गरुराहा
स्रष्टा परिचय:
वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन् । हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन् ।
साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन् । उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यमा पुर्याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन् । उनका महत्वपूर्ण कृतिमध्ये “गरुराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो । सो उपन्यासलाई “हाम्रो कथाघर डट कम” अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ ।
अध्याय: १०
ज्योति! सुन है! अब सुख कम, दुःख धेरै भएका कुरा बताउँदै छु ।
पुजारीले बिहे गराइदिए । हामी जोडी बाँधियौँ । प्राण रहुन्जेल र शरीरमा खुन दगुरुन्जेल नछुट्टिने कसम खायौँ । घर फर्कनु उचित थिएन । प्रकाश आफ्नो दैनिक कामकाजमा फर्कियो । हामी जोडी भने काकाले दिएको सल्लाहबमोजिम विराटनगर सहरको पूर्वतिरको स्वजातीय बसोबास क्षेत्रमा पस्यौँ र एउटा घरमा आश्रय लिएर बस्न थाल्यौँ ।
दुई दिनपछि रुपैयाँ-पैसाको अभाव भयो । सधैँ अर्काले दिएको खाएर मात्र पनि चल्दैनथ्यो । तसर्थ, छिमेकी दाइसँग काठको काममा लागेँ । बिहानदेखि नै काममा जुट्थेँ । दिउँसो आएर मालतीले पकाएको खाना खान्थेँ । साँझमा फेरि खाना खाने र विश्राम गर्ने! दैनिक यही रुटिन थियो । एक किसिमले जीवन गुजारा गर्ने पैसा कमाएकै थिएँ । आनन्दै थियो । गाउँघरबाट म बेखबर थिएँ । मालतीसमेत कता गइन्, गाउँलेहरूलाई केही थाहा थिएन । म भएपछि उनलाई पनि घरको फिक्री थिएन । उनी भएपछि मलाई समेत गाउँघरको चासो थिएन ।
एक दिन काम गर्ने घरका बाजेले कान्तिपुर दैनिक पत्रिका पल्टाउँदै गरेको देखेँ । मैले सोधिहालेँ, “नयाँ–नौलो खबर के छ बाजे ?” बाजेले कुनै उत्तर दिएनन्; बरु उल्टै पत्रिका मतिर बढाइदिए । एकछिन बिसाएर म ‘कान्तिपुर’ पल्टाउन थालेँ ।
एक्कासि मेरो गाउँको समाचारमा गएर आँखा रोकिए । पढेर म भुतुक्कै भएँ । समाचारले जनाएअनुसार मालतीका माइतीखलकले हाम्रा र काकाका लैना गाईभैँसी र खसीबोका लुटेर लगेछन् । घरमा आगो लगाइदिएछन् ।
उनीहरूको भनाइ रहेछ– मेरा आफन्तले मालतीलाई ढेडुझुला फर्काइदिनुपर्ने र मलाई प्रहरीको जिम्मा लगाइदिनुपर्ने रे, अनि मात्र धनमाल फिर्ता गरिदिने रे । अझ उनीहरूको आरोपअनुसार म केटी बेच्ने दलाल रे! मैले माओवादी भएर धेरैको धनमाल लुटपात गरेँ रे! प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा परेको अपराधी हुँ रे!
