भनिन्छ नि,
रात निजी हो, नितान्त आफ्नो हो ।
दिनभरि अप्राप्ति पीडाको विश्राम हो,
सपना अनि कल्पनाको एउटा सुन्दर संसार हो ।
यतिबेला रुन सकिन्छ, हाँस्न सकिन्छ,
मन लागेको पाराले निर्धक्क निदाउन सकिन्छ ।
तसर्थ,
टाढाटाढा क्षितिजमा आफ्नै तस्बिरहरू देखेँ,
तस्बिरले यसै रातको प्रतीक्षा गर्नु भन्यो!
अनि रातलाई पर्खेर बसेँ ।
तर अफसोच!
रात आफैँमा सुनसान रहेछ,
चुस्त अनि दुरुस्त रहेछ ।
न मेरो कुरा सुन्छ ।
लाग्छ यो रात आफैँमा रोइरहेको छ,
आँसुले परेलीहरू धोइरहेको छ ।
रात आफैँमा बेखुसी रहेछ,
व्यर्थै, म प्रश्न गर्यागर्यै छु ।
रात आफैँ दुखेको रहेछ,
अनेकौँ पीडाहरू लुकेको रहेछ ।
यो रातमा घात भयो,
हुनत त्यसै भनेका होइनन् बूढापाकाहरूले
‘दिन भनेको आफ्नो र
रात भनेको अरूको हो।’
रात दिग्भ्रमित झुक्याउने रहेछ ।
रातप्रति आशाको पङ्क्तिमा बसी
लामै प्रतीक्षा गरेर पाएको धोकाले
दिग्भ्रमित बनेर म पनि दुखित र व्यथित छु ।
रात नितान्त भ्रम,
म यसै रातको भ्रममा अलमलिएको छु,
यहाँ सपना अनेकार्थी छन् ।
आशा अनेकार्थी छन्,
हुनत यहाँ भ्रमको खेती
जहाँ पनि मौलाउँदो रहेछ ।
धर्म, साहित्य, संस्कृति, राजनीतिजस्तै
रात पनि अछुतो रहेन!
जसरी मठ–मन्दिरदेखि मसानघाटसम्म
भ्रम र धोकाको व्यापार हुन्छ,
त्यसै रात पनि भ्रम र
धोकाकै प्रत्यक्ष दृष्टान्त रहेछ ।
कस्तो दिग्भ्रमित रात,
कस्तो धोकेबाज रात !!


