कथा : मौन अवधि
कथाकार : सत्यजीत
खण्ड: एक
गाउँको पूरै आकाश त्यो साँझ अस्वाभाविक रूपमा चुप थियो । पहाडको काखबाट चिसो हावा बगिरहेको, तर जमिनमुनि कतै अदृश्य हलचल चलिरहेको अनुभूति सबैलाई भइरहेको थियो । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने थियो । तर मौन हुनु त कानुनी कागजमै सीमित कुरा; गाउँका मानिसहरूलाई थाहा थियो, मौनता सुरु भएपछि अझै धेरै आवाजहरू भित्रभित्रै चर्किनेछन् ।
गाउँको पूर्वतिरबाट एउटा गाडी धुलो उडाउँदै झर्यो । हेडलाइटले धुलोको पर्दा चिरिँदा— गाडी सत्तारूढ दलका उम्मेदवार भूमिदेवको थियो । केही घण्टाको अन्तरालमा छेउकै बाटोबाट अर्को ट्यापर जस्तो, पुरानो तर बलियो देखिने जिप आइपुग्यो— त्यो (प्रतिद्वन्द्वी) धनजीतेको थियो । दुवैले गाउँमा प्रवेश गर्दा रात झनै उज्यालिन थाल्यो ।
गाउँका युवा दुवै पक्षका टोले नेताहरू उड्दै आएका थिए । कोही मोटरसाइकलमा, कोही स्कुटीमा, कोही त झोलामा कागजका बण्डल लुकाएर रुखको छायाँमा उभिएका थिए ।
“मुखमा मास्क लगाऊ, आवाज ननिकाल, काम मात्र गर,”- सत्तारूढ पक्षको टोल नेताले कानेखुसी गर्दै आफ्ना मान्छेलाई भन्दै थियो ।
“आजै रातबाट मौन अवधि, काम बिग्रन्छ,”– विपक्षी दलका दलालहरूबीच पनि छलफल चलिरहेको थियो ।
गाउँको त्यो भीरमाथि रहेको पुरानो विद्यालयको छतबाट युवा सामाजिक अभियन्ता चेतन हेर्दै थियो— गाउँ फेरि पुरानै दलदलमा फस्ने सङ्केत । केही दिनदेखि ऊ ‘मत बेच्नु देश बेच्नु’ अभियान चलाइरहेको थियो तर उसको आफ्नै साथीहरूको मन डगमगाइरहेको देखेर आज उसको अनुहार गम्भीर देखिन्थ्यो ।
यत्तिकैमा, अँध्यारोमा टल्किएको हेडलाइट जस्तै उज्यालो स्वर आयो– “चेतन, तल झर्नु । आज गाउँमा अनौठो गतिविधि छ ।”
उनी प्रमिला, गाउँकी युवा शिक्षिका थिइन् । उनको स्वरमा चिन्ता थियो ।
“दुवै पक्षका मान्छे रातभर दौडिन्छन् रे, बोरामा के छ र ?” उनले सोधिन् ।
चेतनले गहिरो सास फेर्यो–
“बोरामा त पैसा, रक्सी, मासु केही पनि हुन सक्छ । तर आज जताततै देखिएको अज्ञात समूह… त्यो चाहिँ खतरनाक छ ।”
गाउँको पश्चिमतिर, सधैँ सुनसान रहने बाँझो जमिन नजिक, चार जना कालो ज्याकेटधारी मान्छे न अगाडि न पछाडि उभिएका देखिए । कसैलाई थाहा थिएन उनीहरू भूमिदेवका मान्छे थिए कि धनजीतेका ? कि तेस्रो कुनै अदृश्य पक्षका ?
मौन अवधि सुरु हुन केही घण्टा बाँकी हुँदा— गाउँको सन्तुलन हल्लाउन सक्ने यो रहस्यमय समूह कहाँबाट आएको हो, कसले पठाएको हो, किन आएको हो— यसबारे कुनै सङ्केत थिएन ।
प्रमिलाले चेतनको हात समाएर भनिन्– “आज केही ठूलो खेल चल्दै छ । तर सत्य पत्ता लगाउन सक्यौँ भने, यसपालि गाउँ बिक्नेवाला छैन ।”
टाढाबाट गाडीको आवाज फेरि सुनियो– धेरै तेज । मौनता सुरु हुन आधा घण्टा बाँकी थियो । राम्रैसँग रम्ने, डराउने, खरिद-बिक्री हुने सबै कुरा अब अँध्यारोमै हुँदै थियो । तर यथार्थको प्रकाश छिर्ने प्रारम्भ भने यतैबाट सुरु हुँदै थियो ।
खण्ड: दुई
मौन अवधि लाग्नासाथ गाउँलेहरू घर-घरभित्र पसे, तर बाहिरको अँध्यारो भने असाधारण रूपमा जागिरहेको थियो ।
सत्तारूढ पक्षका उम्मेदवार भूमिदेव र विपक्षी दलका धनजीते दुवैका गाडीहरू गाउँका वल्लो डाँडा र पल्लो डाँडाका साना-ठूला गल्ली छिचोलिरहेका थिए । तर यसपटक खुला प्रचार होइन, गोप्य लेनदेनको रात थियो ।
भूमिदेवको घरको ठूलो कोठामा पाँच जना विश्वस्त मान्छेहरू टर्च बालेर कागज पल्टाइरहेका थिए । “यी बूढाबूढीलाई ५-५ हजार । यी व्यापारीहरूलाई ५०-५० हजार । ती किसानलाई २-२ बोरा चामल,” उनीहरू कागजमा लेखिएको नाम क्रसचेक गर्दै पढ्दै थिए ।
भूमिदेव भित्तामा अढेस लागेर गम्भीर स्वरमा बोले– “भोट दिलाउने कुरा पैसाले मात्र हुँदैन, सम्मान पनि चाहिन्छ । पहिले पैसा दियौ, पछि ‘हामी छौँ’ भन्ने आश्वासन देऊ ।”
घडीले १२ बजाइसक्यो । मौन अवधि आधिकारिक रूपमा सुरु भयो । तर भूमिदेवले लेनदेनको पहिलो टिम गाउँतिर पठाउँदै थिए । गाडीको पछाडि ओतलिएको ठूलो झोलामा के थियो ? कसैले खोल्न समेत डराउने “बोरा नम्बर-१७”— अझै रहस्यमै थियो ।
उता धनजीतेको बेस क्याम्प एउटा पुरानो गोदाममा थियो ।
भित्तामा झुन्ड्याइएको टिमटिमाउँदो बत्तीले ठूलो छाया बनाएका मानिसहरूको आकृति डरलाग्दो देखिन्थ्यो ।
एक व्यापारीले टेबुलमा भारी बण्डल खसाल्यो– “यो १० लाख । चुनावपछि पुलको ठेक्का हामीलाई ।”
धनजीते मुस्कुराए– “ठेक्का त तपाईंलाई नै मिल्छ । भोट र सहयोग मात्र मलाई दिनुहोस् ।”
कसैले बाहिरबाट ढोका ढकढकायो । मोटरसाइकलमा आएका दलालहरूले नीला जर्किनहरू निकालेर भित्र राखे ।
कसैले सोध्यो– “किन यति धेरै रक्सी ? मौन अवधिमा त बन्द हुन्छ नि ।” धनजीते हाँस्यो– “कानुन त कागजका लागि बनाइन्छ, चुनाव त रातमै जितिन्छ ।”
गाउँको बाटोमा सामाजिक अभियन्ता चेतन निरन्तर हिँडिरहेको थियो । उसको आँखाबाट थकान झल्किन्थ्यो– अहिलेसम्म सँगै जमघट गर्ने धेरै युवाहरू राति अचानक अदृश्य भएका थिए ।
चेतनले एक साथीलाई फोन लगायो– “कहाँ छौ ? भर्खरै भूमिदेवका मान्छे तिमीसँग देखिएका रे ?”
