सडकभरि चिच्याउने स्वर
अन्यायको भित्तामा ठोक्किरहेछ ।
बन्द भएको छ मेरो आँखा,
कदापि बन्द हुनेछैनन् जेन्जीका आँखाहरू ।
रोकिएको छ मेरो श्वास,
तथापि रोकिनेछैन जेन्जीका विद्रोही पाइलाहरू ।
अब सपनामा होइन,
सडकमा देखिनेछ भविष्य ।
पुस्तकका पानाहरूमा होइन,
गोलीले जमेको रगतमा लेखिनेछ इतिहास ।
विद्यालय/विश्वविद्यालयमा होइन,
सडकमै गरिनेछ सङ्घर्षको ग्राजुएट/पीएच.डी. ।
अब प्रश्नमाथि प्रश्न वर्षिनेछन्,
भय र डर गीत बन्नेछन् ।
अब मेरो पुस्ताले भन्नेछन्,
“अब हाम्रो पुस्ता मौन छैन,
देशलाई रगत दिन
हाम्रो पुस्ता कन्जुस्याइँ गर्दैन ।”
–०००–
खोटाङ


