Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

श्री रामकृष्ण परमहंसज्यूकी अर्धाङ्गिनी श्री माँ शारदा देवीज्यू

मंसिर २९, २०८२

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

मंसिर २८, २०८२

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

मंसिर २८, २०८२

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

मंसिर २७, २०८२

समाचार: विद्युतकर्मी साहित्यिक समाजले पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्झियो

मंसिर २७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

लघुकथा स्तम्भ - लघुकथामा एक प्रयोग
नन्दलाल आचार्यनन्दलाल आचार्यमंसिर २८, २०८२1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest


नेपाली आख्यान, समालोचना र नाट्य विधामा सुपरिचित नन्दलाल आचार्यको जन्म उदयपुरको ठोक्सिला, जहडामा वि.सं. २०३० असार २८ गते भएको हो। स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण पेसामा संलग्न रहँदा पनि उहाँले साहित्यमा आफ्नो एक विशिष्ट पहिचान बनाउनुभएको छ। साहित्यलाई जीवनधर्म मान्ने आचार्यले आफ्नो कलमलाई ‘लौरो’, मनलाई उपन्यास र संवेदनालाई ‘शल्यक्रिया’को विषय बनाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभएको छ।

उहाँका प्रकाशित कृतिहरूले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई उजागर गर्छन्। ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाट्यकृति), ‘गरूराहा’ (उपन्यास), ‘एकहाते जीवन’ (निबन्धसङ्ग्रह), ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह), ‘लौरो’ (लघुकथासङ्ग्रह) र ‘शल्यक्रिया’ (कथासङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई बहुविधामा कलम चलाउने स्रष्टाको रूपमा स्थापित गरेका छन्। संवेदनशील दृष्टिकोणका साथ सामाजिक विषयवस्तुको कलात्मक उठान गर्नु उहाँको लेखनको प्रमुख विशेषता हो।

नेपाली साहित्यमा, विशेषगरी लघुकथा विधामा, ‘उत्तरकथा’ लेखनको प्रयोग थालनी गर्ने श्रेय आचार्यलाई नै जान्छ। विश्व साहित्यमा प्रचलित यस परम्परालाई नेपाली माटोमा मलजल गर्दै उहाँले एक नौलो आन्दोलनको प्रारम्भ गर्नुभएको छ।

यसै प्रयोगलाई निरन्तरता दिँदै उहाँले हाम्रो कथाघरको “लघुकथामा एक प्रयोग” स्तम्भ सञ्चालन गर्दै आउनुभएको छ। यस स्तम्भमा उहाँले प्रत्येक पटक तीन स्रष्टाका लघुकथा छनोट गरी तिनको विश्लेषणात्मक समीक्षा गर्नुका साथै तिनै कथामा आधारित उत्तरकथाहरू पनि सिर्जना गर्नुहुन्छ। यसरी उहाँले समीक्षा र सिर्जनालाई एकैसाथ अगाडि बढाउँदै नेपाली लघुकथामा एउटा नवीन र महत्वपूर्ण आयाम थप्नुभएको छ।

प्रस्तुत छ “लघुकथामा एक प्रयोग”को
नयाँ श्रृङ्खला


१. लघुकथा: भोकतन्त्र
✒ इन्दिरा चापागाईं

कार्यक्रम भव्य भइरहेको थियो। आफूलाई गणतन्त्रको हिमायती ठान्ने नेताहरू देशमा गणतन्त्र कसरी ल्याइयो भन्नेबारे भाषण गरिरहेका थिए। गणतन्त्रवादीहरू भाषण सुन्न र राजावादीहरू नारा–जुलुस लगाउन व्यस्त थिए। सडकमा पक्ष र प्रतिपक्षका मान्छेहरूको भीडभाड थियो। यातायातका साधन चल्न पाएका थिएनन्। झुत्रो गन्जी र मैलो गम्छाले लाज ढाकेको एक मजदुर असिनपसिन गर्दै दौडिँदै आयो र एक गणतन्त्रवादी नेतासँग ठोकियो। उसको लुगाभरि हिलो लागेको थियो र नराम्रो गन्ध आइरहेको थियो।

“यस्तो कार्यक्रम भइरहेको देखेपछि आँखा हेरेर हिँड्न सक्दैनस्?” नेताले हकार्‍यो।

“म इनार सफा गर्दै हतारमा हिँडेको, आत्तिएँ, हजुर नरिसाइहाल्नुस् न!” उसले दुई हात जोडेर डराउँदै भन्यो।