फोनबाट अत्यन्तै कमजोर स्वर आयो– “दाइ, मलाई थाहा छैन… थोरै पैसा… घरमा आमा बिरामी हुनुहुन्छ… ।”
कुरा स्पष्ट सुनिएन, फोन अधुरै टुट्यो ।
चेतनलाई त्यो क्षण थाहा भयो– गाउँमा विवेक र आर्थिक अभाव दुवैले मिलेर मानिसहरूलाई जवाफदेहिताबाट टाढा धकेल्दै थिए ।
गाउँको पश्चिमतिर— छाया मात्रै देखिने बाँझो जमिन ।
त्यहाँ प्रमिला करिब आधा घण्टा अँध्यारोमा रुखको आड लिएर बसिरहेकी थिइन् । अचानक दुईवटा स्कुटी आए– पछाडि बसेका युवतीहरूलाई उतारेर एक टोल नेताले भन्यो– “आज रात विशेष काम छ । जसलाई जे जे जिम्मेवारी छ, सोही अनुसार गर्नुपर्छ ।”
प्रमिलाको शरीर काँप्यो । गाउँमा सुन्दरी-टिम पठाइएको कुरा हल्ला मात्र रहेन । अब त्यो प्रत्यक्ष प्रमाण बनेको थियो । उनको मोबाइल क्यामरामा केही फोटो कैद गरिन् ।
त्यही बेला, गाउँको दक्षिण छेउमा चार जना कालो ज्याकेटधारी मानिसबीच शङ्कास्पद फुसफुसाहट चलिरहेको थियो । उनीहरू न भूमिदेवका मान्छेहरू थिए, न धनजीतेका देखिन्थे ।
“निर्देशनअनुसार काम सुरु गर्ने बेला आयो ।”
“पहिला सूची मिलाऊ, लक्ष्यहरू चिन्नुपर्छ ।”
“कुनै गल्ती हुन दिनु हुँदैन ।”
यी सबै वाक्यहरूले मात्र एउटा कुरा प्रष्टै भन्दै थिए– गाउँमा तेस्रो पक्ष पनि सक्रिय भइसकेको छ । यो पक्ष कसको हितमा ? किन ? कसले पठाएको ? कसैलाई अन्दाज थिएन ।
रात २ बजेतिर गाउँको बीचमा रहेको चौतारोमा सत्तारूढ पक्षको गाडी आइपुग्यो । मौन अवधि लागिसक्यो तर उसका पक्षका मान्छेहरू बोरा बोकेर, सूची लिएर, सङ्केत भाषा प्रयोग गर्दै दौडिरहेका थिए ।
नजिकै अर्को टोलमा धनजीतेको टिम घुमिरहेका थिए । दुवै पक्ष आक्रामक देखिन्थे । भिडन्त हुन सक्ने परिस्थिति थियो ।
यत्तिकैमा– अँध्यारोबाट आएर चेतन र प्रमिला त्यो भीडलाई चिहाउँदै उभिए ।
प्रमिलाले चेतनसँग भनिन्– “यो त सामान्य पैसा-रक्सीको खेल होइन । गाउँमा अरू पनि छ । कसैले ठूलाठूला योजना बनाएको हुनुपर्छ ।”
चेतनले अँध्यारो चिरेर हेर्दै भन्यो– “साँचो कुरा, यो रात केवल प्रलोभनको रात होइन, यो चुनावकै भविष्य बदलिने रात हुन सक्छ ।”
रात बढ्दै गयो । रहस्यहरू बाक्लिँदै गए ।
अझै ठूलो तुफान आउन बाँकी थियो ।
खण्ड: तीन
गाउँमा रात अझै बाक्लिँदै गइरह्यो । मौन अवधि सुरु भएको धेरै घण्टा भइसकेको थियो, तर मौनता भने केवल कानुनी शब्दमा सीमित थियो । बाहिरको वातावरणमा आज सबै आवाजहरू फुसफुसाहट, गोडाको चाप, अनि मदिराको गन्धमा ढाकिएका थिए ।
गाउँको पश्चिमी कुनाबाट अँध्यारो चिर्दै दुईवटा स्कुटी आयो ।
त्यसैमा उत्रिएका दुई युवतीहरू, सधैँ गाउँमा देखिने अनुहार होइनन्— नयाँ, अपरिचित, तर बडो आत्मविश्वासी देखिन्थे ।
त्यो टोलको स्थानीय ठेकेदारले उनीहरूलाई चुपचाप बोलायो– “हेर, तिमीहरूलाई के गर्नुपर्छ भनेर प्रशिक्षित गरेका छौँ । मतदातालाई प्रभावित पार्न, घर-घरमा समस्या सुन्ने अभिनय गर्न, अनि ‘विशेष प्रभाव’ सिर्जना गर्न ।”
ती युवतीहरूलाई रूखको छायामा उभिएको ठूलो मान्छेले एउटा-एउटा टोकन थमायो । टोकनमा लेखिएको थियो–
“एक घर-दुई मत । काम सकिएपछि ठेगानाअनुसार इच्छाअनुसार खानपिन-मनोरञ्जन र पारिश्रमिक ।”
आजको रात उनीहरूको काम राजनीतिक प्रचार होइन; मानसिक प्रभाव, भावनात्मक जाल, र गुप्त आकर्षण स्थापना गर्नु थियो ।
उता सत्तारूढ दलका उम्मेदवार भूमिदेव एउटा कागजी नक्सामा गाउँका टोल-टोल चिनाउँदै थिए । उनले आफ्ना युवा सञ्चारकर्मीलाई मधुरो स्वरमा भने– “पैसाले मात्रै भोट पक्का हुँदैन । केही मतदाताको मनमा ‘शङ्का’ मात्रै जन्माइदिए पनि फाइदा हुन्छ । सन्देश यसरी दिनु– ‘धनजीते जितेपछि गाउँ बिग्रन्छ’ भनेर ।”
