Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » ‶गरुराहाʺ उपन्यासमा एक दृष्टि – देवेन्द्र मिश्र

‶गरुराहाʺ उपन्यासमा एक दृष्टि – देवेन्द्र मिश्र

पुस्तक चर्चा - समीक्षा
देवेन्द्र मिश्रदेवेन्द्र मिश्रबैशाख २९, २०८२262 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest
वि.सं. २०६७ मा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाम गरेको नेपाली भाषाको नाटक एकाङ्की सङ्ग्रह प्रकाशन गरी साहित्य जगत्मा पाइलो राखिसकेका नन्दलाल आचार्यले समाधानका उपायहरू समेत सुल्झाइएका पत्रात्मक शैलीमा लेखिएका अनगिन्ती रचनाहरूबाट ख्याति आर्जन गरिसकेका छन्। तराई–मधेसको समाजका विद्यमान विविध समस्याहरूलाई प्रकाशमा ल्याएर लेखिएको दोस्रो पुस्तकाकार कृति “गरुराहा” उपन्यास वि.सं. २०७६ मा प्रकाशित भएको हो।

यस एक दशकको समयावधिमा उनका थुप्रै कथा, कविता, आलेखहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्र–पत्रिका तथा अनलाइनहरूमा प्रकाशित भए। तर पुस्तकाकार दोस्रो कृतिको रूपमा यो उपन्यास प्रकाशन गर्नमा उनलाई एक दशक लागेको स्वयम्‌ले पनि ‘मेरो भन्नु’ भन्ने शीर्षकमा लेखेका छन्।

प्रस्तुत पुस्तक उपन्यास विधाको भएकोले, उपन्यासका विभिन्न तत्त्वहरूको आधारबिन्दुका आधारमा यस कृतिको समीक्षा गर्न खोजिएको छ। उपन्यासका तत्त्वहरूको सम्बन्धमा विभिन्न विद्वान्हरूका आ–आफ्नै मत छन्। केही विद्वान्हरूले उपन्यासको जन्म आख्यानबाट भएको हो भन्ने मान्यता राख्छन्, जसबाट उपन्यास आख्यानको नयाँ रूप हो भन्ने बुझिन्छ।

उपन्यासको पर्यायवाची अंग्रेजी शब्द ‘नोभेल’ (Novel) हो। ‘नोभेल’ (Novel) शब्द ग्रीक भाषाको ‘नोभस’ (Novus) र इटालियन भाषाको ‘नोभेला’ (Novella) बाट आएको हो, जसको अर्थ हुन्छ—नयाँ वा नौलो। यसरी उपन्यास सत्याख्यानको नयाँ रूप हो भन्ने स्पष्ट हुन्छ।

उपन्यासको केन्द्रमा मान्छे र प्रकृतिसँग भएका संघर्षका कथाले केन्द्रीय स्थान राखेको हुन्छ। द न्यू इन्साइक्लोपिडिया ब्रिटानिकाले विस्तारित गद्याख्यानको साझा विशेषता भएका सबै खाले कृतिहरूलाई उपन्यास भनिन्छ भनेर उपन्यासलाई परिभाषित गरेको पाइन्छ।

विद्वान् डी. एच. लरेन्सका अनुसार उपन्यास मानव जीवनको अभिव्यक्ति हो। अर्थात्, वास्तविक जीवनको प्रतिनिधित्व गर्ने पात्र वा कार्यलाई कथानकमा चित्रण गर्ने बृहत् आकारको गद्याख्यानलाई उपन्यास भनिन्छ।

इ. एस. फोक्रटले भनेअनुसार, आजको जटिल र संकटग्रस्त सामाजिक, धार्मिक, राजनीतिक, आर्थिक आदि संस्कारद्वारा पीडित मानव जीवनको एउटा प्रतिनिधिमूलक अभिव्यक्तिलाई उपन्यास भनिएको छ।

प्रस्तुत उपन्यास “गरुराहा”मा माथिका लगभग सबैजसो गुणहरू विद्यमान रहेको पाइन्छ। नेपालका खास भौगोलिक क्षेत्रमा रहेका खास कालखण्डमा, राजनीतिक–आर्थिक जीवनमा समय व्यतीत गरिरहेका खास समुदायका जीवन्त पात्रहरूको पीडा र व्यथालाई कथावस्तु बनाइएको यस उपन्यासमा आफ्नै समाजशास्त्र छ, जसलाई उपन्यासकारले उपन्यास लेखनका क्रममा जीवन र जगत्को पुनर्सृजना गर्ने प्रयत्न गरेका छन्।

यस समीक्षामा उपन्यासका माथि लेखिएका परिभाषाहरूको आलोकमा केही आवश्यक पक्षहरूको आधारमा केही तथ्यहरू प्रस्तुत गरिएको छ।


