लघुकथा: परिवर्तन
गाउँको एउटा कुनामा बसेका बाजेले सहरबाट फर्केका नातिलाई सोधे— “नाति, यो चुनावका बेला नेताहरू किन यति धेरै दौडधुप गर्छन् हँ ?”
नातिले हाँस्दै भन्यो— “बाजे, उनीहरू ‘सेवा’ गर्न दौडेका हुन् ।”
भोलिपल्ट बाजेले देखे, तिनै नेताहरू हेलिकोप्टर चढेर गाउँमा ओर्लिए । ठुलठुला भाषण गरे— सडक बनाउने, पानी ल्याउने र गाउँलाई नै सहर बनाइदिने कसम खाए । अझ यति मात्र कहाँ हो र, कलकारखानाहरू खोलिदिने कुरा गरे ।
जोडजोडले माइकमा नेताको स्वर सुनियो— “अब कोही युवा विदेश पलायन हुनुपर्दैन । हामी नयाँ हौँ, नयाँ काम गर्छौँ ।”
बाजेले सोचे— ‘हुन त हो, सेवा गर्न नै आएका रहेछन् ।’
केही वर्ष बित्यो । सडक उस्तै रह्यो, पानीको मुहान सुक्खा भयो, तर ती नेताको घर भने महल बन्यो । पल्लो घरको नाति विदेश गयो । तल्लो घरकी कान्छी पलायन भइन् । आफन्तका छोराहरूले पनि देश छोडे ।
यसपछि बाजेले फेरि नातिलाई सोधे— “नाति, ती सेवा गर्नेहरू कहाँ गए ?”
नातिले भन्यो— “बाजे, उनीहरू त अहिले अर्कैको ‘सेवा’ गर्न अर्को पार्टीमा प्रवेश गरिसके ।”
बाजेले लामो सास फेर्दै भने— “ए ! अनि उनीहरूले भनेको सहर चाहिँ कहिले बन्छ त ? रोजगारी कहिले मिल्छ त ? हाम्रो नयाँ पुस्ता विदेश जानबाट कहिले रोकिन्छ त ?”
नातिले खिसी गर्दै भन्यो— “सहर त बन्छ बाजे, तर चुनाव आउने बेलामा फेरि भाषणमा मात्रै ! अब म नै विदेश जानुपर्ने भो बाजे !”
बाजेले आफ्नो पुरानो लौरो समाते र भने— “अब बुझेँ, यहाँ जनताले भोट हाल्ने होइन, नेताहरूको भविष्य भाडामा लगाउने रहेछन् ।”


