उनको मौन चिच्याहटभित्र
अपमानका आवेगहरू छन्,
अज्ञानका हीनताबोधहरू छन्,
अटेरीपनका सम्झनाहरू छन् ।
झर्कोफर्कोका शृङ्खलाहरू छन्,
मन नबुझिदिएका व्यथाहरू छन्,
महिनावारीका पीडाहरू छन्,
प्रसवका वेदनाहरू छन् ।
ढङ्ग नपुगेका लाञ्छनाहरू छन्,
कसैलाई भलो गर्न नसकेका उदाहरणहरू छन्,
समय परिवेशसँगै आएका स्वास्थ्य समस्याहरू छन्,
माइग्रेनका वाकवाकी छन् ।
अल्सरका तुषहरू छन्,
बाथका दुखाइहरू छन्,
बाँच्ने रहरसँगै हाँसेका क्षणहरू छन्,
एक्लै रोएका पलहरू पनि छन् ।
विद्रोहका सङ्केतहरू छन्,
सामाजिक मूल्यका भयहरू छन्,
अबोधपनाको अँध्याराहरू छन्,
बाहिरका उज्यालाहरू छन् ।
एक्लिएको या एक्ल्याइएको अनुभवहरू छन्,
बाँचेर देखाएका कथाहरू छन्,
उनको मौनताभित्रको सबैभन्दा मीठो कुरा
सङ्घर्षबाट खारिँदै जीवन बुझेको प्रमाणहरू छन् ।


