लघुकथा: सुखको परिभाषा
उ धनको पोको बोकेर जीवनसँग टाँसिएको रोगसँग लडिरहेको थियो ।
उ खाली भाँडो र अधुरा सपना बोकेर गरिबीसँग जुधिरहेको थियो ।
उसँग न धन थियो, न त रोग नै; उ केवल ऋणको भारी बोकेर उभिएको थियो ।
एक दिन, संयोगले ती तीनै जनाको भेट भयो ।
गरिबले गहिरो सास फेर्यो र ईर्ष्यालु भावले रोगीसँग भन्यो— “तिमी त सम्पन्न देखिन्छौ, सारा खुसी तिम्रै पोल्टामा होला है ?”
पीडाले पिल्सिएको रोगीले लामो सुस्केरा हाल्दै भन्यो— “हेर त, तिमी कति भाग्यमानी छौ ! स्वस्थ र तन्दुरुस्त देखिन्छौ । तिमीजस्तो सुखी मानिस यो संसारमा अरू को होला र ?”
छेउमै उभिएको ऋणीले बिस्तारै आफ्नो मनको गाँठो फुकायो— “दुनियाँको वचन र ऋणको भारी बोकेर तनावमा बाँच्नुभन्दा, एक छाक खाएर भए पनि यो ऋणको भारी बिसाएर निश्चिन्त सास फेर्न पाए कति धेरै सुख हुन्थ्यो होला !”
तीनै जना मौन भए । सबैका लागि सुखको परिभाषा फरक-फरक थियो ।
हेटौँडा


