समीक्षक: लक्ष्मण सिटौला
“जब महिनावारी हुन्थे, ऊ ममाथि अप्राकृतिक युद्ध गर्थ्यो र आफ्नो यौन तिर्खा मेट्थ्यो। त्यो त उसको पहिल्यैदेखिको आदत रहेछ। मदिराले मस्त झुम्दै ममाथि खेल्नु उसको दैनिकी नै थियो। त्यही भएर मैले पीडा सहनका लागि बजारको सस्तो रक्सी ल्याई बेहोस नहुन्जेलसम्म पिउने लत लगाउन बाध्य हुनुपरेको थियो। दुखाइ भुल्न रक्सी त के, म विष पिउन पनि तयार भैसकेकी थिएँ। एक-दुईचोटि त मेटासिल् किनेर पनि ल्याएँ— कि ‘यो जिन्दगी अब सिध्याइदिन्छु’ भनेर। तर छोराहरूको मायालाग्दो आँखा हेर्थेँ, भक्कानिन्थ्यो मुटु। रुन्थेँ छाती पिटी-पिटी र फेरि विष बाथरुमको पानीमा बगाइदिन्थेँ। म मरेर गएपछि सुदर्शनले मेरा बच्चाहरूलाई अनाथ बनाउँछ भन्ने मनमा एक प्रकारको त्रासदी उत्पन्न हुन्थ्यो। यिनीहरू टुहुरा हुन्छन् जस्तो लाग्थ्यो, अनि मुख नजिक लगेको विषको बिर्को बन्द गर्दिन्थेँ। हरेक रात म मृत्युको मुखबाट उम्किन्थेँ यिनै छोराहरूका कारणले।”
उपन्यासभित्रको यो माथिको उद्धरण पढिसकेपछि एउटा पाठक भावविह्वल हुन्छ। सम्पूर्ण उपन्यासको सारतत्त्व यसमै जडित छ। यो पढिसकेपछि उपन्यासकार जमुना भट्टराईको लेखकीय सार छर्लङ्ग हुन्छ। उपन्यासमा प्रयुक्त नारी पात्र दीपाको मनोदशा र आर्ष पीडा छर्लङ्ग हुन्छ। उपन्यासकार पारिजातको ‘शिरीषको फूल‘मा जुन नारीचेतको कुरा छ, ‘मर्नु अघि‘मा अझै त्यो स्वर तीव्रतर छ।
“मर्नु अघि“मा उपन्यासकारको स्वीकारोक्ति छ कि यो उपन्यास पढेर यस जगत्को कुनै एउटा व्यक्तिले आफू अन्यायमा परिरहेको कुरा स्वीकारेर उसले विद्रोहको बाटो रोज्न सक्यो भने म आफूलाई सफल मान्नेछु। किनकि मलाई विद्रोह गर्न मेरा कलिला दुई छोराको भविष्यका कारणले रोक लाग्यो। मैले मेरो स्वर दबाएँ, आफूलाई थिचेँ, आफूलाई रोकेँ, आफूले आफूलाई सम्झाएँ।
म आमा हुँ, ममता नै मेरो कमजोरी थियो। म पीडित बने पनि, म जस्तै अरू कसैले आफ्नो मौनता तोड्ने हिम्मत गरून् भन्ने मेरो उद्देश्य हो। मेरो कथाले कुनै अर्कोलाई अँध्यारो बाटोमा उज्यालो देखाउन सक्यो भने, मेरो लेखनीको उद्देश्य पूरा भएको भनेर सम्झनेछु।
“मर्नु अघि”मा मेरो समालोचकीय दृष्टिकोण-
