्यो भने त्यहीँ भित्ताको दराजमा पाइन्छ, एकदम नोमिनल रेटमा ।”
“मतलब भाडामा ?”
“हजुर सर…”
“भाडाको लुगामा प्रेम भेट्न नजाऊँ होला ।”
“भेरी गुड सर… हजुरले ख्यालठट्टा, हँसीमजाक गर्दा पनि मर्यादामा रहेर गर्नुहोला । नत्र बिचमै हजुरको डेटिङ क्यान्सिल हुन सक्छ है !”
“ओके, धन्यवाद । म जाऊँ त अब ?”
“हुन्छ सर… ह्याभ अ नाइस टाइम ।”
फोनको रिसिभर थन्काएँ । सेतो पाइजामा लगाएँ । रातो टिसर्ट लगाएँ । अब दुनियाँमा कहीँ पनि नभएको अनुभव गर्न तयार भएँ । यसपालि पनि मैले लिफ्ट प्रयोग गरिनँ । कारण रिसोर्टलाई अझ ध्यानपूर्वक हेर्नु नै थियो । भर्याङका भित्ताहरूमा ओशो, बुद्ध र हिमालका पेन्टिङ बडो कलात्मक ढाँचामा सजाइएका थिए । भर्याङको बीच-बिचमा प्रशस्त इन्डोर प्लान्टहरू राखिएका थिए ।
मन्द गतिमा चलेको हावासँगै म टेबल नं. १०५ मा पुगेँ । रातो छातामुनि सेतो रङ्गको आरामदायी कुर्सी राखिएका थिए । टेबललाई सेतो पृष्ठभूमिमा रातो हर्टसेप भएको टेबलपोसले छोपिएको थियो । टेबलको बिचमा एउटा फुल बोतल वाइन र दुईवटा ग्लास थिए । एउटा एस्ट्रे र केही खुल्ला चुरोटहरू थिए ।
कुर्सीमा बसेर मैले पूर्वतिर हेरेँ । एउटा अग्लो डाँडाले मलाई नै हेरिरहेको भान भयो । यसको टुप्पोमा पुग्न कति समय लाग्ला ? सोच्दै थिएँ ।
“एक दिनको बाटो हो सर । पुगेर फर्किन सकिन्छ ।”
म आवाज आएतर्फ फर्केँ । सेतो सर्ट र रातो स्कर्टमा सजिएकी एक युवती मुस्कुराउँदै आइन् । उनले हातमा स्केज पेपर र रातो पेन बोकेकी थिइन् ।
मैले सोधेँ: “मेरो मनको प्रश्नको जवाफ कसरी दिनुभयो ?”
“मानिसहरू यहाँ बसेर त्यही डाँडाका बारेमा नै सोच्ने गर्छन् । मेरो अहिलेसम्मको अनुभवले अनुमान लगाएकी हुँ ।”
“के डाँडा हो त्यो ? कुनै नाम छ ?”
“प्रेमभरा डाँडा हो । त्यहाँ पुगेर फर्किनेहरूको जीवन सधैँ प्रेमले भरिपूर्ण हुन्छ । यो रिसोर्टको परिकल्पनामा त्यो डाँडाको विशेष भूमिका छ ।”
“तपाईँ जानुभएको छ ?”
“धेरै पटक… ।”
“त्यसो भए तपाईँलाई प्रेमको कुनै कमी छैन होला है ?”
“अँ, त्यस्तै भनौँ ।”
“ओहो… बस्नुहोस् न प्लिज ।”
“होइन, म तपाईँलाई यस टेबलमा स्वागत गर्न र तपाईँको अर्डर रिसेड्युल गर्न आएकी हुँ ।”
“तपाईँ मेरो अर्डर होइन उसो भए ?”
“अघि के-सँग कुरा भएको थियो ?”
“प्रेमसँग… ।”
“ए… म त धोका हुँ । तपाईँलाई प्रेमको खबर भन्न आएकी ।”
“तपाईँको नाम ?”
