ढाका, बंगलादेश। बंगलादेश–नेपाल बीच साहित्यिक आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। ढाकास्थित नेपाली दूतावास तथा बंगलादेश–नेपाल फ्रेन्डशिप सोसाइटीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम बंगलादेशका संस्कृति मन्त्री मुस्तफा सरवार फारोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथिले दुई देशबीचको सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले दूतावासको सार्वजनिक कूटनीतिक प्रयासको प्रशंसा गरे। साथै, नेपाल–बंगलादेश मित्रताको मूलमा रहेको बलियो भाषिक, साहित्यिक तथा सांस्कृतिक समानताहरूमा प्रकाश पारे।
कार्यक्रममा बोल्दै राजदूत श्री घनश्याम भण्डारीले नेपाल र बंगलादेशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्दै जनता-जनता बीचको सम्पर्कलाई अझ सुदृढ पार्न साहित्यिक आदान-प्रदानको महत्त्वमा जोड दिए। उनले विद्यार्थीहरूको कलाकृतिको पनि प्रशंसा गरे। उनका अनुसार, विद्यार्थीहरूको रचनात्मक कृतिहरूले अन्तर-सांस्कृतिक समझदारी बढाउनुका साथै दुई देशबीचको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन्।
नेपाल स्रस्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ ‘रोदन’ ले ‘वर्तमान नेपाली साहित्य र संस्कृति’ विषयमा कार्यपत्र प्रस्तुत गरे। त्यसैगरी, बंगला एकेडेमीका मुजफ्फर हुसेनले ‘बंगलादेशको साहित्य: संघर्ष र रचनात्मकताको प्रतीक’ विषयमा कार्यपत्र प्रस्तुत गरे।
नेपालका तर्फबाट नेपाल स्रस्टा समाजका संरक्षक पवन आलोक, जयदेव भट्टराई, प्रदुम्न जोशी र प्रदीप सापकोटाले आफ्ना सिर्जना प्रस्तुत गरे। उता, बंगलादेशका तर्फबाट सलिम सुलेरी र उस्मान गोनीले आफ्ना सिर्जनाहरू सुनाए।
यसअघि, बंगलादेश–नेपाल फ्रेन्डशिप सोसाइटीका अध्यक्ष लायन मोशिउर अहमद हुसैनले द्विपक्षीय सम्बन्धलाई अझ प्रवर्द्धन गर्न विद्यार्थी र साहित्यिक विद्वानहरूलाई संलग्न गराउनुको महत्त्वमा जोड दिँदै स्वागत मन्तव्य व्यक्त गरे।
कार्यक्रममा चित्रकला प्रतियोगिताबाट छनोट गरिएका २० कलाकृतिहरू समावेश गरिएको विशेष प्रकाशन विमोचन गरियो।
दूतावास तथा बंगलादेश–नेपाल फ्रेन्डशिप सोसाइटीद्वारा २४ जनवरी २०२५ मा ‘नेपाल मेरो आँखाबाट’ भन्ने विषयवस्तु अन्तर्गत विभिन्न उमेर समूहका विद्यालयहरूका बालबालिकाबीच सम्पन्न ‘चित्रकला प्रतियोगिता-२०२५’ का विजेताहरूलाई प्रमुख अतिथि, महामहिम राजदूत तथा अन्य अतिथिहरूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।
फागुन १३ गते सम्पन्न उक्त कार्यक्रमको सञ्चालन योजना बमजनले गरेकी थिइन्।