मेरो होस उड्यो । चिन्ताले छोप्यो । अनुहारमा नाच्ने खुसीहरू एकाएक गायब भए । काममा जाँगर चल्न छाड्यो । मैले दाइसँग भनेँ, “दाइ! मलाई पारिवारिक समस्या आइलाग्यो । काम गर्ने मन भएन । आज म यत्ति नै काम गर्छु है ?” उनले पनि बिदा दिए । म निस्केँ र प्रकाशलाई खबर गरेँ । कोठामा पुगेँ । प्रकाश पनि दगुर्दै आइपुग्यो । भलाकुसारी भयो । ऊ पनि डरायो र अब के हुने हो भनेर आशङ्का गर्यो ।
ज्योति! अब म यस्तो घटनाको चर्चा गर्दै छु, जसको श्रवणले तिम्रो मुटु धड्किनेछ । सम्झनाले मात्र पनि मेरो मन अमिलो भइरहेको छ । सम्झन पनि गाह्रो परिरहेको छ । यद्यपि, नसुनाईकन मेरो अध्यायले पूर्णता पाउँदैन । त्यसैले सुनाउँदै छु, म अघोषित हत्यारा भएको बखान गर्दै छु ।
तिमीलाई पनि मेरो सुखदुःखको साथी प्रकाश हो भन्ने कुरा थाहै हुनुपर्छ । सुखमा हाँसो भइदिने, दुःखमा आँसु बनेर बगिदिने साथी हो प्रकाश । मनभरि औडाहा गुम्सिएर बसेको छ । नभनूँ—भन्नैपर्ने, भनूँ—भन्नै नसकिने! सत्य पाटोलाई जबरजस्ती छोपेर असत्य पाटो देखाउन खोज्नु पनि उपयुक्त हुँदैन ।
मलाई सम्बोधन गरेर प्रकाशले लेखेको जीवनकै अन्तिम लेखोट र छिमेकीहरूबाट थाहा पाएका कुराहरू तिमीलाई मात्रै सुटुक्क भन्दै छु । सुन है ज्योति!
प्रकाश हाम्रो विवाहका थरीथरीका फोटाहरू बोकेर पश्चिम हानियो । गरुराहावरपर सबैतिर देखाएछ, कसैकसैलाई बाँडेछ पनि । अविश्वासी नजरहरूलाई विश्वासमा लिएछ पनि । राजदेव केटी बेच्ने दलाल नभई सच्चा प्रेमी हो भन्ने कुरा बताएछ । सर्वसाधारणमा परेको भ्रम चिर्न सफल भएछ । बेहुलाबेहुलीको स्पष्ट आकृति देखिने फोटाहरू चाहिँ गाउँलेहरूलाई बाँडेर नै सकेछ र बाँकी फोटाहरू साथमै लिएर आफ्नो घर फर्केछ ।
एक्कासि छोरा घर फर्कंदा बाबुआमामा आश्चर्य छाएछ । श्रीमती झन् छक्क परिछन् । पढाइ छाडेर चाँडो–चाँडो घर आउनु उचित होइन भनिछन् । सानो छोराले पनि ‘पापा’ भन्दै हात समाएछ । प्रकाशले निरुत्तर भएर मुस्कुराउने मात्र काम गरेछ । एउटा ठूलो युद्ध जितेर आएको योद्धाको जस्तै फुर्ती उसको शरीरमा नाच्न थालेछ । उसले आफ्नो कोठामा गएर पोसाक बदलेछ ।
ज्योति! परिवारजनलाई सत्य कुरा नबताएको र मालतीको सिङ्गल फोटो फुकालेको कपडामा सामान्य ठानेर छाडेका कारण सोचेभन्दा भिन्न परिणाम आयो । यो परिणामबारे कसैले रत्तिभर विश्वास गरेका थिएनन् ।