शीर्षक:

सामान्यतः उपन्यासहरूको शीर्षक राख्ने कुनै खासै नियम हुँदैन। धेरैजसो उपन्यासहरूको शीर्षक कथानकको मुख्य विषयमा आधारित हुन्छ, भने कहिलेकाहीँ त्यसका मुख्य पात्र वा प्रस्तुत गरिएको उपदेशलाई पनि शीर्षकको रूपमा राखिएको पाइन्छ। यस विवेच्य उपन्यासको शीर्षक “गरुराहा” गाउँको नामबाट राखिएको हो।

उपन्यासका नायक राजदेव राम र अन्य पात्रहरू पनि सप्तरी जिल्लाको पश्चिमोत्तर क्षेत्रमा अवस्थित गरुराहा गाउँमै जन्मेका हुन्, र प्रारम्भिक घटनाक्रमहरू पनि त्यही गाउँ तथा वरिपरिको क्षेत्रमा केन्द्रित भएका पाइन्छन्। त्यसै कारणले होला, लेखकले यस उपन्यासको शीर्षक “गरुराहा” राखेका हुन्।


कथावस्तुः

साहित्यलाई समाजको दर्पण भनिन्छ। अर्थात् समाजमा भएका घटनाक्रम, परिस्थितिहरू जे-जस्ता हुन्छन्, त्यसको चित्रण साहित्यमा पाइने गरिन्छ। यही कारण हो कि कुनै ऐतिहासिक कालखण्डको सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक अवस्थाबारे जान्नुपरेमा त्यस कालखण्डमा लेखिएका कथा, कविता, निबन्ध, उपन्यासहरूको अध्ययनले धेरै मद्दत पुग्दछ।

अतएव, उपन्यास आदि साहित्यिक कृतिहरूको कथानकको केन्द्रबिन्दुमा तत्कालीन सामाजिक अवस्था प्रकट हुने गर्छ। केही विद्वान्हरूको भनाइमा साहित्य भनेको समाजको हुबहु दर्पण र प्रतिबिम्ब मात्र नभई समाजमा नभएका, तर हुनैपर्ने कुराहरूको परिकल्पना गरिएको कृति पनि हो। “जहाँ न जाए रवि, वहाँ जाए कवि” भनेझैँ नभएका कुराहरूको सन्दर्भमा कल्पनाको उडान गरिएका रचनाहरूलाई पनि साहित्यको विषयवस्तु बनाइएको हुन्छ।

“गरुराहा” उपन्यासको कथावस्तु पनि नेपालको एक विशिष्ट क्षेत्रका सामाजिक तथा सांस्कृतिक अवस्थाको आधारमा वास्तविक घटनाहरूको विवरणस्वरूप प्रस्तुत गरिएको छ। लेखक स्वयंले उल्लेख गरेअनुसार, वस्तुतः यो उपन्यास सत्यकथामा आधारित रहेको छ।

उपन्यासका लगभग सम्पूर्ण घटनाक्रम सप्तरी जिल्लाको गरुराहा गाउँ तथा वरिपरिको क्षेत्रमा भएका वा भइरहेका घटनाहरूलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको छ। गरुराहालाई एउटा प्रतिनिधि उदाहरण बनाएर तराई–मधेसमा रहेका जातिगत, धर्मगत र आर्थिक रूपमा तथाकथित ‘उपल्लो’ भनिने वर्गले गरेका सामाजिक, आर्थिक, यौनजन्य आदि विभिन्न प्रकारका शोषण तथा उत्पीडनका वास्तविक घटनाहरूलाई समेटेर उपन्यासको कथावस्तु निर्माण गरिएको छ।

उपन्यासमा धनी वर्गले गरिब तथा श्रमिकहरूसँग गर्दै आएका अमानवीय व्यवहार, यौनशोषण आदिबारे चर्चा गरिएको छ। यसका साथै, भूत–प्रेतका कथित कथाहरू, पहाडे–मधेसी विभेद, जातीय भेदभाव आदि विषयहरूलाई मुख्य कथावस्तुको रूपमा प्रस्तुत गरिएको छ।

यस उपन्यासमा समाजमा भएका यथार्थ घटनाहरूको चित्रणसँगै समाज सुधारका लागि आवश्यक क्रान्तिकारी परिवर्तनमुखी कार्यहरू पनि आफ्ना पात्रहरूमार्फत गराई भविष्यको दिशानिर्देश गरिएको छ। उपन्यासकी प्रमुख पात्र मालतीले दोस्रो विवाह अन्तर्जातीय रूपमा नगरी स्वजातिमा गरेर एक किसिमले केही सन्देश दिन खोजिएको देखिन्छ।