साहित्यमा समालोचना भनेको कुनै पनि साहित्यिक कृति (कविता, कथा, नाटक, उपन्यास आदि) को गुण, दोष, शैली, विषयवस्तु, प्रभाव आदिको विश्लेषणात्मक मूल्याङ्कन हो। यसले साहित्यिक रचनाको अर्थ, सौन्दर्य, सामाजिक-सांस्कृतिक प्रासङ्गिकता र साहित्यिक प्रविधिको अध्ययन गर्दछ। समालोचना विधा पूर्वीय र पश्चिमी साहित्यमा साहित्यको विकासका लागि एउटा महत्त्वपूर्ण कार्य मानिन्छ।
- समालोचनाका प्रमुख उद्देश्यहरू: कृति विश्लेषण गर्ने; रचनाको भाषा, शैली, पात्र, संरचना आदिको गहन अध्ययन गर्ने;
- कृतिको मूल्याङ्कन गर्ने; रचनाको साहित्यिक गुणस्तर र प्रभावकारिता निर्धारण गर्ने;
- कृतिको अर्थ खोल्ने; गूढ अर्थ, प्रतीक, र सन्दर्भहरूको व्याख्या गर्ने नै हो।
प्रगतिशील नारीवादी चेतनाको आँखामा जमुना भट्टराईकृत “मर्नु अघि” उपन्यासमा यस विषयलाई गहिराइमा पुगेर विश्लेषण गर्दा, जमुनाभित्र नारीवादी दृष्टिकोण, प्रगतिशील चिन्तन र ‘नारी के हो? नारी को हो? र उसले कराल कालको अभेद ज्वाला पनि सहन सक्छे’ भन्ने कुराको रहस्य यस उपन्यासमा अभिव्यक्त गरिएका भाव र प्रतीकहरूको अन्तर्सम्बन्धले स्पष्टीकरण दिएका छन्।
जमुनाको प्रगतिशील नारीवादी चेतनाले केवल लैङ्गिक समानता मात्र होइन, जाति, वर्ग, धर्म र समाजका अन्य शोषणतन्त्रहरू विरुद्धको संघर्षलाई समेत समेटेको छ। “मर्नु अघि“मा व्यक्त उनको जीवन संघर्ष, कोमलता, सहनशीलता र आन्तरिक विद्रोहलाई उनले सपाट चित्रण गरिदिएकी छिन्।
“मर्नु अघि” सौन्दर्य र कोमलताको प्रतीक पनि हो। मर्नु अघि आफैँ-आफैँ आफ्नो रोदन, दुःख, पीडाको एउटा जुनेली आकाश हो। उनले कहीँ पनि कसैलाई दुःख दिएकी छैनन्। जमुनाको मानसिक द्वन्द्वले धन्न उनलाई आत्महत्याको बाटो रोज्नबाट भने जोगाएको छ। उनी आफैँ नाजुक तर टिकाउ भएर घिस्रिएर दलदलबाट बामे सर्दै-सर्दै अन्ततः किनारतर्फ पुग्छिन्। उनको यो जीवनको द्वन्द्व यति भयानक छ कि यो एउटा प्रलय हुनुअगाडि आएको तुफान जस्तो लाग्छ पढ्दै जाँदा।
उपन्यासमा प्रयुक्त पुरुष पात्र सुदर्शनको विघटनशील चरित्र यस्तो लाग्छ कि उसले हाँसी-हाँसी एउटा कोमल फूललाई अग्निमा हवन गरिरहेको छ। उपन्यासका दुई प्रमुख पात्र— सुदर्शन र रघुको चरित्रले बिम्बित गर्छ कि नारीलाई थिचोमिचो र शोषण गरेर नै उनको जिन्दगीलाई क्षणिक बनाउने आदिम प्रवृत्ति छ।