“भन्न मिल्दैन सर… तपाईँको अर्डर विशेष कारणवश डिले भयो । हामी सम्पूर्ण रिसोर्टका तर्फबाट माफी चाहन्छौँ । तपाईँको अर्डर अलिकति रिसेड्युल गर्नुपर्ने भयो ।”
“अनि मेरो तयारी, यो यो टेबल… अनि अन्तिममा आएर क्यान्सिल गर्न पाइन्छ ?” (रिसाउँदै भनेँ)
“वी आर भेरी सरी सर । खासमा अलिकति धोकाजस्तो भयो, त्यही भएर नै म आएकी । म धोकाको रोल मोडेल हुँ । जिन्दगीमा यति धोका पाएँ कि यो अहिलेको धोका वास्तवमा तपाईँ रिसाउनुपर्ने स्तरकै छैन । वी जस्ट वान्ट टु रिसेड्युल योर डेट सर ।”
“ओके ह्वाटएभर… अब एक्लै डेटमा जाने कुरा पनि त भएन । धन्यवाद !”
“OK सर… थ्याङ्क यू सो मच, हाम्रो बाध्यता बुझिदिनुभएकोमा । बाई द वे, यू क्यान राइट एनी कम्प्लेन अर कमेन्ट अन इट ।”
“अनि अब मेरो डेट कहिले कन्फर्म हुन्छ ?”
“हामी खबर गर्छौँ सर । तपाईँलाई कल आउँछ ।”
“हस्, धन्यवाद ।”
“थ्याङ्क यू सर ।”
हातमा स्केज पेपर र एउटा रातो पेन थमाएर वेटर हिँडिन् । मलाई अहिले त्यति झ्वाँक चलेन । अलि-अलि तडप, अलि जलन नभई डेटिङ जानुको मजा पनि त छैन । अलि गुणस्तरीय डेटिङमा धैर्य पनि चाहिन्छ । अब जति समय लागोस्, जति दिन लागोस् । मैले यतै बस्ने सोच बनाएँ । यति टाढा आ चुकेपछि फेरि नफर्कने गरी रमण करना, स्मृतिहरू सँगाल्न उपयुक्त होला । कुर्सीमा बसेर एक्लै त्यो पूर्ववत् प्रेमभरा डाँडा हेरिरहेँ । मलाई यो रिसोर्ट त्यही प्रेमभरा डाँडाको आडमा थापेको पसलजस्तो लाग्यो । मैले स्केज पेपरमा त्यही प्रेमभरा डाँडाको चित्र कोर्न थालेँ । तर चित्र पनि धोकेबाज भएर निस्कियो, त्यति गतिलो भएन । फाइन आर्टलाई जीवनसँग जोडेर लाइफ आर्ट पढाउन थालेको बाह्र वर्ष भयो । आजको जस्तो बिग्रेको चित्र मैले देखेको थिइनँ । म आफ्नै चित्र देखेर झस्केँ र झस्किँदै म कोठामा फर्किएँ ।
रिसोर्टको उत्तरी भवनमा ध्यान हल छ । ध्यान हल बाहिर खुला हरियो चौरको बिचमा पोखरी छ । पोखरीको बीचमा एउटा सेतो जलपरीको मूर्ति छ । जलपरीले बोकेको गाग्रोबाट पोखरीमा पानी खन्याइरहेको देखिन्छ । पोखरीमा रङ्गीबिरङ्गी माछाहरू छन् । पोखरीमा प्रशस्त कमलका फूलहरू छन् । वरपर स-साना पोथ्रे धुपीहरू सजाइएका छन् । धुपीको बोटमा सानो-सानो स्पिकर अड्याइएको छ, जहाँबाट मधुर मन्त्रोच्चारण गरेको सुनिन्छ ।
म ध्यान गर्ने मान्छे होइन । तर यहाँ आएदेखि दिनदिनै ध्यानमा लत लाग्दै गएको छ । ध्यानतिर लागेपछि ममा डेटिङले त्यति कौतूहल सिर्जना गरेको छैन । आज झन्डै सात दिन भइसक्यो, उनीहरूले खबर पनि गरेका छैनन् र मैले सोध्ने कष्ट पनि गरेको छैन । सारमा, मेरो रिसेड्युल भएको डेटिङको खबर अझै आएको छैन । तर अब ढुक्क छु, खबर चाँडै नै आउनेछ । रिसोर्टले वास्तविक डेटिङको अनुभव दिनलाई यस्तो गरेको पनि हुन सक्छ । अथवा त्यस्तो केही पर्न पनि सक्छ । डेटिङ भनेर निस्किसकेपछि अलि-अलि समय छुटाएर हिँड्नुको फायदा पहिलोपल्ट महसूस भयो । फोनको रिसिभरतर्फ बेलाबेला ध्यान दिइरहेको हुन्छु । कीर्तिपुर छँदा सुरु गरेको ओशोको ‘सम्भोग से समाधि’ अझै पढिसकेको छैन ।
टिरिङ… टिरिङ…
फोनको घण्टी बज्यो । उत्साहित हुँदै उठाएँ । परिचित स्वरमा आवाज आयो:
“आर यू रेडी टु डेट, सर ?”
