बनेपाबाट माइक्रो चढेर म कोटेश्वर जानु पर्ने,
आज दिन पनि बहुतै गर्मी थियो । बिहानैदेखि धुलोले आकाश छेकेको थियो । मनमा पनि बहुतै पिर परेको थियो । छोरो १७ बर्षको भो तर कुनै उद्यम गर्न सकेन त्यसैले कुनै एउटा मेंनपावर कम्पनी खोजेर मलेसियातिर पठाउने सुरले ४ दिनदेखि सताई रहेको थियो । पल्ला घरको साने मलेसिया गएको पनि २ वर्ष भो गाउँमा ३ रोपनी खेत किनी सक्यो । माथ्ला घरको ठूले कतार गएर मज्जाले पैसा कमाएर बाउ चाहिले पसल राखेर गाउमा चुरी फुरी नै बेग्लै छ तर मेरो छोरा रामे भने २७ बर्षको भै सक्यो न पढ्न सक्यो न कुनै काममा नै ध्यान दिन्छ त्यसैले जसरी नि गतिलै देशमा पठाउनु मेरो बाध्यता नै हो र अलि छिटै जानु पर्ने भएको हुनाले मलाइ माइक्रो बस मै जादा ठीक होला कि जस्तो लागेर माइक्रो बस चढेँ। त्यहाँ एउटा केटो उमेर करिब १६ वर्षको हुनुपर्छ । माइक्रो बसको ढोकामा झुन्डिएको, ऊ गन्तव्यहरूको सूची चिच्याइरहेको थियो । बस आफ्नै रफ्तारमा कुदिरहेको थियो ठीक मेरो अघिल्तिर एकजना अधबैँसे खालकी आइमाई उभिएकी थिइन् भने उनी पछाडि एक ६० वर्षझैँँ लाग्ने बृद्ध । ती बृद्धले महिलालाई गरेको अभद्रता मैले नजिक बाट नियाली रहेको थिएँ जब जब ब्रेक लाग्छ बुढा बाले मौकामा चौका हानी हाल्ने गर्न थाले हुँदा हुँदै त बुढाले अङ्गालोमै पो बेर्न थाले अनि ती आइमाई पनि बिना प्रतिकार मनोरञ्जन लिईरहिन् । दाहिनेपट्टि पनि अझ त्यो भन्दा भयानक दृष्य पो देखियो त । माइक्रोमा सिट नभए पनि केटीहरू असजिलो गरी उभिएका छन् । अधबैँसे पुरुषहरू तिनका पछाडितर्फ अनेक हर्कत गरिरहेका छन् । बेकारमा यो बस चढिएछ । के के देख्नु पऱ्यो मलाई वाक्क लागिरह्यो ।
एकै छिनमा त कतिले साला कुत्ता तलाई मारी दिन्छु भन्दै कराएको आवाज सुनियो के भो के भो भनेर सबै कराउन थाले वास्तवमा भएको रहेछ के भने ती नानीको बक्षस्थलमा ती अपरिचितले समाएछन् मैले केही गरेकै छैन ब्रेक लाग्दा छोइयो होला भनेर टकटकिन पो थाले । ओर्लिन पाको छैन जुत्ताले बजाई हालिन् ती महिलाले । दुई जनाको झगडा हुदै टुइँअ माइक्रो हुइँकी हाल्यो र एवम् रितले कतै यात्रु चढ्थे, कतै झर्थे । कुनै बेला उभिने पनि हुन्थे । कुनै बेला सिट खाली देखिन्थे ।
तर पनि खलासी त्यसरी नै झुन्डिन्थ्यो । यसरी नै कराइरहन्थ्यो त्यो १६ बर्से बालक उसलाई कराउने र कहाँ आइपुगियो भनेर जानकारी गराउने तथा पैसा अशुली गर्नमै फुर्सद थिएन । कति इमान्दार त्यो केटो जो एक हातले आफ्नो सम्पूर्ण ज्यानलाई बाजीमा राखेर जीवन गुजार्दै छ ।
लाग्छ उसको दिन रात ओछ्यान घर तथा आराम गृह सबै त्यही माइक्रो भ्यानको डन्डी हो जहाँ उसले निदाउन पाउँछ । आराम गर्न पाउँछ र जीवन रक्षाको लागि सहारा लिन मज्जाले समाउन पनि पाउँछ र केही छिनपछि झर्ने तरखर गरिरहेको करिब ५० वर्षे यात्रुले २० रुपैयाँको नोट दिँदै भन्यो, कार्ड छ ।
देखाउनुहोस् त्यो भाइले हेर्न चाह्यो । उसले दियो ।
यो कार्डले चल्दैन, पाँच रपैयाँ थप्नुहोस् , भाइले भन्यो ।
किन चल्दैन ? यात्रु गर्जियो ।
नक्कली हो, उसले सिधै भन्यो ।
साले, ऊ हात उज्याउँदै छेउमा पुग्यो ,
“स्कुल टेकेको छैन होला, मेरो कार्डलाई नक्कली भन्दोरहेछ ।” न हेप्नुहोस् दाइ उसले भन्यो, “कार्ड कस्तो नक्कली, कस्तो सक्कली हुन्छ भन्ने बुझ्ने गरी मैले पनि पढेको छु । तपाइँं धेरै पढेको मान्छेको यही हो तरिका ?”