मालतीको पहिलो विवाह मधेस मूलका व्यक्तिसँग भइसकेको कुरा दोस्रो पतिलाई थाहा थियो वा थिएन भन्ने स्पष्ट छैन। तर मालती हाल सुखपूर्वक जीवन बिताइरहेकी छन् भन्ने घटनाले पनि निश्चित सन्देश प्रवाह गरेको पाइन्छ। अर्कोतर्फ, सामाजिक क्रान्तिका रूपमा गरिने भनिएको र कानूनी मान्यता प्राप्त अन्तर्जातीय विवाहका केही असफलता र कठिनाइसम्बन्धी पक्षहरूबारे यस उपन्यासले गम्भीर चिन्तनका थुप्रै अवसरहरू उपलब्ध गराएको छ।

जम्मा १९ अध्याय भएको भनिएको यस उपन्यासमा वस्तुतः २० अध्याय छन्। अध्याय १७ दुईपटक लेखिएकोले १९ वटा मात्र देखिन्छ। पहिलो अध्यायको प्रारम्भमा लेखकले निबन्धजस्तो शैलीमा उपन्यासको भूमिका प्रस्तुत गर्दै आफू एक जना पूर्वपरिचित युवक मित्रसँग भेटघाट भएको घटनाबाट कथा सुरु गरेका छन्। ती युवकसँगै एक जना नेपालयीय मंगोलियन अनुहारसँग मिल्ने—लेखकका शब्दमा “सुन्दरतामा मादकता लुकेको एक युवती”—पनि थिइन्।

युवक मित्र र ती युवतीको नाम पहिलो अध्यायमा प्रत्यक्ष रूपमा उल्लेख नगरिए पनि युवती जामुनलालकी छोरी हुन् भन्ने कुरा संकेत गरिएको छ। जामुनलालको निधन भइसकेको छ र आमासँगै छोरी पनि समर मैदानको संघर्षमा लागेकी छिन्। युवकले युवतीको परिचय गराउँदै भनेका छन्—“यिनी मेरो जीवन पढ्न आएकी समर मैदानको विश्वविद्यालयकी छात्रा हुन्।”

त्यसपछि आएका अध्यायहरू (२ देखि १६) मा ती युवतीलाई “ज्योति” भनेर सम्बोधन गरिएको छ र युवकले आफ्ना जीवनका अनुभवहरू उनलाई पत्रको रूपमा लेखेका छन्। अध्याय १७ (ख) मा उल्लेख भए अनुसार तिनै ज्योतिसँग युवकले पछि जनवादी विवाह गरेका छन्।

अध्याय १७ (क) मा उल्लेख अनुसार, युवक र ज्योतिले विवाह गरी खुट्टी खोलाको पूर्वी किनारमा रहेको बलुवा टोलमा “ज्योति निवास” स्थापना गरेका छन् र हाल उत्पीडित–शोषित–दलित समुदायको अधिकार प्राप्तिको संघर्षमा सक्रिय रूपमा संलग्न छन्।

उपन्यासका नायक युवकको नाम राजदेव रहेको कुरा, उसले पढाएको विद्यार्थी मालतीले नै प्रेमिका बनेर उसलाई यही नामबाट सम्बोधन गर्दै पत्राचार गरेको प्रसंगबाट स्पष्ट हुन्छ। अझै अध्याय १७ (क) को अन्त्यमा उल्लेख गरिएको चिठीमा राजदेवले आफू लक्ष्मी र कमली रामको छोरा राजदेव राम भएको र पछि समर विश्वविद्यालय (सशस्त्र संघर्ष) तथा साहित्यिक क्षेत्रमा “राजेश विद्रोही” नामबाट चिनिने जानकारी दिएको छ।

यसरी उपन्यासको प्रारम्भमा नै राजदेव रामले ज्योतिलाई आफ्ना पुर्खाहरूको सम्बन्धमा वर्णन गरेको देखिन्छ। राजदेवका पुर्खा शैनी राम जमिन्दार थिए, तर पछि २००३ सालतिरको रौदी तथा त्यसपछिको हैजाको महामारीका कारण पीडित भई आर्थिक रूपमा कमजोर हुँदै गएर अन्ततः गरिब बनेको प्रसंग उनले चिठीमार्फत व्यक्त गरेका छन्। उपन्यासको प्रारम्भिक भागमा तत्कालीन सामाजिक अवस्थाको सशक्त चित्रण पाइन्छ।

