काठमाडौं। साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’को नवीनतम कथा संग्रह “फिर्दोसको साँचो” सार्वजनिक हुने भएको छ।
वि.सं. २०२८ साल भदौ १४ गते महोत्तरीको ईटाटारमा पिता पूर्णबहादुर श्रेष्ठ र माता तेजमाया श्रेष्ठका माहिलो सन्तानका रूपमा जन्मिएका श्रेष्ठ साहित्यिक वृत्तमा सरल र विनम्र व्यक्तित्वका रूपमा चिनिन्छन्।
गीत, गजल, मुक्तक, हाइकु र कविता लगायतका विभिन्न साहित्यिक विधामा कलम चलाउँदै आएका श्रेष्ठ लेखनसँगै अभिनय र निर्देशनमा समेत सक्रिय छन्।
१४ वर्षको उमेरमै ‘प्रेम फैसला’ नाटक लेखी त्यसमा अभिनय तथा निर्देशनसमेत गरेका उनले २०५० सालमा चलचित्र ‘घर एक नर्क’ को स्क्रिप्ट लेखेर आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन्। त्यसैगरी, चलचित्र ‘अटिजम्’, टेलिचलचित्र ‘आवाज’ र ‘खाते’ मा पनि उनी अभिनय गरिसकेका छन्।
यसअघि श्रेष्ठका ‘बन्द फ्रेमभित्रको चिठी’ (उपन्यास), ‘हराएका छोराहरू’ (कविता संग्रह), ‘देशको चिना’ (मुक्तक संग्रह) र ‘यादका बस्तीहरू’ (गीति संग्रह) प्रकाशित भइसकेका छन्।
श्रेष्ठको यो पाँचौँ कृति “फिर्दोसको साँचो” वि.सं. २०८२ साल वैशाख ५ गते, शुक्रबार, दिउँसो ३ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात कक्षमा विमोचन हुने कार्यक्रम रहेको छ।


