अँध्यारोभित्र मौन संवाद
शक्तिको स्रोत खुल्दै छ अँध्यारोको तरङ्गमा । भालुवाङपछि फेरि हुँइकिन थालेको छ बस अँध्यारोको साम्राज्यमा ।
अँध्यारोभित्र गति पहिल्याएर गन्तव्य खोज्नु एक किसिमको रोमाञ्चक काम पनि हो । अँध्यारोलाई भयको रूपमा लियौँ हामीले आजसम्म । अँध्यारोलाई विश्राम र निष्क्रिय समयको रूपमा लियौँ हामीले आजसम्म । अँध्यारोको शक्तिमा सिर्जना उमार्न नखोजेर पनि मान्छेको समय खेर गएको छ धेरै–धेरै । मान्छेको छोटो जिन्दगीमा आधा उमेर त अँध्यारो रात भनेर बित्थामा बिताउने चलन छ ।
अँध्यारो छ र अस्तित्व छ उज्यालोको । शान्त हुन्छ अँध्यारो, शालीन र सभ्य हुन्छ अँध्यारो, अभद्र र उद्दण्ड मन पराउँदैन अँध्यारोले । चोरी, डकैती, हत्या र हिंसा मन पराउँदैन अँध्यारोले । मान्छेहरू घनघोर अँध्यारोभित्र थोरै प्रकाश छरेर सिद्ध्याउँछन् अनेकौँ कपटपूर्ण धन्दा । त्यो अँध्यारोको दोष होइन, अँध्यारोको बहानामा उज्यालो थोपरेर गर्ने कर्तुत मात्र हो ।
अँध्यारा रातहरूलाई उज्यालोले छाएर जीवनलाई माथि पुऱ्याउनेहरू अग्रपङ्क्तिमा छन् जताततै ।
अँध्यारोभित्रको वेगले मनलाई मनोरम बनाइरहेछ हाम्रो । बसको झ्याल–झ्यालबाट फाल हालेको उज्यालोले आक्रमण गर्न खोज्दछ अँध्यारोलाई । अँध्यारोको विशाल सुरुङमा क्षण–क्षणमै हराउँछ उज्यालोको अस्तित्व । बस भने उज्यालो संसारभित्र उज्यालो सुरुङ खन्दै दौडिरहेछ, दौडिरहेछ ।
हामी अँध्यारोभित्र नै मौन संवाद गरिरहेछौँ, गहन चिन्तन भइरहेछ मौन रूपमै । प्रेमको पराकाष्ठा अँध्यारोमा पुग्दछ । सन्तुष्टिको संवृद्धि अँध्यारो बनेर उचालिन्छ । शक्ति र सामर्थ्यको विशाल घनत्व निक्खर अँध्यारो बनेर उदाउँछ ।
अन्तरिक्षमा रहेको ‘ब्ल्याक होल’ ले कैयौँ तारापुञ्ज निलिदिन्छ । म जन्मेको दुई वर्षपछि, अर्थात् सन् १९६४ मा, पत्रकार ‘अन इविङ’ ले ‘ब्ल्याक होल’ रहेको तथ्य उजागर गरेपछि र ‘स्टेफेन हकिन्स’ ले निश्चित समय सीमाभित्र अन्तरिक्ष सञ्चालन भइरहेको र त्यसलाई कुनै ईश्वर वा राक्षसले चमत्कारपूर्ण ढङ्गबाट हस्तक्षेप गर्न नसक्ने बताएपछि अँध्यारोभित्रबाटै खुल्दै छन् चेतनाका अनेकौँ रहस्य ।
अँध्यारोमा ठिङ्ग उभिएका रूखहरू, अँध्यारोमा अँध्यारोजसरी नै गजधम्म बसिरहेका पहाडहरू, अँध्यारोमा सलबलाउने प्राणीजगत्—सबै–सबै अँध्यारोभित्रका आविष्कारक बनिरहेको बताउँछु म सहयात्रीलाई । अँध्यारो छिचोल्न बेग्लै वेग बोकेर बत्तिएको बसले रोमाञ्चित बनाइरहेछ हामीलाई । कैयौँ यात्रीहरू अँध्यारोलाई मनमस्तिष्कमा घोलेर निदाइरहेछन् लुटुक्क ।
शून्यवादीहरू ‘शून्यबाट सुरु हुन्छ सिर्जना’ भन्छन् । म अँध्यारो शून्यता होइन, सिर्जनाको जग हो भन्छु, जसरी एउटा बिरुवाका जराहरू माटोमुनि छोपिएर बढिरहन्छन् निरन्तर, निर्वाध रूपमा र फलाइरहन्छन् फूल र फलहरू हाँगाहाँगामा ।