उसकी बिरामी बुढी गिटी कुट्दाकुट्दै बगरमै बितेको खबर आएकाले ऊ हतारमा दौडिएको थियो।

“गणतन्त्र भनेको थाहा छ?” आक्रोशित हुँदै नेताले सोध्यो।

“छैन हजुर! मलाई त ज्याला–मजदुरी र भोको पेट मात्र थाहा छ।” गम्छाले पसिना पुछ्दै उसले फेरि भीड छिचोल्न थाल्यो।

—०००—
सभापोखरी गा.पा.–१, सङ्खुवासभा
हाल: सूर्यविनायक न.पा.–५, भक्तपुर

❀❀❀

❛लघुकथा विश्लेषण❜
☞ तत्त्वका आधारमा इन्दिरा चापागाईंको ‘भोकतन्त्र’ लघुकथाको शल्यक्रिया
✒ नन्दलाल आचार्य

इन्दिरा चापागाईंद्वारा लिखित लघुकथा ‘भोकतन्त्र’ वर्तमान नेपाली राजनीतिक र सामाजिक यथार्थलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने एक सशक्त रचना हो। लघुकथाको शीर्षकले नै यसको मूल विषयवस्तु र तत्त्वलाई इङ्गित गरेको छ– भोको पेटमाथि निर्माण भएको भ्रामक तन्त्र (शासन व्यवस्था)। तल लघुकथाका मुख्य तत्त्वहरूको विश्लेषण प्रस्तुत गरिएको छ:

१. शीर्षकको औचित्य र अन्तर्वस्तुगत दर्शन
लघुकथाको शीर्षक ‘भोकतन्त्र’ आफैँमा एक विरोधाभासी र प्रतीकात्मक शब्द हो। यो शब्द ‘गणतन्त्र’ को ध्वन्यात्मक र अर्थगत विरूपण हो। गणतन्त्रले जनताको शासन भन्ने अर्थ बोके पनि लघुकथाले देखाउँछ कि विपन्न वर्गका लागि यो केवल भोको पेटको शासन मात्र भएको छ। यसले राजनीतिक परिवर्तनले आम नागरिक, विशेषगरी श्रमजीवी वर्गको जीवनमा कुनै आधारभूत सुधार ल्याउन नसकेको तितो यथार्थलाई एउटा नयाँ वैचारिक शब्दको माध्यमबाट प्रस्तुत गरेको छ, जुन कथाको मूल दर्शन हो।

२. कथावस्तु र द्वन्द्वको निर्माण
क) कथावस्तु: कथावस्तु अत्यन्तै सरल र सपाट छ, तर यसको अन्तर्निहित द्वन्द्व गहिरो छ। नेताहरू गणतन्त्रको प्रशंसामा भाषण गरिरहेको बेला एउटा हतारिएको मजदुर (इनार सफा गर्ने) आएर नेतासँग ठोकिन्छ। मजदुर आफ्नी बिरामी पत्नीको मृत्युको खबरले दौडिरहेको हुन्छ। नेताले उसलाई हकार्छन् र गणतन्त्रबारे सोध्छन्, जसको जवाफमा मजदुरले ‘ज्याला–मजदुरी र भोको पेट’ मात्र चिनेको बताउँछ।

ख) मूल द्वन्द्व: कथामा दुई समानान्तर र विपरीत यथार्थबीचको द्वन्द्व छ।
ग) आन्तरिक द्वन्द्व (वैचारिक): उच्च वर्गको ‘गणतन्त्र’ (जसको अर्थ उत्सव, भाषण र राजनीतिको सुख हो) विरुद्ध श्रमजीवी वर्गको ‘भोकतन्त्र’ (जसको अर्थ गरिबी, ज्याला–मजदुरी र मृत्यु हो)।
घ) बाह्य द्वन्द्व (भौतिक): सफा, सुगन्धित, सत्तामुखी नेता विरुद्ध हिलो लागेको, दुर्गन्धित, श्रमजीवी मजदुर।