त्यसपछिको कथा मुख्य रूपमा एसएलसी परीक्षा दिएर एउटा स्कुलमा शिक्षक बन्न लागेको युवक राजदेव रामको जीवनकथामा आधारित छ। उसले आफैंले ट्युसन पढाएको पहाडे मूलकी छात्रा मालतीसँग प्रेम सम्बन्ध गाँसेको छ। परिवारको असहमति हुँदाहुँदै पनि उनीहरू भागेर विराटनगर पुगेका छन् र त्यहाँको एक मन्दिरमा विवाह गरेका छन्।

तर, पछि केटीका बाबुको प्रभावका कारण राजदेवको परिवारमाथि गाउँमा उत्पीडन भएको खबर सुनेपछि, उनी मालतीलाई लिएर गाउँ फर्किन्छन्। त्यहाँ पञ्चायतद्वारा दण्डित गरिएको, षड्यन्त्रपूर्वक उनीहरूको सम्बन्ध विच्छेद गराइएको चित्रण गरिएको छ।

मालतीलाई प्राप्त गर्न धेरै संघर्ष गरे पनि अन्ततः असफल भएपछि, केटो तत्कालीन ‘जनयुद्ध’ भनिएको माओवादी सशस्त्र संघर्षमा संलग्न भएको देखिन्छ। उसकै शब्दमा, समर मैदानका गुरु अग्निसँग बसमा भएको भेटपछि। माओवादी सशस्त्र संघर्षमा लाग्ने जसले पनि उपनाम राख्ने परम्परा निर्वाहन गर्दै ऊ राजदेव रामवाट राजेश विद्रोही भएको देखाइएको छ।

सशस्त्र विद्रोहमा उसले मुख्य रूपमा घाइते विद्रोहीहरूको उपचार गर्ने चिकित्सकीय भूमिका खेलेको वर्णन गरिएको छ। त्यसै सिलसिलामा माओवादीमा लागेको भनेर सेनाद्वारा मारिएको व्यक्ति जामुनलाल चौधरीको छोरी ज्योतिलाई आफूतिर आकर्षित गर्न आफ्ना पुराना प्रेमकथा सुनाउँछ र उनलाई विश्वासमा लिई विवाह गरेको भन्ने मुख्य कथावस्तु हो।

यद्यपि अध्याय–१ मा ज्योति चाहिँ राजदेवको साथमा एक्लै मोटरसाइकलमा लेखकसँग भेट्न आएकी छन् र उनले राजदेवको परीक्षा लिइरहेको भन्ने उल्लेख गरिएको छ। तर, ज्योतिलाई ‘ज्योतिजी’ भनेर सम्बोधन गरी यत्रो लामो प्रेमकथा, संघर्ष कथा किन सुनाइएको हो भन्ने प्रश्नको उत्तर पाठकलाई भेटिएको पाइँदैन। के अनुमान मात्र गर्न सकिन्छ भने, ज्योति पनि सुरुमा राजदेवसँग विवाह गर्ने पक्षमा थिइनन् होलिन्। राजदेवले आफूतिर आकर्षित गराउन र विश्वास बढाउनका लागि यी कथाहरू भनेको हुन सक्छ।

मूलतः मालतीसँगको प्रेमकथाको पटाक्षेप भएपछि राजदेवले ज्योतिसँग (उपन्यासको शब्दमा) समर मैदानमा कसरी भेट भयो, एक पटक पहाडे मूलकी केटीसँग प्रेमविवाहमा असफलता पाइसकेका राजदेव फेरि किन र कसरी अन्तर्जातीय विवाहकै बाटोमा हिँडे, कसरी ज्योतिका आमाले ऊसँग विवाह गर्न मञ्जुरी दिइन्, र विवाहपूर्व नै ज्योतिसँग एक्लै मोटरसाइकलमा स्वच्छन्द हिँडडुल गर्ने वातावरण कसरी बन्यो, कसरी यो सम्बन्ध विवाहको रूप लियो—यी कुराहरूको विस्तृत विवरण उपन्यासमा नभएकाले पाठकलाई केही रित्तो अनुभव नभएको होइन।

यद्यपि, अध्याय १७ (ख) पृष्ठ १५८ मा लेखिएअनुसार माओवादी विद्रोहीहरू शान्ति प्रक्रियामा आएपछि ज्योतिले विवाहका लागि स्वीकृति दिएकी र कमाण्डरको अनुमतिमा सुरवीर राईको उपस्थितिमा जनवादी विवाह सम्पन्न भयो भनेर उल्लेख छ।

ज्योतिको सम्बन्धमा एउटा कुन कुरा अझै अनुत्तरित रहेको पाइएको छ भने—राजदेवको आमाको निधनपछि अन्तिम संस्कार गर्ने बेलामा सामान्यतः महिलाको उपस्थिति परहेज गरिएको बेला ज्योतिको त्यहाँ उपस्थिति किन रहेको पाइयो र के कारणले ज्योति शोकमा थिइनन्? आफ्नो सासूआमाको मृत्युपछि शोकमा नरहनुले पाठकको मनमा धेरै प्रश्नहरू जन्मिनुलाई अस्वाभाविक मान्न सकिँदैन।

