नेपाली साहित्यका एक क्रियाशील साधक राजबाबु श्रेष्ठ ‘सागर’ को जन्म मोहत्तरीमा भएको हो। उहाँका प्रकाशित कृतिहरूमध्ये बन्द फ्रेमभित्रको चिठी (उपन्यास, २०५७), हराएका छोराहरू (कविता सङ्ग्रह, २०७७), देशको चिना (मुक्तक सङ्ग्रह), र यादका वस्तीहरू (गीत सङ्ग्रह, २०७८) उल्लेखनीय छन्।हालसालै उहाँको नयाँ कथासङ्ग्रह “फिर्दोसको साँचो” सार्वजनिक भएको छ।
यसै प्रसङ्गमा, अनलाइन पत्रिका ‘हाम्रो कथाघर डट कम’ का अध्यक्ष जीवन सोनीले राजबाबु श्रेष्ठ ‘सागर’ सँग उहाँको नवीनतम कथाकृति र समसामयिक साहित्यका विविध पाटा समेटेर गरेको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
प्रश्न नं. १ – शीर्षक चयन ‘फिर्दोसको साँचो’ नै किन? यस बारेमा केही प्रस्ट पारिदिनुहुन्छ कि?
- मेरा कथाहरू लेख्ने शैली, थिम र विषयवस्तुहरू बर्तमानका आम कथाहरूभन्दा नितान्त फरक शैलीमा पस्किएकोले, र यी कथाहरूमा इस्लामिक मिथकीय र हदिस उत्खनन् भएका कारणले गर्दा पनि उपयुक्त शीर्षक ‘फिर्दोसको साँचो’ नै चयन गरिएको हो।
प्रश्न नं. २ – ‘फिर्दोसको साँचो’ शीर्षकका हिसाबले भन्नुपर्दा, यसमा प्रयोग गरिएको अरबी शब्द ‘फिर्दोस’ ले कृतिको विषयवस्तुसँग कसरी मेल खान्छ?
- मेरा केही कथाहरू इस्लामिक मिथकीय र हदिसअनुसार बगेका हुनाले पनि यो शीर्षक नितान्त र अतिशय मेल खान्छ भन्नेमा म ढुक्क छु।
प्रश्न नं. ३ – यो कथासङ्ग्रहमा १० वटा कथाहरू सङ्ग्रहित गर्नुभएको भन्नुभयो। के यी कथाहरूले फरक–फरक सन्देश दिन सक्षम भएका छन्?
- अवश्य छन्। मेरा यी दशवटा कथाहरू पूर्णरूपमा एकअर्काका परिपूरक हुन् र फरक–फरक सन्देश, भाव र तपाईं–हामीमा भएका अनुभूतिहरू पस्किन मद्दत गर्छन् भन्नेमा म ढुक्क छु।
प्रश्न नं. ४ – यस कृतिमा ‘नवीन लेखन शैली’ र ‘फरक कन्टेन्ट’ प्रयोग गरिएको भनिएको छ। के यसले नेपाली आख्यानमा नयाँ आयाम थप्ने काम गर्छ?
- फिर्दोसको साँचो भित्र सङ्ग्रहित सबै कथाहरू फरक शैली र फरक विषयवस्तु भएका कारणले नै अरू कथाहरूभन्दा नितान्त फरक छन्। त्यसैले, अब बजारमा मेरो यो फिर्दोसको साँचो ले नयाँ लेखन शैली र नयाँ विषयवस्तुमा कमल चलाउनुपर्ने रहेछ भन्ने पाठ अबका लेखकहरूले सिक्नेछन् भन्नेमा म ढुक्क छु।
प्रश्न नं. ५ – कथाहरूमा सस्पेन्स, थ्रिलर, हरर र यौनमनोविज्ञानका तत्त्वहरू पाइन्छन् भन्ने सुन्छु। यहाँले पाठकमा यसको कस्तो प्रभाव पर्ला भन्ने आशा गर्नुभएको छ?