जमुनाको स्वतन्त्र पात्र दीपाको कर्मशील राज्यमा सुदर्शन र रघुको हमलाले जीवनच्युत हुने अन्तिम अवस्थामा पुगेर पनि अन्तमा हार नमानेकी एक लडाकु योद्धा हुन् “कतै पात्र नै दीपामा तिरोहित भएको छ।” नारी पात्र जमुना स्वयम् हुन्। पुरुषको अहंकार अग्निमा जल्दै गरेकी तर चुपचापले कसैलाई पनि दुःख नदिई, कसैको विरुद्ध प्रतिकारमा नउत्रिकन आफ्नो अस्मिता बचाउँदै स्वविद्रोह गर्ने नारीको छविले नेपाली उपन्यास साहित्यको परम्परागत बाटोमा “मर्नु अघि“ले एउटा फरक खालको चिन्तन निर्माण गरेको छ। यो उपन्यासले विद्रोह र जीतको सन्दर्भमा एउटा अर्को बाटो देखाइदिएको छ, त्यो हो मौन विद्रोह र विजयको बाटो।
उपन्यासमा वर्तमानको प्रासङ्गिकतालाई पूरै पन्छ्याएर एउटी आधुनिक नारी आफ्ना शत्रुसँग स्वयुद्ध गर्छे। अन्याय सहन्छे। बिना गल्ती जेल पर्छे। हरेक रात आफ्नो लोग्नेबाट बलात्कृत हुन्छे। पीडा भुल्न आफैँ रक्सीको नशाको सहारा लिन्छे, तर ऊ लाछी र कायर भने कहिल्यै बन्दिनँ।
रघु पात्र छ जसले जमुनालाई आमा भन्छ तर अन्ततः त्यही आमालाई यौनजन्य भावले हेरेको उनलाई पछि “तिमीलाई बिहे गर्छु” भनिसकेपछि मात्र थाहा हुन्छ। यहाँ जमुनाले कहिल्यै पनि पितृसत्ताको विरुद्धमा सडक प्रतिरोध गर्न चाहिनन्, बरु आफैँले सडक खाली गरिदिएर शत्रुहरूलाई बाटो विस्तार गरिदिइन्।
नारीको देह, भाषा र यौनिकताको स्वायत्ततालाई आफ्नो नियन्त्रणमा लिने पुरुष पात्रहरूको हार देखाएको छैन। आफैँ हारेर पनि जितेकी छिन् जमुनाले यो मामिलामा।
समाजले नारीलाई थोपरेको सौन्दर्य र वास्तविकताको बीचको तनाव हो “मर्नु अघि” उपन्यास। प्रगतिशील नारीवादी चेतनाले यसलाई एक मौन विद्रोही वा स्वविद्रोही स्वरको प्रतीकको रूपमा स्वीकार नगरी अब सुखै छैन। जसले नारीको स्वतन्त्रताको माग गर्दछ, त्यही व्यक्ति नै नारी अस्मिताको भक्षक हो भन्ने कुराको रहस्योद्घाटन गरिदिएको छ यो उपन्यासमा सुदर्शन पात्रको माध्यमबाट।