कथाको बीचमा एउटा अत्यन्तै असहज घटना पनि आएको हुन्छ। मालतीलाई रातको बेला मोटरसाइकलमा विराटनगर पुर्‍याइदिएको प्रकाश नामको साथीले आफ्नै श्रीमतीको विश्वास गुमायो। प्रकाशको गोजीमा मालतीको फोटो देखेपछि उनलाई शंका लागेको रहेछ। प्रकाश पनि तथाकथित रूपमा दलित भएको र उसले पनि पहाडे मूलकी बाहुन थरकी केटीसँग विवाह गरेको रहेछ। ती फोटोहरूका कारण उनले प्रकाशमाथि हदसम्मको शंका गरेपछि र राति घरभित्र छिर्नसमेत नदिएपछि प्रकाशले आत्महत्या गरेको घटना अत्यन्तै अस्वाभाविक र दुःखद रहेको छ।

संघर्षै संघर्षका घटनापरिघटनाले भरिएको उपन्यासको अन्त सुखान्त गर्न खोजिएको छ। अघिकी पत्नी मालतीले फेरि मिल्ने र सँगै बस्ने प्रस्ताव गर्दासम्म राजदेवको ज्योतिसँग विवाह भइसकेको बताउँछ। उसलाई मालतीले विश्वासघात नगरेको स्पष्ट हुन्छ। उसलाई मिथ्या भ्रम मात्र भएको खुलासा आदानप्रदान गरिएको पत्रबाट स्पष्ट हुन्छ। आफ्ना दुई वटा सन्तानसमेत भइसकेको हुँदा उसले उक्त प्रस्ताव स्वीकार नगरेको हो। उसले मालतीलाई अर्को विवाह गर्ने अनुमति वा सुझाव दिएको पाइन्छ। मालतीले स्वजातीय केटोसँग विवाह गरेर बलान नदीकै पारी घरजम गरेकी छन् र कपडा सिउने सीपको उपयोग गरी जीवन चलाएकी छन्।

अन्तिम अध्यायमा लेखिए अनुसार बलानको वारि राजदेव र पारी मालती आ–आफ्नै संसारमा रमाएका छन्।


पात्र–चरित्र–चित्रण:

उपन्यासकारले प्रथम पुरुष एकवचनबाट शुरु गरेको र अन्त्यमा समेत सोही पुरुष र वचनबाट गरिएको घटनाक्रम मुख्यतः तीनवटा पात्रहरूको चरित्रगाथामा केन्द्रित छ। केन्द्रीय कथाको परिधिमा सहायक पात्रहरू अन्य कथाहरूझैं यस उपन्यासमा पनि पाइन्छन्। गाउँका जमिन्दारहरू र रैतीको रूपमा आम नागरिक छन्। गरिबको श्रम शोषण र यौन शोषण गरिनु, श्रमिकहरूको विवशता र आत्मसमर्पणका दृश्यहरू पनि प्रशस्तै छन्।

उपन्यासका लगभग सबै पात्रहरू वास्तविक चरित्र नै भएको, घटनाहरू पनि वास्तविकै जस्तो देखिने छन्। उपन्यासकारले जसरी शुरुमा आत्मकथ्य शुरु गरेका छन् र अन्त्यमा समेत राजदेवको आमाको लास जलाउने क्रममा जीवनी वा डायरी लेखन शैलीमा वास्तविक व्यक्तिहरूको नाम उल्लेख गरेका छन्, त्यसबाट यो उपन्यास आख्यानको स्वरूप लिएको छ र वास्तविक जीवनसँग सम्बन्धित वर्णनात्मक आख्यान उपन्यास भएको चरितार्थ हुन्छ।


भाषा–शैली:

उपन्यासकार नन्दलाल आचार्यका थुप्रै रचनाहरू पत्रात्मक शैलीमा पढ्न पाइन्छ। पत्रकै माध्यमबाट समाजका विकृतिहरूको चर्चा गर्दै त्यसको समाधान समेत प्रस्तुत गर्ने नवीन शैलीका रचनाका कारण उनले उल्लेखनीय प्रशंसा कमाएका छन्। यो उपन्यास पनि पत्रात्मक शैलीमै लेखिएको छ।