जीवन अँध्यारोले भरिएको छ, हामीले नै सक्ने हो जीवनलाई उज्यालो पार्न । अँध्यारोले अँध्यारोलाई हाँक्न सक्तैन, उज्यालोले नै हो अँध्यारोलाई हाँक्न सक्ने । हामी जीवनमा आफ्नो उपस्थिति देखाउन केही न केही गर्छौँ, गरिरहन्छौँ, त्यो नै उज्यालो हो । अँध्यारो मृत्यु पनि हो, उज्यालो जीवन । अँध्यारोलाई कुनै न कुनै किसिमले उज्यालोमा घोलेर जगाइरहनुपर्छ । अँध्यारोमा अलिकति भए पनि उज्यालोको बीउ जोगाइराख्नुपर्छ । अँध्यारोले जित्यो भने निख्रन बेर लगाउँदैन जीवन पनि । हामीले उज्यालो–अँध्यारोका केस्राहरू केलायौँ ।
‘हजुरको अबको जीवन अझ ज्योतिमय बनेर जगमगाओस् । आँखाहरूले सधैँ सुन्दर कुरा देख्न पाऊन्, कानहरूले सधैँ मीठा र अर्थपूर्ण कुराहरू सुन्न पाऊन् । हजुरको आवाज, अभिव्यक्ति र सिर्जनाले अझ उठाओस् मान्छेको उचाइ । हामीले देखिरहन पाऊँ सधैँभरि हजुरले बोकेको सुन्दर संसार । अबका हरेक जन्मदिनहरू अझ बनून् उमङ्ग र अर्थपूर्ण । आँसुले होइन, हाँसोले हजुरको जीवन गणना होस् । जीवनमा भोगेका दुःख त हजुरले खुसीले सामना गरिसक्नुभयो, अबका हजुरका दिनहरू अर्थपूर्ण र उपलब्धिमूलक हुनेछन् ।’
रातको बाह्र बजे नै जन्मदिनको शुभकामना आयो मित्रबाट । बिहानसम्म मोबाइलको मेसेज बक्समा पनि लाम लागिसकेका रहेछन् शुभकामनाका । जेठ १८ मेरो जन्मदिन । एक वर्ष अरू पाको भइयो । ओहो, गर्नुपर्ने त धेरै छन् कामहरू । जन्मोत्सवको खुसीयालीमा जिम्मेवारीबोधको भारी गह्रुङ्गो बन्यो फेरि एकपटक ।
अँध्यारो चिन्तनमा चलायमान बन्दाबन्दै लम्कीबजार लुक्यो, कोहलपुर रातमा त झन् कुमारी देखियो । रातमा होस् या दिनमा, कोहलपुर मलाई आशा र उमङ्गको केन्द्र जस्तो लाग्यो । एकातिर सुर्खेत उक्लने सडक, अर्कोतिर नेपालगन्ज पुग्ने सडक, बीचमा लमतन्न सुतेको पूर्व–पश्चिम हातेमालो गर्ने फराकिलो लोकमार्ग । सडकले नै सम्भावना देखाउँदै निम्त्याएका मानव बस्तीहरू । सधैँ गरम हावापानी, तर सधैँ शीतल पार्न खोज्ने हरियो र शीतल जङ्गल ।
कोहलपुरलाई बिहान बोकेर ब्यूँझेकी तरुनीवयकी युवती देख्छु म सधैँभरि । सुदूर पश्चिम र मध्यपश्चिमका धेरै मान्छेहरूले बस्ती छोडेर बसाएका छन् नयाँ बस्ती कोहलपुरमा । नयाँ बस्तीसँगै फैलन खोज्दै छन् मान्छेका नवीन आशा र नवीन मार्गका ढोकाहरू ।
रातमै पनि पोलेका मकै, उसिनेको अण्डा, चना–चटपटे, मिनरल वाटर, काँक्रो, भुजिया–दालमोठ र भुइँकटहर बेच्नेहरूले बस रोकिन नपाउँदै घेरा हालिहाल्छन् रानोलाई मौरीहरूले घेरेझैँ गरेर ।
कोहलपुर छोडेपछि निद्राले झुपुक्क पारेछ । निद्राको अगाडि तन्द्राको के काम भनेझैँ प्रायः बेहोस नै बनिएछ । एउटा सुन्दर यात्रासँगै तय गर्नु थियो । पहाडका उकाली–ओराली नाघ्नु थियो र सँगै चिन्नु थियो जिन्दगीलाई ।