३. चरित्र–चित्रण र प्रतीकात्मकता
यस कथामा मुख्य रूपमा दुईवटा प्रतीकात्मक पात्रहरू छन्:
क) पात्र प्रतिनिधित्व प्रतीकात्मक अर्थ: गणतन्त्रवादी नेता शासक वर्ग, सत्ताको दम्भ, असहिष्णुता, संवेदनहीनता र राजनीतिक आदर्शको भ्रम।
ख) मजदुर श्रमजीवी/विपन्न वर्ग: गरिबीको तस्बिर। मजदुरको झुत्रो गन्जी, मैलो गम्छा, हिलो र दुर्गन्धले उसको जीवनको समग्र कष्ट र उपेक्षालाई प्रतीकात्मक रूपमा चित्रण गरेको छ। मजदुरकी पत्नीको गिटी कुट्दाकुट्दै बगरमै मृत्यु हुनुले तन्त्र (शासन) जस्तोसुकै भए पनि विपन्नको नियति नबदलिएको तीतो सत्यलाई उजागर गरेको छ।

४. परिवेश र वातावरण
कथाको परिवेशलाई दुई भागमा बाँडिएको छ:
क) राजनीतिक परिवेश: ‘भव्य कार्यक्रम’, ‘भाषण’, ‘नारा–जुलुस’, ‘सडकमा भीडभाड’। यसले राजनीतिक उत्सवको माहोल देखाउँछ, जुन केवल सत्ता र पहुँचवालाका लागि मात्र छ। यातायात बन्द हुनुले आम जनताको दैनिकीमा राजनीतिको नकारात्मक प्रभाव देखाउँछ।
ख) सामाजिक/आर्थिक परिवेश: ‘इनार सफा गर्ने’ मजदुर, ‘गिटी कुट्ने’ बुढी। यो परिवेशले देशको आधारभूत तहको श्रम र गरिबीको कठोर यथार्थलाई प्रस्तुत गर्दछ, जुन भव्य राजनीतिक कार्यक्रमभन्दा ठीक विपरीत छ। नेताहरू कृत्रिम गणतन्त्रको कुरा गर्छन्, मजदुरहरू जीवन र मृत्युको वास्तविक सङ्घर्षमा हुन्छन्।

५. भाषाशैली र संवाद
कथाको भाषाशैली सरल, सीधा र व्यङ्ग्यात्मक छ।
क) संवादको शक्ति: कथाको क्लाइमेक्स संवादमा छ।
“गणतन्त्र भनेको थाहा छ?”
“छैन हजुर! मलाई त ज्याला–मजदुरी र भोको पेट मात्र थाहा छ।”
यो संवादले समग्र कथाको निचोड प्रस्तुत गर्दछ। यसले मजदुरको जीवनमा ‘तन्त्र’ (शासन प्रणाली) को परिभाषा केवल आर्थिक अभाव र जीवन निर्वाहको सङ्घर्षमा सीमित भएको मार्मिक अभिव्यक्ति दिएको छ। ‘हजुर’ भनी सम्बोधन गर्दा पनि मजदुरको मनमा रहेको त्रास र शासक वर्गप्रतिको परम्परागत सम्मान (वा डर) झल्किन्छ।

६. सन्देश (ज्ञानवर्द्धक तत्त्व)
‘भोकतन्त्र’ ले पाठकलाई दिने ज्ञानवर्द्धक सन्देश निकै प्रखर छ:
क) राजनीतिक परिवर्तनको विफलता: यो कथाले नेपालमा राजनीतिक व्यवस्था बदलिए पनि (गणतन्त्र आए पनि) गरिबी र अभावको मूल समस्या ज्युँका त्युँ रहेको तीतो सत्यलाई औंल्याउँछ।
ख) संवेदनहीनताको राजनीति: शासक वर्ग (नेता) श्रमजीवी वर्गको वास्तविक दुःख र भोकमरीप्रति कति असंवेदनशील छन् भन्ने देखाउँछ। उनीहरूका लागि गणतन्त्र एउटा अमूर्त सैद्धान्तिक बहस मात्र हो, तर मजदुरका लागि यो जीवन र मृत्युको सवाल हो।
ग) यथार्थबोधको आह्वान: लघुकथाले हरेक राजनीतिक परिवर्तनको मूल्याङ्कन त्यसले आम नागरिक, विशेषगरी सीमान्तकृत वर्गको जीवनमा पारेको सकारात्मक प्रभावका आधारमा गरिनुपर्छ भन्ने यथार्थबोध गराउँछ। जबसम्म मानिसको पेट भरिँदैन, तबसम्म कुनै पनि ‘तन्त्र’ (शासन व्यवस्था) केवल ‘भोकतन्त्र’ मात्र रहन्छ।