“कहिलेका लागि ?”
“आजको साँझ…”
“हुन्छ, समस्या छैन, तर मेरो ध्यानको समयअघि गरौँ है !”
“नो प्रब्लम सर, एज योर विस ।”
“धन्यवाद, सूचनाका लागि ।”
“ओके सर, सी यू अन डेट ।”
“हस्, धन्यवाद ।”
आज बल्ल डेटिङ जाने दिन आयो । तर म जति उत्साहित हुनुपर्ने हो, त्यति भइनँ । त्यो इच्छाशक्ति दिनदिनै कम हुँदै गएको थियो । मेरो अधिकांश समय कि ध्यान कि अध्ययनमा बितेको थियो । यस्तो आध्यात्मिक ठाउँ र अभ्यासले गर्दा वासनात्मक प्रेमको अस्तित्व हराउँदै जाने हो कि त ? यस्तै अनुभव लिएर म सादा पोसाकमा डेटिङ स्पट पुगेँ ।
“एक्सक्युज मी सर… योर अर्डर प्लिज !”
आवाज आएतर्फ फर्केर हेरेँ । तिर्सना उभिरहेकी थिइन् । हातमा त्यही स्केज पेपर र पेन थियो । उनी सेतो कुर्तामा सजिएकी थिइन् । ठिक्कको उचाइ, हँसिलो अनुहार, मादक मुस्कान । मलाई पहिलो पल्ट स्वागत गर्ने युवती । यो डेटिङ कन्सेप्टकी परिकल्पनाकार । उमेरमा मभन्दा झन्डै आधा, गफगाफमा धेरै परिपक्व । अस्तिको गफगाफबाट मैले बनाएको उनीप्रतिको धारणा थियो यो ।
“आराम हुनुहुन्छ ?”
“अँ, ठीक छु । हजुरलाई कस्तो छ ?”
“यहीँ रल्लिएको छु । पूरै रमिरहेको छु यहाँको सौन्दर्य, व्यवस्थापन आदिमा ।”
“ल आउनुहोस्, अब डेट जाऊँ है तो !”
“कसरी पो जाने हो र ?”
“यसरी नै… भइरहेको छ त !”
वास्तवमा हामी लेखेरै बोल्न थालेका थियौँ । लेख्दै मेट्दै गर्ने डेटिङको पहिलो अनुभव बडो अजिब थियो । हामीले लेखेरै भावनाहरू साटासाट गर्न थाल्यौँ ।
“तपाईँ त रिसेप्सनमा हुनुहुन्थ्यो है ?”
“अम… म समग्रमा सबै व्यवस्थापन हेर्छु, ड्युटी आवर बढी छ ।”
“अनि घटाउन पनि मिल्छ होला नि ?”
“कोभिडपछि बल्ल त सुरु भएको छ । यति नखटेर कहाँ हुन्छ र सर ?”