बसको सिसा बेलाबेलामा आफैँ खुल्थ्यो, हान्थ्यो हावाको झोक्काले र बिथोल्न खोज्थ्यो निद्रालाई । हामीले टावेलले मुख ढाक्यौँ र निदायौँ मस्तसँग । मस्त निदाउनु भनेको मस्त खुसी हुनुको परिणति पनि हो । हामीहरूले निदाउँदै, खुसी साट्दै, बसको पेटमा गुडुल्किएर लिइरह्यौँ झोलुङ्गोको आनन्द ।
मिर्मिरे बिहानसँगै यात्रुहरू ब्यूँझन र हल्लाखल्ला गर्न थाले । सडककिनारका बत्तीहरूमा झुम्मिरहेका पुतलीहरू टाढिन थाले बत्तीहरूबाट । रूख–रूखबाट चराहरू चिरबिराउँदै थिए र ब्यूँझाउँदै थिए बिहानलाई ।
उज्यालो हुँदा तराईका बस्तीहरू शान्त देखिए । बिहानै भएकाले धेरै चहलपहल थिएन । कुनै–कुनै घरबाट धूवाँको मुस्लो आइरहेको देखिन्थ्यो । पँधेराहरूमा भने ओहोरदोहोर चल्दै थियो मान्छेहरूको ।
कर्णाली नदीमाथि बनाइएको पाँच सय मिटर लामो कर्णाली पुल तर्दा नजिकैको बजारमा माझीहरूसँग माछा किन्ने काम हुँदै थियो थोक रूपमा । माझीहरूले यति सस्तोमा माछा कसरी बेच्नु भन्दै थिए । रातदिनको परवाह नगरी नदीमा हेलिएर, ज्यूज्यानको परवाह नगरेर माछा मार्छन् माझीहरू । तर होटेलवालाहरू मछुवाहरूको मेहनतको परवाह गर्दैनन् ।
किन्नेले मूल्य तोक्छन् हामीकहाँ । न उत्पादकले मूल्य तोक्न पाउँछन्, न खुद्रा खरिदकर्ताले मूल्य तोक्न पाउँछन् । उत्पादक पनि ठगिने, उपभोक्ता पनि ठगिने, बिचौलिया मात्र मोटाउने परिस्थिति रहेसम्म कहाँ स्थापना हुन सक्तछ र यहाँ आर्थिक समानता । सुकिलोमुकिलो बसेर र दुई–चारवटा छलछामका भाषा बोल्न जानेर पसिना र बुद्धिमा अघि बढिरहनेलाई डस्नेहरूको शिर उँचो भएसम्म सुकिलो कहाँ बन्न सक्तछ र समाज ।
बसभित्रै मदनराज भट्टसँग छलफल भए धेरै–धेरै । कर्णालीको चिसो पानीका माछा स्वस्थ र तागतिला भन्ने राम्रै प्रचार छ टाढा–टाढासम्म ।
‘ओर्लेर माछा खान पाए पो बस रोकिन मान्दैन, हुन त केसँग खानु राति नै माछा’— ऱ्याल काड्नुभयो भट्टजीले ।
एक हूल भेडाको बथानले सडक ढाके । बस रोकियो । अलि पर–पर सुकुम्बासीका ससाना बुकुराहरू देखिन्छन् । बुकुराभन्दा ठूलाठूला धूवाँका पहाडहरू हल्लिरहेछन् घर–घरबाट । केही बूढापाकाहरू आँगनका बेन्चमा बसेर तमाखु तान्दै छन् । त्यति धेरै धूवाँमा रङ्मङ्गिँदा कत्ति धेरै खराब असर गर्दो हो मान्छेलाई । दाउरा बढी नै बाल्ने चलन रहेछ जस्तो लाग्यो त्यतातिर । घरहरू नाम मात्रका छन्, मान्छेका आङमा रहेका कपडाहरू पनि जीर्ण–जीर्ण देखिन्छन् । गरिबीले नै त हो मान्छेलाई संवृद्धितर्फ बढ्न नदिने ।