भाषाको प्रयोगमा पनि उनको विशेषता के देखिन्छ भने, उनी कथाका पात्रअनुसार भाषा प्रयोग गर्नमा निकै सिपालु छन्। “गरुराहा” उपन्यासमा पनि उनले परिवेश र पात्रअनुसारको भाषा कुशलतापूर्वक प्रयोग गरेका छन्। मैथिली मातृभाषी पात्रहरूलाई उनले त्यस क्षेत्रको मैथिली भाषामै संवाद गराएका छन् भने नेपाली भाषाको क्षेत्रीय बोलीहरूको पनि प्रयोग गरिएको पाइन्छ। यसले उपन्यासलाई अझ जीवन्त बनाएको छ।

तर एउटा मात्र स्थानमा केही असहजता महसुस हुन्छ—काठमाडौँबाट राजदेवले आमाबुबालाई लेखेको चिठ्ठी नेपाली भाषामा छ। यदि त्यो चिठ्ठी मैथिली भाषामै लेखिएको भए अझ उपयुक्त हुनेथियो। राजदेवलाई मैथिली लेख्न आउँदैन भन्ने प्रश्न नै उठ्दैन, किनभने ऊ पछि गएर मैथिली भाषाकै साहित्यकार बनेको हो।


कथावस्तुका केही अन्य पक्षहरू:

(क) प्रस्तुत उपन्यासको मुख्य पात्र राजदेवलाई जातीय व्यवस्थाविरुद्धको क्रान्तिकारी चरित्रको रूपमा चित्रित गरिएको छ। यसमा धेरै हदसम्म उपन्यासकार सफल भएका छन्। उपन्यासमा वास्तविक घटनाहरूको विवरण समावेश भएकाले सबै कुरा जस्ताको त्यस्तै राख्नु उपन्यासकारको विशेषता हो।

मालतीसँगको अन्तरजातीय प्रेमप्रसङ्गमा राजदेवभन्दा मालतीको अग्रसरता देखाइनु केही हदसम्म अस्वाभाविक देखिन्छ। मालतीमा जातीय भेदभाव छैन भनेर ठोकुवा गर्न सकिन्न। मालतीकी आमाले राजदेवलाई यादव जातिको ठानी प्रेम सम्बन्ध अघि बढाउन संकेत गरेकी पाइन्छन्। तर, ऊ यादव नभई चमार जातिको भएको थाहा पाएपछि विवाह नगर्ने अडान लिएको कुरा खुलस्त भएको छ।

राजदेवको सामाजिक व्यवहारप्रतिको विद्रोह आमाको दाहसंस्कारको प्रसङ्गमा झन् प्रस्ट देखिन्छ। सामाजिक रूपान्तरण द्रुत गतिमा नभई क्रमशः, मन्द गतिमा हुनुपर्छ भन्ने सोच व्यक्त गरिएको छ। “मेरो भन्नु” अन्तर्गत उपन्यासकारले उल्लेख गरेका “राम्राका पक्षमा अक्षरहरू जोडिएका छन्” भन्ने पूर्वघोष र समाजले अझै अन्तर्मनले स्वीकार नगरेको अन्तर्जातीय विवाहलाई महिमामण्डन गर्ने कथावस्तुसँग उपन्यासकारको उक्त पूर्वघोष भने केही बेमेल देखिन्छ।

यद्यपि, समाज रूपान्तरणको दिशामा अग्रसर हुँदैछ भन्ने संकेत उपन्यासमा छ। तर, डोम जातिको व्यवहारको प्रसङ्गमा “समाजमा रहेर समाजकै सोचमा रहनुपर्छ। एकाएक बाहिर गयौं भने समाजले पचाउन सक्दैन, र सारा प्रयत्न पानीमा जान्छ” भन्ने धारणा प्रस्तुत गरिँदा केही अन्तरविरोधको आभास पाउन सकिन्छ।

(ख) विवाहपूर्व मालतीसँग शारीरिक सम्बन्ध स्थापित गर्ने प्रयास नगर्नु राजदेवको असल चरित्र हो। उसमा दाग पनि भेटिन्छ। शुरुमा करचापमा लागेर अथवा राजदेवकै सुरक्षाका लागि मालतीले खुलेर विवाहको समर्थन गर्न नसके पनि उनी राजदेवको अन्तिम क्षणसम्म प्रतिक्षारत रहिन्। उनले राजदेवसँग पुनर्मिलनको प्रस्ताव पनि राखिन्। बुवाको जस्तोसुकै दबाबमा परे पनि उनले अर्को केटासँग विवाह गरिनन्।
जब राजदेवको नकारात्मक उत्तर आइसक्यो र राजदेवले अर्को विवाह गरेर दुई-दुई वटा सन्तान पनि पाइसक्यो भनेर उनले थाहा पाइसकिन्, अनि मात्र उनले स्वजातीय विवाह गरिन्। यस दृष्टिकोणबाट राजदेवको चरित्रभन्दा मालतीको चरित्र उच्च मूल्याङ्कनमा पर्छ।
राजदेवले मालतीको सत्यतथ्यको गहन खोजबिन नगरी अर्कैसँग विवाह गरिहाल्नु, मालतीभन्दा उसको सामाजिकता अलि न्यून भएकै हो जस्तो लाग्नु अस्वाभाविक होइन।