उनले मनोवैज्ञानिक रणनीति अपनाए– कसैलाई आश्वासन, कसैलाई डर, कसैलाई झूटो भविष्य-चित्रण गर्नु । रक्सी-मासुको बोरा त पर पर थन्क्याइए, अहिले मुख्य खेल ‘मनको गहिराइ’ कब्जा गर्ने थियो ।
भूमिदेवले एउटा टोलीलाई विशेष रूपमा पहिचान गराए– “यी तीन घरका युवतीहरूलाई ध्यान देऊ । विपक्षीले त्यही पक्षबाट भोट खाने सम्भावना छ ।”
यसैबिच विपक्षी दलका धनजीते पनि चुप थिएनन् ।
उनको क्याम्पमा एक दलाल चिच्याएर भनिरहेको थियो– “गाउँका महिलाहरूको मन जितेपछि तल्लो टोल स्वतः झुक्छ । तिनीहरूलाई चिठी पठाऊ, उपचार खर्च दिने आश्वासन गर ।”
धनजीतेले रणनीतिलाई अझै मोड दिए– “भूमिदेवले मान्छेको मन लिए भने, हामीले उनीहरूको जीवनका पीडा समात्नुपर्छ । वर्षौँदेखि नपरेको बर्खा, वर्षौँदेखि नबनेको पुल, यी कुरा बोल । राजनीति होइन— भावनामार्फत भोट तान्नुहोस् ।”
गोप्य बैठक सकेर उनीहरू बाहिर निस्कँदा टोलका मान्छेहरूलाई रक्सीको बोरा बुझाइँदै थियो । बोरा सबै भित्र अड्काइएको– कागजका पत्र, क्यालकुलेटर, र गुप्त नम्बरहरू मात्र माथितिर देखिन्थ्यो ।
गाउँ-गाउँमा गडबड सुनेपछि चेतन र प्रमिला आज रातभरि जागा बसेका थिए । उनीहरूले रुखमुनि बसेर पश्चिम टोलको दृश्य हेर्दै अनुसन्धान गरिरहेका थिए । एक घण्टाकै अवलोकनमा उनीहरूले तीनवटै प्रकारका खेल देखे–
(१) रक्सी-मासु वितरण
(२) पैसा-सूची
(३) नयाँ युवा-युवतीहरूलाई परिचालन
प्रमिलाले मोबाइल क्यामरा निकालेर धिपधिपे बत्तीमा मधुरो रात जस्तै चम्किने दृश्य कैद गरिन् ।
“यही त प्रमाण हो,”– उनले चुपचाप भनिन् ।
“तर यसलाई कसरी प्रयोग गर्ने ?”
चेतनले जवाफ दियो– “सही समय निस्केर आउँछ । अहिले एउटा कुरा निश्चित छ– गाउँमा ठूलो खेल चल्दै छ ।”
त्यही बेला, त्यसै अँध्यारोमध्येबाट कालो ज्याकेट लगाएका चारै जना बाहिर आए । उनीहरूले न मदिरा बाँडिरहेका थिए,
न पैसा, न मतदाताको थ्रेसहोल्ड हेर्दै थिए । उनीहरू चुपचाप घर-घर नजिक मान्छेहरूको हिसाब-किताब गर्दै थिए ।
हातमा एउटा फाइल थियो– यसमा मतपत्रको यथार्थ मूल्याङ्कन जस्तै केही लेखिएको देखिन्थ्यो ।
एकले अर्कोलाई भन्यो– “गाउँ यसपालि सहजै झुक्दैन । मनोवैज्ञानिक प्रतिकार बलियो छ । दुवै उम्मेदवारले हाम्रो योजना मानेनन् भने ?…”
दोस्रोले उत्तर दियो– “त्यसपछि तेस्रो विकल्प सक्रिय पार्नुपर्छ ।”
यो सुनेर चेतन र प्रमिलाले एक-आपसमा नजर जुधाए– “गाउँमा तेस्रो शक्ति ? कुन ?”
अघिपछि देखिएका दुवै उम्मेदवारका मान्छेहरू मिलेर एकै स्थानमा भीड जमाए । उनीहरूमध्ये कोही रक्सीको बोरा लिएर भाग्दै थिए, कोही पैसा बाँडेर हराउँदै थिए, कोही टोलका युवतीहरूलाई प्रभाव पार्दै हिँड्दै थिए ।
खण्ड: चार
गाउँमा बिहानको सूर्य उदायो, तर भुईँमा नपरेको उज्यालोजस्तै— मानिसहरूको अनुहारमा उज्यालो छैन ।
रातको गुप्त लेनदेन, सुरा-सुन्दरी, पैसा-सूची सबै कुरा फुसफुसाहटको रूपमा फैलिसक्यो । तर गाउँका अधिकांश मानिसहरू फेरि पनि मौन– थाकेका, विवश, र विकल्पविहीन देखिन्थे । त्यही मौनता चिर्ने पहिलो स्वर आयो– ६५ वर्षीया ज्ञानलक्ष्मीबाट ।
ज्ञानलक्ष्मी बिहानै चौतारोमा ओत लागेर बसेकी थिइन् ।
उनले एक-एक गर्दै गाउँका महिलाहरूलाई बोलाइन् । चियाको सुगन्ध फैलिँदै गयो, तर उनको अनुहारमा असामान्य कठोरता देखिन्थ्यो ।
“हामीलाई पैसाले किन्न खोज्छन्, सुरा-सुन्दरी पठाउँछन्, रक्सी थोपर्छन् । तर हामी किन मौन ? हामी नै त हौँ– गाउँ बनाउने, राजनीति उठाउने ।”
सामान्यतया हाम्रा गाउँ-घरमा बजेट, चुनाव, भोट यी शब्दहरू पुरुषहरूले निर्णय गर्छन्, तर आज महिलाहरूको आँखा खुलेको थियो । किनकि रातभरिको गतिविधिले उनीहरूको घरपरिवारमै धक्का पारेको थियो ।
एक वृद्धाले भनिन्– “हिजो घरअगाडि रक्सीको बोरा राखेर गएछन् । बच्चाहरूले देखे, कस्तो घृणा !”