कैलालीकै मुडामा पुग्दा उज्यालो राम्रैसँग भइसकेको थियो । देखिएका बस्तीहरू र छरिएका खेतका गराहरू सबैतिर एक किसिमको चमक फैलिँदै थियो । मभन्दा पल्लो सिटमा बस्ने डडेलधुराका भाइले भन्नुभयो— ‘यो बादीहरूको बस्ती हो । बादीहरू देहव्यापारबाट जीवन गुजारा गर्थे । कुनै जमानामा यहाँ बिहानदेखि रातसम्म नै टाढा–टाढादेखिका मान्छेहरूको भीड लाग्थ्यो । यी बस्तीहरूमा देहव्यापार गर्न प्रतिबन्ध लगाएपछि सुनसान बनेका छन् अचेल । अब एउटा बस्तीमा मात्र होइन, सहरका होटेल–होटेलमा फैलियो यो व्यापार ।’
‘आफ्नै शरीर बेचेर बाँच्नुपर्ने नियति मानवसभ्यताकै घोर कलङ्क हो’— मैले भनेँ । ‘पौराणिक युगमा होस् या प्राचीन कालमा अथवा आधुनिक युगमा, कहाँ रोकिएको छ र देहव्यापार ? यो समाजका शक्तिशालीले धनको आडमा अर्काको शरीरमा खेलवाड, मोजमस्ती गर्न चलाएको चलन हो ।’ भाइले भन्नुभयो ।
पैसाका लागि आफ्ना अङ्ग–अङ्ग अरूलाई ठूङ्गाइरहनुको पीडा कति दर्दनाक होला । कहालिएँ म ।
गाउँको एउटा कुनामा झगडा गर्दै थिए केही मान्छे । झगडा हेर्ने पनि बाक्लै थिए । रक्सीको नशामा मस्त केही अधवैँसे महिला–पुरुष सडकमै झुल्दै हिँडिरहेथे । उनीहरूको हातमा सुल्फा थियो ।
‘बिहान नहुँदै झगडा र झिल्के झोल ?’ मैले भाइलाई भनेँ ।
‘यहाँका मान्छेमा केही नयाँ सिक्ने न ज्ञान छ, न ध्यान नै । जीवन किन र केका लागि भन्ने कसैलाई मतलब छैन । आफ्नै पत्नी र छोरीलाई ग्राहक खोजेर त्यही पैसाले आफू रक्सीमा रमाउने चलन चल्यो यहाँ कैयौँ समय । अचेल सरकारले देहव्यापार त बन्द गरिदियो, तर न कुनै रोजगारी दियो, न चेतनामूलक कार्यक्रम । केही सरकारी र गैरसरकारी निकायहरूले बादीको जीवन सुधारका कार्यक्रम भनेर प्रचारप्रसार गर्दछन् । उनीहरू पनि नेपालगन्ज वा धनगढीमा बसेर काम सकिएका नक्कली बिल–भर्पाई बनाउँछन् र फर्कन्छन् ।’ भाइलाई उनीहरूको बारेमा धेरै थाहा रहेछ ।
दायाँतिर घोडाघोडी ताल छोड्यौँ, अघिल्तिर पहलमानपुर बजार छोड्यौँ । बिहान नहुँदै टाउकामा दाउरा बोकेका मान्छेहरूको चहलपहल देखिन्छ । चौमाला, बनबेहडातिर त गोठबाट निकालिएका गाईभैँसीहरू सडकका किनार, खेत र चौरहरूमा चर्न थालिसकेका छन् ।
कति आनन्द छ नेपालका सडकहरूमा । गाईभैँसी असरल्ल छोडे पनि ठीक, मान्छेले मनपरी जतासुकैबाट ओहोरदोहोर गरे पनि ठीक, बिस्कुन सुकाउन पनि छुट, नारा–जुलुस र चक्काजाम गर्न पनि छुट, बन्द–व्यापार गर्न पनि छुट । सडक त सबैलाई मनलागी गर्ने थलो पो भइरहेछ । सार्वजनिक भेटेपछि केही न केही व्यक्तिगत फाइदा लिनैपर्ने मान्यता छ हाम्रो । त्यसबाट अरूलाई ठूलै घाटा परे पनि कसैलाई मतलब हुँदैन ।
गोरुले तानेका लडियाहरू र ट्र्याक्टरहरूमाथि लम्पसार परेर मस्त मुस्काउँदै पनि हिँडिरहेका देखियो मान्छेहरूलाई ।
सालघारीको छिद्र–छिद्रबाट घाम छिर्दा मन नै उज्यालो बन्न थाल्यो ।
एउटा ट्रक एक घण्टाअघि मात्र सडकबाट खसेछ र उत्तानो परेछ खेतमाथि । त्यस्तै त हो मान्छेको जिन्दगी पनि । हिँड्दाहिँड्दै कुन बेला ठाडा खुट्टा लगाइने हो, के पो पत्तो छ र ?
