विष्णु न्यौपाने
कोठा सानो तर छ मलिलो बन्द ब्यापार धान्ने
मान्छे छैनौँ चतुर चिलझैँ चक्षुले तीर हान्ने
क्रेता राम्रा पसलभरि छन् होम भन्छन् लु जाओस्
यौटा भिन्नै मधुर लयमा सिर्जना मग्मगाओस् ।
लाग्छन् मेला वरिपरि सधैँ रातको बाह्र बज्छ
सुत्ने कैले निद निधनले ज्यान लथ्रक्क खस्छ
आधा राती सुललित कला होम भन्छन् सुहाओस्
यौटा भिन्नै मधुर लयमा सिर्जना मग्मगाओस् ।
लेखौँ लाग्यो फरक मनको हुट्हुटीले उचाल्यो
के लेख्ने हो ? विलख म बनेँ ज्ञान फुत्केर भाग्यो
खै लेखेको किन यति ढिलो ? होम थप्छन् लु आओस्
यौटा भिन्नै मधुर लयमा सिर्जना मग्मगाओस् ।
हाम्रो धर्ती अटल शिर हो विश्वले गर्छ भक्ति
ज्ञानी ध्यानी रसिक जनको बढ्छ आराध्य शक्ति
आज्ञाकारी विनय मनमा देश सर्बत्र छाओस्
यौटा भिन्नै मधुर लयमा सिर्जना मग्मगाओस् ।
साँच्चै प्यारो हृदयभरिको देशको प्रेम बोकी
लेखौँ लाग्यो गहन कविता भाव वैशिष्ट्य बोधि
सोच्तासोच्तै समय सकियो होम भन्छन् नआओस्
भो भो भैगो अब चुप रहेँ अर्थमै चित्त जाओस् ।
दमक, झापा


