काठमाडौं। ‘दमन्ता खनाल स्मृति स्रष्टा सम्मान’ द्वारा तिवारी आमा (लक्ष्मी तिवारी) सम्मानित भएकी छिन्।
नेपाल स्रष्टा समाजद्वारा राजधानीमा मंगलबार आयोजित एक विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ, समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, संरक्षक पवन आलोक लगायतले उक्त सम्मान तिवारी आमालाई समर्पण गरे।
नगद रु. २०,१११, सम्मानपत्र र दोसल्लासहित प्रदान गरिएको यो सम्मान लोकगीत सर्जक, गायिका तथा पाल्पा रामपूर निवासी लक्ष्मी तिवारीलाई प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठले भनिन् – “आमाप्रति माया र सम्मान भाव प्रकट गर्दै आमाको जन्मदिनकै दिन सम्मान समर्पण गर्ने व्यवस्था मिलाउने पुष्पा खनाल धन्यवादकी पात्र हुन्। गाउँघरमा रहेका दिदीबहिनीहरू पनि प्रतिभावान् हुन्छन् भन्ने कुराको ज्वलन्त उदाहरण लक्ष्मी तिवारी हुन्।”
समाजका संरक्षक पवन आलोकले सम्मान प्राप्त गर्ने र सम्मान स्थापना गर्ने दुवै पक्षलाई धन्यवाद ज्ञापन गरे।
यसअघि, डा. शान्तिमाया गिरिले तिवारी आमाको व्यक्तित्वबारे चर्चा गर्दै भनिन् – “पाल्पा रामपूर निवासी लक्ष्मी तिवारी ‘तिवारी आमा’ को नामले परिचित छिन्। समाजका विकृति र विसंगति विरुद्ध उनले सिलोक, तीज गीत, रोइला र रत्यौलीको माध्यमबाट आवाज उठाउँदै आएकी छिन्।”
विद्यालयमा जम्मा दुई कक्षा मात्रै पढेकी तिवारी नाँच्न पनि उत्तिकै निपुण रहेको र उनी सामान्य लेखपढ मात्र गरेकी भएपनि मौलिक लोकगीत सृजनामा अत्यन्त सक्रिय रहेको जानकारी दिइयो।
तिवारी आमाले आफ्नो भनाइमा भनिन् – “उतिबेला छोरीले पढ्नु हुँदैन भन्ने मान्यता थियो, त्यसैले पढ्न पाइन। तर मैले गीत र सिलोकमा आफ्ना भावना राख्न थालें।” उनले राष्ट्रिय भावनाले ओतप्रोत गीत प्रस्तुत गरिन् र उतिबेलाको छोरीको पीडा उजागर गर्ने गीत गाइन्। साथै, रामपूरको महिमा झल्काउने सिलोक पनि सुनाइन्।
कार्यक्रममा अध्यक्षता गरेका समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले भने – “जहिल्यै राजधानीकै स्रष्टा मात्र सम्मानित हुने धारणा अब परिवर्तन भएको छ। नेपाल स्रष्टा समाज काठमाडौंमा मात्र सीमित छैन भन्ने प्रमाण आजको सम्मान हो।”
गीतकार पुष्पा खनालले वि.सं. २०७५ मा आफ्नी आमाको नाममा यो सम्मान स्थापना गरेकी हुन्। कार्यक्रमको सञ्चालन रञ्जना निरौलाले गरेकी थिइन् भने स्वागत मन्तव्य सचिव प्रकाश घायलले व्यक्त गरेका थिए।
आयोजकका अनुसार, “ओझेलमा परेका नारी स्रष्टाहरूलाई उजागर गर्दै सम्मान प्रदान गरिँदै आएको छ।”
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।