ज्योति! मैले गुमाएँ, धेरै ठूलो साथ गुमाएँ । जीवनभर कमाएर पनि पूर्ति हुन नसक्ने एउटा अनमोल रत्न गुमाएँ । धर्ती नै पल्टाउन सके पनि फिर्ता नपाउने आत्मीयता गुमाएँ । सुन्दै जाऊ, सके गुन्दै जाऊ, नसके भुल्दै जाऊ । सुनेर, गुनेर भुल्दा नोक्सानी हुने छैन; नसुनी, नगुनी भुल्दा चाहिँ मेरो मन खन्याएको काम लाग्ने छैन । त्यसैले मैले प्रकाशका सम्बन्धका गुह्य कुरा नखोली भएन ।
ऊ गम्भीरभन्दा गम्भीर थियो, हँसीमजाकमा हास्यसम्राट थियो । बालकमा पाँच वर्षको बालकजस्तै थियो, युवामा बीस वर्ष नकटेको ठिटो थियो, प्रौढमा साठी कटेको मानिसजस्तै थियो । उसले एउटा शरीरमा अनेकौँ व्यक्तित्व मिश्रण गरी बोकेर हिँडेको थियो ।
उसकी पत्नीले भनिन्, “यो राम्री केटी को हो ? कसको फोटो गोजीमा बोकेर हिँड्छौ ?” ऊ मुस्कुरायो मात्र । जवाफ फर्काउनु उचित सम्झेन । उसलाई प्रतिक्रिया सुन्नु थियो र अन्त्यमा आएर भेद खोल्नु थियो । आफ्नो प्रश्नको जवाफ नपाएपछि उनी अझ चिढिइन् र रातोपिरो मुख बनाइन् ।
“म भने तिम्रो घर रुँगेर बस्ने, तिम्रो भविष्यको लालनपालन गरेर रहने! अझ अस्ताउन लागेका सासू-ससुराको सेवा-टहल गरेर बस्ने! तिमी भने रोजेकी प्यारीको तस्बिर गोजीमा सजाएर मुस्कुराउने ?” उनको रोषपूर्ण कडा बोलीले अब भने प्रकाश सकसमा पर्यो । केही बोल्नुअघि सोच्नुपर्ने भयो । घटना अप्रत्याशित तवरले विकसित हुँदै गएको थियो ।
दुलहीको कडा बोलीले ससुरा बाजेका कान ठाडा भएछन् । उनी नजिक आए र दुलहीसँग वस्तुस्थिति बुझे । फोटो नियाले र रिसले आगो भए । परिवारको विश्वास माटोमा मिलाएको महसुस गर्दै बुबाले आक्रोश पोखे, “तूँ हमरा सभक इज्जत माटिमे मिलाइए कऽ छोड़विही !” आमाले पनि आफूलाई पहिलेदेखि नै शङ्का लागेको अभिमतका साथ आगोमा घिउ थपिन्, “तोहर चालि नीक नई छौ । हमरा पहिनेसँ शङ्का लागल रहे ।”
आमा, बुबा र श्रीमती तीनै जनाको बोली एकै भयो । कहिल्यै कुनै कुरामा आशङ्का नगर्ने परिवारले नयाँ केटीको तस्बिरकै आधारमा दोषारोपण गरी दिमाग खराब गरेको उसलाई मन परेन । त्यसको पछि लागेर बहस गर्नु पनि उसलाई उचित लागेन । त्यस समय उसले आफ्ना कुरा राख्न पाउने अवस्था देख्दै देखेन । बरु मौनतामै रहनु उचित ठान्यो । केही बोलेन, अलिअलि मुहार मलिन बनाएर बस्यो । त्यो कचकच आफैँ शान्त हुन्छ भन्ठान्यो ।
कोठामा ऊबाहेक अरू कोही थिएन । मौनतामा रहन पनि मज्जा हुँदो रहेछ । ऊ अझ गहिरो मौनतामा डुबेको थियो । मनमा विराटनगरका कुराहरू नै खेलाइरह्यो । प्रकाशका मनमा थरीथरीका कुरा आउने-जाने गर्थे । उसका आँखा बन्द भए पनि मन खुल्लै थियो । भुत्भुताउँदै पत्नीको आगमन भयो । उसले चाल नपाएजस्तो गर्यो ।
