समीक्षा: जरत्कारु: नारी सशक्तिकरणको पौराणिक पुनर्पाठ
— मनीषकुमार शर्मा ‘समित’
सनातनी हिन्दू परम्परा, पूर्वीय दर्शन र संस्कृत वाङ्मयको अध्ययनमा विशेष रुचि राख्नुहुने किरण आचार्य पौराणिक कथावस्तुमा आधारित उपन्यास लेख्न माहिर हुनुहुन्छ। ‘जरत्कारु’ (२०७९) उहाँको पहिलो पौराणिक कथामा आधारित उपन्यास हो भने उहाँका दोस्रो र तेस्रो कृतिहरू— ‘परशुराम’ (२०८०) र ‘अहिल्या’ (२०८१) उपन्यासका रूपमा प्रकाशित भई पाठकमाझ पुगिसकेका छन्। आचार्यका यसअघि थारू भाषाको ‘सँपरजुवा’ कथासङ्ग्रह, कथासङ्ग्रह ‘क्यान्टोनमेन्ट’ तथा ‘अस्तित्व’ र ‘अनुभूति’ नामका दुई लघु–कवितासङ्ग्रह प्रकाशित भइसकेका छन्। लामो समय शिक्षक पेसामा संलग्न र कुशल शैक्षिक प्रशासकका रूपमा समेत कार्यरत रही सेवानिवृत्त हुनुभएकी आचार्य मोफसल (नेपालगन्ज) मा बसेर नेपाली साहित्यका क्षेत्रमा सशक्त रूपमा कलम चलाउँदै आफ्नो महत्त्वपूर्ण उपस्थिति जनाउन सफल हुनुभएको छ।
२०८१ सालको साउन महिनामा काठमाडौँ अनामनगरस्थित डालो रेस्टुरेन्टमा उहाँको तेस्रो उपन्यास ‘अहिल्या’ लोकार्पणको समयमा उहाँसँग साक्षात्करण भयो। त्यसै कार्यक्रममा उहाँका ‘परशुराम’ र ‘जरत्कारु’ उपन्यासहरूको पनि प्रसङ्ग उठ्यो। म स्वयं पौराणिक र धार्मिक विषयवस्तुमा रुचि राख्ने भएकाले मलाई अहिल्या र परशुरामभन्दा पनि ‘जरत्कारु’ कृतिले ध्यान खिच्यो। किनकि अहिल्या र परशुराम पौराणिक पात्रहरूका बारेमा मैले सुनिरहेको र थोरबहुत जानकार थिएँ, तर जरत्कारु मेरा लागि नूतन थियो। पुस्तक पढ्ने हुटहुटी त चल्यो तर समय र अवस्था तत्काल मेरा पक्षमा भएनन्, तर ‘अजिङ्गरको आहारा दैवले पुर्याउँछ’ भनेझैँ केही महिनापछि कृतिकार स्वयंले उहाँका कृतिहरू हुलाकमार्फत मेरो झोलीमा राखिदिनुभयो। यसका लागि म कृतिकार आचार्यलाई नमन र हार्दिक आभार प्रकट गर्दछु।
आचार्यको सिर्जनात्मक जगको मूलाधार नै आख्यान हो, त्यसमा पनि पौराणिक विषयवस्तु विशेष केन्द्रमा रहेको छ। वेद, पुराण, रामायण, महाभारत आदि पौराणिक ग्रन्थहरूको शताब्दीयौँ लामो परम्परा र जटिल कथा–बनावटबीच कतिपय गौण पात्रहरू एकदमै ओझेलमा परिरहेका हुन्छन्। मुख्य पात्रहरू जनमानसमा प्रख्यात भइरहँदा गौण पात्रहरू प्रायः स्मृतिबाट हराउने गर्छन्। आचार्यको मौलिकता यहीं प्रस्ट प्रकट हुन्छ। उहाँ ती ओझेलमा रहेका पात्रहरूको जीवन, सङ्घर्ष, मनोदशा र आत्मबोधलाई पुनः उत्खनन गर्दै उनीहरूलाई नयाँ दृष्टिकोणका साथ नायकत्वको केन्द्रमा उभ्याउनुहुन्छ।
उत्तरवैदिक कालको युगीन पृष्ठभूमिमा अवस्थित यस्ता गौण पात्रहरूको समग्र जीवनयात्रा र यथार्थलाई पूर्ण, सग्लो र प्रभावशाली रूपमा प्रस्तुत गर्ने उद्देश्यले ‘जरत्कारु’ उपन्यास सिर्जित भएको पाइन्छ। सफल पौराणिक उपन्यासका रूपमा यसको मूल्याङ्कन गर्दै, मैले यस कृतिका अन्य साहित्यिक विशेषतामाथि पनि थप परिचर्चा गर्ने प्रयत्न गरेको छु।
