Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा : हरेमुरारे ! | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

कथा: कोहिनुर | हरिश कल्पित | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

स्मार्ट कविता श्रृङ्खला: ५८ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२

गजल श्रृङ्खला: ३७ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२

मुक्तक शृङ्खला: ५७ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कथा : हरेमुरारे ! | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

कथा : हरेमुरारे ! | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

आख्यान - कथा
डा. टीकाराम पोखरेलडा. टीकाराम पोखरेलफाल्गुन ११, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

कथा : हरेमुरारे !
कथाकार : डा. टीकाराम पोखरेल


‘श्रीकृष्ण गोविन्द हरेमुरारी, हे नाथ नारायण वासुदेव !’ भनेर दुई हात जोड्दै चौतारामा गफ गरिरहेका चौतारेको समूहमा हरेमुरारे प्रवेश गरे । चौतारो हरेमुरारेको नियमित आउने थलो थियो ।

हरेमुरारे आफूलाई परिचय गराउँदा ‘मेरो नाम श्रीकृष्ण गोविन्द हरेमुरारी’ भन्ने गर्थे । उनी आफ्ना कुरा सुरु गर्नुअगाडि, बीचबीचमा र कुराको अन्त्यमा पनि ‘श्रीकृष्ण गोविन्द हरेमुरारी’ भनिरहन्थे ।

उनले आफूलाई ‘श्रीकृष्ण गोविन्द हरेमुरारी’ भने तापनि गाउँलेहरू भने उनलाई छोटकरीमा ‘हरेमुरारे’ भन्ने गर्थे ।

‘श्रीकृष्ण गोविन्द हरेमुरारी’ उनको नाम हो कि, थेगो हो कि, पदवी हो भन्ने चाहिँ धेरैलाई अन्योल नै थियो ।

हरेमुरारे बेलाबेला गाउँका बुढापाकाहरूलाई जम्मा गरेर ‘ट्राभल एजेन्सी’ मार्फत चारधामतिर लैजान्थे ।

हरेमुरारे फुर्सदको समयमा चाहिँ गाउँको चौतारामा गाउँलेहरू जम्मा गरेर भारतमा अवस्थित विभिन्न मठमन्दिरहरूको उत्पत्ति र शक्तिको कथा भनेर गाउँलेहरूलाई भारतका ती मठमन्दिरहरूमा दर्शन गर्न जाउँजाउँ लाग्ने बनाउँथे । उनको कुरामा विश्वास गरेर तीर्थस्थल जाने गाउँमा धेरै थिए ।

हरेमुरारे गाउँका धार्मिक पथप्रदर्शक झैँ बनेका थिए ।

त्यसो त गाउँलेलाई थाहा छ, बाल्यकालमा हरेमुरारेको नाम देवानन्द थियो । यही गाउँको परमानन्द भुर्तेलको छोरा देवानन्द भुर्तेल ।

बाल्यकालमा देवानन्द चकचके थियो । विद्यालयमा ऊ उत्पात मात्र गर्थ्यो । कक्षामा प्रायःजसो ‘लास्ट बेन्च’ मा बस्थ्यो । कक्षामा गुरुले पढाइरहँदा अरूको ध्यान गुरुले भनेको कुरामा हुन्थ्यो । देवानन्दको ध्यान भने आफूअगाडि बस्ने साथीहरूको ढाडमा नाम लेखिदिने, कागजहरू डल्ला बनाएर धागोमा बाँधी झुन्ड्याइदिने, अगाडि बेन्चमा केटीहरू छन् भने एक अर्काको कपाल गाँठो पारिदिने जस्ता छुल्याहा काममा हुन्थ्यो ।

हरेक वर्ष देवानन्द परीक्षामा अङ्ग्रेजी, गणित, विज्ञान जस्ता विषयमा आलु खान्थ्यो । तर विद्यालय व्यवस्थापनले दुई–तीन विषयसम्म लागेकालाई कक्षा चढाउने निर्णय गरेको फाइदा उठाउँदै देवानन्द हरेक वर्ष कक्षा भने उक्लँदै जान्थ्यो ।

नपढेरै कक्षा उक्लन पाएपछि देवानन्द दङ्ग पर्थ्यो । अनि अरू पढ्ने साथीहरूलाई ‘दिमाग बोधो भएपछि कक्षा चढ्न पनि गधा झैँ घोटिनुपर्छ’ भनेर व्यङ्ग्य गर्थ्यो ।