७. निष्कर्ष:
‘भोकतन्त्र’ आफ्नो सानो आकारमा ठूलो वैचारिक भार बोक्ने एक सफल लघुकथा हो। यसले सरल कथावस्तुमार्फत नेपालको वर्तमान राजनीतिक–सामाजिक दूरी र पाखण्डमाथि तीखो व्यङ्ग्य गरेको छ, जहाँ केही मान्छे गणतन्त्रको भव्य उत्सव मनाइरहेका हुन्छन् भने अर्कातिर मजदुर भोको पेट र मृत पत्नीको खबरले दौडिरहेको हुन्छ।
❀❀❀

❛उत्तरकथा❜
लघुकथा: पेटको गणतन्त्र
✒ नन्दलाल आचार्य

“ए! फेरि तँ नै?”
चोकको जम्काभेटमा मजदुर आफ्नै नेतासामु रोकियो।
नेताले चिन्यो– हिजोको हिलोधुलो, आज झन् गहिरो थकान मजदुरको मुहारमा।

“बुढी बितेपछि के भयो?” नेताको स्वर औपचारिक थियो, उसको आँखामा पत्रकारको क्यामेराको डरसमेत लुकेको थियो।

“दाहसंस्कार सकेँ,” मजदुर बोल्यो, “आज ज्याला नपाए छोराछोरी भोकै सुत्छन्।”
नेता मौन भयो। मञ्चबाट ‘लोकतन्त्र अमर रहोस्’ को नारा बजिरह्यो।

“तँ किन यहाँ आज?”
“कारखाना बन्द भयो। आन्दोलनले बाटो थुन्यो।” मजदुरको निर्दोष वाणी सुनेर नेताको निधारमा पसिना आयो, भाषण सम्झियो।

“गणतन्त्र तिमीहरूकै लागि हो,” उसले भन्यो।
मजदुर हाँस्यो, पहिलोपटक कटु हाँसो।

“हजुर, पेट भरिएपछि मात्रै शब्द बुझिन्छ।”
मजदुरहरूको भीडले ताली बजायो, तर कसैले सुनेन।

मजदुरले फर्कँदै भन्यो– “भोक मरेपछि मात्र तपाईंको गणतन्त्र जिउँछ कि?”
❀❀❀


२. लघुकथा: आत्मसंयम
✒ पवित्रा सापकोटा

“यो घरमा रामु नामको केटा बस्थ्यो हो?” निरुताले तत्पर भएर सोधिन्। पहिलो नियुक्तिपत्र लिएर रामु त्यही गाउँ पुगेका थिए। त्यो गाउँ रोज्नुको पछाडि एउटा खास कारण र जिम्मेवारी थियो। पढाइ सकेर उनले आफ्नै चाहनाले त्यही गाउँ छनोट गरेका थिए, जहाँ उनले उच्च माध्यमिक तहसम्म अध्ययन गरेका थिए।

“भुइँमा कुरा खस्न नपाउँदै” निरुताले ओठे जवाफ फर्काइन्– “भो, भो, त्यो किताबको किरोको के कुरा गर्नु! किताबबाट टाउको कहिल्यै उठाएको छैन, घोसेले!” उनकै घरमा बहालमा बसेर रामु पढेकाले निरुताले यसरी बोल्ने हिम्मत गरेकी थिइन्।

स्कुल टाढा भएकाले रामु निरुताकै घरमा बहाल बसेर पढेका थिए। पढाइमा मिहिनेती र जेहेन्दारका साथै रामु हेर्नमा आकर्षक पनि थिए। रामुसँग नजानिँदो गरी निरुता नजिकिँदै गएकी थिइन्। अनेक बहाना बनाएर बोल्न, ख्यालठट्टा गर्न खोज्थिन्। तर रामु वास्तै गर्दैनथे। दायाँबायाँ नगरी किताबमै आँखा गाडिरहन्थे।

अहिले नचिनेझैँ गरेको देखेर निरुताको पारा झनै उग्र भयो। उनले खरो स्वरमा भनिन्, “जहिल्यै अनुहारमा औँसी छाएको मान्छेको कुरा नगरेकै बेस! कसैसँग मीठो बोल्न, हाँस्न त जानेको छैन!”