अझ कोठा नै विस्फोट हुने गरी उनी पड्कन थालिन्, “के आँखा चिम्म पारेर निदाएको बहाना गर्छौ ? तीतो सत्य ओकल्न गाह्रो भयो होइन ? घरमा सतीसावित्रीजस्ती श्रीमती छँदाछँदै परस्त्रीसँग लठारिन पुग्यौ, होइन ? टुकुटुकु हिँड्ने छोरो छ, बाउबाजेले जोगाइदिएको वर्षभरि खान पुग्ने जायजेथा छ । अब केको कमी भयो र तिमी अर्की ल्याउन खोज्दै छौ ?” उनले मनमा गुम्सिएर रहेको सम्पूर्ण उहापोह पोखिन् ।
“दिलमाया! त्यसो होइन । तिमी जे सोच्दै छ्यौ, त्यो बिल्कुलै सत्य होइन । ती युवती मेरा साथीकी प्रेमिका हुन् । त्यो फोटो उनको परिवारलाई देखाउन ल्याएको हो । कुरा बुझ, फत्तुरका कुरा नगर ।” अब भने प्रकाशले भित्री मनको कुरा खोल्यो ।
“तिमी जे भन, मलाई पनि प्रेम गरेरै ल्याएका थियौ । म पनि तिम्रो समाज बाहिरकी नारी हुँ । यस समाजमा समायोजन हुन मलाई कति गाह्रो परेको थियो, त्यसको कहिरन शब्दमा वर्णन गर्न सक्दिनँ । तिमी आफ्नो सौन्दर्य र हाउभाउले जवान केटीको मन तान्न सिपालु छौ र यहाँ ल्याएर अलपत्र छाडिदिन्छौ ।” उनले विगतदेखि अहिलेसम्मको इतिवृत्त खोल्न खोजिन् ।
सासू-ससुराले पनि थपथाप गरे । प्रकाश स्पष्टीकरण दिँदा-दिँदा थाक्यो । अर्काकी छोरी र अर्काकी पत्नीलाई आफूसँग गाँसेर कुरा नगर भनेर दर्जनौँ पटक भन्यो । सुन्नेहरूका कान बहिरा भइसकेका थिए, गुन्ने मस्तिष्कहरू भुत्ते भइसकेका थिए । कुनै अप्रिय घटना घट्ने अवस्था सङ्घारमै आएको अनुभूत गरिँदै थियो ।
प्रकाशले खाना खाने मन गर्यो । श्रीमती अर्कोतिर फर्किइन् । ऊ आमातिर फर्कियो र आफ्नो इच्छा दोहोर्यायो । आमा पनि जमिनतिर हेरेर घोरिइरहिन् । सधैँ खाना माग्दा तुरुन्त उपलब्ध गराउने श्रीमती र आमाको व्यवहारले उसको मस्तिष्कमा हजार भोल्टको झड्का लाग्यो । ऊ भुतुक्क भयो । बुबासमेत उपेक्षाभावले रमिते भएको पाउँदा उसलाई आफू परिवारकै सदस्य नरहेको भान भयो ।
‘नबिराउनु, नडराउनु’ भनेझैँ आफूले कुनै अप्रिय काम नगरेको र यो परिस्थितिको भ्रम एक दिन चिरफार भई सार्वजनिक हुने ठहर गर्दै प्रकाश भान्साकोठामा छिर्यो । थालमा दाल, भात, तरकारी लियो । खान बस्यो, तर रुचि भएन । कसै गरे पनि रुचि जागेन । दुई-चार गाँस मुस्किलले निल्यो, दुई गिलास पानी पियो र बिस्तारामा पल्टियो ।
