बारुदको आकाशमुनि हराएको बालापन
रात असाध्यै लामो थियो । आकाशमा तारा थिए, तर तिनको उज्यालो धुवाँले निलिरहेको थियो । हावामा चिसोपनभन्दा बारुदको गन्ध बढी थियो । पहाडहरू मौन थिए, तर त्यो मौनता शान्त थिएन; त्यो भयले थिचिएको मौनता थियो । अफगानिस्तानको एउटा दुर्गम गाउँ । माटोका घरहरू, साँघुरा गल्लीहरू अनि टाढासम्म फैलिएका पहाड । त्यही गाउँमा बाह्र वर्षकी एउटी बालिका बस्थी । उसको नाम थियो—मरियम । उसको संसार सानो थियो—एउटा घर, एक जोडी आमाबाबु, एउटा पुरानो किताब, केही सपना अनि बिहानको घाम । तर युद्धले सपना मन पराउँदैन; युद्धले केवल धुवाँ चिन्छ, रगत चिन्छ र मृत्यु चिन्छ ।
मरियमका बुबा किसान हुनुहुन्थ्यो । उहाँ बिहान उज्यालो नफुट्दै खेततिर जानुहुन्थ्यो । आमाले घरको आँगनमा रोटी पकाउनुहुन्थ्यो । गरिबी थियो, तर त्यो गरिबीमा माया थियो । साँझ सबै एउटै थालमा खान्थे, आकाश हेर्थे र भविष्यका कुरा गर्थे । मरियम डाक्टर बन्न चाहन्थी । गाउँका बिरामीहरूको उपचार गर्ने सपना देख्थी । आमाले मुस्कुराउँदै भन्नुहुन्थ्यो, “ज्ञानभन्दा ठूलो धन केही हुँदैन ।” बुबाले उसको टाउको मुसार्दै भन्नुहुन्थ्यो, “एक दिन तिमीले यो गाउँ उज्यालो बनाउनेछ्यौ ।” ती वाक्यहरू आज पनि हावामा बाँचेका थिए, तर ती बोल्ने ओठहरू अब धेरै समय बाँच्ने थिएनन् ।
त्यो बिहान अरू दिनजस्तै सुरु भएको थियो । सूर्य उदाउँदै थियो, चराहरू उडिरहेका थिए र गाउँका मानिसहरू आफ्नो काममा निस्कँदै थिए । अचानक आकाश गर्जियो । कुनै बादल थिएन, तर आवाज बिजुलीभन्दा डरलाग्दो थियो । केही सेकेन्डमै ठूलो विस्फोट भयो । जमिन काँप्यो । घरका भित्ताहरू भत्किन थाले । धुलोको मुस्लो आकाशभरि फैलियो । मानिसहरू चिच्याउँदै भागे, बच्चाहरू रोए, वृद्धहरू लडे । मरियमले आमालाई बोलाई, बुबालाई खोजी; तर उसको आवाज धुवाँभित्र हरायो ।
जब धुलो केही हट्यो, उसको घर घर रहेन; केवल भग्नावशेष थियो । चुलो थिएन, आँगन थिएन, रोटीको सुवास थिएन; केवल जलेको माटोको गन्ध थियो । उसले काँपिरहेका हातले ढुङ्गा हटाउन थाली । केही समयपछि आमाको हात देखियो । त्यो हात निस्पन्द थियो । मरियमले त्यसलाई समाती, धेरै बोलाई, धेरै हल्लाई; तर त्यो हात फेरि कहिल्यै चलेन । केही पर बुबाको पुरानो टोपी थियो, टोपी रगतले भिजेको थियो । त्यस दिन मरियमको संसार समाप्त भयो । उसले आमाबाबुलाई एकै दिन गुमाई । युद्धले उसको परिवार मात्र मारेन, उसको बालापन पनि मारिदियो ।