“हो… ठीकै भन्यौ निरुता, अनुहारमा औँसी छाएको मान्छे नै सही,” गम्भीर बनेका डाक्टर रामुले क्षणभरमै मुस्कुराउँदै भने, “त्यसबेला औँसी छाएको मान्छे नबनेको भए, अहिले म मेरो परिवारको, तिम्रो र यो गाउँको अनुहारमा उज्यालो कसरी भर्न सक्थेँ र?”

—०००—
सुन्दरहरैँचा–१२, मोरङ

❀❀❀

❛लघुकथा विश्लेषण❜
☞ तत्त्वका आधारमा पवित्रा सापकोटाको ‘आत्मसंयम’ लघुकथाको शल्यक्रिया
✒ नन्दलाल आचार्य

पवित्रा सापकोटाद्वारा लिखित लघुकथा ‘आत्मसंयम’ एक उद्देश्यमूलक र प्रेरणादायी रचना हो, जसले व्यक्तिको जीवनमा लक्ष्य र आत्मसंयमको महत्त्वलाई सूक्ष्म रूपमा चित्रण गरेको छ। यसको शल्यक्रिया कथाका प्रमुख तत्त्वहरूका आधारमा गरिएको छ।

१. शीर्षक र विषयवस्तु (Theme)
क) शीर्षक: आत्मसंयम (Self-Discipline)
सरल व्याख्या: कथाको शीर्षक र विषयवस्तु पूर्णतः मेल खान्छन्। रामुको चरित्रले यही ‘आत्मसंयम’ लाई प्रतिनिधित्व गर्दछ। उनले आफ्नो विद्यार्थी जीवनमा बाहिरी आकर्षण (निरुताको नजिकिने प्रयास) लाई बेवास्ता गरेर पढाइमा मात्र ध्यान दिए।
ख) कलात्मकता: शीर्षकले कथाको केन्द्रीय भावलाई एउटै शब्दमा बाँधेर राखेको छ। यो एक प्रकारले रामुको सफलताको मूल मन्त्र हो, जसलाई कथाको अन्त्यमा गम्भीरतापूर्वक पुष्टि गरिएको छ।
ग) ज्ञानवर्द्धकता: यसले पाठकलाई जीवनमा ठूलो लक्ष्य प्राप्त गर्नको लागि तत्कालका लोभ र क्षणिक सुखबाट टाढा रहनुपर्छ भन्ने ठूलो ज्ञान प्रदान गर्दछ।

२. पात्र र चरित्र चित्रण
यस कथामा दुई मुख्य पात्र छन्: डाक्टर रामु (मुख्य पात्र) र निरुता (सहायक तथा विरोधी पात्र)।
क) रामु: चरित्रगत विशेषता– मिहिनेती, जेहेन्दार, आकर्षक, आत्मसंयमी, लक्ष्यमुखी, गम्भीर, सफल। कथाको केन्द्रबिन्दु।
महत्त्व र भूमिका: उनको चरित्रले त्याग र तपस्याको प्रतिफल दर्शाउँछ। उनी विद्यार्थीबाट डाक्टर बनेर गाउँको सेवा गर्न फर्केका छन्।
ख) निरुता: तत्पर, ओठे जवाफ दिने, आलोचक, बाहिरी आकर्षणमा ध्यान दिने, क्षणिक सुख खोज्ने। कथाको द्वन्द्व सिर्जना गर्ने पात्र। उनी भविष्यको महत्त्व नबुझ्ने र केवल वर्तमानको आकर्षणमा अल्झिने प्रवृत्तिको प्रतिनिधित्व गर्छिन्।
ग) ज्ञानवर्द्धकता: पात्रहरूको तुलनाबाट पाठकले बुझ्न सक्छन् कि सफलताका लागि आन्तरिक गुण (रामुको संयम), बाहिरी आकर्षण (निरुताको प्रयास) भन्दा धेरै महत्त्वपूर्ण हुन्छ।