सडकछेउको घरको फलैँचामा सात बूढाहरू फिट्न थालिसकेछन् बाउन्न पत्ती । अलि पर आँपको फेदमा रहेको चियापसलमा चिया पिउने र मुरही टोक्नेहरूको ठूलै जमात छ । हरेक बिहान केही न केही राम्रो कामबाट सुरुवात गरौँ भन्ने किन सोच्दैनौँ हामी नेपालीहरू । जुवातास, खाइपिई, आलस्य र घरझगडाले मात्र कसरी उठाउला र मान्छेको उचाइ ।
बसको झ्यालबाट पसेको हावाको झोक्काले काउकुती लगाइरहेछ हामीलाई । सहयात्रीहरू देखेर भित्रभित्रै उमङ्गित बन्छु म । यात्रामा छौँ । सबै सुखी र सबै खुसीजस्ता देखिएका छौँ बसमा । बाहिरबाट हेर्दा सबैको जिन्दगी खुसी नै देखिन्छ ।
समथर छ, उर्वर छ—सुन्दर छ त्यतातिरको सतह । त्यही माटोलाई खनजोत गरेर बीउ उमार्ने हो भने कति सम्पन्न बन्न सक्छौँ हामीहरू । भर्खरै वर्षात्ले भिजेका बाँझो खेतहरूले खोज्दै छन् खोस्राइ र खोज्दै छन् नयाँ–नयाँ बीउहरू ।
घाम पनि तातो र तेजिलो बनेर ओर्लिएथ्यो अत्तरिया चोकमा । हावाका झोक्काहरूले सुन्दर स्पन्दन सिर्जना गरिहेथे आँप, लिची, केरा र सिसौँका पातहरूमा । रक्तरञ्जित समय एउटा इतिहास बनिसकेको थियो त्यतातिर । सपना खोज्न बस्ती छोड्नेहरू भने सगबगाउन थालिसकेका थिए चोकमा, बजारमा, बिसौनीमा, छिमेकी देशका गोरेटा र गौँडाहरूमा ।
बसबाट केही मान्छे ओर्लिए, केही थपिए पहाडतिर जान । हामीहरूले बसबाट ओर्लिएर भेटेसम्मका मान्छेका अनुहार पढ्यौँ । मान्छे आफैँ किनारहीन नदी बनेर बगिरहेछन् र खोजीमा छन् रङ्गीन चक्रवातको । अञ्जुलीमा उचालिरहेको पानीजस्तो एउटा आदिम अनिश्चिततामा उकुसमुकुस बनिरहेछ बिहान । जीवनमा मूर्च्छना र मूर्च्छनामा जीवन देखिन्छ मान्छेको अनुहारमा ।
सुदूर पश्चिम नेपालको एउटा गतिलो मेरुदण्ड बनेर उभिएको छ अत्तरिया चोक । पूर्वतिर कोहलपुर एक सय पचपन्न किलोमिटर टाढा छ उसको । पश्चिममा छिमेकी देशको साँध–सिमानासम्म नै पुगेको छ । उत्तरतिर उक्लन्छ डडेलधुरा र डोटीतिर । दक्षिणमा पुग्छ धनगढी र फैलन्छ गाउँगाउँका ससाना गोरेटाहरूसम्म ।
चौरास्ता बन्नु, दोबाटो फेरिनु, ढोका खुल्नु वा पुल बन्नु भनेको निमिट्यान्न बन्नु हो निषेधको चट्टान । बाटाहरूले सुन्दर पुतलीहरूलाई सक्रिय बनाउँछन् भन्नेमा विश्वास गर्छु म ।
म मेरी अत्तरियाका आँखा छाम्छु र कोट्याउँछु मुटुलाई । उनी आफ्ना ढकमक्क फक्रेका सपनाहरू मेरो अञ्जुलीमा हालिदिन्छिन् । पातझैँ पहेँलिएर खसिसकेको समयलाई वास्ता गर्दिनन् । उन्मादका हुरीहरूलाई पनि खेर जान दिन्नन् । रङ्गका अजस्र मुजुराहरू समेटेर बुनेको मायाको पछ्यौरी निरन्तर ओडाइरहन्छिन् मलाई ।