तिर्सनाले वाइन खोली र दुवै गिलासमा सारी । एउटा मतर्फ बढाईन् । केही सम्झेर लेखिन्: “आउनुहोस् सुरु गरौँ, आजको साँझ हाम्रो भयो ।”
हामीले चियर्स गर्यौँ । उसले त एकै सटमा आधा गिलास सकिन् । मुख पुछ्दै एउटा सिगरेट सल्काइन् । हामीले आ-आफ्नो स्केज पेपरमा लेख्न थाल्यौँ ।
“पानीजस्तै वाइन खानुभयो त ! म त यसरी सक्दिनँ ।”
“नखाएर के गर्नु सर ! आज फ्राइडे पनि हो, हाम्रो डेटको पहिलो ओपनिङ ।”
“म यहाँका अनुभवहरू जीवनभर भुल्ने छैनँ ।”
“तपाईँको ह्यान्डराइटिङ अलि सुधार्नुहोस् है !”
“कसरी सुधार्ने ?”
“त्यो त थाहा भएन, तर पनि सुधार्नुहोस् ।”
“हुन्छ, धन्यवाद । एउटा कुरा, तपाईँले मलाई कसरी चिन्नुभयो ?”
“सरलाई सुरुमै भनेकी थिएँ । म स्कुल अफ म्यानेजमेन्ट २०१७ ब्याच, अनि हाम्रो एउटै कम्पाउन्ड थियो ।”
“मैले त्यति वास्ता नगरेको रहेछु, आई एम सरी ।”
“नो निड… खासमा हजुरले पढाउने स्कुल अफ आर्ट्स हो, अनि त्यत्रो स्टुडेन्टमा के याद हुनु ?”
“कहिलेदेखि चिन्नुहुन्छ मलाई ?”
“जुन दिन तपाईँ, डिन र म एउटै गाडीमा सातदोबाटोसम्म गयौँ । हजुरहरू धुलिखेल जानुभयो, लाइफ साइन्स कन्फरेन्समा । म त्यहीँ ओर्लेँ ।”
“त्यति छोटो सहयात्रामा के चिन्नु र हौ !”
“सरलाई त म पहिलेदेखि नै चिन्थेँ । तपाईँलाई हेर्दा अनम्यारिड जस्तो लाग्थ्यो । तपाईँमा सुरुदेखि नै म क्रस थिएँ, पछि थाहा भयो म्यारिड भनेर । हाम्रो बोलचाल भएको थिएन, तर पनि नरमाइलो लाग्यो ।”
“ओहो… सो सरी ! मलाई त थाहा नै भएन है ।”
“सबै कुरा थाहा पाउनु पनि हुँदैन नि सर !”
“सायद… हुन त म खासै मानिसहरूसँग बोलिहाल्ने, सङ्गत गरिहाल्ने मान्छे होइन ।”
“तपाईँको यही कुरा नै मलाई खास लाग्छ । तपाईँको अफिस रुममा प्लान्टहरू देख्थेँ — आफैँ पानी हाल्नुभएको, माटो फेर्नुभएको ।”
“मलाई इन्डोर प्लान्ट एकदम मनपर्छ ।”
“त्यही कुराले मलाई छोएको थियो । अनि एउटा ठुलो मन्डलाको फ्रेम थियो नि तपाईँको टेबलमाथि, अझै छ सर त्यो ?”
“छ नि, कहाँ नहुनु ! मसँग मण्डला जसरी पनि हुन्छ ।”
“यसरी एक्कासि भेट होला भनेर कहिल्यै सोचेको थिइनँ । तर एक हिसाबले मैले हजुरलाई बोलाएको पनि हुँ ।”
“कसरी ?”
“यहाँको म्यानेजमेन्ट टिमलाई मैले तपाईँको इमेल र भाइबरमा विज्ञापनहरू हालिरहनु भनेकी थिएँ । के विश्वास थियो भने यस्तो नयाँ कुरा र अनकन्टार एकान्त ठाउँहरू तपाईँलाई एकदम मनपर्छ । खुसी लाग्यो, तपाईँ आखिर आउनुभयो ।”
“यति टाढा, यति पर मलाई चिन्ने मान्छे पाउँदा म एकदमै आश्चर्यमा परेँ । मैले कहिल्यै सोचेको थिइनँ ।”
“अचम्ममा नपर्नुहोस् न । यस्तो संयोग त जिन्दगीमा आइरहन्छन्, गइरहन्छन् ।”
“हो र ?”