१८औँ–१९औँ शताब्दीको नवशास्त्रीय समालोचना, ड्रायडन तथा यथार्थवादी र प्रतीकवादी आन्दोलनका नवयथार्थवादका बाल्जाक, फ्लाउबर्टले समाजको कुरूपतालाई नग्न रूपमा चित्रण गरेका थिए। जमुना भट्टराईकृत “मर्नु अघि“ले परिवारभित्रको शोषणलाई नग्न रूपमा यस जगत्लाई बिना सङ्कोच भनिदिएकी छिन्। यो भन्नु हुन्थ्यो कि हुन्नथ्यो, त्यसको लेखाजोखा अब उनले सिङ्गो समाजलाई छोडिदिएकी छिन्। हरेक रात रक्सीको मातमा मात्तिएर रजस्वलाको रगतको आहालमा डुबेकी धर्मपत्नीलाई उनको इच्छा विरुद्ध, धर्म, संस्कार विरुद्ध, पौराणिक कथन र शारीरिक कमजोरी विरुद्ध अहोरात्र बलात्कार गरिरहने लोग्नेको बर्बरतालाई यो उपन्यासमार्फत उनले यस जगत्लाई थाहा दिइन्।
डेरिडाको विखण्डनवादमा जस्तै “मर्नु अघि“ले छोड्नेछ एउटा परिवारभित्रको आँसुको कथा र अर्थको अस्थिरता। यहाँभित्र भएको नारीवादी (वुल्फ, सिमोन द बुभा)को जस्तै लैङ्गिक राजनीतिले सुदर्शन, रघु र गोविन्दलाई समेत घर्लप्पै चपाएको छ।
२१औँ शताब्दीको डिजिटल युग र नयाँ प्रवृत्तिहरू नेपाली साहित्यमा भित्रिसकेको अवस्थामा जमुना भट्टराईले नेपाली समाजलाई भन्न नहुने कुरा के पो भनेकी छिन् र? सुन्नेहरूलाई यदि लाज लागेको छ भने, तिमीहरूले कान थुन्न सक्छौ या नपढ्न सक्छौ यो उपन्यास। तर एकै जनाले पनि पढिदियो भने उसले थाहा पाउनेछ के हो स्वविद्रोह भनेर।
पाश्चात्य समालोचनाको इतिहास दर्शन, समाज र कलाको विकाससँग नेपाली साहित्य समानान्तर हुने दिन यस्तै-यस्तै कृतिहरूको स्वीकृतिले सम्भावना बढाउँदै जानेछन् जसले शास्त्रीय नियमलाई तोडेर क्लासिकलदेखि उत्तरआधुनिक विखण्डनसम्म एउटा लामो यात्रा तय गरिसकेको छ। आज यस्ता खालका साहित्य बहुविषयक, वैश्विक र प्रयोगधर्मी बनेका छन् जस्तो हिजो पारिजातले गरिन्। पारिजातपछि नारीवादी चेत र विद्रोह स्वर केही समय नेपाली साहित्यमा अलमलिएको हो कि भन्ने हामीलाई प्रतीत हुन्छ। “मर्नु अघि“ले ल्याएको एउटा आँधी, पारिजातपछिको अभावपूर्तिको महत्त्वपूर्ण कलेवर हो।
जमुनालाई आरोप आउला, ‘ओछ्यानको कुरा किन भनेको?’ भनेर। तर त्यही ओछ्यान नै सारा जीवन र सपनाहरूको चिहान बनिदिन्छ र आँसुले भिजिन्छ भने कसरी थाम्नु पीडाको त्यो पहिरो जो घरी-घरी भाग्यमा खसिरहन्छ र पुरिदिन्छ सारा खुसीहरू? अनि कतिञ्जेल सहनु विवशताको त्यो घाउ? ओछ्यान, ओछ्यान नरहेर भाग्यको भस्मित अगेनो बनिदिन्छ भने, अनि त्यही ओछ्यान नै प्राण हरणको बाटो बनिदिन्छ भने, कतिञ्जेल नभन्नु यो कुरा र कतिञ्जेल यो कमजोर आँखाले थामिरहन सक्छ आँसुको त्यो गोसाइँकुण्ड?