कक्षा आठको परीक्षामा चाहिँ अलि धेरै विषय लागेपछि देवानन्दले गुल्टिङ नै खायो । छोरो गुल्टिङ खाएपछि गाउँमा परमानन्दको इज्जत जाने भो । आफ्नो इज्जत बचाउन परमानन्दले विद्यालयमा पुगेर प्रधानाध्यापकसँग ‘अबदेखि देवानन्दले राम्ररी पढ्नेछ’ भनेर सम्झौता गरे । पछि राम्रो पढ्ने सर्तमा देवानन्द कक्षा नौमा उक्लेको थियो । दश कक्षामा उक्लने बेलामा चाहिँ परमानन्दले विद्यालयका प्रधानाध्यापकलाई भनेर परीक्षा हुनु एक दिनअगाडि नै देवानन्दका लागि प्रश्नपत्र घरमै झिकाइदिएर आफ्नो इज्जत बचाएका थिए ।

एस.एल.सी. मा देवानन्दले फेरि गुल्टिङ खायो । विद्यालयमा सम्झौता गरेर कक्षा आठबाट नौमा उक्ले जस्तो पछि पढ्ने गरी अहिले उत्तीर्ण हुने सम्झौता एस.एल.सी. मा हुँदैनथ्यो । न त परीक्षाअगावै घरमा प्रश्नपत्र झिकाउन परमानन्दको पहुँच पुग्थ्यो । एस.एल.सी. मा अनुत्तीर्ण भएपछि देवानन्दले तोरीको फूल देख्यो ।

हुन त देवानन्दले एस.एल.सी. मा चिट चोराउन पनि ठुलो टोली परिचालन गरेको थियो । एस.एल.सी. मा त्यसबेला पढ्नेको भन्दा चिट चोराउने टोली खडा गर्न सक्नेको ठुलो इज्जत हुन्थ्यो । चिट चोराउन टोली बनाउन नसक्ने विद्यार्थीहरू दोस्रो दर्जाका निरीह विद्यार्थी जस्ता देखिन्थे । चिट चोराउनु साथीका लागि जीवनमा सबैभन्दा ठुलो सहयोग हुन्थ्यो । तर एस.एल.सी. मा उसको चिट चोराउने टोलीको प्रयास विफल भयो ।

एस.एल.सी. फेल भएको झोंकमा एक दिन देवानन्दले गाउँ छोड्यो । ‘देवानन्द भारत पस्यो रे’ भन्ने अपुष्ट खबर गाउँमा आयो । तर देवानन्द भारतमा कुन ठाउँमा गयो, के गर्यो, केही सम्पर्क भएन । झन्डै दुई दशक देवानन्द भूमिगत भयो ।

एकैपटक गाउँबाट हिँडेको बीस वर्षपछि देवानन्द गाउँ फर्कियो । फर्किँदा देवानन्द ‘श्रीकृष्ण गोविन्द हरेमुरारी’ को अवतारमा थिए । गाउँलेले सुरुका केही वर्ष उसलाई देवानन्द भन्ने गरे तापनि कालान्तरमा उनले आफ्नो पहिचान ‘श्रीकृष्ण गोविन्द हरेमुरारी’ को रूपमा स्थापित गराइछाडे । समयको अन्तरालमा गाउँलेले हरेमुरारे कुनै दिन देवानन्द थियो भन्ने कुरा पनि दिमागबाट हटाइसकेका थिए ।

देवानन्द कसरी हरेमुरारे बने भन्ने कुरा रहस्यकै गर्भमा थियो । उनी आफ्नो रहस्यमय दुई दशक कसैलाई बताउँदैनथे । तथापि देवानन्दले हरेमुरारे अवतार लिनुका थरिथरिका किस्सा भने गाउँमा प्रचलित थिए । भारततिर मजदुरी गर्न गएकाहरूले यस्ता किस्सा गाउँमा भित्र्याएका थिए । केही किस्सा यस्ता थिए :

