एउटा घर चिटिक्क परेको भुईँतल्ले, तर एक्लो, एकान्तमा अवस्थित, बस्तीदेखि पर, ठूलो प्रवेशद्वार, सामान्य बगैँचा पनि, वरिपरि पर्खालद्वारा घेरिएको घरमा जम्माजम्मी चार कोठाहरू छन् । एक बैठक, दुई शयनकक्ष, तीन भान्सा र चार पुस्तकालय, शौचालय र स्नानागार अलग्गै ।
फगत एक मनुवा बस्छन् यो घरमा । पेसाले अङ्ग्रेजी साहित्यका प्राध्यापक, रुचिले साहित्यकार । हाल अवकाशप्राप्त, अरू कोही छैनन् अथवा कोही बस्दैनन् यहाँ । उनकी श्रीमती थिइन् विमान परिचारिका, अन्त कतै उडिन् । एउटी छोरी पनि थिइन्, बिहेपछि देखा परिनन् ।
अचेल ढिलै उठ्छन् । उनी उठ्दा घाम छिप्पिसकेको हुन्छ । उठेर कोठाबाट बाहिरिन्छन् । शौचादि कर्म गर्छन् । स्नानपश्चात् कोठामा फर्किन्छन् । कपडा फेर्छन् र डुल्न निस्कन्छन् ।
हिँडेर पर मन्दिरसम्म पुग्छन् तर मन्दिर घुम्दैनन् । प्राङ्गणबाटै फिर्छन् । छेउको चियापसलमा पस्छन् र मेचमा बस्छन् । एक कप कालो चिया अर्डर गर्छन् । चिया नआउन्जेल त्यत्तिकै बसिरहन्छन् । कोहीसित बोल्दैनन् । पछि चिया पिइसकेर उठ्छन् र पैसा तिरेर सरासर बाटो लाग्छन् ।
बाटामा आवश्यक खानेपिउने कुराहरू खरिद गर्छन् । अनि, घरतिरै सोझिन्छन् ।
उनी बिहानभरि पढेर बस्छन् । उनको पुस्तकालयमा विभिन्न भाषामा लिखित-प्रकाशित विविध विषयका पुस्तकहरू सङ्कलित छन् । अधिकांश अङ्ग्रेजी भाषाका साहित्यिक किताबहरू छन् । पढेर कत्ति पनि थाक्दैनन् ।
उनी देहातबाट पढाइको सिलसिलामा काठमाडौँ झरेका हुन् । पढ्दापढ्दै, काम गर्दागर्दै एक टुक्रा घडेरी किने र पछि घर बनाएर बसे यहीँ ।
प्रायः कच्याङकुचुङ खान्छन् । कहिलेकाहीँ खाना पनि आफैँ पकाएर खान्छन् । अल्छी लाग्दा नजिकैको होटलबाट मगाएर खान्छन् । खाइसकेपछि केही क्षण आराम गर्छन् ।
दिनभरि केही न केही लेखेर बस्छन् । अक्सर नेपाली र अङ्ग्रेजी भाषामा कविता लेख्छन् । अन्य लेखहरू पनि लेख्छन् । उनका चार कवितासङ्ग्रह र तीन अनुदित कृतिहरू छापिएका छन् ।
उनी साँझपख डुल्न निस्कन्छन् । कहिले कता, कहिले कता । धेरैजसो पुस्तक पसलतिर चहार्छन् । रुचिकर पुस्तक किनिहाल्छन्, पैसाको पर्वाह गर्दैनन् । पढ्न नसके, नभ्याए पनि किनेर ल्याउँछन् । भव्य छ उनको पुस्तकालय ।
राति हल्काफुल्का खान्छन् । दूध एक कप अनिवार्य चाहिन्छ । अबेरसम्म अध्ययन गरिरहन्छन् । कति बेला सुत्छन्, कुनै ठेगान हुँदैन ।
अक्सर पुराना मित्रहरू ( विशेष गरी विश्वविद्यालयमा सँगै पढेका र पढाएका ), साहित्यकारहरू तथा पत्रकारहरू उनलाई भेट्न र भलाकुसारी गर्न आइरहन्छन् । यस्ता भेटघाट र भलाकुसारीबाट उनी सदा आह्लादित हुन्छन् र सन्तुष्ट पनि ।
उनको घरमा यदाकदा, भनौँ हप्ताको एक-दुईपटक, एउटी महिला आइरहन्छिन् । घरायसी कामहरू (जस्तै: भाँडाकुँडा माझ्ने, लुगाफाटो धुने, शौचालय सफा गर्ने आदि) गरेर जान्छिन् । महिनावारी पारिश्रमिक पाउने गरी ।
यस्तै छ दिनचर्या । यसरी नै चलिरहेको छ एकल जिन्दगी । उनको जिजीविषा यथावत् छ ।
एक बिहान घाम कलिलै छ । घरेलु कामदार महिला त्यहाँ आइपुगेकी मात्र हुन्छिन्, अचानक चिच्याएर बाहिर निस्किन्छिन् – गुहार…गुहार ..लौ….न…उहाँ सरलाई के भयो !
वरपरका मान्छेहरू ओइरिन्छन्, जम्मा हुन्छन् । घरभित्र पस्छन् सबै ।
त्यहाँ बैठकको सोफामा उनी निस्लोट पल्टिएका देखिन्छन् । मृत्युवरण गरिसकेका उनको ठिक सामुन्ने टेबुलमा सिल्भिया प्लाथको कविता सञ्चयन ‘एरियल’ अवस्थित छ । सँगै, ‘डेथ’ शीर्षकमा लेखिएको अपूर्ण अङ्ग्रेजी कविताको पाना पनि छ ।
समयान्तरमा अन्य मान्छेहरू पनि एकत्रित हुन्छन् । वडा कार्यालय, प्रहरी र छरछिमेकका मानिसहरू सम्पूर्ण मिलेर आफन्तलाई सूचना दिने, शवलाई व्यवस्थित गर्ने, पोस्टमार्टम गराउने र दाहसंस्कारका लागि घाटतर्फ लग्ने कुरामा सहमति जनाउँछन् ।
शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ । यद्यपि आफन्तजन कोही पनि आइपुगेका छैनन् । मसानजस्तो छ घर ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।