त्यसपछि दिनहरू समयले होइन, पीडाले मापन हुन थाले । ऊ कहाँ सुत्छे भन्ने निश्चित थिएन, के खान्छे भन्ने थाहा थिएन, कोसँग बोल्छे भन्ने पनि थाहा थिएन । गाउँका धेरै मानिसहरू मरेका थिए । बाँचेकाहरू पनि भित्रैदेखि टुटेका थिए । कसैको छोरा हराएको थियो, कसैकी छोरी भेटिएकी थिइनन्, कसैको घर जलेको थियो त कसैको भविष्य ।
मरियम गाउँको भग्न विद्यालयमा बस्न थाली । त्यो विद्यालयमा पहिले बच्चाहरूको हाँसो गुञ्जन्थ्यो, अब त्यहाँ हावाको सुस्केरा मात्र सुनिन्थ्यो । कालोपाटी फुटेको थियो, झ्यालमा सिसा थिएन, भुइँमा धुलो थियो । उसले त्यही धुलोलाई ओछ्यान बनाई । राति आकाशबाट चिसो झर्थ्यो । छानो आधा भत्किएको थियो; पानी पर्दा भिज्थी, हिउँ पर्दा काँप्थी । तर उसले कसैसँग गुनासो गरिन; गुनासो सुन्ने कोही बाँकी थिएन ।
हरेक रात गोलीको आवाज आउँथ्यो—कहिले टाढाबाट त कहिले धेरै नजिकबाट । मरियम अब आवाज सुनेर डराउँदिनथी । डरभन्दा पनि ठूलो भावना उसको भित्र बसिसकेको थियो; त्यो थियो—शून्यता । जब मानिसले सबै गुमाउँछ, उसले डर पनि गुमाउँछ; केवल मौनता बाँकी रहन्छ ।
भोकले उसको शरीर कमजोर हुँदै गयो । कहिलेकाहीँ दुई दिनसम्म केही खान पाउँदिनथी । गाउँकी एक वृद्ध महिलाले कहिलेकाहीँ सुक्खा रोटी दिनुहुन्थ्यो । उहाँ आफैँ पनि गरिब हुनुहुन्थ्यो, तर करुणाले धनी हुनुहुन्थ्यो । मरियमले पहिलोपटक बुझी—संसारमा धनभन्दा ठूलो सम्पत्ति दया रहेछ । रोटी सानो थियो, तर त्यसले उसको पेट मात्र होइन, मन पनि बचाइदियो ।
एक दिन भग्न विद्यालयको कुनामा उसले एउटा पुरानो झोला भेटी । त्यसभित्र केही च्यातिएका किताब थिए, एउटा कापी थियो र एउटा पेन्सिल थियो । कापीको पहिलो पानामा कसैले लेखेको थियो—“ज्ञानको उज्यालो कुनै बारुदले निभाउन सक्दैन ।” मरियम धेरैबेर त्यो वाक्य हेरिरही । ऊ रोई; त्यो वाक्य पढेर होइन, त्यो वाक्यमा आफ्ना बाबाको आवाज सुनेर ।
त्यसपछि उसले हरेक दिन केही न केही लेख्न थाली । अक्षरहरू सीधा थिएनन्, वाक्य पूरा हुँदैनथे; तर ती शब्दहरू उसको जीवन थिए । उसले आफ्नी आमालाई पत्र लेख्थी—कहिल्यै नपठाइने पत्र ! आफ्ना बाबासँग कुरा गर्थी—कहिल्यै उत्तर नआउने संवाद ! कहिलेकाहीँ केवल एउटा वाक्य लेख्थी—“म अझै बाँचेकी छु ।”