गाउँमा प्रचलित एउटा किस्सा थियो- ‘एस.एल.सी. फेल भएको तोडमा देवानन्दले गाउँ छोड्यो र काशी पुगी संस्कृत विद्याश्रममा पसेर, धुँडा धसेर र टुप्पी बाँधेर पढ्यो । ऊ संस्कृतको धुरन्धर भयो । धुरन्धर भएपछि उसलाई उसका गुरुले नै ‘श्रीकृष्ण गोविन्द हरेमुरारी’ नाम राखिदिए । ऊ त्यही नाममा प्रचलित भयो । नाम देवानन्द हुँदा विद्यालयमा फेल भएकोले नाम नफापेको ठानेर देवानन्दले आफ्नो नाम त्याग्यो र हरेमुरारे भयो । हुन पनि हरेमुरारे भएपछि उसको भाग्य चम्केको थियो ।’

अर्को प्रचलित किस्सा थियो- ‘देवानन्द पढेर हरेमुरारे भएको होइन, बरु हरिद्वारमा गएर लामो समय ध्यान र साधना गर्यो । ध्यान र साधनाबाट एक दिन उसलाई दिव्य ज्ञान प्राप्त भयो । ज्ञान प्राप्त भएपछि उसले ‘श्रीकृष्ण गोविन्द हरेमुरारे’ पदवी धारण गर्यो । पछि ऊ त्यही नाममा चिनिन थाल्यो ।’

‘देवानन्द गाउँबाट भारत पसेपछि ऊ ट्रक ड्राइभर बन्यो । एक दिन उसले चलाइरहेको ट्रक दुर्घटनामा पर्यो । ऊ घाइते भयो । उपचारको क्रममा लामो समय अस्पताल बस्दा उपचारकै लागि अस्पताल आएको एक जना साधुसँग देवानन्दको भेट भयो । त्यही साधुको सङ्गतले ऊ हरेमुरारे भयो ।’ यो तेस्रो किस्सा थियो ।

चौथो किस्सा थियो- ‘देवानन्द वृन्दावनमा गाईगोठमा काम गर्थ्यो । त्यहाँ ऊ कृष्ण लीलाहरू सुन्थ्यो । गाई मालिकहरू कृष्ण पनि गाई गोठालो भएको र ‘गौ’सेवा गर्ने देवानन्द पनि कृष्णकै अवतार हो भनेर उसलाई फुर्क्याउँथे । फुर्क्याउँदा फुर्क्याउँदै उसले आफूलाई कृष्ण नै सोच्न थाल्यो र आफ्नो नाम नै बदलेर हरेमुरारे बनायो ।’

धार्मिक किस्सा मात्र होइन, फिल्मी किस्सा पनि देवानन्दको जीवनसँग जोडिएको थियो । फिल्मी किस्सानुसार भारत पसेपछि देवानन्द मुम्बई हानियो । कामको खोजीमा भौँतारिँदा भौँतारिँदै ऊ एउटा फिल्म सुटिङ हुँदै गरेको स्टुडियोमा पुग्यो । जहाँ देवानन्द र मधुवालाको फिल्म सुटिङ भइरहेको रहेछ । देवानन्दले फिल्म सुटिङमा केही काम पाइन्छ कि भनेर स्टुडियोको सुरक्षागार्डसँग सोधखोज गर्यो । स्टुडियोको सुरक्षागार्डले देवानन्दलाई फिल्मको प्रोडक्सन मेनेजरसँग भेट्टाइदियो ।

‘आपका नाम क्या है ?’ देवानन्दलाई प्रोडक्सन मेनेजरले सोध्यो ।

नाम शब्द सुनेपछि पक्कै आफ्नो नाम सोधेको होला भन्ने ठानेर उसले आफ्नो नाम भनिदियो- ‘देवानन्द ।’

‘देवानन्दजी तो स्टुडियो मे सुटिङ मे हैं । अरे बेकुफ ! आप हमारे साथ मजाक करता हो ?’ मेनेजरले रिसाउँदै भन्यो ।

मेनेजरले बोलेको हिन्दी भाषा देवानन्दले राम्ररी बुझेन । ऊ चुप लागि बस्यो ।

‘तुम पागल हो क्या ?’ मेनेजरले झन् रिसाएर भन्यो । तर देवानन्दले फेरि पनि बुझेन, अनि केही उत्तर दिएन ।

‘इस पागल आदमीको बाहर निकालो ।’ मेनेजरले बाउन्सरलाई आदेश दियो ।

बाउन्सर आएर देवानन्दका दुई गालामा चार चड्कन लगायो र धकेलेर बीस हात पर पुग्ने गरी फालिदियो । देवानन्द तीन बल्ढ्याङ खाएर लड्यो र हतारहतार उठेर पत्तोतोड भाग्यो । त्यही चड्कनको तोडमा देवानन्दले आफ्नो नाम देवानन्द भएकै कारण चड्कन खाएको ठानी नाम परिवर्तन गरेर हरेमुरारे राख्यो ।