- मेरा यी कथाहरूमा प्रयोग गरिएका सस्पेन्स, थ्रिलर र हरर प्रयोगात्मक नयाँ लेखन शैलीले पाठकहरूमा नयाँ पठन रुचिको विकास गर्दै कुतूहल जगाउने काम गर्छन् भन्ने मलाई आत्मविश्वास छ।
र अर्को कुरा, कथाहरूमा प्रयोग गरिएका यौनमनोविज्ञानले सम्पूर्ण धरती जगतका मेल र फिमेलभित्र पलाउने समान यौन चाहनालाई सकारात्मक र वास्तविक उजागर गर्ने असल कार्य गर्दछन् भन्नेमा पनि म ढुक्क छु।
प्रश्न नं. ७ – कविता, गीत, गजल, मुक्तक, कथा र उपन्यास सबै विधामा यहाँले कलम चलाउनुहुन्छ। यी विधाहरूबीचको अन्तर र सम्बन्धबारे यहाँको के अवधारणा छ?
- कविता, गीत, गजल र मुक्तक यी सबै विधाहरू कविताकै नातागोताहरू हुन् र आफैँमा एउटा पूर्ण काव्यिक वक्रोक्ति तथा लाक्षणिक अन्तरसम्बन्ध राख्ने सशक्त काव्य विधा हुन्।
तर कथा र उपन्यास भने गद्य शैलीमा बग्ने, चित्रात्मक र दृश्यात्मक हुँदै घटना, परिवेश, वस्तु–स्थिति, काल, इतिहास, राजनीति, समाज र देश आदिलाई अभिव्यक्त गर्दै लेखकले आफ्ना विचार र दर्शन रोप्ने एक सशक्त आख्यानिक विधा हुन्।
प्रश्न नं. ८ – तपाईंका कथामा यथार्थवाद, अतियथार्थवाद, र नयाँ प्रयोगवादी लेखन शैली सन्तुलित रूपमा देखा परेका छन् भन्ने बुझिन्छ। कथाभित्र प्रयोग गरिएका यी तत्त्वहरूले कथाको पठन प्रभावमा कस्तो भूमिका खेल्छन्?
- मलाई लाग्छ, यिनै तत्त्वहरू त मुख्य हुन् नि पाठकहरूका पठन संस्कृतिमा सशक्त अभिरुचिको ‘हजमोला’ जगाउने ‘निकोटिन क्याप्सुल’हरू। कथामा प्रयोग गरिएका यी तत्त्वहरूले पाठकहरूको पठन अभिरुचिमा अतिशय सकारात्मक भूमिका खेल्छन् भन्नेमा म ढुक्क छु।
प्रश्न नं. ९ – कथाहरूमा नवीनता ल्याउन विभिन्न प्रयोगहरू गर्नुभएको यहाँको दाबी छ। अहिलेसम्मको पाठकीय प्रतिक्रियाका आधारमा यी प्रयोगहरू सफल भए या नभएको तपाईं कसरी मूल्याङ्कन गर्दै हुनुहुन्छ?
- मलाई लाग्छ, यहाँ मसँग अपडेट हुनुहुन्न सायद। यदि अपडेट हुनुहुन्थ्यो भने, पक्कै पनि सामाजिक सञ्जाल, पत्रपत्रिका र विभिन्न अनलाइन मिडियाहरूमा मेरो फिर्दोसको साँचो को बारेमा आदरणीय समालोचक डा. दयाराम श्रेष्ठ, डा. घनश्याम न्यौपाने परिश्रमी लगायत अन्य समालोचकद्वारा लिखित समीक्षाहरू छापिँदै आएका सकारात्मक पाठकीय प्रतिक्रियाबाट अवगत भइसक्नुहुन्थ्यो।
मेरो लागि यिनै सकारात्मक पाठकीय प्रतिक्रिया र समालोचकीय समीक्षाहरू नै म सफल भएको मूल्याङ्कन हो भन्ने मैले बुझेको छु।
प्रश्न नं. १० – कथाहरूमा समावेश पात्रहरूको चरित्र–चित्रणमा तपाईंले के–कस्ता रणनीतिहरू अपनाउनुभएको छ?