गाउँमा फेरि विस्फोट भयो । यसपटक विद्यालयको अर्को भाग भत्कियो । धुलोले किताबहरू फेरि पुरिए । मरियमले आफ्नो कापी छातीमा च्यापी । उसलाई लाग्यो, ‘यदि यो पनि हरायो भने मैले आफ्नो अन्तिम साथी गुमाउनेछु ।’ युद्धले मानिस खोस्यो, घर खोस्यो, परिवार खोस्यो; तर उसले शब्द गुमाउन चाहिन ।
एक साँझ ऊ गाउँबाहिरको पहाडमा चढी । तल जलेका घरहरू देखिन्थे । धुवाँ अझै उठिरहेको थियो । सूर्य अस्ताउँदै थियो । आकाश रगतजस्तै रातो थियो । उसले धेरैबेर क्षितिज हेरिरही । त्यसपछि बिस्तारै फुसफुसाई, “हे ईश्वर, युद्ध जित्ने को हो ?” हावाले कुनै उत्तर दिएन । पहाड मौन रहे । तर त्यो मौनताले एउटा सत्य भने सुनायो—युद्धमा कसैले जित्दैन, सबै हार्छन्; सबैभन्दा धेरै बच्चाहरू हार्छन् ।
मरियम फेरि तल झरी । उसका पाइला कमजोर थिए, तर मनभित्र एउटा सानो दीप अझै बाँकी थियो । त्यो आशाको दीप थियो—आमाको सम्झनाले बालेको, बाबाको शिक्षाले बचाएको । संसारले त्यो दीप धेरैपटक निभाउन खोज्यो, तर त्यो अझै बलिरहेको थियो । त्यही दीपले उसलाई अर्को बिहानसम्म बाँच्न सिकाइरहेको थियो ।
त्यसपछि मरियमको जीवन एउटा गाउँको सीमाभित्र सीमित रहेन । युद्धले उसलाई आफ्नो जन्मभूमिबाट पनि विस्थापित गरिदियो । एक बिहान गाउँमा खबर फैलियो—“बाँचेकाहरूले पहाड पार गरेर सीमा नजिकको शरणार्थी-शिविरतिर लाग्नुपर्छ ।” त्यहाँ कम्तीमा एक छाक खाना र एउटा पाल पाइने सम्भावना थियो । मरियमसँग केही थिएन—एउटा पुरानो झोला थियो, च्यातिएको कापी थियो, आधा टुटेको पेन्सिल थियो अनि आमाबाबुको सम्झना थियो । उसले एकपटक पछाडि फर्केर आफ्नो गाउँ हेरी । जहाँ कुनै बेला बालापन हाँस्थ्यो, त्यहाँ अहिले धुवाँ मात्र उडिरहेको थियो । उसले माटोको एउटा सानो डल्लो उठाई र झोलाभित्र राखी । त्यो माटो उसको देश थियो, उसको बालापन थियो, उसको परिवार थियो ।
यात्रा सजिलो थिएन । घाम कडा थियो, बाटो ढुङ्गाले भरिएको थियो । वृद्धहरू थाकेर बसिरहेका थिए, आमाहरू काखमा बच्चा बोकेर रोइरहेका थिए । धेरै दुधे बच्चाहरूले दिनौँदेखि दूध देखेका थिएनन् । कतिपय बच्चाले आफ्ना बाबुआमा गुमाएका थिए त कतिपय बाबुआमाले आफ्ना बच्चा । त्यो यात्रा मानिसहरूको समूहभन्दा बढी पीडाहरूको जुलुसजस्तो देखिन्थ्यो । कसैले कसैसँग धेरै कुरा गर्दैनथे । सबैका आँखामा एउटै प्रश्न थियो—“के अर्को बिहान हामी जीवित हुनेछौँ ?”