३. कथानक र द्वन्द्व
कथाको कथानक सरल, रेखीय र प्रभावकारी छ।
क) आरम्भ: रामुको गाउँमा पहिलो नियुक्ति लिएर आउनु, जुन उनका लागि पुरानो घर (निरुताको) थियो।
ख) मध्यभाग (फ्ल्यासब्याक): रामु विद्यार्थी हुँदा निरुताले उनलाई नजिक्याउने प्रयास गर्नु र रामुले त्यसलाई वास्ता नगरी पढाइमा मात्र ध्यान दिनु।
ग) चरम उत्कर्ष/समाधान: निरुताले रामुलाई घोसे, अनुहारमा औँसी छाएको मान्छे भनेर गाली गर्नु। जवाफमा रामुले मुस्कुराउँदै दिएको तर्कपूर्ण उत्तर।
घ) द्वन्द्व (Conflict):
अ) आन्तरिक द्वन्द्व: रामुको मनमा क्षणिक सुख (निरुताको सङ्गत) र ठूलो लक्ष्य (पढाइ र भविष्य) बीचको छनोटको द्वन्द्व।
आ) बाह्य द्वन्द्व: निरुताको आकर्षण र आलोचना विरुद्ध रामुको संयमित व्यवहार।

४. भाषाशैली र प्रस्तुति
क) सरलता: कथाको भाषा सामान्य बोलीचालीको र बुझ्न सजिलो छ। ‘घोसे’, ‘किताबको किरो’, ‘भुइँमा कुरा खस्न नपाउँदै’ जस्ता लोकोक्ति र उखानको प्रयोगले कथालाई स्वाभाविक बनाएको छ।
ख) कलात्मकता: ‘अनुहारमा औँसी छाएको मान्छे’ भन्ने पदावलीको प्रयोग अत्यन्तै कलात्मक छ। रामुले त्यसैलाई स्विकारेर उल्टो तर्क दिनु (त्यसबेलाको औँसीले अहिले परिवार, तिमी र गाउँको अनुहारमा उज्यालो भर्न सकियो) कथाको उत्कृष्ट र भावनात्मक पक्ष हो। यसले नकारात्मक कुरालाई सकारात्मक उपलब्धिमा रूपान्तरण गरिदिएको छ।
ग) प्रवाह: कथाको प्रवाह छोटो भए पनि द्रुत र प्रभावकारी छ। सन्देश दिनको लागि अनावश्यक विवरण हटाइएको छ, जसले लघुकथाको मर्मलाई पूर्णता दिएको छ।

५. ज्ञानवर्द्धक सार
यो लघुकथा केवल एक साधारण किस्सा नभएर एक गहन सन्देशमूलक रचना हो।
क) दीर्घकालीन सोच: रामुको छनोटले दीर्घकालीन सोच (Long-term thinking) को महत्त्व देखाउँछ। तत्कालको ध्यान भङ्ग गराउने तत्त्वबाट जोगिएर भविष्यको लागि गरिने मिहिनेतले मात्र ठूलो र अर्थपूर्ण सफलता दिन्छ।
ख) सफलताको परिभाषा: रामुको सफलता व्यक्तिगत मात्र नभई सामुदायिक (गाउँको अनुहारमा उज्यालो भर्न सक्ने) छ। यसले व्यक्तिगत त्याग कसरी सामाजिक योगदानमा रूपान्तरण हुन सक्छ भन्ने ज्ञान दिन्छ।
ग) आलोचनाको जवाफ: सफल व्यक्तिहरूले आफ्ना आलोचकहरूलाई बोलीले नभई कर्मले जवाफ दिनुपर्छ भन्ने रामुको मुस्कुराउँदै दिएको जवाफबाट स्पष्ट हुन्छ।

६. निष्कर्ष
‘आत्मसंयम’ लघुकथाले आत्म–नियन्त्रण, लक्ष्यमा समर्पण र आलोचनालाई सफलतामा बदल्ने जीवन दर्शनलाई सरल भाषा र कलात्मक प्रस्तुतिमार्फत पाठकसमक्ष पुर्‍याएको छ। यो एक उत्कृष्ट प्रेरणाको स्रोत हो, जसले सबैलाई जीवनमा आफ्नो ‘औँसी’ लाई ‘पूर्णिमा’ मा बदल्न उत्प्रेरित गर्दछ।
❀❀❀

❛उत्तरकथा❜
लघुकथा: जिम्मेवारीको प्रकाश
✒ नन्दलाल आचार्य

“डाक्टर साब, एक क्षण बोल्न मिल्ला?”
भीड पातलिँदै जाँदा निरुताले ओठ कपाउँदै सोधिन्।