“हो नि सर ! अस्ति के भयो भन्नुहोस् न । मलाई सानो क्लासमा पढाउने सर मलाई नै पो माग्न आइरहनुभएको !”
“भित्रैदेखि ‘सर’ भनेर श्रद्धा जाग्ने मान्छेसँग कसरी विवाह गर्नु ? भन्नुहोस् त !”
“साँच्चै, यो डेटिङ यति ढिलो हुनुको कारण चाहिँ के हो ? म जान्न सक्छु ?”
“यो भित्री व्यवस्थापनको कुरा हो सर, धेरै भन्न मिल्दैन । एउटा कुरा, तपाईँ यहाँ आउनुभएदेखि म एकदमै खुसी भएँ । धेरै वर्षपछि यसरी खुसी भएँ । अब तपाईँ जाँदा मलाई केही दिन निकै गाह्रो हुन्छ । तपाईँ यहीँ हुँदा सँगै भएको अनुभूतिले म निको भएको अनुभव गरिरहेको थिएँ ।”
“के रोग थियो र तपाईँको ?”
“रोग नै त होइन, तर खै, मन एकदम बेचैनी हुने र कहिलेकाहीँ छटपटी हुने गर्छ । तपाईँलाई देखेर कति ढुक्क महसूस गर्थेँ । यहाँ मात्र होइन कलेजमा पनि, यस्तो ढुक्क र सुरक्षित महसूस गराउने तपाईँ दोस्रो मान्छे हो ।”
“पहिलो चाहिँ ?”
“पहिलो त मेरो पापा… ।”
“अहिले कहाँ हुनुहुन्छ ?”
“हुन त यतैतिर हुनुहुन्छ, तर भेटघाट हुन्न ।”
“किन ?”
“उहाँले म जस्तो छोरी अर्कै पाइसक्नुभयो, अर्कै आमाबाट ।”
“अनि तपाईँको आमा नि ?”
“आमा मसँगै हुनुहुन्छ, यहीँ रिसोर्टमा सरसफाइको काम गर्नुहुन्छ । एउटा भाइ बेंगलोरमा सीए पढ्दै छ ।”
“ओहो… खुसी लाग्यो, दुःख पनि लाग्यो ।”
“सबै छोरामानिसहरू मेरो पापा जस्तै हुन्छन् होला है ?”
“तिम्रो भोगाइ र विचार हो । हुन पनि सक्छन्, कतिपय नहुन पनि सक्छन् ।”
“तपाईँ त्यस्तो हुनुहुन्न पक्कै पनि, मलाई पूरै भरोसा छ ।”
“कसरी ?”
“थाहा भइहाल्छ नि, म दिनदिनै कति मान्छे भेट्छु । डेटिङ भनेर यहाँ अनेकथरी मानिसहरू आउँछन् । अनेक सोच बोकेर आउँछन् । यत्रो एक हप्ता भइसक्यो, तपाईँले न त त्यस्तो सोच राख्नुभयो न कुनै रिसराग । आखिर तपाईँको अर्डर त पर सरेको थियो नि, होइन र ?”
“अनि तपाईँ अरू को-कोसँग डेट पनि जानुहुन्छ ?”
“नो, नेभर… पहिला एउटा थियो, उसँग साँच्चिकैको डेटिङ गएकी थिएँ । यस्तो ख्यालख्यालको डेटिङमा जान भ्याउँदिनँ, अरू नै स्टाफ तयार गरेकी छु । मैले त पूरै कन्सेप्टमा काम गरिरहनुपर्छ । थिम मेन्टेन गर्न गाह्रो छ सर ।”
“अनि अहिले त डेटिङमै छौ नि त ?”
“तपाईँसँग त गइहाल्छु नि, सधैँ जानछु, साँच्चिकै जानछु ।”
“म यहाँ नआएको भए कसरी जान्थ्यौ त ?”