यस्ता अनुमानहरूलाई रहस्यको गर्भमै राखेर हरेमुरारेले गाउँलेलाई आफ्नो प्रभावमा पारेका मात्र थिएनन्, गाउँलेलाई हरेमुरारे अवतारको अनुमान गर्ने सुविधा पनि दिलाइदिएका थिए ।

जुनसुकै तरिकाबाट हरेमुरारे बनेका हुन्, हरेमुरारेको परिचय गाउँमा अब देवानन्द थिएन । गाउँको त्यो बेलाको उत्पात केटो आज आदर्श व्यक्तित्व बनेको थियो ।

गाउँमा कुनै धार्मिक र सामाजिक क्रियाकलाप हुँदा अगुवाइ पनि हरेमुरारेकै हुन थालेको थियो । गाउँलेलाई तीर्थस्थल घुमाउन लैजाने मात्र होइन, धार्मिक प्रवचन दिने, तीर्थस्थलहरूको शक्तिगाथा भन्नेदेखि आवश्यक पर्दा गाउँलेको सहयोगी समेत हरेमुरारे नै हुन थाले ।

हरेमुरारे बिस्तारै गाउँलेको आस्थाको केन्द्र बन्दै थिए । उनी धार्मिक आस्थाको केन्द्र मात्र होइन, न्यायको समेत आस्थाको दीप बन्न थालेका थिए । गाउँमा झैझगडा हुँदा, सन्धिसर्पन पर्दा, मर्दापर्दा सबै कुरामा गाउँलेहरू सबैभन्दा पहिला हरेमुरारेलाई नै गुहार्थे । धेरै पटक गाउँमा भएका झगडा र विवादलाई आफ्नो जादुगरी कलाले मिलाएर उनले गाउँलेको विश्वास जितिसकेका थिए ।

एक पटक गाउँमा काङ्ग्रेस समूह र कम्युनिस्ट समूह बीच झगडा भयो । हात हालाहालको स्थितिमा पुगेपछि पुलिसलाई खबर गर्ने कुरा हुँदै थियो, कसैले हरेमुरारेलाई सम्झ्यो । हरेमुरारे झगडास्थलमा आएर गीता दर्शन कहन थाले :

‘सुहृन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु ।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते ।।

जो मित्र, शत्रु, उदासीन, मध्यस्थ, द्वेषी, बन्धुवर्ग, साधु र पापीहरूमा पनि समभाव राख्दछ, त्यो अतिश्रेष्ठ हो । त्यसैले आपसमा झगडा गर्नु हुँदैन । विश्वबन्धुत्वको सन्देश दिने पार्टीहरूले सानासाना विषयलाई लिएर आपसमा झगडा गर्न सुहाउँदैन ।’ यसरी उनले आध्यात्मिक दर्शन घुलेर लामै प्रवचन दिएपछि झगडियाहरू रणमैदानबाट पछि हटेका थिए ।

अर्को पटक गाउँमा मोटरबाटो कताबाट लैजाने भन्ने विषयमा गाउँलेहरू बीच विवाद भयो । सबैलाई बाटो आफ्नै घरछेउबाट लैजानुपर्ने तर आफ्नो जग्गा काटिनु नहुने भन्ने सबैका आफ्नै अडानले वडा अध्यक्ष हैरान थिए । विवाद बढ्दै जाँदा प्रहरीको समेत टाउको दुखाइ भयो । फेरि सबैले हरेमुरारे गुहारे । हरेमुरारेले भने :

‘मानं हित्वा प्रियो भवति क्रोधं हित्वा न शोचति ।
कामं हित्वाऽर्थवान्भवति लोभं हित्वा सुखी भवेत् ।।

मनुष्यले अहङ्कार छोडेमा सबैको प्रिय, रिस छोडेमा शोकबाट मुक्त, इच्छा छोडेमा धनवान् र लोभ छोडेमा सुखी हुन्छ ।’

हरेमुरारेको यस्तो भनाइबाट सबै गाउँले प्रभावित भए । उनको भनाइमा सबैले सहमति जनाए । अन्तिममा हरेमुरारेले जताबाट बाटो लाने भन्छन्, उतैबाट बाटो लान सबै गाउँले सहमत भए ।

