“तिमी त उज्यालोमा रहन्छौ। सबै कुरा देख्छौ। सबै काम समय छँदै सक्छौ। कति राम्रो है तिम्रो कर्म!” अस्ताउँदै गरेको पूर्वसन्ध्यामा रातले उज्यालोलाई भनिन्।
यो सुनेपछि उज्यालोले हाँस्दै भन्यो – “तिमी पनि अँध्यारोमा राम्रोसँग निदाउन पाउँछौ। आराम पाउँछौ। योभन्दा के राम्रो चाहियो र तिमीलाई!”
“निदाउने, आराम गर्ने कुरा एक किसिमले हो पनि, होइन पनि!” रातले वेदनायुक्त स्वरमा भनिन्।
“यसको अन्तर्य के हो नि?” उज्यालो उत्तरको जिज्ञासामा अझ गहिरिएको देखियो।
“त्यति पनि बुझ्दैनौ लाटा! हामी पो आफ्नो सीमामा बाँधिन्छौँ। आ-आफ्नो काममा पारदर्शी हुन खोज्छौँ। यहाँ त मान्छेहरू आएर रातभर मात्तिन्छन्। ठूलाठूला खतरनाक योजना बुन्छन्। पैसाका लागि नाङ्गिन्छन्। अनि कसरी आराम गर्न पाउनु, कसरी निदाउनु?”
त्यसपछि उज्यालोले गम्भीर हुँदै भन्यो – “कति जाती हुन्थ्यो होला है, मान्छेले पनि आफ्नो दायित्वलाई हामीजस्तै आफ्नो समयसीमाभित्रै पूरा गरे!”
“हो त बिल्कुल! अब जाऊ जाऊ तिमी, कोही आएजस्तो छ!” उज्यालोलाई रातले कानेखुसीको पारामा भनिन् र आफ्नो काममा फटाफट लागिन्।
यतिबेला केही व्यापारी, केही माफिया र माथिल्लो तहमा काम गर्नेजस्ता सुकिला झुण्डहरू रातको प्राङ्गणमा देखा परे।
दमक बजार–७, बगैँचा मार्ग, झापा


