रामप्रसाद समाजका अगुवा व्यक्ति थिए । के थिएन र उनीसँग ? धन, दौलत, यश, मान कीर्ति सबै थिए । उनी गाउँका राजनीतिक व्यक्तित्व पनि थिए । गाउँमा झैझगडा थिचोमिचो हुँदा उनलाई गुहार्थे सबैले । गाउँको विकासमा पनि महत्वपूर्ण योगदान गरेका थिए । वरपरका अन्य गाउँको तुलनामा उनको गाउँ विकास भएको थियो । सबै चिज भएर पनि उनका सन्तान थिएनन् । गायत्रीसँग विवाह भएको पनि सात वर्ष भैसकेको थियो । यद्यपि उनको उमेर बत्तिस वर्षको भएपछि गायत्रीसँग विवाह भएको थियो । ज्योतिषी देखाउँदा सौतेनी ग्रह परेको छ अर्को विवाह गरेपछिमात्र सन्तान हुने कुरा ज्योतिषीले भनिदिए । उनको धन सम्पति र मान देखेर उनलाइ कन्या दिन धेरै राजी भए उनको उमेर ढल्किए पनि । नभन्दै उनले पल्लो गाउँको सुमित्रालाई बाजागाजासहित जन्ती लगेर भित्र्याए । सुमित्राको उमेर बाइस बर्षको थियो ।
दिनहरु वित्दै गए । नभन्दै गायत्री पनि गर्भवती भइन् । उता सुमित्रा पनि गर्भवती भइन् रामप्रसाद खुसीले गदगद् भए । आजभन्दा भोलिभन्दा गायत्री सुत्केरी भइन । उनले छोरा पाइन् । रामप्रसादले गाउँका सबैलाई बोलाए पार्टी दिए । धुमधामसँग पार्टी मनाए । त्यसको पन्ध्र दिनपछि सुमित्राले पनि छोरो नै पाइन् । त्यसमा नि उनले फेरी पार्टी दिए । रामप्रसाद अझ खुसी भए । उनका दुईभाई छोरा भए । उनकाे धन सम्पति सम्हाल्ने वंश पैदा भए भनेर ।
रामप्रसादले उनीहरु दुबैको पास्नी एकैचोटी गरेर फेरी धुमधामसँग पार्टी दिए । समयक्रममा उनीहरुको स्कूल जाने उमेर भयो । दुबै छोराहरुलाई एउटै स्कूलमा भर्ना गरिदिए । जेठोको नाम थियो आकाश र कान्छोको नाम थियो प्रकाश । उनीहरु असाध्यै मिल्थे । आकाश र प्रकाशले राम्रो पढदै गए । आकाश प्रथम र प्रकाश द्वितिय हुन्थे । एस.एल.सी.मा उनीहरु दुवै भाई विशिष्ट श्रेणीमा उत्तीर्ण भए । आकाशको र प्रकाशको प्राप्ताङ्गमा पनि जम्मा २ नम्बरको फरक थियो । दुबै भाई विज्ञान विषय लिएर कलेज भर्ना भए । +२ पनि उनीहरुले राम्रो अंक ल्याएर उत्तीर्ण गरे । त्यसपछि नेपाल आर्मीमा सेकेण्डे लेफ्टिनेन्टको लागि दरखास्त आह्वान भएको विज्ञापन देखे उनीहरुले । दुबै भाईले दरखास्त दिए । सबै परीक्षा उत्तीर्ण गर्दै गए । अन्त्यमा हस्पिटल चेक जाँच भयो । आकाश सेकेण्ड लेफ्टिनेन्टमा छनोट भए । प्रकाश भने छनोटमा परेनन । उनलाई बैचेनी गरायो । उनी त्यही बेलादेखि घरमा कसैलाई खबर नगरी कता बेपत्ता भए कसैलाई पत्तो थिएन ।