ज्ञानलक्ष्मीले उभिएर हात झट्कारिन्– “गाउँको अस्मिता आज रक्षा गर्ने जिम्मा हामी महिलाको हो !”
चेतन र प्रमिला बिहानै घटनाहरू समीक्षा गर्दै चौतारोमा आइपुगे । तिनीहरूले अकस्मात ठूलो भीड देखे– महिलाहरू, छोरीबुहारीहरू, केही वृद्ध पुरुषहरू पनि ।
ज्ञानलक्ष्मीले चेतनलाई सोधिन्– “बाबु, रातभर के-के देख्यौ ? हामीलाई सबै सुनाऊ ।”
चेतनले गम्भीर स्वरमा सम्पूर्ण घटनाक्रम सुनायो– रक्सी वितरण, पैसा-सूची, बाहिरबाट ल्याइएका अज्ञात युवतीहरू, अनि तेस्रो पक्षको छायाँसम्म ।
चौतारोमा सुनुवाइ चलिरहेको थियो, मानौँ न्यायालयमै बहस चलेको जस्तै । प्रमिलाले मोबाइलमा कैद गरिएको भिडियो सबैलाई देखाइन्– स्कुटीमा ल्याइएका ती युवतीहरू, बोरा लुकाएर टोल-टोल दौडिएका दलालहरू, अनि भूमिदेव-धनजीतेका चुनावी रणनीतिहरू ।
महिलाहरू एक-एक गरी बोले–
“अब धेरै भयो ।” “हामी लुटिनु, हाम्रा छोरीहरूलाई जोखिममा पारिनु- यति परेपछि मौन बस्न मिल्दैन ।” “चुनाव हाम्रो इज्जत बेच्ने खेल होइन ।”
ज्ञानलक्ष्मीले हात उठाउँदै घोषणा गरिन्– “आजदेखि गाउँमा ‘स्वतन्त्र निगरानी समूह’ बनाउँछौँ । कसैले पैसा बाँड्यो भने हामी रोकिन्नौँ । कसैले रक्सी ल्यायो भने हामी जफत गर्छौँ ।”
चौतारोमा एकैपटक हलचल उठ्यो– यो नयाँ मोड थियो ।
राजनीतिक दलहरूसँग सहयोग पाउने गाउँ अब प्रतिरोध गर्न थालेको थियो ।
उता सत्तारूढ दलका भूमिदेवले बिहानै टोल नेतामार्फत खबर पाए– “गाउँका महिलाहरू उठेका छन् । ज्ञानलक्ष्मीको नेतृत्वमा निगरानी समूह बनेछ ।”
भूमिदेव अचम्म परेको स्वर गुन्जियो– “यो त अनपेक्षित भयो । कसले भड्कायो ? चेतन ? प्रमिला ?”
उनका एकजनाले भन्यो– “गाउँको घटना अब फेरि नियन्त्रणमा रहन सक्दैन नेताजी ।”
धेरै टोलहरूमा रक्सी सकिएर पानी मिसाएर पिउन थालेपछि रातभरका ‘खर्च’ ले काम गर्न छोडेको थियो । भूमिदेवको चिउँडो कडियो– “अब नयाँ रणनीति गरौँ । भावनात्मक खेल बिग्रिएछ, अब दबाब-रणनीति प्रयोग गर्नुपर्छ ।”
अर्कातिर विपक्षी दलका धनजीते पनि चिन्तित थिए– “महिलाहरू उठे भने पैसा-सूची काम लाग्दैन । गाउँ त हातबाट जाँदै छ ।”
उनका दलालहरूको भाषण पनि पराजयको गन्ध बोकेको थियो– “आजदेखि घर-घर पुग्न पनि गाह्रो छ, सबै चौतारोमै बसेका छन् ।”
त्यही बेला कालो ज्याकेटधारी तेस्रो समूह बाँझो टोलमा उभिरहेको थियो । एकजनाले हातमा रिपोर्ट लिएर भन्यो– “गाउँमा स्वतन्त्र प्रतिरोध सुरु भयो । स्थिति योजनाअनुसार छैन ।”
अर्काले चिन्तित हुँदै भन्यो– “दुवै उम्मेदवार दबाबमा छन्, अब हाम्रो रणनीति बदल्नुपर्छ ।”
उनीहरूका यी भनाइले स्पष्ट पार्थ्यो– तेस्रो पक्ष चुनाव जिताउने वा हराउने होइन, चुनाव ‘नियन्त्रण गर्ने’ मिसनमा थियो । तर कसको लागि ? किन ? कसले पठाएको ? त्यो अझै रहस्यमै थियो ।
बिहान १० बजेतिर, गाउँका सबै महिलाहरू ज्ञानलक्ष्मीको अगुवाइमा घर-घर हिँड्न थाले । कसैले रक्सी ल्याएको देखियो भने उनीहरूले ठ्याक्कै अगाडि गएर बोरा खोसिदिने,
कसैले पैसा बाँडेको प्रमाण देखे भने मोबाइलमा कैद गर्ने,
कसैले डर देखायो भने समूहका ३०-४० महिला एकैसाथ अगाडि उभिने । गाउँमा वातावरण नै बदलियो । उत्तरबाट आएको हावा जस्तो चिसो, तर तिखो थियो ।
गाउँले पहिलो पटक महसुस गर्न थाले– भोट बेच्ने होइन, भोटबाट डराउनु पर्ने पनि होइन । भोट नै शक्ति हो ।
दिन ढल्दै गयो । भूमिदेव र धनजीते दुवै पक्षको टोली कमजोर देखिन थाले । रक्सी बाँड्नेले बाटो बदल्नुपर्ने, पैसा-सूची चलाउनेले घर-घर हिँड्न छोड्ने, सुन्दरी-टिमका मान्छेहरू अचेतजस्तै गायब हुने– गाउँ अब उनीहरूको नियन्त्रणबाट निस्किन थालेको थियो ।
तर दिउँसो ४ बजेतिर अचानक एक खबर फैलियो– तेस्रो पक्षका मान्छे थुप्रै टोलमा खुलेआम हिँड्न थाले । उनीहरू एउटा कडा भनाइ दोहोर्याइरहेका थिए– “गाउँ कुनै पनि दलको हुँदैन, गाउँ सम्बन्धित ‘निर्देशन’ अनुसार चल्नुपर्छ ।”
चेतन, प्रमिला र ज्ञानलक्ष्मीले त्यो वाक्य सुने– र तीनैले एकैसाथ आँखा जुधाए ।
“निर्देशन ? कसको ?”