गाडी गठ्ठाघरमा रोकियो । खलासी भुइँमा उभियो । त्यो व्यक्ति झरेर उसैलाई कुइनाले ठेल्दै हिँड्यो । यस्तो दुर्व्यवहार देखेर रोक्दै खलासी भाइले भन्यो, “खै पाँच रुपैयाँ ?”
त्यो मान्छे पनि के कम र ? उसले फर्किएर खलासीको कठालामा समात्यो । अनि थर्कायो, “बढ्ता हुन्छस् ? चुप्प लागेर जान्छस् कि तँलाई यही ढलमा फालिदिऊँ म ?” कस्तो अचम्म आफै विधि मिच्ने, आफै पैसा नतिर्ने, आफैं नक्कली डकुमेन्ट बनाउने अनि झपारेर बेइज्जत गर्ने ? के गर्नु गरीब भए पछि यस्तै हो मन मनै सम्झियो होला अनि ऊ बोल्न सकेन । डमरु कसैले खोसिदिएर रिसाएको बघिनीजस्तै आँखा तर्दै हिँड्यो त्यो गुन्ड़ो केटो ।
बिस्तारै बिस्तारै गाडी पनि अघि बढ्यो तर उसको माथ भने खल्बल्ली नै रह्यो । त्यो भाइ भने एक्लै भत्भताउन थाल्यो, साले खुब पढेको भनेर फुइँ लाउँछ । त्यसको बाउले जस्तै मेरो बाउले मलाई पढाइदिएको भए म त नक्कली कार्ड बोक्ने थिइनँ नि । अगाडि बोल्न नसक्ने पछाडि भात भट्याउने खलासीको ताल देखेर अघिल्लो सिटको एउटा यात्रुले सोध्यो, “भाइ तिमीचाहिँ नपढेर किन खलासी भएको नि ?” सुन्नुभएन र अलि बाउँठिएर उसले भन्यो, “बाउले नपढाएर ।” सोध्ने पनि चुप लाग्यो ।
गन्तव्यमा पुग्न लाग्दा म एक्लो यात्रु बाँकी रहेँ । ऊ पनि ढोका लाएर सिटमा बस्यो । बाहिर हेरेर टोलाइरह्यो । “भाइको घर कहाँ हो ?” मैले सोधेँ । “तोरी छापतिर हो ।” मतिर नहेरी उसले भन्यो । “हैन यो तोरिछाप भन्ने कुन जिल्ला हो ?” मैले कुरा गर्न चाहेँ । रामेछाप बल्ल उसले मतिर हेऱ्यो । कस्तो नाम रैछ तोरिछाप ? मेरो कुरा सुनेर ऊ अलि रिसायो त्यस्तै छ के गर्नु त काठमाडौँमा जस्तो ‘चिका मुगन र ज्याठा कुन्नि के के जस्तो नराम्रो हैन तोरिछाप हो के भो त ?’ उसले मलाई प्रति प्रश्न गऱ्यो यत्तिकै मै गाडी पनि रोकियो । म पनि चुप नै भए र झर्ने बेला किन हो कुन्नि उसले मतिर पुलुक्क हेरेर मुसुक्क हाँस्यो, मानौं अघिको रिस मरिसक्यो ।
मैले कुरा बुझिसकेको थिएँ, उसको कुनै गम्भीर कथा हुन सक्छ । भोलिपल्ट ऊ भेटिन्छ कि भन्ने आसले म माइक्रो पार्क छिरेंँ । हिजै मैलो देखिने त्यही लुगामा परैबाट चिनियो ऊ । पालो कुरेका करिब दुई दर्जन माइक्रो पछिल्लोतिर भाग्यवश भेट्टियो । के छ त भाइ हाम्रो त दिन दिनै भेट हुन थाल्यो नि तर ठीकै छ दाइ येस्तै हो नि अब गाडी लाइनमा सधैँ भेट हुन्छ नि ।