सर्जक जमुना भट्टराईको “मर्नु अघि” यदि पारिजात समकालीन हुन्थ्यो भने “शिरीषको फूल” सँग प्रतिस्पर्धामा उभिन्थ्यो। “शिरीषको फूल” छापिएको ६० वर्षपछि जमुनाकृत “मर्नु अघि” लेखियो। पारिजातले “शिरीषको फूल” लेख्दाको नेपाली समाजको जुन सामाजिक धरातल र पुरुष मनोविज्ञानको व्याख्या गरिन्, त्यही पार्श्वभूमि छ “मर्नु अघि“मा पनि। फरक यति हो कि पारिजातले कापीमा लेखिन्, जमुनाले कम्प्युटरमा लेखिन्। दुवै लेखिकाको कुमारी चेतनालाई र तिनको अहम् सुन्दर संसारलाई पुरुष अहंकारले बलात्कृत गरिदिएको छ।
पीडाको नदीमा हेलिएर बग्दै जाँदा बागदेवीको सुदूर किनारमा आशाको एउटा त्यान्द्रोमा फेरि अल्झिदिन्छ जिन्दगी। कुनैबेला “शिरीषको फूल” र “मर्नु अघि“मा विश्वविद्यालय स्तरमा तुलनात्मक अध्ययन भयो भने त्यतिबेला यसको पार्श्वख्यानको बारेमा पुनः उत्खनन हुने नै छ। उता सुयोगवीर छ, यता सुदर्शन छ। दुवै पुरुष हुन्— नारीलाई आफ्नो कठपुतली सम्झिने। यसको विस्तृत समकालीन आँखामा “शिरीषको फूल” र “मर्नु अघि“को समालोचना म पछि लेख्ने नै छु।
“मर्नु अघि” उपन्यासमा जमुनाले जुन दुःखहरूको सपाट व्याख्या गरेकी छिन्, ती हजारौँ दीपाहरूको शोषणको हूरीमा निसासिएर बलेका अग्निको आवेग हुन्।
जमुनाभित्र दीपा तिरोहित बनेर लेखिएको यो “मर्नु अघि” उपन्यास होइन, यो त आँसुको महाकाव्य हो। यो गद्यमा लेखिएको महाभोगाईको वृत्तान्त हो। यो पृथ्वी जस्तै सहनशील नारीहरूको अच्युत आबरुको चारु चर्चा हो। यौन कुण्ठा र हरेक रात रक्सीको मातले मात्तिएको पुरुष अहंकारको तातो भुङ्रोमा भस्मित भएर अनि हरेक बिहान अनेकौँ लान्छना, शङ्का र प्रताडनाको चट्याङ सहेर उभिएका दीपाहरूको अग्निभूमि हो “मर्नु अघि“।
यति राम्रो गद्य गीत, यति गहकिलो बृहत् महाकाव्य वा यति गम्भीर उपन्यास “मर्नु अघि” दिएर सबैलाई सतत बाँच्ने अभिप्रेरणा दिने म सर्जक जमुना भट्टराईलाई हृदयदेखि नै बधाई दिन्छु। यो कृतिको शार्दूल सफलता फैलियोस् र तपाईंको हृदयाकाशमा उनै दिव्यात्मा सरस्वतीको निवास होस्। फेरि पनि बधाई छ यति गहन र सुन्दर सत्कृतिका लागि!
उपन्यासकारले “मर्नु अघि“मार्फत भन्न चाहेको सतत कुरा यही हो है जसलाई मैले केस्रा-केस्रामा यसरी भन्दिएँ भने अचम्म नमान्नुहोस् है—
- मर्नु अघि — आफूभित्रको साराका सारा अहंकार र आगोलाई निभाउन पाए हुन्थ्यो। यो जगत् मेरो हो भन्दै सारालाई लुछ्न खोज्ने, लुट्न खोज्ने आततायी मनुष्यहरूको पतनको दिन देख्न पाए हुन्थ्यो।
- मर्नु अघि — मलाई जिउँदै मार्न खोज्नेहरूको हार र तिनका आँखामा घोर पश्चात्तापको आँसु बगिरहेको देख्न पाए हुन्थ्यो। पापीहरूको हार अर्को जुनीमा होइन, यही जुनीमा देख्न पाए हुन्थ्यो।
- मर्नु अघि — मलाई मरोस् भनेर श्राप दिनेहरूको श्राप तिनीहरू आफूलाई फर्केको देख्न पाए हुन्थ्यो। किनकि म यो लोकमा नहुँदा फेरि अर्को म जस्तै सोझो, इमानदार र निर्दोष नारीले मैले जस्तै दुःख झेल्न र आतङ्कित हुन नपरोस्।
- मर्नु अघि — म गलत थिइनँ भनेर म बाँचेको समाजले बुझोस्। मलाई दोष दिएर आफू निर्दोष साबित हुन खोज्ने मानिसहरूलाई त्यो बोध होस् कि कोही पनि निर्दोष व्यक्तिलाई दोषी करार गरेर समाजमा छोड्दा ऊ कसरी जिउँदै मरी-मरी बाँचिरहेको हुँदोरहेछ!