- यो प्रश्नको उत्तर त मैले माथि नै दिइसकेको छु जस्तो लाग्छ मलाई। यो प्रश्नभन्दा माथिका प्रश्नहरूको उत्तरमा नै खोज्दा उत्तम होला भन्ने लाग्यो।
प्रश्न नं. ११ – नेपाली साहित्यिक आख्यान बजारमा पाठकहरूको रुचि घट्दै गएको भनाइ छ। यसको कारण र समाधान के–के हुन सक्छन्?
- हो, नेपाली साहित्य बजारमा पाठकहरूको रुचि वास्तवमा घट्दै गइरहेको छ। यसको मुख्य कारण भनेको गुणस्तरीय साहित्यिक विषयवस्तु र पाठकलाई तान्नसक्ने लेखनशैलीको विकास नभएको हो।
तर अझै पनि नेपाली आख्यान साहित्य बजार अन्य विधाहरूको तुलनामा अधिक सक्रिय र समृद्ध देखिन्छ। यसको समाधानका लागि लेखकले पाठकको मनोविज्ञान बुझेको, गुणस्तरीय र नवीन विषयवस्तुमा आधारित आख्यान सिर्जना गर्नुपर्ने आवश्यकता देखिन्छ।
प्रश्न नं. १२ – पाठकहरूलाई पुनः साहित्यतर्फ आकर्षित गर्न तपाईंले कस्ता प्रयासहरू गर्नुभएको छ? ती प्रयासहरूको प्रभाव कस्तो देख्नुभएको छ?
- मलाई लाग्छ, यो प्रश्नको उत्तर पनि मैले माथि नै दिइसकेको छु।
प्रश्न नं. १३ – तपाईंलाई मनपर्ने चारजना कथाकारहरू को–को हुन्? तिनीहरूको लेखनशैलीबाट तपाईंले के सिक्नुभयो?
- मलाई मनपर्ने चारजना आदरणीय कथाकारहरू गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, ध्रुवचन्द्र गौतम र भवानी भिक्षु हुन्।
यहाँहरूका कथाहरूमा पाइने उच्च लेखनशैली र उत्कृष्ट कन्टेन्ट चयन गर्ने विशेषताबाट मैले फ्रायडीय मनोविश्लेषण सिद्धान्तलाई आधार मानेर पात्रहरूको अवचेतन मनोवृत्तिको विश्लेषण, यौन मनोविज्ञान, वर्गीय द्वन्द्व, सामाजिक असमानता र आर्थिक अभावजस्ता विषयहरू उठान गर्न सिकेको हुँ।
प्रश्न नं. १४ – तपाईंको लेखनमा तपाईंको बाल्यकाल वा व्यक्तिगत अनुभवहरूको कस्तो प्रभाव परेको छ? ती अनुभवहरू कथाहरूमा कसरी प्रतिविम्बित छन्?
- मलाई लाग्छ, कुनै पनि लेखकका लागि लेख्ने कन्टेन्टहरू खोज्दै जाँदा सर्बप्रथम बाल्यकाल र आफ्नै व्यक्तिगत अनुभूतिहरू नै स्मृतिमा ठोकिन्छन्। हो, मलाई पनि त्यही भएकै हो। मैले आफ्ना ती अनुभूतिहरूलाई कथाहरूमा नयाँ कन्टेन्ट र प्रयोगात्मक लेखनशैलीमा ढालेर प्रतिविम्बित गरेको छु।
प्रश्न नं. १५ – अन्त्यमा, तपाईं आफ्ना स्वतन्त्र अभिव्यक्तिहरू राख्न चाहनुहुन्छ भने यहाँलाई स्वागत छ।
- हो, म जहिल्यै पनि स्वतन्त्र नै रहने कोसिस गरेको छु।
न म कसैको सिको गर्छु, न कसैको दबाबमा रहन्छु।
न मैले आजसम्म कसैको ज्यूहजुरी गरेको छु।
म जहिल्यै आफ्नै स्वाभिमानको खुट्टामा उभिने प्रयास गरेको छु र आजसम्म यसलाई कायम राख्न सफल भएको छु भन्ने लाग्छ मलाई।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।