मैले चिया खाने प्रस्ताव राखेँ । उसले सर्वसम्मतले मेरो प्रस्तावलाई पारित गऱ्यो । नजिकको पसलमा बसेर मैले भित्री मनको कौतूहल मेट्न चाहेँ । गफ गर्दै जाँदा थाहा भयो उसको नाम राजु रहेछ । तिमी नपढेर किन गाडीमा काम गर्न आएको त ? मेरो मुखबाट निस्क्हिाल्यो । ऊ मतिर फर्कियो । बिस्तारैे आँखा तल झार्दै कपालदेखि जुत्तासम्म हेर्यो । अनि भन्यो, “कथा लामो छ सर ।”
मलाई त्यहीँ प्रश्न फेरि सोध्न मन लागेन । तर उसले मेरो हेराइबाट सायद बुझ्यो — म उत्तरको आसमै छु ।
“— म सात वर्षको हुँदा मेरो बाबा मलेसिया जानुभयो । घरमा आमा, म र दुइटी बहिनी थियौँ । सानी बहिनी त जम्मा एक वर्षकी थिई” ऊ रोकियो ।
— अनि ? मैले जिज्ञासा राखेँ ।
— ६ वर्षसम्म बाबा घरमा आउनुभएन ।”
— अनि ?
— एक दिन.. ऊ अड्कियो” ।
— “के भयो र ?” मैले सोध्न छाडिनँ ।
— बिहान हामी उठ्दा आमा घरमा हुनुहुन्नथेन । कतै जानुभयो भनेर पर्खेर बस्यौँ । साँझसम्म पनि आउनुभएन । बरू सिरानमुनि एउटा कागजको टुक्रो भेट्टियो, त्यसमा मलाई लेख्नुभएको रहेछ, “तिम्रो बाबा विदेशबाट फर्केर आउनुभएन । कुर्दा–कुर्दा वाक्क भएपछि म अर्कैसँग गएँ । आफ्नो ख्याल गर्नु । बहिनीहरूलाई माया गर्नू । ठूलो मान्छे बन्नू ।”
त्यसपछि घाउमा नुन हालेजस्तो मैले कोट्याउन छोडेँ ।
— हामी तीनैजना रातैभरि रोयौं । बाबाले पनि थाहा पाउनुभएछ क्यारे, तेस्रो दिन आइपुग्नुभयो । मैले सात कक्षा पास गरेको थिएँ । आठमा पढ्न थालें …।
– ऊ एकछिन रोकियो । फेरि भन्न थाल्यो,
— आमा हिँडेको दुई महिनाजति भएको थियो होला, राति अबेलासम्म बुबा आउनुभएन । हामी नसुती कुरिरह्यौं । दस बजेतिर कसैले ढोका ढकढक गऱ्यो । बाबा नै आउनुभएको रहेछ, तर एउटी महिलासँग । पस्दा–पस्दै हामीतिर हेरेर भन्नुभयो, अब तिमीहरूकी आमा यहीँ हो । उनीचाहिँ हामीसँग बोल्दा पनि बोलिनन् ।
“उसले चियाको घुट्को बडो गाह्रो गरी निल्यो । अनि फेरि कुरा जोड्यो,”
— केही दिनमै बाबाले अनेक बहानामा हामीलाई पिट्न थाल्नुभयो । स्कुलै छुटाएर काममा पठाउनुभयो । पेटभरि खान पाउने दिन सकियो हाम्रो । हामीलाई कामतिर खेदेर उहाँहरू मीठो–मीठो पकाएर खानुहुन्थ्यो । सानिमाका गाली र दुर्व्यवहार त भनिसक्नु छैन ।”
आँखा टिलपिल बनाउँदै उसले चियाको अन्तिम घुट्को लियो ।
— “यहाँ कसरी आयौ नि ?” मैले सोधेँ ।
— “केही नलागेपछि एकरात मैले घर छाड्ने निधो गरें । बाटा खर्च सुको पनि थिएन । भाग्यवश कोठा बाहिरै बाबाको सर्ट छुटेको रहेछ । छामेको हजार रुपैयाँ भेट्टाएँ । त्यहीँ लिएर काठमाडौं आई यस्तो काममा लागें ।”