दुई वर्षअघि गाउँ विकासको विषयमा रामुसँग उनको मनमुटाव र अनुचित व्यवहार आज उनलाई भारी भएको थियो। त्यो पुरानो गल्तीको अपराधबोधले उनको आत्मालाई सताइरहेको थियो।

रामुले सबै काम सकेपछि निरुता नजिक आएकी थिइन्। उनको स्वर यसपालि कठोर थिएन, तर आत्माको बोझले काँपिरहेको थियो।

त्यस क्षण स्वास्थ्यचौकीको आँगनमा निःशुल्क शिविरको भीड तेस्रो दिन पनि उत्तिकै थियो– महिला, किसान र मजदुरहरूको लामो लाइन थियो। बिहानदेखि रातसम्म डा. रामु खटिएर सबैको नाडी छाम्ने, रोग पत्ता लगाउने र हौसला दिने काममा थिए। उनको अनुहारमा थकान थिएन, केवल सेवाभावको शान्ति थियो।

रामुले मुस्कुराउँदै निरुतालाई बस्न इसारा गरे। निरुताले आँखा जुधाउन सकिनन् र छोटो संवाद टुक्र्याइन्, “त्यसबेला… म गलत थिएँ। मैले तपाईंको काममा अवरोध पुर्‍याएँ।”

रामुले कुनै गुनासो वा दोषारोपण गरेनन्। उनको मुस्कानमा मात्र सहजता थियो।

“गल्तीभन्दा धेरै ठूलो कुरा परिवर्तन हो, निरुता,” उनले शान्त स्वरमा भने, “रोगजस्तै चेतनाको पनि उपचार हुन्छ। तपाईंको मन अहिले स्वस्थ र बलियो देखिन्छ।”

त्यसपछि निरुताले शिविरको स्वयंसेवक सूचीमा आफ्नो नाम दर्ता गर्न कलम उठाइन्। उनले अब पश्चात्तापमा समय बिताउनु थिएन, काममा जुट्नु थियो।

“याद राख्नुहोस्, निरुता! औँसीलाई गाली गरेर उज्यालो आउँदैन।” बिदाइको बेला रामुले निरुतासँग भने, “अँध्यारो मेट्ने होइन, उज्यालो बनाउने जिम्मा लिने हो।”
❀❀❀


३. लघुकथा: आँसु बोल्दैन आज
✒ नारायणनाथ योगी

ढोका आधा खुलेको थियो, मानौँ कोही भित्र–बाहिरको निर्णय गर्न डराएको जस्तो। राधिका त्यही ढोकाअगाडि उभी। कोठाभित्रको एकान्तले उसलाई वर्षौंदेखि कैदीझैँ बाँधिरहेको थियो, तर आज त्यो एकान्त उसकै होइन, उसको पीडालाई थुनिएको कोठाजस्तो लाग्यो।

मनभित्रको थकान, शरीरमा बसिसकेको नीलडाम र वर्षौँदेखि सहन सिकाइएका पीडा– सबै वरिपरि घुमिरहेका थिए। उसले ढोका छुन खोजी, तर हात रोकियो।

“आँसु बोल्दैन आज…” ऊ मनमनै फुसफुसाई।

आज उसको मौनताले कसैलाई नबचाउने प्रण गर्दै ऊ आफैँसँग स्पष्ट हुन चाहन्थी।

भित्रबाट पाइलाको आवाज आयो। पति बाहिर निस्किए– उही कठोर अनुहार, उही बेवास्ता।
“फेरि किन रोएकी?” उनले ठाडो स्वरमा भने।

राधिकाले आँखा उठाएर हेरी, पहिलोपटक न त्रास, न दोषबोध।
“रोएकी छैन,” उसले भनी, “अब बोल्न सिकेकी छु।”

ढोकासँगै रहेको ब्याग उठाइन्। अस्पतालको रिपोर्ट, नीलडामका तस्बिर र घरेलु हिंसाविरुद्धको अभियानमा भेटिएको परामर्शदाताको कार्ड, सबै त्यही ब्यागमा थिए।

आज ऊ घर छोड्दै थिई; भागेर होइन, बाँच्नका लागि।
ढोका पुरै खुल्यो।

बाहिरको हावा चिसो थियो, तर मुक्त।
राधिका एकछिन अडिएर फुसफुसाई,
“आज आँसु बोल्दैनन्… तर म बोल्न सुरु गर्छु।”