शिखा बुक्सले प्रकाशन गरेको यो कृतिको आवरण पहिलो नजरमै पाठकको ध्यान तान्ने शक्ति बोकेको छ। नाग–आसनमा शान्त भावले विराजमान एक नारी, जसका शरीरमा सजिएका वस्त्र, अलङ्कार र धारणले अन्तर्सूचक रूपमा नागको रूप–प्रतिरूपलाई धारण गरेका छन्। यसले आवरणलाई रहस्य, सौन्दर्य र प्रतीकात्मक गाम्भीर्यले भरिदिन्छ। यस्तो दृश्यले पाठकभित्र प्रश्न, जिज्ञासा र उपन्यासभित्र प्रवेश गर्ने अदृश्य आमन्त्रण जन्माउँछ।
उपन्यासलाई क्रमशः पढ्दै जाँदा आवरणमा पहिल्यै देखिएको नारी–प्रतिमा र नाग–तत्त्वले बोकेको अर्थ तह–तहमा खुल्दै जान्छ। आख्यानका घुम्ती, पात्रका वेदना, मिथकीय सन्दर्भ र सामाजिक यथार्थ सबैले मिलेर त्यो आवरणचित्रलाई एउटा गहिरो रूपकमा रूपान्तरण गरिदिन्छन्। कथाको अन्त्यमा पुग्दा पाठकलाई महसुस हुन्छ— आवरण केवल दृश्य सजावट थिएन; त्यो त सम्पूर्ण कथावस्तुको आत्मा र सङ्केतहरूको मुखर अभिव्यक्ति थियो।
उपन्यासमा ‘जरत्कारु’ नामका दुई पात्र— एक पुरुष र एक नारी— छन्। ‘जरा’ (क्षय) र ‘करु’ (स्थिरता) को व्युत्पत्तिगत अर्थ दुवै पात्रको जीवनसँग समानान्तर रूपमा जोडिएको छ। कठोर तपस्याले शरीर क्षीण बनाएपछि दुवै पात्र ‘जरत्कारु’ कहलिएका छन्, तर जीवनप्रतिको दृष्टिकोणमा उनीहरूबीच गहिरो अन्तर छ।
‘जरा’ शब्दको अर्थ क्षय हुनु हो, र ‘करु’ को अर्थ गम्भीर वा स्थिर भनिन्छ। यसै सन्दर्भमा, जरत्कारु (पुरुष पात्र) नामले सूचित गर्ने कुरा— पूर्वतिर उनी अत्यन्त सबल, बलिष्ठ र तन्दुरुस्त थिए तर कठोर तपस्यामा लागेपछि शरीर क्षीण, जीर्ण र अशक्त हुँदै गयो। शरीरमा आएको त्यही परिवर्तनको अर्थवाची भएर उनी ‘जरत्कारु’ नामले चिनिन थाले।
अर्को रोचक संयोग के छ भने वासुकी नागकी बहिनी, मनसादेवी पनि यस्तै अवस्थाबाट गुज्रिइन्। उनी पनि प्रारम्भमा सबल थिइन्, तर दीर्घ तपस्याद्वारा शरीरलाई क्षीण र दुर्बल बनाइन्। यही समान रूपान्तरणका कारण उनलाई पनि ‘जरत्कारु’ भनेर सम्बोधन गरियो।
उपन्यासको मूल कथावस्तु नागकन्या मनसादेवी, अर्थात् जरत्कारुको चरित्रलाई केन्द्रमा राखेर विस्तार हुन्छ। कृतिमा एक शिष्य सर्वदर्शी चेतनाभित्र प्रवेश गरेर आफूले अनुभूत–अवलोकन गरेको जगत्कारुको कथा एक महिलालाई सुनाइरहेको रूपमा प्रस्तुत गरिएको छ। यही वाचनशैलीको साथसाथै उपन्यास जीवनका आनन्द, सुखबोध, तिक्तता तथा रिक्तताका सूक्ष्म अवस्थाहरू मार्फत क्रमशः अगाडि बढ्छ। यो संरचनालाई हेर्दा उपन्यासले तृतीय पुरुष बाह्य दृष्टिविन्दु अपनाएको स्पष्ट हुन्छ।