ऊ झकाउन लागेको थियो, श्रीमती आइन् र फतफताउन थालिन्, “सुध्रनै नसक्ने भूल गरेर कसरी निदाउन सकेको हो कुन्नि ? हाम्रो पहाडमा भए दोस्रो बिहे गर्ने श्रीमान्लाई पाता कसेर आँगनमा लडाउँथे । गाउँलेहरूले नै पीडित श्रीमतीलाई सहयोग गर्थे । यहाँ त जो बिग्रन्छ, त्यसलाई हाँसिमजाकको पात्र बनाउनेबाहेक अर्थोक केही गरिन्न । गाउँलेलाई एक छाक भोज खुवाएर अमिल्दो कुरो मिलाउने परिपाटी छ । यसले गर्दा त छट्टुहरूको मनपरी चलेको हो, धन हुनेहरूको रजाइँ चलेको हो ।”
आवाजले प्रकाशको तन्द्रा भङ्ग भयो । ऊ बोल्न चाहँदैनथ्यो । श्रीमतीतिर नजर गाड्यो । उनी चुल्ठो फुकाएर र सारीमाथि सुर्केर खडा थिइन्, मानौँ उनी रणमैदानमा उपस्थित महाकाली थिइन् । प्रकाशको मनमा विविध आशङ्काले तँछाडमछाड गर्न थाले ।
उसले आफू चोखै रहेको आशयलाई आवाजमा परिणत गर्न खोज्यो, “तिमी जे भन र जे ठान, म गलत छैन । ममाथि नानाभाँतिका आशङ्का नगर । साथीकी प्रेमिकाको फोटो हो । गाउँलेहरूलाई देखाएर र दिएर बाँकी बचेको हो भनेर कति पटक भन्नू ? भन्दा-भन्दा थाकिसकेँ । अब मसँग छाती चिरेर देखाउनुको विकल्प छैन । त्यसो गर्न सकिने पनि होइन, किनभने म हनुमान पनि होइन । कचकच अति भए खति हुन्छ । त्यसैले मन बुझाए राम्रो हुन्थ्यो, कुरा बुझ न ।”
“कचकच! मैले कचकच गरेकी छैन । आफूले खनेको र हिँडेको बाटो सही छ भनेर थरीथरीका गफ झिकेर अलमल्याउन खोजेको कुरा म बुझ्दिनँ र ?” दिलमायाले अडान लिइराखिन् ।
दिलमायाको जिद्दीअगाडि प्रकाश टिक्न सकेन । ओछ्यानबाट उठ्यो, एकक्षण गम खायो । बाहिर निस्कियो, चउरतिर गयो, शौच गर्यो र फर्कियो । त्यस बेलासम्म ढोका लागिसकेको थियो । चार वर्षको छोरो मस्तले निद्रादेवीको काखमा थियो । श्रीमतीचाहिँ छटपटाइरहेकी थिइन्, भुतभुताइरहेकी थिइन् ।
उसले ढोका खोल्न आग्रह गर्यो, तर ढोका खुल्दै खुलेन । ऊ झ्यालनेर उभियो र भित्र हेर्यो । पोकापन्तेरा तयार हुँदै थिए । कुनै लामो यात्रामा निस्कनका लागि तम्तयार भएजस्तो देखिन्थ्यो । कारण के थियो, उसले बुझ्न सकेन; मात्र झ्यालनेर उभिएर दर्शक भइरह्यो ।
“अब मलाई छोरो पनि चाहिएन । तिम्रो घरबार, आमाबुबा कसैको सहारा पनि चाहिएन । जीवनभर आँसु र हाँसोमा साथ दिन्छु भनी कसम खाएको मान्छेले नै त्यागेपछि ऊसँग सम्बन्धित सम्पूर्ण कुराहरू मैले पनि आजैबाट त्यागेँ ।” श्रीमतीको वज्रबाण प्रहारबाट ऊ आत्तियो र थप स्पष्टीकरण दिँदै बोल्यो, “यो के भन्दै छ्यौ ? राजदेव र मालतीको मिलन गराउन मैले भूमिका खेलेर कुनै अपराध गरेको छैन । मलाई किन अपराधी घोषणा गर्दै छ्यौ ?”