“त्यो त भन्न सक्दिनँ, तर मलाई विश्वास थियो तपाईँ एकदिन अवश्य आउनुहुन्छ ।”
“कसरी ?”
“मेरो भित्री मनले भनेको, सधैँ पुगेकै छ ।”
“फेरि तपाईँलाई यस्ता ठाउँहरू मनपर्छ, अनि हाम्रो रिसोर्टजस्तो दुनियाँमा कतै छैन । दुनियाँमा नभएको कुरा खोज्ने तपाईँको अचम्मको सौखका बारेमा मलाई थाहा थियो । तपाईँलाई मैले रिसिभ गरेँ, रुमसम्म पुर्याएँ । सम्झिनुहुन्छ कि भनेर आश गरेँ । तर बल्लतल्ल चिनेको मान्छेलाई कसरी चिन्नुहोला र है ?”
“खुसी लाग्यो, एकदम हर्षित छु । लु, चियर्स… चियर्स !”
“तपाईँलाई अर्कै केटी पनि पठाइदिन सक्थेँ, तर वर्षौँको यो प्रतीक्षालाई म कसरी खेर जान दिन्थेँ र ? मेरो रोजाइ हो तपाईँ । तपाईँको साथ पाउनलाई कोसिस गरेँ । यो मानेमा म सधैँ सन्तुष्ट हुनेछु ।”
“यति सिरियस नहुनुहोस् न ।”
“जानीजानी म पीडाको बाटोमा छु, सायद अब हामी कहिल्यै भेट्दैनौँ । मेरो यही वैशाखमा मगनीको कुरा छ, खै, डिसिजन लिन नै सकेकी छैन । मान्छे त असल छ, चिनेको छ, तर के-के नपुगेको जस्तो लाग्छ । मलाई चाहिने खुसी दिन सक्दैन कि जस्तो लाग्छ ।”
“मैले के गरुँ त अब ?”
“केही गर्नुपर्दैन । आज पहिलेचोटि महसूस भयो — तपाईँसँग ढिलो भेट भयो, के छ कुन्नि, तपाईँसँग रोक्दा पनि रोकिन्नन् भावनाहरू । मलाई यस्तो कहिल्यै पनि भएको थिएन । तपाईँ र म भिन्न छौँ, योभन्दा अघि यसरी भेटेको पनि होइन । तर यस्तो महसूस भइरहेको छ कि यसअघि तपाईँसँग धेरैपल्ट भेट भइसकेको छ । मलाई त डर पो लाग्न थाल्यो कतै माया पलायो भने, तपाईँको माया लाग्न थाल्यो भने ! आफ्नै भावनादेखि त्रसित छु । यस्तो कुरा गर्यो भनेर मप्रति दिक्क नमान्नुहोला है सर !”
“किन मान्नु र ! आफ्नो लागेपछि त हो नि कुराहरू गहिरिने र बढी कुरा गरिने पनि । सही मान्छेसँग सही समयमा भावना व्यक्त गर्न ढिला गर्नु हुँदैन ।”
“मलाई व्यक्त गर्नु त थिएन, तर तपाईँको अगाडि खै के हुन्छ हुन्छ, खुला भइदिऊँ जस्तो लाग्छ ।”
“त्यसका लागि धेरै आभारी छु । म एकदमै प्रभावित भएँ — तिमी, तिम्रो सोच र यो पूरै परिकल्पनाका लागि ।”
“तपाईँ प्रभावित भएर काम छैन सर, अर्थ पनि छैन, अवश्य छैन, तर पनि थ्याङ्क यू ।”
“म यति मात्र भन्छु, जुन यो सुखद पल छ, यसको कहीँ हिसाब हुन्न । यो वरदानजस्तो महसूस भइरहेको छ । केही गल्तीको महसूस पनि भइरहेको छ ।”
“तपाईँको केही गल्ती छैन सर, ढुक्क हुनुहोस् । यो मेरो भावना हो र मेरो जिम्मेवारी हो ।”
“मेरो पनि भावनाहरू वेगमा चल्न खोजेका छन् । पोखाएर के गर्नु, नपोखाएर के गर्नु ?”