अहिले गाउँमा सुरु भएको विद्रोह, तेस्रो शक्तिको हस्तक्षेप, र राजनीतिक कमजोर मनस्थितिले नयाँ खेल सुरु भएको सङ्केत दियो ।
खण्ड: पाँच
रातको गहिराइ सकिँदै थियो, तर गाउँको निस्तब्धताले अचम्म पार्थ्यो– अर्कोतिर, मानिसहरूको मुटु भित्रभित्रै क्रान्तिकै ज्वालाजस्तो बल्दै थियो । मौन अवधि कानुनी रूपमा कडा थियो, तर गाउँमा मौनता भित्रै एउटा सामूहिक असन्तोषको आवाज जन्मिरहेको थियो– फुसफुसाहट, गुनासो, डर, र दबाबहरू सँगै ।
पहिलो सुरुवात भयो— ज्ञानलक्ष्मीबाट । त्यो रात उनले आफ्नो झोलाबाट पुरानो बत्ती निकालिन्, बोकिन्, गाउँको चौतारो छेउसम्म लागिन् । “आज मौन अवधि होइन,” उनले चारैतिर हेरेर भनिन्, “आज नैतिकताको परीक्षा हो ।”
उनको आवाज कमजोर तर धारिलो थियो । मजाक गर्ने बुढा बाबुहरू, लाज मान्दै उभिने आमा-बहिनीहरू, र टोलभरिका युवा— सबै एकैपटक उठे ।
चौतारोमा धेरै मान्छे जम्मा हुँदा वातावरण अस्वाभाविक लाग्दै थियो । कसैले सोधे, “बा, यो रातमा भेला बस्न पाइँदैन नि ? दुवै पक्षले सुने भने झन् झमेला हुन्छ ।”
ज्ञानलक्ष्मी हाँसिन्– “झमेला त धेरै भोग्यौँ, अब न्यायको झमेला भोगौँ ।”
यही बिच चेतन र प्रमिला पनि आइपुगे । चेतनले त्यहीँ खुलाएर भन्यो– “गाउँका केही मान्छे— सानोतिनो दलालसँग मिलेर दुवै पक्षबाट पैसा, मासु, रक्सी सब लिएका छन् । कोही त प्रतिफलमा २०-३० मत ल्याइदिन्छौँ भनेर रातभर दौडिरहेका छन् ।”
गाउँ एकाएक हलचलमा पर्यो ।
मान्छेको भीड बढ्दै गयो । टर्चवालाहरू टल्किए, कोही नजिक परे, कोही टाढा ।
त्यसैबेला, जिपको ब्रेक चर्किएर आवाज आयो– धनजीतेका मान्छे गाउँको चौतारोतिर घुम्दै आएका थिए । उनको स्वर ठूलो, अनौठो ढङ्गले आत्मविश्वासले भरिएको– “भेला तोड्नुहोस् !”
गाउँ शान्त भयो ।
तैपनि ज्ञानलक्ष्मी हिचकिचाइनन् ।
“किन ?”
धनजीतेका मान्छे कड्किए– “यो गैरकानुनी हो । मौन अवधिमा कुनै समूहगत छलफल निषेध छ ।”
एक घण्टापछि अर्को गाडी रोकियो– भूमिदेव स्वयम् आए । अनुहारमा मुस्कान थियो, तर आँखा टोलाउँदै थिए ।
“आमा, तपाईं जस्तो सम्मानित व्यक्तित्वले यस्तो गर्ने ?” उनले हल्का विनम्र धक्का दिएर भने ।
“हामी चुनाव जित्छौँ जित्छौँ । मतदातालाई भ्रमित पार्नु उचित होइन ।”
ज्ञानलक्ष्मी एक कदम अघि बढिन् ।
“हामी मतदाता कोही बच्चा हौँ र ? हामीलाई भ्रमित त तपाईंहरूले पार्दै हुनुहुन्छ- पैसा, मासु, रक्सी, सुरा-सुन्दरी… अनि आज रात देखिएको त्यो कालो ज्याकेट समूह ?”
गाउँभरि सन्नाटा छायो ।
भूमिदेव चकित भए– किनकि उनीहरूले नै त्यस्ता समूहहरू परिचालन गरेको कुरा खुला रूपमा कसैलाई थाहा नहोस् भन्ने तेस्रो तहमा राखिएको थियो ।
चेतन अगाडि सरेर भन्यो– “हामी अब मौन बस्दैनौँ । यो मौन अवधि कानुनको होइन– आफ्नै विवेकको मौनता हो । आज हामी यसलाई तोड्दै छौँ ।”
एकाएक– गाउँका झुप्राझुप्री घरबाट टर्च बाल्दै मानिसहरू आउन थाले । प्रमिलाले देखिन्– एकजना बूढा किसान आफ्नो घरबाट पैसा भएको खैनीको डब्बा लिएर आउँदै छन् ।
कसैले हात जोडेर चौतारामै राखे– “हामीलाई किनबेच होइन, सम्मान चाहियो ।”
ज्ञानलक्ष्मी उभिइन् र भनिन्– “आजबाट कसैले मत बेच्दैन । जो आएर घुस दिन खोज्छ, अब सबैको अगाडि त्यो प्रमाण राखिन्छ ।”
ठ्याक्कै त्यसबेला– पश्चिमतिर अँध्यारोबाट फेरि त्यही कालो ज्याकेट समूह देखा पर्यो । यसबेला उनीहरू चौतारो अगाडि रोकिए । गाउँ शान्त भयो, सबैको रौँ ठाडा भए ।
भूमिदेव चिन्तित देखिन्थे– गाउँले पहिल्यै अस्वीकार गरिसकेको समूह किन आएको ? के उनीहरू कुनै तेस्रो राजनीतिक शक्तिको दूत हुन् ? वा केही ठूलो लेनदेन बिग्रिएको सङ्केत ?