दाजु आकाश सेनामा तालिम लिएर लेफ्टिनेन्ट भए । काम राम्रो सम्हाल्थे । उनको पुन पदोन्नति भयो र उनी क्याप्टेन भए ।
रामप्रसाद छोरा क्याप्टेन भएकोमा खुशी थिए भने प्रकाश हराएकोमा बेखुशी । अनेकतिर खोजी खबर गर्दा पनि प्रकाशको अत्तोपत्तो लागेन । आकाशले नेपाली सेनामा राम्रोसँग कमाण्ड गर्दै गए । देशमा राजनीतिक अस्थिरता भद्रगोल थियो । एउटा राजनीतिक दलले सशस्त्र विद्रोह गरेको थियो । देश जर्जर भयो । सबैतिर अस्तव्यस्त थियो । राज्यले सशस्त्र विद्रोह गर्ने दलमाथि सेना परिचालन ग¥यो । दिनदिनै भीडन्तका खबर आउँथे । सशस्त्र विद्रोह गर्ने दलले छापामार शैलीमा आक्रमण गर्थ्यो । कहिले सेनाका जवानहरु हताहत हुन्थे भने कहिले सेनाले विद्रोही पक्षका धेरै जनालाई हताहत पार्थ्यो । मार्ने मर्ने क्रम चलिरहेको थियो । देश आर्थिक अवस्थाबाट नि अत्यन्तै कमजोर भयो । जनताहरुले सम्साझैं ढोका बन्द गर्न थाले डरले । गाउँमा नयाँ मानिस आयो कि डराउनुपर्ने स्थिति भयो । उता सुमित्राले धेरै पीर गरिन् । रामप्रसाद सम्झाउँथे हाम्रो दुइटा छोरामध्ये एउटा हराए पनि एउटाले राम्रो जागिर खाएको छ । एकदिन न एकदिन त फर्केर आउला नि भनेर सम्झाउँथे । भित्रभित्रै पीर त उनलाई नि नलागेको कहाँ हो र ? गायत्री र सुमित्रा बीच पनि बेलाबेलामा घोचपेच चलिरहन्थ्यो । रामप्रसादले मिलाएरै राखेका थिए दुबै श्रीमतीलाइै । प्रकाश हराएको देखि आकाशले पनि सुमित्रालाई धेरै माया गर्दथ्यो ।
देशमा विद्रोह झनझन चर्कदै गयो । विद्रोही पक्षले जिल्ला सदरमुकाममा कब्जा गर्ने प्रयत्न गऱ्यो । राति अचानक आक्रमण गऱ्यो । जेलका बन्दीहरुलाई छोडिदियो । बाइसजना प्रहरीहरु मारिए । देशमा एक प्रकारको सन्नाटा छायो । आकाश प्रमोशन भई मेजर भैसकेको थियो । सेनाको हेडक्वार्टरले आकाशकै कमाण्डमा विद्रोही पक्षमाथि कब्जा गर्न खटायो । सेनाको टोलीले सदरमुकाममा अपरेशन चलायो । एउटा घरमा लुकेर बसेका ५ जना विद्रोही भाग्ने प्रयत्न गरे । आकाशले उसका मातहतका सिपाहीलाई गोली हान्ने आदेश दियो । ४ जना ठहरै भए । उसले पनि हत्तपत्त पेस्तोल झिकेर निशाना लगायो । एकजना भाग्दै गरेको विद्रोहीको टाउकोमा गोली लाग्यो । गोली लागेर ढलेको विद्रोही सामु पुगेर कब्जा गर्न जादा गोली लागेको व्यक्तिले मुखबाट ह्वालह्वाल रगत छाड्दै पानी भन्यो । अनुहार देखेर आकाश नतमस्तक भयो । ऊ रातोपिरो भयो र तुरुक्क आँसु चुहायो । आकाशको मुखबाट भाइ प्रकाश भन्ने शब्द फुत्किन नपाउँदै प्रकाशले आँखा टाढा टाढा हेर्दै तनक्क जीउ तन्कायो ।