म उनको धूरीखामो र दह्रो निदाल बनेर उचाल्दै हिँडिरहेछु लेकतिर र हिमालतिर । अघिल्तिरको चमेलीको बोटमा चुच्चो जुधाउँदै गीत गाइरहेछन् दुई खिरिला जुरेलीहरू । हृदयको ब्ल्याक होल खोलेर निलुँला–निलुँला जस्तो गर्दछिन् मेरी अत्तरिया । म उनका आँखामा छचल्किरहेको प्रेमको सागरमा डुबिरहन्छु, अनन्त डुबिरहन्छु ।
‘लौ है, पहाड जानेहरू बसभित्र पस्नुस् ।’ ढ्याङढ्याङ ठोक्न थाले सहचालकले बसको ढोका । चालकले बस स्टार्ट गरे । बसमा अघिभन्दा अझ बढी घचमच भयो ।
अत्तरियाबाट डडेलधुरा, डोटी र बैतडीतिर उकालो जानेलाई पहाड जाने भनिँदो रहेछ त्यहाँ । अघिल्लो दिन दिउँसो एघार बजेदेखि निरन्तर हाँकिरहेका चालक करण सिंहले एकोहोरो बस हाँकेकोहाँकै छन् । हामी यात्रुहरू कति पटक निदायौँ, कति पटक सुस्तायौँ, तर सत्ताइस–अट्ठाइसबर्से ती चालकमा के शक्ति छ होला र त्यस्तो, निरन्तर पच्चीस–छब्बीस घण्टासम्म गाडी हाँकिरहन सक्तछन् बस ? आखिर मान्छेको ज्यान न हो । दुई–चार सेकेन्ड भुस्स निदाए भने बस भीरैभीर गुल्टिठ्याक । हामी यात्रुहरू क्षणको क्षणमै सुकाएको सिद्रा बन्न के बेर ? एकपटक जीउ सिरिङ्ग पनि भयो । मनको आकाशमा फेरि एकपटक औँसीको रात पस्यो ।
सोधेँ पनि—‘ए भाइ, यसरी लगातार गाडी हाँकिरहनु खतरा हुँदैन ? सरकारले त यत्ति लामो रुटमा दुई चालक राख्नुपर्छ भनेको छ । भाइ त एक्लैले रातोदिन हुइँक्याएको हुइँक्याइ । भाइलाई थकाइ र निद्रा लाग्दैन भन्या ?’
‘मान्छे हुँ नि दाइ म पनि; थकाइ, भोक र निद्रा त मलाई पनि लाग्छ । रातमा सबै यात्रु निदाउँदा आफू पनि झकाउँछु कि भन्ने लाग्छ । तर के गर्नु ? पच्चीस–छब्बीस दिनमा बल्ल एकपटक काठमाडौँ–डडेलधुराको पालो आउँछ । महिनामा एकपटक गाडी हाँक्न पाउनु छ, अर्को ड्राइभर राखे उसलाई पनि ज्याला दिनै पऱ्यो । आफैँले हाँक्यो, आफैँले राख्यो पैसा— बस ठाउँमा पुऱ्याएपछि बरु सुत्यो दुई दिन ।’
भाइको जवाफमा धेरै अर्थ लुकेका छन् । अब भने बस ओल्टदा, कोल्टदा मुटुको ढुकढुकी झन् बढ्न थाल्यो हाम्रो ।
चालकले कान नै पड्कने गरी देउडा बजाए । म भने जङ्गलको शीतल हावाको सुमसुम्याइको आनन्द लिन थालेँ ।
अत्तरिया चोकबाट एक किलोमिटर अघि बढ्यो बस । त्यसपछि मोडियो उत्तरतिर ।
तराईको समथल मैदान छोडेर जङ्गलभित्रको उकालो चढ्दै छ बस । जङ्गलका कुनाकुनाबाट आवाज सुनिन्छ चराहरूको । हरिया पातहरू टल्काउँदै भुइँतिर झर्दै छन् घामका किरणहरू । अलि पर बगिरहेको नदीको कुलुकुलु आवाज सुनिन्छ ।
चराका सुरिला आवाज, नदीको गति र सङ्गीतपूर्ण मूर्च्छना मिसिएको आवाज, गाईबस्तुका जङ्गल ब्यूँझाउने आवाज र हरियो कुहिरोले ढाकेजस्तो जङ्गलभित्र हिँडिरहँदा बिर्सिँदै छ जीवनपीडा ।