तिनै कालो ज्याकेटधारी मध्ये एक अगाडि आएर बोल्यो–
“आज रात धेरै कुरा खुल्नेछन्… तर तपाईंहरू कल्पनै गर्न सक्नुहुन्न– सच्चा खेल त अब सुरु हुँदै छ ।”
गाउँ एकैचोटि भय, उत्साह र अनिश्चितताले भरियो ।
मौन अवधि सुरु भएको थियो, तर मौनता भित्रको विस्फोट—अहिले मात्रै जन्मिँदै थियो ।
खण्ड: छ
गाउँको चौतारामा उभिएको कालो ज्याकेटधारी समूहले वायुमण्डल नै थरथर काँप्ने गरी अनौठो चिसो फैलायो ।
मौन अवधिको रात– जहाँ बोल्न नपाइने दिन, तर बोल्नै पर्ने सत्य– ठ्याक्कै आजै उघ्रिन लागेको जस्तो वातावरण थियो ।
चेतन अगाडि सर्यो ।
“तिमीहरू को हौ ?”
उसको स्वर संयमित थियो, तर भित्रभित्रै डर र क्रोध दुवै मिश्रित ।
कालो ज्याकेट समूहको अग्रपङ्क्तिमा उभिएको मानिसले मुख खोल्यो– “हामीलाई कसैले चिन्नुपर्दैन । तर तपाईंहरूलाई थाहा पनि छैन, यहाँको निर्वाचन त पहिल्यै किनबेच भइसकेको छ ।”
उनीहरूको कुरा गाउँलेले मुटु थामेर सुने । भूमिदेवको अनुहार कडा भयो– तर चुप रहे । कसरी मुख खोल्ने ? किनकि दुवै दलका केही स्थानीय नेताहरू– यही चुनावलाई व्यवस्थापन गर्न बाहिरी ‘विशेष टोली’ बोलाएको कुरा उनीहरू आफैँ जान्दथे ।
कालो ज्याकेटधारीले बिस्तारै टर्चले गाउँका मान्छेहरूतिर देखायो । “सत्तारूढ दलले यस क्षेत्रका केही दलालमार्फत रातभर १५ लाख चलाएर मत खरिदको योजना गरेको छ ।”
“र विपक्षी दलले १० लाख बराबरको सामग्री— रक्सी, मासु, इन्धन, बाइक भाडा– सबै मौन अवधिभित्रै वितरण गर्न लगाएको छ ।”
गाउँका मानिसहरू आपसमा हेर्न थाले– यी गतिविधिहरू त सबैले देखेका थिए, तर कसैले यति खुला रूपमा, प्रमाणसहित, कहिल्यै भन्न सकेका थिएनन् ।
प्रमिलाले हात उठाएर सोधिन्– “तिमीहरूलाई यति गोप्य जानकारी कसले दियो ? कसरी थाहा भयो ?”
अग्रपङ्क्तिको मानिस हाँस्यो– “यो देशमा लोकतन्त्रभन्दा ठूला खेलाडी छन्– नदेखिने, नचिनिने, तर चलाउने । हामी त तिनैको छाया मात्रै हौँ ।”
भूमिदेव एकछिन पछि बोले ।
“तिमीहरूलाई कसैले यहाँ पठाएको हो ?”
उनको स्वर पिल्सिएको थियो, झूट र आधा सत्य मिसिएको ।
तर कालो ज्याकेटधारीले सीधै आँखामा हेरेर भने– “नेताजी, तपाईंका स्थानीय संयोजकमध्ये एकले नै हामीलाई बोलाएका हुन् । तर तपाईंले सोचेको उद्देश्यका लागि होइन— उनको आफ्नै ‘खेल’ छ ।”
भूमिदेव एकैचोटि स्तब्ध भए । चेतन र प्रमिला एक-आपसमा आँखा जुधाए– गाउँमा सधैँ चतुराइ चलाउँदै हिँड्ने पुरानो दलाल—जोगिलाल आजदेखि गायब थियो । उसकै हातबाट पनि दुवै दलले आफ्नो खेल चलाउने गरेको सबैलाई थाहा थियो ।
धनजीतेले मुख खोले– “यो जे पनि होस्, चुनाव बिग्रियो भने कसैलाई फाइदा हुँदैन । तिमीहरू हाम्रा शत्रु हौ ? कि अर्कैको ?”
कालो ज्याकेटधारी समूहको मान्छे अगाडि नै आएर भन्यो– “हामीलाई कसैको जित-हारसँग मतलब छैन । हाम्रो काम— देशैभर चुनावी खेल कसरी चल्छ भनेर समाजलाई देखाउनु मात्र हो ।”
तर त्यसको पछाडि के उद्देश्य थियो– इमानदारी कि धम्की ? कसैले ठम्याउन सकेन ।
उता चौतारामा जम्मा भएका गाउँका मानिसहरूबिच चरम असन्तोष फैलियो । कोही चिच्यायो— “हामीलाई खसी-बोका जस्तै किनबेच गर्ने ? हामी के हौँ ? के हामी मतदाता मात्रै हौँ ?”