जरत्कारु जङ्गलमा आदिवासी बालबालिकालाई शिक्षादान गर्दै मानवसेवामा लागेको स्थानबाट कथाको आरम्भ हुन्छ। यिनै जरत्कारुको पौराणिक पृष्ठभूमि, विवाह, सम्बन्धका उतारचढाव, मातृत्व, सङ्घर्ष, आत्मसम्मानको खोज तथा प्रतिरोध उपन्यासभरि छरिएको छ। उपन्यासले ऋषि कश्यप र दक्ष प्रजापतिको पारिवारिक संरचनाभित्र लुकेको विभेदलाई विशेष रूपमा उठान गरेको छ। कश्यपका पत्नीहरूबीच असमान व्यवहार, केही पत्नीहरूलाई सन्तान पाउन परेका कष्ट, छोराछोरीको शिक्षामा गरिने भेदभाव, र अदिति पक्षलाई मात्र देखाइएको विशेष सम्मान— यी सबैलाई उपन्यासले आजको समाजसँग दाँजेर व्याख्या गर्छ।
जरत्कारु र ऋषि जरत्कारुको वैवाहिक जीवन उपन्यासको सबैभन्दा सबल भाग हो। पतिका अत्याचार र उपेक्षाबीच पनि पत्नी जरत्कारुले गरेका तर्क, आत्मसम्मानका दाबी र अन्ततः पतिलाई त्यागेर स्वतन्त्र जीवन रोज्ने निर्णय उपन्यासको मूल सन्देशसँग जोडिन्छ। नारी पनि स्वयं निर्णय गर्न सक्ने स्वतन्त्र मानवीय अस्तित्व हो। उपन्यासमा महिलामाथि हुने शोषण, बहुविवाहका दुष्परिणाम, नारी शरीर र इच्छाबारेका प्रश्न, मातृत्वका वेदना, तथा नारी अधिकारका संवैधानिक प्रश्नहरू अत्यन्त संवेदनशील र प्रभावकारी ढङ्गले प्रस्तुत भएका छन्।
उपन्यासको एउटा गम्भीर पक्ष दर्शनसँग सम्बन्धित छ। दर्शन संसारलाई बुझ्ने र जीवनलाई अर्थपूर्ण रूपमा अनुभव गर्ने दृष्टिकोण हो। यसले द्वैत र अद्वैत दर्शनबीचको द्वन्द्वलाई उजागर गर्दछ।
अद्वैत दर्शनअनुसार ब्रह्मका अनगिन्ती रूपहरू छन् र म अथवा हामी पनि ब्रह्मकै स्वरूप हौँ। ब्रह्म खोज्न बाहिर धाउनु पर्दैन; “अहं ब्रह्मास्मि”— ‘म ब्रह्म हुँ’ भन्ने अनुभूति नै यसको सार हो। ब्रह्म र संसार अलग छैनन्; संसार ब्रह्मकै भित्र विद्यमान छ र ब्रह्मसँग अनन्य तादात्म्य राख्छ। संसारको प्रत्येक वस्तु, प्रत्येक जीवन र प्रत्येक अनुभूति ब्रह्मकै अभिव्यक्ति हुन्। यदि हामीले ब्रह्मको सच्चा ज्ञान हासिल गर्यौँ भने जीवनका सम्पूर्ण जिज्ञासाहरू आफैँ समाप्त हुन्छन्। ब्रह्म शान्त र अनन्त छ, र शान्त मनले मात्र जगत्को वास्तविक रूपको अनुभूति गर्न सक्छ।
द्वैत दर्शन भनेको ब्रह्म र प्राणी फरक तत्त्व हुन् भन्ने दृष्टिकोण हो। यसअनुसार आत्मा र परमात्मा अलग–अलग छन्; संसार बाह्य रूपमा ब्रह्मको सृष्टि हो र प्राणीले ब्रह्मको मार्गदर्शन वा कृपा प्राप्त गर्न सक्छ। यस दृष्टिकोणमा जीवन, कर्म र भक्ति महत्त्वपूर्ण हुन्छन्, किनकि प्राणीले परमात्मासँग अलगाव अनुभव गर्छ र मोक्ष वा मुक्ति प्राप्तिका लागि सक्रिय प्रयास गर्नुपर्छ।