“कसैलाई अपराधी घोषणा गरी सजाय दिलाउने मेरो हैसियत छैन । बरु बेहोसी म आफैँ हुँ । आफूसँग रत्तिभर नराखी सम्पूर्ण विश्वास तिमीमाथि खन्याउनु नै मेरो भूल हो । भूल गर्दै जाने मान्छे कालान्तरमा अपराधी नै घोषित हुन्छ । मेरो चेत खुलिसकेको छ, त्यसैले यहाँ आजको रात कटाएर गन्तव्यहीन यात्रामा हिँड्दै छु ।”
श्रीमतीको आक्रोशले उसलाई मर्माहत तुल्यायो । किंकर्तव्यविमूढ भएर ऊ टोलाइरह्यो ।
“के ट्वाल्ल परेर हेर्छौ ? आजको रात मलाई यस कोठामा मस्तले ढलिमली गर्न देऊ । भोलि सूर्योदयपूर्व नै सम्पूर्ण तिम्रै हो । यतिन्जेल तिम्रो छोरो, बुबाआमा र घरव्यवहार सम्हालिदिएकी थिएँ; अब तिमीलाई नै सम्पूर्ण कुरा फर्काएर जाँदै छु ।”
“यस्तो कदम उचित छैन । त्याग्ने कुरा नगर । एक पटक बाटो बिराएमा सपार्न गाह्रो हुन्छ । तिम्रो विश्वासलाई मैले हृदयमै सजाएर राखेको छु, त्यसमा कुनै दाग लगाउने काम गरेको छैन ।” प्रकाशले स्पष्टोक्ति दिने जमर्को गर्यो ।
“ए! तिमीले बाटो बिराउँदा हुने, मैलेचाहिँ बिराउन नहुने ? बरु तिमीले बिराएको बाटो सपार्न सकिएला, तर म चाहिँ सपार्नै नसकिने गरी बाटो बिराउन गइरहेको छु । भए–गरेका कमी-कमजोरीप्रति यतिन्जेलकी सहयात्री ठानेर माफ गर । घरबार, छोरो र आमाबुबाको ख्याल गर । मेरो अभाव कतै खट्किन नदेऊ । यत्ति गरेमा मेरो आत्माले पनि शान्ति पाउनेछ, छोराको आदर र सासू-ससुराको आशीर्वाद मेरो टाउकामा पर्नेछ, म धन्य हुनेछु ।” उनले गहभरि आँसु पार्दै आफ्ना कुरा समाप्त गरिन् ।
प्रकाश बोल्नै सकेन । सोचमग्न भयो— यिनी नहुँदा घरबारको दुर्दशा हुने, आमाबुबाको टेक्ने लठ्ठी भाँचिने निश्चित छ । बरु आफू नहुँदा केही फरक पर्दैन । वंश चलाउने छोरो जन्मेकै छ, जीविकोपार्जन गर्ने पुर्ख्यौली सम्पत्ति सुरक्षित छ, बुबाआमाको जीवनमा सङ्कट आउने छैन । छोराको पालामा सम्पत्ति कम भए उसले पनि जोड्न सक्छ । उमेर छ, महिला, दलित र मधेसी दुवैमा सिट आरक्षण गरिएकै छ, उनले पनि जागिर खान सक्छिन् ।
“दिलमाया! तिमी साह्रै जिद्दी गर्छौ भने बरु मलाई पन्छाऊ । म कसैका आँखामा प्रिय भइनँ, सिर्फ राजदेव र मालतीको नजरले मात्र मलाई महान् ठान्छ । म नभए परिवारलाई कुनै फरक पर्दैन, तिमी नभए कसैका आँखा ओभाउँदैनन् ।” प्रकाशको सिद्धान्त बुझेपछि श्रीमती अलिक सहज तर प्रतिबद्ध स्वर निकाल्छिन्, “त्यही त, तिम्रा गुलिया कुराको मायाजालमा फँसेर म मतिभ्रष्ट भएँ । अब अरू भ्रममा पर्नु छैन । यो घरव्यवहारको रचना मेरो नाममा भएको छैन, तिम्रो नाममा भएको छ । मैले जे गर्नुथियो गरेँ, अरू प्रताडना सहने क्षमता मसँग बिल्कुलै छैन ।”
“प्रिय! त्यसो नभन । तिम्रो अभावमा म त निर्जीव लासजस्तो भएर बाँचूँला, तर छोरो र आमाबुबाको प्राण रहने छैन । उहाँहरूको खुसीका लागि तिमीले आफ्नो निर्णय फिर्ता लिनुपर्छ । बरु, तिम्रो शङ्का निवारण भई म तिमीमा मात्र समर्पित छु भन्ने अनुभव भएपछि मात्र म तिम्रो समीपमा आउँला । तसर्थ, दायाँ–बायाँका कुरा नगर प्रिय!”