अर्को बूढो मान्छे अगाडि आयो– “हामीले वर्षौँसम्म सत्तारूढ दललाई जितायौँ, तर विकास ? र विपक्षी दलले स्थानीय तहमा शासन गरे, भ्रष्टाचारै भयो । हामी आफ्नै विवेकले अब मत हाल्छौँ ।”
ज्ञानलक्ष्मीले उठेर चौतारामै घोषणा गरिन्– “आजसम्म हामी मौन थियौँ । आजदेखि गाउँको एक-एक मत सत्यको लागि उभिन्छ । न मासुको बोरा, न रक्सीको पेटी, न पैसाको बण्डल । जो आउँछ, हामी सबका अगाडि राखेर त्यहीँ खुलासा गर्छौँ ।”
भीडले ताली पिट्यो– पहिलो पटक मौन अवधिमा ठूलो आवाज गुञ्जिएको थियो ।
त्यसैबेला एक युवक दौडिँदै आयो, स्वास्वा र फ्वाफ्वा गर्दै– “चेतन दाइ ! प्रमिला दिदी ! ठूलो कुरा भयो–” सबै चकित भएर उभिए । “जोगिलाल गाउँको दलाल खोल्साको छेउमा बेहोस अवस्थामा भेटिएको छ !”
भीड एकाएक स्तब्ध भयो । धेरैजसोले अनुमान लगाए– जोगिलाललाई कसैले ‘चुप’ गराएको हो । वा ऊ कुनै ठूला खेलाडीको बिचमा पर्यो । वा मत-किनबेचको लेनदेनको साक्षी हटाइयो ।
कालो ज्याकेट समूहले एक-अर्कालाई हेरे— उनीहरूको आँखामा अनौठो चमक देखियो । मानौँ उनीहरूलाई पनि थाहा छ, तर उनीहरू नै त्यो होइनन्… वा हुन सक्छन् ?
चेतनले शान्त स्वरमा भन्यो– “अब कुरा व्यक्तिगत भय र लालचभन्दा ठूलो छ । यो गाउँमा लोकतन्त्र किन बिक्छ ? त्यो वास्तविकता बुझ्नुपर्छ ।”
भूमिदेव र धनजीते दुवै तनावग्रस्त थिए । कसैलाई विश्वास थिएन, अब चुनाव ‘सामान्य’ रहनेछ । कालो ज्याकेटधारी समूहका प्रमुखले कड्किँदै बोल्यो– “हिजो तपाईंहरूले गाउँका मान्छेलाई चालेको खेल, आज कुनै अर्को शक्तिले तपाईंलाई चलाइरहेको छ । बुझ्नुहोस्—यो चुनाव अब तपाईंको हातमा छैन ।”
गाउँमा चिसो हावा चल्यो । रातलाई अझै अन्धकारले छायो ।
सत्य अब औपचारिक मौन अवधिमा होइन– अँध्यारोभित्रको आवाजमा बोल्न लागेको थियो ।
खण्ड: सात
गाउँभरि अँध्यारोको राज थियो, तर मानिसहरूको मनमा लागेको आगोले रात उज्यालो जस्तै देखिन थाल्यो । मौन अवधिको अन्तिम रात– दुवै उम्मेदवार तनावमा, गाउँ जाग्रामै, र कालो ज्याकेटधारी रहस्यमय समूह चौतारामा उभिएको ।
जोगिलाल बेहोस अवस्थामा भेटिएको खबरले चुनावको खेल अचानक खतरनाक मोडतर्फ मोडियो । गाउँका मानिसहरू टर्च बाल्दै, तोरीबारी पार गर्दै, खोल्सातिर गए । जोगिलाललाई देख्न, बुझ्न, अनि सत्य थाहा पाउन ।
जोगिलाललाई गाउँलेहरूले चौतारातिर ल्याउँदा ऊ झन् थरथर काँपिरहेको थियो । ज्ञानलक्ष्मीले पानी दिएर बिस्तारै सोधिन्– “के भयो भन् तँलाई ?”
जोगिलाल बोल्न कठिन, तर डरले काँप्ने स्वरमा बोल्यो– “दुवै पक्ष… अनि तेस्रो पक्ष पनि… सब मेरा पछि लागे । सत्तारूढ दलले १५ लाख वितरण गर्न भन्यो, विपक्षीले १० लाख बराबरका सामग्री– तर… त्यो कालो समूहले भन्यो– चुनाव त पहिल्यै बेचिसकियो, तिमीहरू त खेलका कठपुतली मात्र हौ ।”
गाउँमा हलचल, कानेखुसी, आक्रोश ।
चेतनले टेबुल ठोक्यो– “कठपुतली बन्ने कि नागरिक बन्ने ? आज निर्णय यहीँ हुन्छ ।”
गाउँलेहरूले तत्काल निर्णय गरे–
१) मत नबेच्ने प्रतिज्ञा
२) रातभर चौतारामा निगरानी
३) दुवै पक्षका गाडी जाँच्ने
४) कुनै पनि वितरण देखिए तुरुन्त सार्वजनिक गर्ने
ज्ञानलक्ष्मीले तुरुन्तै हात उठाइन्– “आज यो गाउँ पहिलो पटक मौन अवधिको दुरुपयोग होइन, मौनता भित्रको सत्य बोल्ने ठाउँ बन्छ ।”
गाउँले तातिन थालेका थिए । एकजना किसान अगाडि आए । “हामीलाई विकासको आश्वासन दिएर २० वर्ष घुमायौ, आज पनि पैसा बोकेर हाम्रो ढोका ढकढक्यायौ । हामीलाई अब हाम्रो नैतिकता चाहिएको छ, राजनीति मात्रै होइन ।”
प्रमिलाले उठेर भनिन्–
“हामी शिक्षित युवा मौन बस्न सक्दैनौँ । मतदाताको सम्मानबिना लोकतन्त्र हुन्न । आज हामीले दुवै दलका गैरकानुनी कामहरूको सूची, रकम, सामग्री, दलालहरूको नाम, सबै सार्वजनिक गर्छौँ ।”
गाउँभरि अँध्यारो गहिरिँदै थियो, तर मानिसहरूको मनमा कुनै अदृश्य प्रकाश बल्दो थियो— आक्रोश, असन्तोष, र परिवर्तनको आकाङ्क्षा । मौन अवधिको अन्तिम रात । गाउँ भने चौतारामा जाग्रामै । त्यसैबिच, रातसँगै मिसिएको जस्तो कालो ज्याकेटधारी समूह चौताराको छेउमा एकोहोरो उभिएको । पहिचानहीन, उद्देश्यहीन… तर धेरैको आँखा उनीहरूकै दिशातर्फ तानिएको थियो ।
अचानक—टाढाबाट एउटा ठूलो गाडी आयो र केहीबेर रोकियो । गाडीमा थिए, सत्तारूढ दलका भूमिदेव र विपक्षी दलका धनजीते दुवै । बाहिरबाट उनीहरूले एक-अर्कासँग केही कानेखुसी गरे जस्तो देखिन्थ्यो ।
चेतन र प्रमिला अचम्मित हुँदै हेर्दै थिए– “दुवै एकै समयमा एउटै ठाउँमा ? भन्ने कुरा त प्रतिस्पर्धा, तर भेटघाट र हिँडडुल रहस्यमय छ ?”
