“साह्रै कन्जुस ! कसैलाई केही दिनै नखोज्ने हाम्रा मामा त ?” विपलले दुखेसो पोख्यो ।
हैन के भन्छ यो, “आफ्नै मामालाई नि यस्तो भन्छन् कसैले ? बिचरा ! जहान ठुलो छ । कमाई केही छैन ? तिमीहरूले पनि यसो बुझ न ।” आक्रोशित मुद्रामा आमाले भनिन् ।
अँ अँ ! तपाईंले नै भन्नुभएको होइन र ? भान्जाभान्जी हुनु भनेको त लक्षिन हो, यिनीहरूले नै हो मावलीलाई वैकुण्ठ तार्ने । भान्जाभान्जीको दिसा पनि पालीमा सिउरेर राख्छन् रे ! साइत पर्छ भनेर ? जौँ तिल छर्नेलाई पनि टीका लाएर जम्मा पाँच रुपियाँ दिन्छन् कसैले । आक्रोशित स्वरमा फेरि थप्यो ।
“कमाए पछि देला नि त । आखिर ! भान्जाको नाममा तै मात्र छस् क्यारे ! कति गनगन गर्छस् गर्न नि ?” आमाले ढाडस दिइन् ।
त्यतिकैमा मामाको फोन आउँछ । ‘ल भान्जा तिमी दिदीलाई लिएर आऊ है । श्राद्ध छ, चाँडै हिँडी हाल त ? यहाँ अह्राउने, सिकाउने पनि कोही छैनन् ? त्यसमा पनि बुबाले साह्रै हुरुक्क गर्नुहुन्थ्यो दिदीलाई’ भन्दै फोन राखे मामाले ।
बडो इज्जत, मान सम्मान मिल्छ । भान्जा आएपछि घरै उज्यालो हुन्छ । “निकै मीठा मीठा गफ हुन थाल्छन् दिदीभाइका । सन्चो बिसन्चो, खेतीपाती र बस्तुभाउ लैनो बकेर्ने के कति छन्, यस्तै यस्तै ? “त्यो दिदीभाइको स्नेह देख्दा विपल आश्चर्य चकित हुन्छन् । श्राद्ध सकिएपछि पण्डितलाई बिदा गर्छन् मामा । बडो गम्भीर भएर विपलले सोच्न थाल्छन् । “कति कुरा मिलेको हो आमा र मामाको ? दु:ख सुखका गन्थन मन्थन अघिनैदेखि चलिराछ । हाम्री आमा मामाको विरुद्ध थोरै कुरा नि सुन्न सक्नुहुन्न । सिधै खाउँला जस्तो गर्नुहुन्छ । “यस्तै अनेकौं तर्कना खेलाउँदै थिए, विपल ।
भान्जा ए भान्जा ! ल टीका लगाउनु पऱ्यो भन्दै मामाले पहेँलो अक्षता लिएर भने, “मेरो भान्जाको यश, किर्ति संसारमा फैलिएको देख्न र सुन्न पाऊ कूलपितृ सदा दाहिना रहुन्”
– भूमिका गैरे, तिमिल्सिना
[ गैंडाकोट ४, नवलपुर ]