गाउँमा फेरि अर्को पटक चर्च बनाउने विषयमा विवाद उत्पन्न भयो । हिन्दूहरूले आफ्नो मन्दिर नजिक चर्च बनाउन नदिने अडान कसे भने चर्च पक्षधरहरूले आफ्नो स्वामित्वको जग्गामा भवन, घर, मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिद जे बनाए पनि अरूले विरोध गर्न नपाइने भनी प्रतिवाद गरे ।

हरेमुरारेले ‘ईश्वर धर्मअनुसार रूपमा फरकफरक भए तापनि ईश्वर एउटै हुन्’ भन्दै विरोध गर्ने पक्षलाई चित्त बुझाइदिए । उनको मध्यस्थताले गाउँ धार्मिक द्वन्द्वको चपेटाबाट बच्यो । यो विवादको समाधानपछि त हरेमुरारे हिन्दू धर्मका मात्र पथप्रदर्शक नभएर सबै धर्म, जात, भाषा, समुदाय र पार्टीका समेत साझा नायक पो बने ।

दुई–चार विवाद मिलाउन हरेमुरारेले देखाएको चमत्कारपछि गाउँलेहरूले गाउँमा भएका अधिकांश विवादमा हरेमुरारेलाई नै गुहार्न थाले । प्रहरीले हेर्नुपर्ने प्रकृतिको मुद्दा पनि पहिले हरेमुरारेलाई नै सोध्ने र उनले प्रहरीमा लैजानु भनेपछि मात्र गाउँलेहरू प्रहरीकहाँ जान थाले ।

प्रहरी पनि पहिले हरेमुरारेलाई सोधेर मात्र अगाडि बढ्थ्यो । उनी सत्यको पक्षमा छन् र कहिल्यै असत्यको पक्ष लिँदैनन् भन्ने प्रहरीको समेत बुझाइ भइसकेको थियो ।

गाउँमा प्रहरी, प्रशासन, स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज, गरिब, किसान, जमिन्दार सबै हरेमुरारेका अनुयायी झैँ भएका थिए ।

एकै व्यक्तिमा सबैलाई प्रभाव पार्न सक्ने यस्तो अलौकिक क्षमता देखेर हरेमुरारेको शरीरमा दैवी शक्तिले बास गरेको हुनुपर्छ भन्ने धेरैको बुझाइ थियो ।

हरेमुरारे गाउँमा बेलाबेला मानिसहरू जम्मा पारेर धार्मिक प्रवचन दिन्थे । उनको प्रवचनमा विशुद्ध धर्मका मात्र कुरा नभएर समसामयिक, वैचारिक, आध्यात्मिक र दार्शनिक विषय समेत घुलित हुन थालेको थियो । हरेमुरारे अब ‘श्री २०१६ स्वामीजी श्रीकृष्ण गोविन्द हरेमुरारी’ कहलिन थालेका थिए । स्वामीजी कहलिनुअगाडि पनि हरेमुरारे तीन महिना जति फेरि भारततिरै भूमिगत भएका थिए । स्वामी पद धारण गर्नकै लागि स्वामीजी भूमिगत हुनुभएको भन्ने गाउँलेको बुझाइ थियो ।

गाउँमा झन्डैझन्डै ‘हरेमुरारे पथ’ को विकास हुँदै थियो । उनको विचार र दर्शनको प्रचारप्रसारका लागि गाउँलेहरूले ‘हरेमुरारे समूह’ नै बनाएका थिए । समूहमा दिनप्रतिदिन अनुयायीहरू थपिन थालेका थिए । तल्लो गाउँ, पल्लो गाउँबाट मात्र होइन, ओल्लो जिल्ला, पल्लो जिल्लादेखि देशभरका मानिस समूहमा जोडिन थालेका थिए । समूहमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको योजना बन्दै थियो ।

हरेमुरारेको गाउँमा चहलपहल हेर्दा यस्तो लाग्दै थियो कि, संसारमा अब हरेमुरारे युग प्रारम्भ हुनेछ ।

गाउँमा पछिल्लो पटक अनौठो घटना घट्यो । हरेमुरारे समूहकै सक्रिय अनुयायी प्रमिलादेवीकी तेह्र वर्षीया छोरी सूर्यलता बिरामी भई । उसलाई पेट सुन्निने रोगले समात्यो ।