उनीहरूले चौतारीको भीडलाई नियाल्दै गाडी अगाडि बढाए ।
रात झन् कालो बन्दै गएको थियो । त्यस अँध्यारोभित्र— कालो ज्याकेटधारी समूहका प्रमुखले भने– “यो चुनाव स्थानीय मात्र छैन । यसका पछाडि ठूलो शक्तिले काम गरिरहेछ । ठेक्का व्यवसाय, लगानी समूह, मोनोपोलीका मालिकहरू… जसका लागि कसले जित्यो भन्ने नभई कसले ‘वफादारी बेच्यो’ भन्ने महत्त्वपूर्ण छ ।”
भूमिदेव र धनजीतेको गोप्य वार्ता चलिरहेको थियो । भूमिदेवले मधुरो स्वरमा भन्यो– “यस्तो खुलासाले चुनाव नै बिग्रिन्छ ।” धनजीतेले थपे– “हाम्रो प्रतिष्ठा, पार्टीको अस्तित्व, सबै खतरामा पर्छन् ।” उनीहरू दुई घण्टाजति गोप्य छलफल पछि आ-आफ्नो बाटो लागे ।
उषाको पहिलो किरणले गाउँ छोयो । मतदानको लाइनमा उभिएका मानिसहरू— न डरलाग्दा थिए, न लोभिएका । भूमिदेव र धनजीते दुवै असहज देखिन्थे । कालो समूह भने कतै देखिएनन् । रातसँगै हराए कि, कि झन् गहिरो खेलमा प्रवेश गरे ?
गाउँलेहरू कानेखुसी गर्दै थिए– “आज हामी मत हाल्छौँ– तर यो देशको चुनावी खेल अझै बुझ्न गाह्रो छ ।”
मतपेटिका भरिँदै गए । लोकतन्त्र सास फेर्न खोज्दै थियो ।
तर… कतै गहिरोमा केही अझै गोप्य थियो ।
चुनावी बुथभन्दा टाढा मानिसहरूको भीड देखिएको थियो । त्यही भीडमा कालो ज्याकेटधारी समूहका प्रमुखले शान्त स्वरमा भन्दै थिए– “हामीलाई कुनै दलले पठाएका होइनन् । हामी त्यस्ता मानिस हौँ—जो देशका धेरै निर्वाचन क्षेत्रमा यस्तै गतिविधि देखेर, ‘सार्वजनिक खुलासा’ र निर्वाचन पर्यवेक्षण गर्ने निर्णयमा पुगेका हौँ । हामी कसैलाई जिताउन आएका होइनौँ– तर कसैले नदेखेको कोठाभित्र हुने ‘सिन्डिकेट’ बाहिर ल्याउन आएका हौँ ।”
मतदाताहरू टक्क अडिए– पहिलो पटक, कसैले यस्तो कुरा खुला रूपमा भनेको थियो । मौन अवधि– मतदातालाई चुप लाग्ने समय होइन, बरु तिनीहरूलाई कसरी चुप पारिन्छ भन्ने बुझ्ने समय रहेछ ।
मतपेटिका भरिन थालेको थियो । पहिलो पटक, साँचो लोकतन्त्रले सास लिन सुरु गरेको प्रतीक हुँदै थियो । मौन अवधि सकिएको थियो— तर गाउँलेहरूको मौन विवेक जागेको थियो । चुनाव सकियो । तर नयाँ चेतनाको यात्रा यतैबाट सुरु भयो ।
धनजीते र उसको टिम दिउँसोबाटै हराइसकेका थिए ।
मान्छेहरू एकआपसमा उनीहरूको आलोचना गर्दै थिए । मतदान सम्पन्न भयो, मतगणना सुरु नहुँदै अचानक खबर आयो– धनजीते, विपक्षी उम्मेदवारले सत्तापक्षसँग ठूलो रकम लिएर आफ्नो मत गोप्य रूपमा बेचिदियो । यो खुलासाले गाउँलेहरूलाई झन् झस्कायो । चुनाव केवल मतपत्रको खेल नभएर, ठेक्का, लगानी, र निजी स्वार्थसँग जोडिएको रहेछ ।
चेतन, प्रमिला र ज्ञानलक्ष्मीले तुरुन्तै चौतारामा भीड जमाए ।
चेतनले भन्यो “हामीले साँचो लोकतन्त्र खोज्यौँ, तर चुनावले बदल्न सकेन । अब वास्तविक परिवर्तन मतदानबाट होइन, विद्रोह र सचेत सङ्घर्षबाट आउँछ ।”
प्रमिलाले थपिन्– “आजको चुनाव, जनताको आकाङ्क्षा पूरा गर्न असफल भयो । तर हाम्रो चेतना, हाम्रो आवाजले नयाँ बाटो खोल्छ ।”
ज्ञानलक्ष्मीले अन्तिम दृष्टि टेकेर भनिन्– “गरिब, उत्पीडित, दलित—तिनीहरूको परिवर्तन केवल विद्रोह, सङ्घर्ष र एकताबाट सम्भव छ । मतदानबाट होइन ।”
“मौन अवधि भनेको शब्द नबोल्ने समय मात्र रहेन, यो विवेकलाई थुन्ने, प्रश्नलाई अपराध बनाउने र मतलाई मालसामान बनाउने कालो बजारीकरणको व्यवस्था रहेछ । जब जनताले बुझ्न थाले कि चुनाव परिवर्तनको औजार होइन, सत्ताको कारोबारको विधि बनिसकेको छ, तब मौनता टुट्यो । त्यो टुटाइ मतदानको लाइनमा होइन, चेतनाको विद्रोहमा भयो । किनकि जहाँ मत बेचिन्छ, त्यहाँ परिवर्तन हुँदैन; र जहाँ परिवर्तन सम्भव हुँदैन, त्यहाँ गरिब र उत्पीडितका लागि विद्रोह नै अन्तिम र अनिवार्य बाटो हुन्छ ।”
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



