विष्णु न्यौपाने
कोठा सानो तर छ मलिलो बन्द ब्यापार धान्ने
मान्छे छैनौँ चतुर चिलझैँ चक्षुले तीर हान्ने
क्रेता राम्रा पसलभरि छन् होम भन्छन् लु जाओस्
यौटा भिन्नै मधुर लयमा सिर्जना मग्मगाओस् ।
लाग्छन् मेला वरिपरि सधैँ रातको बाह्र बज्छ
सुत्ने कैले निद निधनले ज्यान लथ्रक्क खस्छ
आधा राती सुललित कला होम भन्छन् सुहाओस्
यौटा भिन्नै मधुर लयमा सिर्जना मग्मगाओस् ।
लेखौँ लाग्यो फरक मनको हुट्हुटीले उचाल्यो
के लेख्ने हो ? विलख म बनेँ ज्ञान फुत्केर भाग्यो
खै लेखेको किन यति ढिलो ? होम थप्छन् लु आओस्
यौटा भिन्नै मधुर लयमा सिर्जना मग्मगाओस् ।
हाम्रो धर्ती अटल शिर हो विश्वले गर्छ भक्ति
ज्ञानी ध्यानी रसिक जनको बढ्छ आराध्य शक्ति
आज्ञाकारी विनय मनमा देश सर्बत्र छाओस्
यौटा भिन्नै मधुर लयमा सिर्जना मग्मगाओस् ।
साँच्चै प्यारो हृदयभरिको देशको प्रेम बोकी
लेखौँ लाग्यो गहन कविता भाव वैशिष्ट्य बोधि
सोच्तासोच्तै समय सकियो होम भन्छन् नआओस्
भो भो भैगो अब चुप रहेँ अर्थमै चित्त जाओस् ।
दमक, झापा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।