“म कुनै बेला अत्यन्तै कठिन समयबाट गुज्रेको थिएँ, तसर्थ समय र जीवनलाई सहजतापूर्वक जिउनुपर्छ भन्ने लाग्छ । तिम्रो आँखामा जुन निराशा देखियो, त्यो राम्रो होइन तिर्सना !”
“पूरा नहुने सपना देख्दा निराशा आउने रहेछ सर । पहिले हेर्न पाए, बोल्न पाए हुन्या भन्ने लागिरह्यो । अहिले आँखैअगाडि देख्दा मनले एउटा, दिमागले अर्कै भन्दो रहेछ ।”
“आफूलाई पीडा दिने बारेमा केही पनि नसोच्नु ।”
“भनेर हुन्छ र सर ? कसले सोच्छ र आफूलाई पीडा होस्, तनाव होस् ? ‘तनाव नलिनुहोस्’ भन्ने सुझाव मलाई मन पर्दैन । तनावरहित त के जिन्दगी हुन्छ र ? बाँचुन्जेल तनाव त भइहाल्छ नि सर !”
“मलाई सर नभन्नु न ।”
“मलाई पनि तपाईँ नभन्नु न !”
“ल उसो भए आफूलाई जे सजिलो हुन्छ, त्यसरी नै बोलौँ है !”
“हुन्छ, जबर्जस्तीको साइनो राम्रो पनि हुन्न नि सर !”
“सृष्टिको नियम, एक-अर्कामा नजिक महसूस गर्नु, नजिक हुन खोज्नु त हो । नजिक हुन खोज्दा साइनो-सम्बन्ध केलाउनुपर्ने हुँदो रहेछ । प्रत्येक सम्बन्धको अर्थ, लक्ष्य र महत्त्व हुन्छ । तर हाम्रो सम्बन्धको न गति छ, न स्वीकृति । खासमा यो डेटिङ तपाईँका लागि आएको होइन, म मेरा लागि आएकी हुँ । टाढै बसेर तपाईँलाई हेरिरहन सकिनँ । नजिक गएर बरु पीडा झेल्छु भनेर आएँ । सरी… अलि बढी नै लेखिरहेकी छु है !”
“होइन, ठिकै छ । स्वाभाविक छ तिम्रो कुरा । साँच्चै, म यहाँ नआएको भए…”
“होइन, मलाई थाहा थियो, एकदिन अवश्य आउनुहुन्छ । अहिले म निकै खुसी छु । हुन्छ नि, त्यो खुसी कहाँ लगेर पोख्नुजस्तो ! आज यो स्विमिङ पुल, प्रेमभरा डाँडा, त्यो हिमाल, यी नजिकका जङ्गलहरूले मलाई नै हेरिरहे जस्तो लाग्छ । यिनीहरू पनि यही आजको दिन हेर्नलाई कति वर्षदेखि यहाँ अस्तित्वमा थिए जस्तो लाग्दै छ । जे देख्छु, त्यही राम्रो लाग्छ, सबै राम्रो लागिरहेछ । सबैसँग खुसी हुनुजस्तो लाग्छ । पापासँग नबोलेको वर्षौँ भयो । आज बिहान त ‘पापा मैले खुसी पाएँ, म खुसी छु पापा’ भन्न मन लागेको थियो । जिन्दगीमा बोल्दिनँ भनेको मान्छेप्रति यस्तो सोच आउनु… के जादु गर्नुभयो सर तपाईँले ?”
“फेरि ‘सर’ भन्दै छौ !”
“यो रेस्पेक्ट हो सर… मुखमा आइ नै हाल्छ । मैले तपाईँमाथि जुन भाव व्यक्त गरेँ, त्यही भाव तपाईँले फर्काउनुपर्छ त भन्दिनँ । तर यस्तो लागिरहन्छ, म किन यति ढिलो जन्मेँ ? किन तपाईँसँगै उभिन सकिनँ ? … गलत समय, सही मान्छे… यस्तो पनि हुने रहेछ है सर !”