उपन्यासमा यी दुवै दृष्टिकोणको द्वन्द्व स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। यसले केवल जीवन र ब्रह्मको सम्बन्धमा वैचारिक प्रश्न उठाउन मात्र होइन, प्राणीले पीडामाझ अर्थ खोज्ने, चुनौतीहरूको सामना गर्दै आफूलाई सक्रिय बनाउनुपर्ने, र ज्ञानलाई पुस्तक वा सैद्धान्तिक अध्ययनमा सीमित नराखी, अनुभव र प्रत्यक्ष अनुभूतिसँग जोडेर बुझ्ने प्रवृत्तिलाई पनि उजागर गर्दछ। त्यस्तै, यसले समाजमा असमानता, अन्याय र पीडितहरूको अवस्थाप्रतिको संवेदनशीलता पनि जागृत गराउँछ र पाठकलाई स्वतः सोच्न प्रेरित गर्छ। उपन्यासका यी पक्षहरूले कथालाई दार्शनिक गहिराइ र बौद्धिक सम्पन्नता प्रदान गर्छन्, जसले पाठकलाई जीवन, चेतना, अस्तित्व र ब्रह्म–संसारको अन्तर्निहित सम्बन्धबारे गहिरो अन्तर्दृष्टि दिन्छ।
भूमिका लेखनमा प्रमोद प्रधानका अनुसार ‘जरत्कारु’ ले पौराणिक कथाको खोलभित्र आजको नारी जीवन देखाएको छ। यसले केवल पुरानो कथाको पुनर्लेखन मात्र होइन, नेपाली समाजका गहिरिएका यथार्थलाई प्रश्न गर्ने साहित्यिक दस्तावेजको रूप लिन्छ। उपन्यास भाषिक रूपमा सरल, प्रस्तुतिमा आकर्षक र भावनात्मक रूपमा अत्यन्त प्रभावशाली छ। पहिलो कृतिमै यस्तो शक्ति प्रदर्शन गर्न सक्नु उपन्यासकारको प्रतिभा र अध्ययनको गहिराइको सूचक भएको छ।
उपन्यास ‘जरत्कारु’ ले पुराना मिथकीय कथाहरूलाई आधार बनाएर, समयसापेक्ष नेपाली समाजका गहिरा सवालहरू उजागर गरेको छ। कथामा नारीमाथि हुने पीडा, पितृसत्तात्मक सोच, पारिवारिक विभेद र सामाजिक अन्यायको दृश्य स्पष्ट देखिन्छ। उपन्यासको मेरुदण्डमा पितृसत्ता, दमन, बहुविवाह, विभेद, नारी अस्तित्व, विद्रोह र दर्शनजस्ता विषयहरू रहेका छन्।
यसले बहुविवाहका नकारात्मक परिणाम मात्र देखाउँदैन, बरु नारी अस्तित्व र अधिकारको पक्षमा स्पष्ट र दृढ वकालत गर्छ। कथा पाठकलाई प्रश्न गर्न उक्साउँछ— ‘स्त्रीका अधिकार र अस्तित्व किन कम? किन शोषण भइरहेको छ?’ पात्रहरूको संवाद र व्यवहारले समाजमा विद्यमान अन्यायको पर्दाफास गर्छ र पाठकमा सामाजिक चेतना जागृत गर्दछ।
उपन्यासले हिन्दू समाजमा प्रचलित कुमारी पूजाको विषयलाई गहिरो रूपमा उठाएको छ। अध्ययनको आधारमा प्रस्तुत कथामा, ऋषि अगस्त्य कुलकी कद्रुकी पुत्री जरत्कारु नै कुमारीका रूपमा पुजिने परम्परालाई केन्द्रबिन्दु बनाइएको छ। उपन्यासले यस पूजाको धार्मिक, सामाजिक र सांस्कृतिक आयामलाई मात्र चित्रण गर्नुमा सीमित नरहँदै, यसले समाजमा नारीको सम्मान, पवित्रता र शक्तिप्रतिको दृष्टिकोणको विवेचना पनि गरेको छ। यसरी जरत्कारु पात्रमार्फत नारी पूजाको ऐतिहासिक र वर्तमान सामाजिक सन्दर्भ दुवैलाई संवेदनशील र बौद्धिक दृष्टिले उजागर गरिएको छ।
उपन्यासका केही पक्षमा सुधारका सम्भावनाहरू देखिन्छन्, जसले पाठक अनुभवलाई अझ सशक्त र सुसंगत बनाउन सक्ने अवसर प्रस्तुत गर्नेछन्:
- चरित्रको निर्णय र व्यवहारको कारण स्पष्टता: बाल्यकालदेखि हक्की र निडर जरत्कारुले सर्तसहितको विवाहको प्रस्ताव आउँदा किन विद्रोह गरिनन् भन्ने गहिरो प्रश्न पाठकमा उठ्छ। यसलाई थप सशक्त रूपमा व्याख्या गर्ने प्रयास गरेको भए पाठकमा स्पष्टता आउँथ्यो।