जीवनपीडा भुलेको बिहान साँच्चै फक्रेको र सुगन्धी बनेर उभिएको छ । हामी सबै वर्तमानमा जोधाहा र बलिष्ठ यात्री हौँ जस्तो लाग्छ मलाई । एउटा सानो घटनाले निमेषमै गतिको अन्त्य हुने बाध्यतामा बाँचेको जीवनलाई टाढा–टाढासम्म हिँडाइरहन सक्नु आफैँमा असङ्ख्य फल र फूलहरू पोल्टाभरि सँगाल्न सक्नु हो रहेछ ।
जति उकालो चढ्न सक्यो त्यति आनन्द आउँछ उचाइको, बल र बुद्धि लगाएर चढ्न र फुटाउन सकेपछि मात्र बटुल्न सकिन्छ शुद्ध शिलाजित— हिउँका कठोर काँडाहरू माड्दै चट्टानहरू नाघेपछि मात्र देख्न र भोग्न सकिन्छ संसारको अनुपम सौन्दर्य ।
पर–पर डाँडाहरूलाई छेक्दै–खुलाउँदै गरेको कुहिरो र हामीसँग उकालो चढिरहेको घामको जुहारीमा मन आरुका फूलहरूझैँ रङ्गीन र हलुका बनिरहेछ । ठीक त्यही बेला सहयात्रीले फिजाउनुभयो उहाँको हत्केला मेरा आँखाको डिलमन्दिर । म उहाँका हस्तरेखामा फैलिएको जीवनको अमूर्तता र अमूर्त रूपमा चम्केका रोशनीदार आँखामा जीवनका असङ्ख्य गोरेटाहरूको मूर्तता खोतलिरहन्छु ।
अत्तरियापछि गोदावरी भेटेपछि भने तराईले पूर्ण रूपमा बिदाईका हातहरू हल्लाएको छ । उकालो चढ्दै गर्दा तराईको विशाल कलेवर नियाल्न अरू सजिलो भएको छ हामीलाई । समथर संसारको एउटा विशाल चित्र प्रस्ट देखिन्छ डाँडाबाट ।
‘कसैलाई पिसाब लागेको छ भने पस्नुस् है झाडीतिर ।’ कन्डक्टर कुर्लने र बस रोकिने एकैपटक भएको छ ।
बसलाई सडकमा एक्लै छोडेर यात्रुजति छरियौँ तलतिर र माथितिर । लङ्गुरे बाँदरका एक हूलले जिस्क्याइरहे हामीलाई रूखका हाँगाहाँगाबाट । एक्कासि झर्न थाल्छ ठूला थोप्ले वर्षा, रूखका पात र हाँगाहरूमा नवीन धुन बजाउँदै । रजस्वला भएकी धर्ती एकपटक सुगन्ध छर्दै छिन् मान्छेको मनमनमा मात चढाएर । आँखाहरू फैलेका छन् प्रकृतिका असीम रहस्यहरूमा । एक्कासि मेघ गर्जनले ओत–ओततिर दौडिँदै छन् मान्छेका पाइलाहरू ।
धर्ती गर्भिणी बन्ने तयारीमा छे । गर्भाधान हुनुअघि घट्छन् अनगिन्ती घटना र दुर्घटना । गर्भाधानको उत्सवमा मङ्गलगान गाउँछन् हिँडिरहेका यात्रुहरू ।
पहाड नै पहाडको समुद्र, पहाडहरूको जङ्गल, पहाडका बादलु स्वरूप र पहाडहरूको जुलुस—अब भेटिन थालेको छ ।
पहाड ब्यूँझेको बेला ब्युँझिए संसारका सबै कुराहरू । पहाड एक्लै कहिल्यै बस्दैन । पहाड नै पहाडका बीचमा घाम र हामीहरू सँगै मुस्कुरायौँ । पहाडहरू प्रेमका कोसेली बोकेर ब्यूँझिए हाम्रो अघिल्तिर ।
पहाडहरू हाम्रो यात्राका साहस जाँच्न उभिएका छन्, हामी पहाडलाई काउकुती लगाउन तयार छौँ ।