(ग) समाजमा आमाबाबुले छोराछोरीका लागि आफ्नो जीवनको अमूल्य त्याग गरेका हुन्छन्। त्यसै कारणले आमाबुबालाई देवता मानिन्छ। तर केही उदाहरणमा के देखिएको छ भने सन्तानले आफ्नो स्याहार-सुसार गर्ने आमाबुबालाई विवाहजस्तो महत्त्वपूर्ण विषयमा महत्त्व दिएका हुँदैनन्।
छैठौँ अध्यायमा ‘बुबाआमालाई जीवनमा हस्तक्षेप गर्ने अधिकार छैन’ भनेर दिइएको अभिव्यक्ति समाजका लागि उदाहरण बन्ला कि भनेर टिप्पणी गर्नैपर्ने हुन्छ।
उपन्यासका मुख्य र जीवन्त पात्र उपन्यासमा भने जस्तै दुई सन्तानका पिता हुन् र ती सन्तानले बुबाआमाको परामर्श वा सहमतिबिना विवाह गरेमा उनको के कस्तो प्रतिक्रिया आउला, त्यो हेर्न समयलाई कुर्नु बाहेक अन्य विकल्प छैन।

प्रेम विवाह, खास गरेर आमाबाबुको असहमतिमा गरिएको विवाह असफल भएको दुईवटा उदाहरण उपन्यासमा नै छन्—
एक, मालती र राजदेवको विवाह;
दुई, प्रकाशको विवाह।

ज्योतिसँग पनि विवाह गर्नमा कथा नायकलाई हम्मेहम्मे परेको र उनलाई विश्वासमा ल्याउन वा बाध्य गर्न अनेकन उपाय गरिएको तथ्य पनि संकेतको रूपमा हेर्न पाइन्छ।
अझै, ज्योतिलाई किन विश्वासमा लिन यत्रो प्रयत्न गर्नुपर्‍यो त?
ज्योतिकी आमाले सहजै यस विवाह प्रस्तावलाई स्वीकार गरेजस्तो किन लाग्दैन भने, उनीहरूको जनवादी विवाहको बेला ज्योति वा राजदेवका आमाहरूको उपस्थिति उपन्यासमा देखाइएको छैन।


निष्कर्ष

विक्रम सम्वत २०३० असार २८ गते नेपालको उदयपुर जिल्ला अन्तर्गत बेलका नगरपालिका वडा नं २, गल्फडियामा माता भगवती आचार्य र पिता विष्णुप्रसाद आचार्यको सन्तानको रूपमा जन्मेका नन्दलाल आचार्य नेपाली भाषामा स्नातकोत्तरसम्म अध्ययन गरेका छन्।
पेशाले शुरुमा संस्थागत विद्यालयहरूमा र पछि हालसम्म सामुदायिक विद्यालयमा माध्यमिक शिक्षकको रूपमा कार्यरत रहँदै, विभिन्न पत्र–पत्रिकामा लेख, रचना प्रकाशित गराइसकेका छन् र अनेकन पुरस्कार र विभूषणहरूबाट सम्मानित भइसकेका छन्।

साहित्यकार नन्दलाल आचार्यद्वारा लिखित प्रस्तुत विवेच्य उपन्यास ‘गरुराहा’ को प्रकाशन जामुनलाल स्मृति प्रतिष्ठान, कटारी, उदयपुर द्वारा गरिएको हो। वैश्विक स्तरीय पुस्तक संख्या ९७८–९९३७०–६०२५–७ भएको यस उपन्यासको सर्वाधिकार लेखककै नाममा सुरक्षित गरिएको छ। यसको मूल्य व्यक्तिगत रूपमा रु ३०० र संस्थागत रूपमा रु ७०० निर्धारण गरिएको छ।

पुस्तकको आवरण चित्र मिथिला चित्रकला शैलीमा आधारित छ, जसको निर्माण राजन काफ्लेले गर्नुभएको भनेर शुरुमा उल्लेख गरिएको छ। यद्यपि, पृष्ठसंख्या विहीन प्रकाशकीयमा भने अग्निराज पौडेलले आवरण चित्र तयार गर्नुभएको उल्लेख गरी उहाँलाई धन्यवाद दिइएको छ। उपन्याससँग आवरण चित्रको औचित्य र सान्दर्भिकताको विश्लेषण छुट्टै आलेखमा गर्न सकिने सम्भावना छ।

