भनिन्छ नि,
रात निजी हो, नितान्त आफ्नो हो ।
दिनभरि अप्राप्ति पीडाको विश्राम हो,
सपना अनि कल्पनाको एउटा सुन्दर संसार हो ।
यतिबेला रुन सकिन्छ, हाँस्न सकिन्छ,
मन लागेको पाराले निर्धक्क निदाउन सकिन्छ ।
तसर्थ,
टाढाटाढा क्षितिजमा आफ्नै तस्बिरहरू देखेँ,
तस्बिरले यसै रातको प्रतीक्षा गर्नु भन्यो!
अनि रातलाई पर्खेर बसेँ ।
तर अफसोच!
रात आफैँमा सुनसान रहेछ,
चुस्त अनि दुरुस्त रहेछ ।
न मेरो कुरा सुन्छ ।
लाग्छ यो रात आफैँमा रोइरहेको छ,
आँसुले परेलीहरू धोइरहेको छ ।
रात आफैँमा बेखुसी रहेछ,
व्यर्थै, म प्रश्न गर्यागर्यै छु ।
रात आफैँ दुखेको रहेछ,
अनेकौँ पीडाहरू लुकेको रहेछ ।
यो रातमा घात भयो,
हुनत त्यसै भनेका होइनन् बूढापाकाहरूले
‘दिन भनेको आफ्नो र
रात भनेको अरूको हो।’
रात दिग्भ्रमित झुक्याउने रहेछ ।
रातप्रति आशाको पङ्क्तिमा बसी
लामै प्रतीक्षा गरेर पाएको धोकाले
दिग्भ्रमित बनेर म पनि दुखित र व्यथित छु ।
रात नितान्त भ्रम,
म यसै रातको भ्रममा अलमलिएको छु,
यहाँ सपना अनेकार्थी छन् ।
आशा अनेकार्थी छन्,
हुनत यहाँ भ्रमको खेती
जहाँ पनि मौलाउँदो रहेछ ।
धर्म, साहित्य, संस्कृति, राजनीतिजस्तै
रात पनि अछुतो रहेन!
जसरी मठ–मन्दिरदेखि मसानघाटसम्म
भ्रम र धोकाको व्यापार हुन्छ,
त्यसै रात पनि भ्रम र
धोकाकै प्रत्यक्ष दृष्टान्त रहेछ ।
कस्तो दिग्भ्रमित रात,
कस्तो धोकेबाज रात !!
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।