- दर्शन र पारिवारिक मनोविज्ञानको सम्बोधन: उपन्यासमा दुई विद्वान्, एक नारी र एक पुरुषबीच दर्शन र व्यावहारिक दृष्टिकोणमा बेमेल देखिन्छ। पुरुष जरत्कारु (श्रीमान्) को नारी जरत्कारु (श्रीमती) प्रति ईर्ष्या वा अहङ्कारले पारिवारिक मनोविज्ञानमा दिनानुदिन सिर्जना गरेको मनमुटावको पक्षलाई अझ सशक्त बनाई उपन्यासमा प्रस्तुत गरिएको भए, श्रीमान्ले श्रीमतीलाई त्याग गर्नुपर्ने अवस्था अझ प्रभावशाली हुन्थ्यो।
- सङ्केत र नामको सान्दर्भिकता: बालकको जन्म बुबाको अस्तको समयमा भएकाले उनको नाम ‘आस्तिक’ राखिएको कुरा जोड्दा कथाको सान्दर्भिकता बढ्थ्यो। जरत्कारुको वास्तविक नाम मनसा हो। उनले कठोर तपस्या गरेर आफ्नो शरीर क्षीण बनाएकाले श्रीकृष्णबाट ‘जरत्कारु’ नाम दिइएको कुरा पनि उल्लेख भए पाठकलाई पात्रको पौराणिक पृष्ठभूमि बुझ्न सहज हुन्थ्यो।
- पात्रहरूको उपस्थिति र पाठकको समझ: पौराणिक कथामा आधारित भएकाले पात्रहरूको सङ्ख्या बढी छ। पात्रको अचानक उपस्थिति पाठकलाई अल्मलाउँछ। उदाहरणका लागि: “अनिष्ठा भने युद्धमा विश्वास गर्दिन थिइन्। उनी सामवेदकी ज्ञाता थिइन्।” (पृष्ठ ३८)। यहाँ अनिष्ठा अचानक प्रस्तुत भएकी छिन्, तर उनको परिचय छैन, जसले पाठकमा अलमल पैदा गर्दछ। यस समस्यालाई सम्बोधन गर्न उपन्यासको अन्त्यतिर पात्रहरूको संक्षिप्त परिचय दिइएको भए धेरै उपयोगी हुन्थ्यो।
अन्त्यमा,
उपन्यासको भाषा अत्यन्त सरल, सरस र प्रवाहपूर्ण छ। पाठकले सहजै पचाउन सक्ने शैलीमा प्रस्तुत कथाले पठन अनुभवलाई रमणीय बनाएको छ। पुस्तकका विभिन्न ठाउँमा समावेश जीवनोपयोगी र शाश्वत भनाइहरूले कथाको गहिराइ थपेका छन् र पाठकमा विचार र अनुभूतिको झिल्का जगाएका छन्। वैचारिक दृष्टिले यसले कृतिको गरिमा र साहित्यिक गुणस्तरलाई थप सुदृढ बनाउने अपेक्षा गर्न सकिन्छ।
पुराणबाट सङ्कलित सामग्री भए तापनि, कृतिकारको मौलिक मनोदृष्टि, नवीन दृष्टिविन्दु र सजीव प्रस्तुतीकरणले सो सामग्रीलाई समकालीन समाज, मानव व्यवहार र विश्वस्थितिसँग जोड्न सफल भएको छ। यसरी पुरानो कथावस्तुलाई नयाँ रूप र अर्थ दिनु मात्र होइन, यसले नेपाली आख्यान विधामा एक नवीनता र सिर्जनात्मक उपलब्धि पनि प्रस्तुत गरेको छ। पात्रहरूको चित्रण, दार्शनिक संवाद र भावनात्मक जटिलताले पाठकलाई कथाभित्र गहिरो अनुभव गर्न प्रेरित गर्दछ।
यस दृष्टिले, ‘जरत्कारु’ उपन्यासलाई नेपाली साहित्यमा पौराणिक आख्यानलाई समकालीन अनुभूति र मानवीय मूल्यसँग जोड्ने दृष्टिले एक महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ। यस उत्कृष्ट कृतिका लागि किरण आचार्यज्यूलाई धेरै–धेरै बधाई तथा आगामी सिर्जनात्मक यात्रा र साहित्यिक सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



