श्याम गैरे
बच्चाबेला तिमी खुबै दौडिन्थ्यौ,
म भने अहिले बल्ल उठ्न सिक्दैछु,
लडेपछि।
मलाई हेर्ने जिम्मा तिम्रो हुन्थ्यो,
र म बारम्बार लड्थेँ।
ती लडाइहरू आज
कति रमाइला याद बनेका छन्!
आज परदेशमा छौ, प्यारी।
भन्छ्यौ, “दिन बित्छ
कुहिएको टमाटर र काँक्रो छुट्याउँदा।”
सुन्दा लाग्छ,
यो देशले सपना होइन, सन्तान बेच्दो रहेछ।
तर त्यहीँ तिमीले सिकेकी छौ,
अन्जान मान्छेसँग मुस्कुराउन,
कुहिएको काँक्रो र टमाटरजस्तै
असल र खराब मान्छे चिन्न।
अनि परैबाट पनि
स्नेहको डोरीले आफन्तलाई बाँध्न।
मलाई थाहा छ,
तिमीलाई पनि अत्यास लाग्दो हो:
घरको आँगन र बुवाआमाको काखको,
बालसखासँग खेलेका खेलहरूको,
क्याम्पसको चौर र चियागफको,
चटपटे, पानीपुरी र म:म:को स्वादको,
जन्मदिनमा खिचेका ती रमाइला तस्बिरहरूको,
आफ्नो जन्मघर र कर्मघरको।
तर सपनाको छानोमुनि बसेकी तिमी,
कहिल्यै हतास नहुनु।
बरु, देखेका र भोगेका हर कुरालाई
जतनले टिपेर राख्नु,
आफ्ना अक्षर र स्मृतिका पानाहरूमा।
एकदिन, जब कसैले तिमीलाई सोध्नेछ:
स्नेहको सागरबारे,
जीवनको भूगोलबारे,
सपनाको सहर र रहरका खण्डहरबारे,
परदेशका दैनिकी र कमाइका कठिनाइबारे,
रङ्ग लाग्दादेखि दङ्ग पर्दासम्मका क्षणहरूबारे,
अनि यी सबैबाट पाएको उपलब्धिका अनुभूतिबारे।
त्यसबेला,
तिम्रो अनुहारमा एउटा चम्किलो सूर्य उदाउनुपर्छ,
जसले सबैलाई ताप मात्र होइन,
शीतल छहारी पनि दिन सकोस्।