उपन्यासका पृष्ठहरूको कागजको गुणस्तर साथै आवरण पृष्ठको स्तर पनि अत्यन्त राम्रो छ, जसका लागि मुद्रण–गृहलाई धन्यवाद दिनैपर्ने अवस्था रहेको देखिन्छ। तर, पुस्तकमा मुद्रण–गृहको नाम भने उल्लेख गरिएको छैन। वितरक को रूपमा प्रकाशन गृह लेखिएको छ, तर वितरक र मुद्रक एउटै हुन् भन्ने निश्चित छैन।

सामान्यतः एउटा उपन्यासमा करिब २५,००० शब्द हुनु पर्ने अनौपचारिक मान्यता रहँदै आएको छ। यस उपन्यासमा रहेका १८० पृष्ठहरूमा सालाखाला करिब २५० शब्द प्रति पृष्ठको दरले झण्डै ४५,००० शब्द भएका छन्। त्यसैले, यसलाई पूर्ण उपन्यास भन्न सकिन्छ।


अन्त्यमा, मैले यस उपन्यासको गहन अध्ययन गर्न बाँकी नै छ। एउटा राम्रो कृतिलाई जति पटक पढिन्छ, त्यति पटक नयाँ–नयाँ भावहरू प्राप्त भइरहेका हुन्छन्।

यस उपन्यासको पूर्ण कथावस्तुलाई टुक्रे कथानक बनाई उपन्यासकारले अरू शीर्षक दिई प्रकाशित गरेको पनि पाइएको छ। साहित्य संग्रहालय: नेपाली साहित्यिक भकारी भन्ने पत्रिकाको फरबरी २३, २०१८ ईस्वी अंकमा प्रकाशित ‘कहाँ छस्’ शीर्षकको लघु उपन्यास तथा ‘अधोगतिको मूल जरो: दासत्व मनोवृत्ति’ शीर्षकको आलेखमा पनि ‘गरुराहा’ उपन्यासकै कथावस्तुका केही अंशहरू प्रयोग गरिएका छन्।

यसरी, उपन्यासका मुख्य सत्य पात्रको जीवनगाथाबाट उपन्यासकार निकै प्रभावित भएको सहजै अनुमान गर्न सकिन्छ।

उपन्यासकार नन्दलाल आचार्य निकै सरल र भावुक स्वभावका साहित्यकार हुन्।
उनका यस तथा अन्य कृतिहरूले नेपालका विविध सामाजिक, राजनैतिक, आर्थिक र सांस्कृतिक अभिलेखालय जस्ता उपयोगी दस्तावेज हुनेछन् भन्ने गहिरो विश्वास लिएको छु।

म आफैँ साहित्यको नवसिखुवा विद्यार्थी भएकोले आफ्नो अपरिपक्व दृष्टिबाट, देश–विदेशमा साहित्यिक प्रतिष्ठा कमाइसकेका गहन चिन्तक र कृष्ण सेन ‘इच्छुक’ जस्ता व्यक्तित्वका साहित्यिक, वैचारिक शिष्य नन्दलाल सरको कृतिको समीक्षा गर्ने अधिकार आफूमा छ जस्तो लाग्दैन।

हो, उनको साहित्य–सागरमा डुबुल्की लगाउँदै, बहुमूल्य रत्न नपाए पनि मुट्ठीमा अटाएजति मात्र पस्किएको छु।

उपन्यासका सबै पात्रका अलग–अलग विशेषताहरू छन्। ती सबैलाई विविध पक्षका आधारमा वर्णन गर्न खोजिएमा उपन्यासका पानाभन्दा बढी नै स्थान लाग्ने सम्भावना छ।

जीवन्त व्यक्तिको चरित्रचित्रण भएको उपन्यास भए तापनि यो आख्यान नै भएकोले कसैको जीवनको टिप्पणी गरेजस्तो लागेमा, यसलाई मात्र संयोग मान्नु हुन सबैमा अनुरोध गर्दछु।

यो समीक्षाको अन्त होइन, प्रारम्भ हो।


राजविराज–२, सप्तरी
mishradevendra13@gmail.com

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

गरूराहा देवेन्द्र मिश्र नन्दलाल आचार्य पुस्तक समीक्षा

यो पनि पढ्नुहोस्...

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

‘घुरको धुवाँ’ कृति : पठनानुभूति – हरिश कल्पित

फिर्दोसको साँचो : नवीन स्वादको पठनीय कथाकृति – सीता अधिकारी थापा

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

पुण्य कार्कीको ‘अरस्तुको अन्धविश्वास’ निबन्धको शल्यक्रिया

प्रेम, आस्था र आदर्शकाे प्रतिबिम्ब: ग्याब्रियले

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.