“खै, भयो त… म तिम्रो भावनाको सम्मान गर्छु । मलाई तिमीले कति ठूला कुराहरू यति सहजै बुझायौ । तिमी चाहिँ कत्ति पनि डिस्टर्ब नहुनु ल !”
“हुन्छ सर, कोसिस गर्छु । यसरी नै नजिक भइरह्यो भने मलाई गाह्रो हुन्छ । हुन त भए पनि होस्, म तपाईँसँग एक-एक पल, एक-एक सेकेन्ड सँगै बिताउन चाहन्छु । मलाई थाहा छ, तपाईँ यहाँबाट गएपछि कहिल्यै आउनुहुन्न । तपाईँ मेरो सबथोक भएर पनि केही हुनुहुन्न । मेरा भावनाहरूको अहिले कुनै मोल छैन सर । तपाईँको व्यक्तिगत जीवन आफ्नै छ, मेरो पनि होला नहोला । तर मैले तपाईँजस्तो पर्फेक्ट मान्छे कहीँ पाउँदिनँ । गुमाएको पनि होइन, कहिल्यै पाएको पनि होइन । तर किन तपाईँ मलाई सधैँ आफ्नैजस्तो लागिरहनुहुन्थ्यो ? मैले तपाईँको फेसबुक दिनदिनै चेक गरिरहन्थेँ ।”
मैले केही लेख्न सकिनँ, मतलब भन्न खोजेको कुरा लेख्न सकिनँ ।
“नलेख्नुहोस् न त, फेरि कहिले लेख्नुहोला र ! अहिलेलाई यति मात्र भन्छु, म तपाईँलाई धेरै नै माया गर्छु । तपाईँ मेरा लागि विशेष मान्छे हो — मेरो आराधना, कल्पना र मेरो सबथोक हो सर । खै, तपाईँको कुरा आएन । अब केही नलेख्नुहोस्, भयो… प्लिज !”
तिर्सना रुन थालिन् । टेबलमा घोप्टिएर सुँक्सुकाउँदै भनिन्, “सही मान्छे, गलत समय । आखिर किन मलाई नै हुन्छ ? हँ… किन… किन यस्तै हुन्छ मलाई ? के मलाई खुसी हुने छुट छैन यो दुनियाँमा ?”
आँखाभरि आँसु झार्दै उनले पारिको प्रेमभरा डाँडो हेरिन् । त्यत्तिकैमा घण्टी बज्यो । स्पिकरमा मधुरो, मिठो आवाज आयो, “तपाईँहरूको डेटिङको समय अझै बाँकी छ, सम्हालिनुहोस् र एक-एक ग्लास वाइन खानुहोस् ।”
तिर्सनालाई विस्तारै ढाँडमा सुम्सुम्याएँ । उनी अझै रुँदै थिइन् । इशारामा वाइन पिउने कि भनेर सोधेँ, नपिउनेजस्तो गरिन् । मलाई पनि पिउने मन नै भएन । दुवैजना उभियौँ र प्रेमभरा डाँडोतिर हेरिरह्यौँ । आँखामा आँसु पनि अड्किरह्यो । भित्री तहमा एकतमासले मन दुख्यो ।
अनायासै एकले अर्कोको हात समात्यौँ । आपसमा अनुहार हेर्ने साहस भएन । अप्ठ्यारो लागिरह्यो । हामी उभिरह्यौँ । पश्चिममा विस्तारै सूर्यास्त हुँदै थियो । सूर्यास्तमा देखिने अनन्तपुरको सौन्दर्य खास थियो । हामी नबोली-नबोली धेरै कुराहरू साटिरहेका थियौँ । विस्तारै अँध्यारोले आफ्नो साम्राज्य फैलाउँदै लग्यो ।
अँध्यारोले आफ्नो साम्राज्य फैलाइसकेपछि टेबलमा रङ्गीन बत्तीहरू बले । हामी अझै उभिरहेका थियौँ । मैले बस्न इसारा गरेँ, उनी मानिनन् । त्यहाँ बोल्न वर्जित थियो । हामी रातजस्तै अरू गहिराइमा, अझै मौनतामा हराइरह्यौँ ।