एक साँझ उनीहरू एउटा सुक्खा खोल्साको किनारमा रोकिए । पानी थिएन, केवल ढुङ्गा थिए । भोकले मरियमको पेट दुखिरहेको थियो । उसले झोलाबाट कापी निकाली । केही लेख्न खोजी, तर आँसुका थोपा कापीमा झरे । अक्षरहरू धमिला भए । उसले केवल तीन शब्द लेख्न सकी—“आमा, म थाकेँ ।” त्यो वाक्य अधुरै रह्यो; किनकि रोइरहेकी बालिकासँग भाषा पनि धेरैबेर बस्न सक्दैन ।
अन्ततः उनीहरू शरणार्थी-शिविर पुगे । सयौँ पालहरू, धुलो, लामो लाइन र निराश अनुहार ! त्यहाँ मानिसहरू जीवित थिए, तर जीवन थिएन । बिहान पानीका लागि लाइन, दिउँसो रोटीका लागि लाइन, साँझ औषधिका लागि लाइन, राति निद्राका लागि सङ्घर्ष ! मरियमलाई एउटा सानो पालमा बस्ने ठाउँ दिइयो । पालभित्र माटो थियो, एउटा कम्बल थियो । त्यो नै उसको नयाँ घर बन्यो । युद्धले घरको अर्थ परिवर्तन गरिदिएको थियो ।
शिविरमा एउटा वृद्ध शिक्षक हुनुहुन्थ्यो । उहाँको विद्यालय पनि युद्धमा ध्वस्त भएको थियो, तर उहाँले शिक्षालाई ध्वस्त हुन दिनुभएन । प्रत्येक दिउँसो केही बालबालिकालाई पालको छायामा बसालेर अक्षर सिकाउनुहुन्थ्यो । कागज कम थियो, किताब थिएनन्; तर उहाँसँग आशा थियो । मरियम पनि त्यहाँ बस्न थाली । जब उसले पहिलोपटक फेरि वर्णमाला लेखी, उसको आँखाबाट आँसु झर्यो । उसलाई लाग्यो—बारुदले विद्यालय भत्काउन सक्छ, तर ज्ञानलाई मार्न सक्दैन ।
रातहरू अझै कठिन थिए । कहिलेकाहीँ टाढाबाट विस्फोटको आवाज आउँथ्यो । मरियम निद्राबाट झस्किएर उठ्थी, आमालाई खोज्थी । केही क्षणपछि सम्झिन्थी—आमा अब केवल सम्झनामा हुनुहुन्छ । त्यसपछि ऊ चुपचाप बाहिर निस्कन्थी, आकाशतिर हेर्थी । ताराहरू उस्तै थिए । उसले सोच्थी—‘युद्ध त पृथ्वीमा छ, आकाश किन यति शान्त छ ?’
शिविरमा एउटा सानो केटो थियो । उसको एउटा खुट्टा थिएन; ऊ पनि युद्धको सिकार थियो । उसले एक दिन मरियमलाई सोध्यो, “तिमी ठूलो भएपछि के बन्छौ ?” मरियम केही बेर मौन रही । त्यसपछि बिस्तारै भनी, “पहिले म डाक्टर बन्न चाहन्थेँ, अहिले म शान्ति बन्न चाहन्छु ।” केटाले त्यो उत्तर बुझेन, तर वृद्ध शिक्षकले सुन्नुभयो । उहाँका आँखा रसाए ।
दिनहरू बित्दै गए । एक दिन विदेशी स्वयंसेवकहरूको एउटा टोली शिविरमा आयो । उनीहरूले बालबालिकालाई कापी, पेन्सिल र केही पुस्तक बाँडे । मरियमले नयाँ कापी हातमा लिई । त्यो कापीको गन्ध उसले वर्षौँपछि महसुस गरी । उसले पहिलो पानामा लेखी—“यदि युद्धले मेरो परिवार खोस्यो भने, शिक्षाले मेरो भविष्य बनाउनेछ ।”