बिरामी हुँदा झारफुक गर्नुपर्ने हो कि, कुनै देवताको मन्दिरमा बिरामीलाई दर्शन गराएर भाकल गर्नुपर्ने वा अरू औषधुमुलो गर्ने हो, सबै काम हरेमुरारेकै सल्लाहमा हुन्थ्यो । पेट सुन्निएको खबर पाउनासाथ हरेमुरारे प्रमिलादेवीको घरमा हाजिर भइहाले ।

‘हेर्नुस् न, स्वामीजी ! सूर्यलतालाई के भयो ? पेट सुन्निएको छ ।’ प्रमिलादेवीले आत्तिँदै हरेमुरारेसँग भनिन् ।

हरेमुरारेले सूर्यलताको पेट छामे, नाडी छामे, आँखा च्यातेर हेरे । अनि भने- ‘त्यस्तो आत्तिहाल्नु त पर्दैन, तैपनि नानीलाई चट्टै हुन चाहिँ भाकल गर्नुपर्छ । पेट सुन्निने रोगको सबैभन्दा राम्रो भाकल कामाख्या देवीको हो । नानीलाई कामाख्या देवीको दर्शन गर्न लैजाने भाकल गरौँ ।’

हरेमुरारेको सल्लाह नमान्ने कुरै थिएन ।

प्रमिलादेवीले भाकिन्- ‘हे कामाख्या माता ! मेरी छोरीको पेट सुन्निने रोग छिटो निको होस् । ठीक हुनासाथ सूर्यलतालाई म आफैँ माताको दर्शन गराउन ल्याउँछु । हरेमुरारे स्वामीजीले हामीलाई तपाईंको शरणमा ल्याइपुर्याउनु हुनेछ ।’

भाकल गरेको एक हप्ता हुँदा पनि सूर्यलताको सुन्निएको पेट घटेन । बरु दिनप्रतिदिन झन्–झन् बढ्दै गयो ।

पेट बढेर हिँड्नै गाह्रो हुन थालेपछि एक दिन सूर्यलताले भनी- ‘आमा ! आज म स्कुल जान्न ।’

‘किन नजाने ?’

‘मलाई हिँड्न गाह्रो भएको छ । वाकवाकी पनि लागेको छ ।’

‘वाकवाकी’ भन्ने शब्द सुनेर प्रमिलादेवी अलिकति झस्किन् । हतार–हतार छोरीको पेट छामिन् । प्रमिलादेवीलाई छोरीको पेटमा केही सल्बलाएको आभास भयो ।

‘ओए केटी ! तैँले त पेटमा कसको पाप बोकिस् कि क्या हो ?’ प्रमिलादेवीले आत्तिँदै भनिन् ।

सूर्यलता केही बोलिन ।

प्रमिलादेवी दौडिँदै हरेमुरारेकहाँ पुगिन्- ‘लौ न बित्यास पर्यो स्वामीजी ! सूर्यलताले त पेटमा कसको पाप पो बोकी जस्तो छ । छिटो जाऊँ न मेरो घर ।’

हरेमुरारे फेरि दौडिँदै प्रमिलादेवीकहाँ पुगे । सूर्यलताको पेटतिर हेरे । भाकल गर्नुअगाडिभन्दा अहिले पेट त झनै बढेको थियो ।

‘भन सूर्यलता ! यति सानो उमेरमा तिमीले कसको गर्भधारण गर्यौ ?’ हरेमुरारेले सूर्यलतालाई सोधे ।

सूर्यलता केही बोलिन । उसले हरेमुरारेको आँखामा एकटकले हेरिरही ।

‘लौ अब बर्बाद भो । गाउँमा हामीले कसरी मुख देखाउनु ? कुन अपराधीले यस्तो गर्यो, नाबालक छोरीलाई कसले यो हालतमा पुर्यायो ।’ सूर्यलताका बा, आमा र दिदी सबै आत्तिए ।

प्रमिलादेवीले हरेमुरारेसँग हात जोड्दै भनिन्- ‘अब यो समाजमा हाम्रो इज्जत बचाएर हामीलाई यो गाउँबाट विस्थापित हुनबाट रोक्न सक्ने र मेरी अबोध छोरीलाई यस्तो अवस्थामा पुर्याउने अपराधी पत्ता लगाएर कारबाही गराउन सक्ने हजुर मात्र हुनुहुन्छ, स्वामीजी !’