“भन! तिमीलाई जे भन्नु छ, म मात्र सुन्छु । काम भने जे निर्णय गरेँ, त्यही गर्छु । मलाई पाप नलागोस्, मैले सम्पूर्ण कुरा जिम्मेवार मान्छेलाई सुम्पेर फुर्सदिली भएकी हुँ । पछि कसैले आँसु चुहाउनुपर्दैन । म राजीखुसीले आफ्नो जीवनको महत्त्वपूर्ण फैसला गर्दै छु । सफल दाम्पत्य जीवन नहुने भएपछि असफल हुनै नपर्ने बाटो समाउन पुगेकी हुँ । यसमा दोष कसैको छैन, छ भने सिर्फ मेरो अज्ञानताको छ ।” उनले लामो कथन अघि सारिन् ।
“हरे शिव! तिमी किन बुझ्दैनौ ? यस कठ्याङ्ग्रिँदो जाडोमा म बाहिर छु । मध्यरात भइसक्यो, ढोका खोल । अन्यथा निर्णय नगर । मैले बोलेको बोलीमा समेत विश्वास गर, नगरे नगर, तर सत्यता परीक्षण भने अवश्य गर । परीक्षणको नतिजा जे आउँछ, त्यसकै आधारमा आफूले चाहेबमोजिम गर । कृपया, अहिले अन्धी नबन । म स्वार्थी मनुष्य होइन, सुख अरूलाई दिएर दुःख उठाउन तत्पर मान्छे हुँ ।”
प्रकाशका कुराले उनी झन् आक्रोशित भइन्, “ए! तिमीले ललाई-फकाई गरी मलाई पहाडबाट भगाएर बिहे गर्यौ । विश्वासबिना नै हामीले छोरो जन्मायौँ ? विश्वास नभएरै यत्रो घरबार, बुढाबुढीको स्याहार-सुसार गर्ने जिम्मा पाएकी हुँ र ?”
“भो, भो कुरा छाड । मलाई तिमीमाथि पूरा विश्वास छ । तिमी नाङ्गो खुकुरी लिएर मेरो गर्धन छिनाल्न आयौ भने पनि म घाँटी थापिदिन्छु, तर प्रतिकार गर्दिनँ । मलाई तिमीमाथि त्यति विश्वास छ ।” प्रकाशले पनि अविचल विश्वास जाहेर गर्यो ।
“पहाडेकी छोरी मधेसियासँग पोइल गई भनेर गाउँलेले गिल्ला गर्दा मलाई जन्माउने बाबुआमाको मन कस्तो भयो होला ? कति दुःख र यातना भोग्नुपर्यो होला । म लरतरो मूल्य चुकाएर तिमीसँग आएकी होइन । गाउँको आठ हजारको तलब–भत्ताको जागिर त्यागेकी छु; साथीभाइ, परिवारजन, इष्टमित्र सबैको मायामोह र साथ गुमाएकी छु । आफ्नो सांस्कृतिक परम्परा, मूल्य र मान्यतालाई चटक्कै छाडेर परिवर्तनको मार्गमा साथ दिन तिमीसँग आएकी हुँ । मेरो कारणले तिम्रो परिवार र समाजले परिवर्तनको महसुस गर्न पाओस् भनेर मैले पूरै पहाडलाई त्यागेर पूरै मधेसी भएकी हुँ । मेरो त्याग र साथको अवमूल्यन गरेर पनि ठूलो बोली निकाल्न कसरी सकेका हौ कुन्नि ?” उनी एकोहोरो फलाक्दै गइन् ।