- मर्नु अघि — पापीले यो पृथ्वीमा कहिल्यै बास नपाएको, सुख नपाएको, उसलाई निद्रा नलागेको, उसको अमनचयन सारा हरण भएको, उसका सारा श्री खोसिएको, उसले समाजबाट नै बहिष्कृत हुनुपरेको, उसको बसन्त मुर्झाएको, उसको उल्लास सेलाएको, उसलाई ऊ बाँचेको समाजले सधैँ बहिष्कार गरेको देख्न पाऊँ। किनकि पृथ्वीमा नयाँ जन्म लिने मानिसले यस्ता धर्तीका दुश्मनहरू फेरि-फेरि देख्न नपरोस्।
- मर्नु अघि — पृथ्वी शान्त बाँचिरहेको होस्।
- मर्नु अघि — नदीहरू नरोई बाँचेको हेर्न पाऊँ। बसन्तले जवानीको गीत गाउन नछोडोस्। हिमालय पर्वत हाँसिरहोस्। पहाडहरूले आफ्नो स्थान कहिल्यै नछोडून्। आकाशको नीलिमा कहिल्यै नसक्कियोस्। पृथ्वीमा ओर्लिरहने घामका जागरिला खुट्टाहरू कहिल्यै नदुखून्।
“मर्नु अघि” तिनै हार्नेहरू नथाकेको, नझुकेको, नचुकेको, नलत्रिएको गुलाफी कथा हो। यो कथा तिनैको हो जो पीडाको तातो मरुभूमिको यात्रा गर्छन् समयको सुनामी झेल्दै। यहाँभित्र यात्रा गरेका ती पात्रहरूलाई म कसरी भुल्न सकूँला र? जसका कारणले जमुनालाई “मर्नु अघि” लेख्न अजस्र उत्प्रेरित गरिरहे र आज उनी तिनैको आकाशमा उदाएर दिव्य बनेकी छिन् यति मीठो कृति पस्किएर। घाउ बनाइदिनेहरूलाई त्यतिबेलासम्म मात्रै सम्झिइन्छ जतिबेलासम्म घाउमा खाटा बस्दैन। तर जसले घाउ पारिदिन मध्यमार्गीको भूमिका खेल्छन्, तिनीहरूलाई पीडितले कहिल्यै पनि बिर्सिन सक्दैनन्।
उपन्यासले भन्न खोजेको कुरामा सबैले सहमति देखाउनु जरूरी हुन्छ भन्ने छैन। मेरो स्वकीय चिन्तनले देखेको “मर्नु अघि“को लालकिल्ला यही हो। उपन्यासमा भाषागत केही त्रुटिहरू केलाउन बिर्सिएका छन्। यो ठूलो कुरा होइन, सुधार गर्न सकिन्छ। विदेशको व्यस्त जीवनको भागदौडमा यति बृहत् कृति जन्माउन सक्नु सामान्य कुरा होइन। उपन्यास न दुःखान्तक हो न सुखान्तक हो, यो विषय भने गौण रहेको छ।
उपन्यासकार जमुना भट्टराई क्यान्सर रोगबाट एउटा अपूर्व विजयी पात्र हुन्। चिन्ता छोडेर चिन्तनको बाटो रोज्ने हरेक मानिसले मृत्युलाई जित्ने रहेछ भन्ने यही कुराको प्रमाण दिइन् उपन्यासकारले। समग्रमा उपन्यास काव्योपन्यास बनेको छ। पढ्दा ‘यो चाहिँ नभइदिएको भए हुन्थ्यो’ भन्ने पात्र कोही छैनन्, तर रघु भन्ने पात्रको उपस्थितिले मातृत्वप्रतिको सम्मानमा एउटा आघात भने छोडेर गएको छ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।