हरेमुरारे केही बोल्न सकिरहेका थिएनन् ।

प्रमिलादेवी हरेमुरारेको अगाडि हात जोडेर उभिएकी थिइन् । त्यही बेला सूर्यलताकी दिदीले सूर्यलताको गालामा दुई थप्पड हान्दै भनी- ‘भन् ए कलङ्किनी ! तैँले कसको पाप बोकिस् ?’

उपस्थित सबैको ध्यान चड्कनको दृश्यतिर मोडियो ।

सूर्यलताले आँखाबाट बररर… आँसु झारी । अनि हरेमुरारेतिर औँलाले देखाई ।

‘राम ! राम !! राम !!! कलङ्किनी ! तैँले स्वामीजीतिर औँला तेर्स्याएको ? परमपूज्य स्वामीजीमाथि यस्तो आरोप लगाउने ?’ प्रमिलादेवीले सूर्यलतामाथि अर्को चड्कन थपिन् ।

सूर्यलता भुइँमा घोप्टो परेर रुन थाली ।

‘स्वामीजी ! मैले कस्तो कलङ्किनी छोरी जन्माएछु । यस्तो कलङ्क जन्मनुअगाडि मेरो कोख किन बाँझो भएन ? माफ पाऊँ प्रभु । यसको तर्फबाट म माफी माग्छु । कसको पाप बोकेर आई, अनि हजुरलाई पो आरोप लगाई ।’ प्रमिलादेवीले हरेमुरारेको खुट्टा समात्दै भनिन् ।

‘होइन, होइन । सूर्यलताले मलाई कहाँ आरोप लगाएकी हुन् र ? उनले त अपराधी पत्ता लगाउने, अपराधीलाई सजाय गराउने र सूर्यलतालाई न्याय दिलाउने काम स्वामीजीले मात्र गर्न सक्नुहुन्छ भनेर म तर्फ इङ्गित गरेकी हुन् त । होइन त सूर्यलता ?’ हरेमुरारेले अमिलो अनुहार बनाउँदै सूर्यलतातिर फर्केर भने ।

सूर्यलता केही बोलिन । ऊ सुँक्कसुँक्क गरिरही ।

‘अब यस कलङ्किनीलाई प्रहरीको जिम्मा लगाउनुपर्छ । को हो यसको पेटमा कुकर्म गर्ने मान्छे ? प्रहरीले पत्ता लगाउँछ ।’ सूर्यलताका सबै परिवार सूर्यलतामाथि खनिए ।

घर तनावग्रस्त थियो । रात परिसकेको थियो । प्रहरी चौकी टाढा थियो । सूर्यलताका बाले छोरीको पेटमाथि कुकर्म गर्ने अपराधी पत्ता लगाउनका लागि प्रहरीलाई खबर गर्न बिहानको झिसमिसेमै एक जना छिमेकीलाई प्रहरी चौकी पठाए ।

बिहानको घाम एक जुवा माथि आउँदा प्रहरी सूर्यलताको घरमा आइपुग्यो । प्रहरी गाउँमा आइपुग्नुअगावै हरेमुरारे गाउँ छोडिसकेका थिए ।

संसारमा भ्रमको बादल अझै फाटेको थिएन ।


–०००–
अन्त्यारम्भ कथासङ्ग्रहबाट साभार

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा डा. टीकाराम पोखरेल हरेमुरारे हरेमुरारे !

यो पनि पढ्नुहोस्...

कथा: कोहिनुर | हरिश कल्पित | हाम्रो कथाघर

उपन्यास: गरुराहा | अध्याय: ०६ | हाम्रो कथाघर

कथा : मौन अवधि | हाम्रो कथाघर

सुरेशकुमार पाण्डेका पाँच लघुकथा | हाम्रो कथाघर

यौन-लघुकथा: विसर्जन | नारायन नाथ योगी | हाम्रो कथाघर

लघुकथा: बासस्थान | डा. हंसराज | हाम्रो कथाघर

♈ दैनिक राशिफल ♎

विशेष

सुबिन भट्टराईको कथासङ्ग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ पढेपछि

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

भर्खरै

कथा : हरेमुरारे ! | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

कथा: कोहिनुर | हरिश कल्पित | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

स्मार्ट कविता श्रृङ्खला: ५८ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२

गजल श्रृङ्खला: ३७ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२

मुक्तक शृङ्खला: ५७ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.