त्यो रात उसले एउटा सपना देखी । आमा मुस्कुराइरहनुभएको थियो, बाबा खेतमा काम गरिरहनुभएको थियो, गाउँमा फेरि बालबालिकाको हाँसो गुञ्जिरहेको थियो, विद्यालय खुलिरहेको थियो, चराहरू उडिरहेका थिए । कुनै विस्फोट थिएन, कुनै धुवाँ थिएन । ऊ दौडिँदै आमाको काखमा पुग्न खोजी । त्यत्तिकैमा निद्रा खुल्यो । बाहिर फेरि गोलीको आवाज थियो । सपना भत्कियो, तर आशा भने भत्किएन ।
वृद्ध शिक्षकले एक दिन कक्षामा भन्नुभयो, “युद्धले घर भत्काउँछ, शिक्षाले घर बनाउँछ । युद्धले शरीर मार्छ, घृणाले आत्मा मार्छ; प्रेमले मात्र भविष्य बचाउँछ ।” मरियमले त्यो वाक्य धेरैपटक आफ्नो कापीमा लेखी । उसले त्यसलाई जीवनको मन्त्र बनाई ।
समयसँगै मरियम अरू बालबालिकालाई पनि पढाउन थाली । आफूले सिकेको अक्षर बाँड्न थाली । एउटा पेन्सिल धेरै हातमा पुग्न थाल्यो, एउटा किताब धेरै आँखाले पढ्न थाल्यो । शिविरको धुलोबीच सानो विद्यालय जन्मियो । त्यहाँ भवन थिएन, तर सपना थियो; त्यहाँ घण्टी थिएन, तर सिक्ने इच्छा थियो; त्यहाँ सुविधा थिएन, तर भविष्यको सम्भावना थियो ।
वर्षौँपछि पनि मरियमले आफ्ना आमाबाबुलाई बिर्सिइनन् । उनले आफ्नो झोलाभित्र राखेको माटोको डल्लो कहिल्यै फ्याँकिनन् । त्यो माटोले उनलाई सधैँ सम्झाइरह्यो—देश केवल भूगोल होइन; सम्झना हो, पीडा हो, आशा हो ।
मरियमको कथा एउटी बालिकाको मात्र कथा होइन; त्यो युद्धले चोरेका लाखौँ बालापनहरूको कथा हो । त्यो ती आमाहरूको कथा हो, जसले आफ्ना सन्तान गुमाए । ती बाबाहरूको कथा हो, जसले आफ्ना सपनाहरू भग्नावशेषमुनि पुरिएर गएको देखे । त्यो ती विद्यालयहरूको कथा हो, जहाँ कुनै बेला किताबको आवाज सुनिन्थ्यो, तर अहिले विस्फोटको प्रतिध्वनि गुञ्जन्छ ।
युद्धले कहिल्यै विजेता जन्माउँदैन; युद्धले समाधि बनाउँछ, टुहुरा बालबालिका बनाउँछ, अधुरा सपनाहरू बनाउँछ । बारुदले सिमाना बदल्न सक्छ, तर उसले कुनै बच्चाको आँसु पुछ्न सक्दैन । बन्दुकले सहर जित्न सक्छ, तर कुनै आमाको काख फर्काउन सक्दैन ।
मरियम अझै बाँचेकी छिन्—सायद कुनै शरणार्थी-शिविरमा, सायद कुनै सानो विद्यालयमा, सायद कुनै किताबको पानामा । उनी हरेक बालिकाको प्रतिनिधि हुन्, जसले युद्धभन्दा ठूलो साहस देखाइन्—बाँच्ने साहस, आशा गर्ने साहस, सिक्ने साहस र घृणाभन्दा प्रेमलाई रोज्ने साहस ।
जबसम्म संसारको कुनै कुनामा एउटी बालिका रातभरि विस्फोटको आवाज सुन्दै निदाउन बाध्य हुन्छे, तबसम्म मानव सभ्यताले आफूलाई पूर्ण रूपमा सभ्य भन्न सक्दैन । शान्ति युद्धको अन्त्य मात्र होइन; शान्ति त्यो बिहान हो, जहाँ एउटी बालिका आफ्नी आमाको हात समातेर विद्यालय जान सक्छे । जहाँ किताबको आवाज बन्दुकको आवाजभन्दा ठूलो हुन्छ, जहाँ आकाशमा धुवाँ होइन, चराहरू उडिरहेका हुन्छन् र जहाँ कुनै मरियमले फेरि कहिल्यै आफ्नो डायरीमा लेख्न नपरोस्—“आमा, म अझै बाँच्न सिकिरहेकी छु ।”