“अझ पहाडमा मेरो कोही छैन, कसैले मलाई स्वीकार्दैन । यहाँ तिमीले पनि लत्याएपछि यस धर्तीमा मेरो भन्ने कुरा अज्ञात नै रहने भयो । तसर्थ म के गर्छु, गर्दिनँ, म बिल्कुलै जान्दिनँ । तर, सम्पूर्ण कुरा त्यागेँ । हेर प्रकाश! जीवन बचाउन र फुलाउन पलपल जोखिम मोल्न सक्नुपर्छ । मात्र जीवन अल्झाइराख्ने हो भने कसैले केही पनि गर्नु पर्दैन । यतिन्जेल म जीवनमा अल्झिएँ; अब म जीवनलाई अर्कै मोड दिन चाहन्छु । सुगन्धविनाको जीवन जिउनुभन्दा चेतनाशून्य जीवन नै बेस हुन्छ ।” दिलमायाको लामो कुराले प्रकाश रन्थनियो ।
“दिलमाया! धेरै भन्यौ । अब अरू सुन्ने धैर्य मैले गुमाइसकेँ । भोलि जाने बेलामा मेरो मुहार हेरेर मात्रै गइदेऊ है त!” ऊ आँसु पुछ्दै गोहालीतिर लाग्यो ।
×××
रातभरि विषवर्षा भइरह्यो । चट्याङ नमस्कार मुद्रामा प्रस्तुत भयो । चन्द्रमा त अघिदेखि नै रमिते थियो नै, उसले पनि मन खुम्च्यायो । हावा पूर्व–पश्चिम, उत्तर–दक्षिण, तल–माथि जताततै दगुर्न थाल्यो । कसैले भेट्छ कि भनेर भागेझैँ भागिरहेको हावाले प्रकाशको कानमा ध्वनि भर्न खोज्यो । बेनियम पदार्पण भएर सूर्यले खबरदारी गर्न खोज्यो । चन्द्रमाले आफ्नो समयलाई दाग नलगाइदिन अनुरोध गर्यो । चट्याङले अनुरोधकै भाकामा गीत गाइदियो । आखिरमा सबैको प्रयत्न असफल सिद्ध भयो । सोझो मनको प्रकाशले सोझो राजमार्ग रोज्यो र शून्यतामै विलीन भयो ।
झिसमिसेमै दिलमाया आँगनबाटै चिच्याइन्, “लौ न नि मेरो हजुरलाई के भयो ?” आफ्नो समयको करुण रोदन सुनेर सूर्यले पनि शोकका दुई थोपा आँसु बर्साइदियो । दर्जनौँ मानिस जम्मा भए । पल्लो गरामा एउटा गोमन सर्प एक्लै डुल्दै थियो, सबैको ध्यान त्यतै खिचियो । अर्को कुनामा मेटासिटको बोतल र बिर्को अलपत्र अवस्थामा लडिरहेका थिए, त्यतातिर भने कमैको ध्यान पुग्यो ।
ट्र्याक्टर आयो । थोरै आशा थियो । लहान अस्पताल पुर्याउन भनी प्रकाशको शरीर राखियो । कोही भन्दै थिए, “मेटासिट पिएर प्रकाशले जीवन फालेछ । कुन केटा र केटीको जोडी बाँध्न लाग्दा तनाव भएछ, पक्कै पनि मृत्युको कारण त्यही हुनुपर्छ ।”
अर्का थरी भन्दै थिए, “होइन, त्यसो होइन । तनाव त थियो, तर त्यसै बखत गोमन सर्पले डसेको हुनुपर्छ । प्रकाश मेटासिट पिएर आफैँलाई घात गर्ने मनसायको मान्छे हुँदै होइन । त्यस्तो हीनताबोधी क्रियाकलाप उसबाट कदापि हुन सक्दैन ।”
जसले जे भने पनि बलान नदीनेर आइपुगेपछि सम्पूर्ण आशाहरूले एकसाथ आत्महत्या गरे । प्रकाशको नश्वर देह पनि बलान नदीमै खरानी र धुवाँ भई टाढा–टाढासम्म फैलिइरह्यो । एउटा विशाल कल्पवृक्षको समाप्तिमा मेरा र मालतीका आँखाबाट अश्रुधारा बगिरह्यो ।
∎∎∎∎∎
क्रमशः