“वैदेशिक रोजगारका कारण बढेको पारिवारिक विखण्डन र त्यसले पारेको धेरै बालबच्चाको बीचल्ली सम्झेर म केही बेर घोत्लिएँ ।” उसको गाडी पालोको नजिक पुगिसकेछ । जान हतारियो । जाँदा–जाँदै अलि आवेग मिश्रित भावुक स्वरमा भन्यो, “मेरा बहिनीहरूलाई तिनीहरूले लुछिसके होलान् । पारा मिलाएर चाँडै ल्याउनुछ यतै । ”
“एक दुई वर्षपछि केटोलाई राजधानीको नशा लाग्छ । ऊ गाडीमा, ग्यारेजमा सुत्न छोडेर दिनभरिको कमाइ रेष्टुरेन्टमा लगेर मालिकलाई बुझाउँछ । बिस्तारै राजुमा रक्सीको लत बस्छ । रेष्टुरेन्टका केटीहरूमा आँखा लगाउँछ । सौतेनी आमाको हेपाइ सहन नसकी उसका बहिनीहरू पनि काठमाडौँका रेष्टुरेन्टमा काम गरिरहेका हुन्छन् । ऊ बाईस वर्षको भइसकेको हुन्छ । उसले घरका बहिनीप्रतिको कर्तव्य बिस्तारै भुल्दै जान्छ । दिनहु होटलमा जाँदा जाँदा उसको एकजना केटीसँग प्रेम हुन्छ । होटलमा उसले आफ्नो घर ठेगाना ढाँटेको हुन्छ । केटीलाई पनि आफ्नो घर हेटौँडा भएको बताउँछ । केटीले राजुसँग विहे नै गर्ने प्रस्ताव गर्दछे । ऊ पनि राजी हुन्छ । तर अझै पनि केटाकेटी दुबैले आफ्ना घर ठेगाना सही बताएनन् ।
केटीले होटल मालिकलाई भनेर जागिर छोड्छे । उनीहरू केटाको घर जान गाडी चढ्छन् । तर जाँदै गर्दा केटीलाई शंका लाग्छ । आफ्नै घरमा पुगेपछि बल्ल उसले दाजु भनेर चिन्छे । दुबैजना बेस्सरी रुन्छन् । उसलाई निकै ग्लानि भएछ । राजुले केटा खोजेर ठूली बहिनीको बिहे गरिदिन्छ भने सानी बहिनीलाई खोजेर आफूसँगै राख्छ र पढाउँन थाल्छ । उसले अबदेखि कहिल्यै पनि क्याविन रेष्टुरेन्टमा नजाने प्रण गरेछ ।
मलाई साह्रै खुल्दुली लाग्यो केही वर्षपछि म फेरि भक्तपुरको माइक्रो स्टपमा पुगेँ । भेटियो उही राजु । अब निकै ठूलो र राम्रो भइसकेछ । मलाई देख्नासाथ उसले नमस्कार गऱ्यो । मेरो उप्रति धेरै प्रश्न र जिज्ञासा थियो, तैपनि मैले सोधेकै थिइन, मेरो आँखाको भाका बुझेर हो वा उसले मलाई धेरै नजिक ठानेर हो माथि लेखेको यो अन्तिमको कथा भने उसले मलाई यहीँ तेस्रो भेटमा आफैँले सुनाएको थियो ।
नेपालको गाउँगाउँमा वैदेशिक रोजगारले दुष्प्रभाव पारेको छ । कतिको घरबार बिगारेको छ । कति जना गएको ऋण तिर्न नपाउँदै बिरामी परेर फर्किएका छन् । कति त कफनमा फर्किएका छन् । मलाई यी सबै यथार्थ सम्झदा कहाली लाग्यो । आँखा तिरमिरायो । यहीँ दिन मैले मेरो चौँथो पटकको विदेश जाने योजना रोकेर नेपालमा नै सानो तिनो व्यवसाय गर्ने योजना बनाएँ ।