र पहिलोपटक, उसको एकान्तले ढोकाभित्र होइन, बाहिरतर्फ खोलेको थियो।

—०००—
इटहरी, सुनसरी

❀❀❀

❛लघुकथा विश्लेषण❜
☞ तत्त्वका आधारमा नारायणनाथ योगीको ‘आँसु बोल्दैन आज’ लघुकथाको शल्यक्रिया
✒ नन्दलाल आचार्य

१. शीर्षकको औचित्य र प्रतीकात्मकता
लघुकथाको शीर्षक ‘आँसु बोल्दैन आज’ आफैँमा अत्यन्त प्रतीकात्मक र भावनात्मक रूपले शक्तिशाली छ। आँसुलाई प्रायः पीडा, helplessness (लाचारी) र मौन सहमतिको प्रतीक मानिन्छ। ‘बोल्दैन’ भन्नुले नायिका राधिकाको विगतको मौन पीडालाई सङ्केत गर्छ। तर ‘आज’ भन्ने शब्दले वर्तमानमा एउटा ठूलो परिवर्तन भएको छ भन्ने कुराको घोषणा गर्छ। यसले अब राधिकाको पीडा आँसुको माध्यमबाट होइन, बरु आवाज र कार्यको माध्यमबाट अभिव्यक्त हुनेछ भन्ने कथाको मूल सन्देशलाई सशक्त रूपमा प्रतिनिधित्व गर्दछ। शीर्षकले लघुकथाको केन्द्रीय द्वन्द्व (मौनता विरुद्ध अभिव्यक्ति) लाई एकै झट्कामा प्रस्तुत गरेको छ।

२. कथावस्तु र सन्देश
कथावस्तु अत्यन्तै सघन र प्रभावकारी छ। लघुकथाको सीमित आयामभित्र पनि यसले एउटी महिलाको वर्षौंदेखिको घरेलु हिंसा र मानसिक कैदी जीवनबाट आत्म–मुक्तिको निर्णयलाई नाटकीय ढङ्गले प्रस्तुत गर्छ।
क) सुरुआत: ‘ढोका आधा खुलेको’ दृश्यले राधिकाको मनभित्रको दुविधा, त्रास र निर्णय गर्न नसकेको अवस्थालाई उजागर गर्छ। ‘कोठाभित्रको एकान्तले उसलाई वर्षौंदेखि कैदीझैँ बाँधिरहेको थियो’ भन्ने वाक्यले स्थिति स्पष्ट पार्छ।
ख) मध्यभाग: मनमनै ‘आँसु बोल्दैन आज’ फुसफुसाउनु र ‘आज उसको मौनताले कसैलाई नबचाउने प्रण’ गर्नु क्रान्तिकारी मोड हो। पतिको ‘उही कठोर अनुहार, उही बेवास्ता’ र ‘फेरि किन रोएकी?’ भन्ने प्रश्नले घरेलु हिंसाको कठोर चक्रलाई दर्साउँछ।
ग) उत्कर्ष: राधिकाको जवाफ, “रोएकी छैन, अब बोल्न सिकेकी छु”, कथाको सबैभन्दा शक्तिशाली विन्दु हो। यो वाक्य केवल जवाफ मात्र नभएर वर्षौंदेखिको पीडामाथिको विजयको घोषणा हो। ब्यागमा रहेको अस्पताल रिपोर्ट, तस्बिर र परामर्शदाताको कार्डले उनको निर्णय हताश वा आवेगपूर्ण नभई सोचविचार गरिएको र कानुनी आधारसहितको छ भन्ने प्रमाण दिन्छ।
घ) समाप्ति: ‘भागेर होइन, बाँच्नका लागि’ घर छोड्नु र ‘पहिलोपटक, उसको एकान्तले ढोकाभित्र होइन, बाहिरतर्फ खोलेको थियो’ भन्ने पङ्क्तिले राधिकाको भौतिक र मानसिक दुवै प्रकारको मुक्तिलाई कलात्मक ढङ्गले पुष्टि गर्दछ।
ङ) ज्ञानवर्द्धक सन्देश: कथाको केन्द्रीय सन्देश घरेलु हिंसापीडितहरूका लागि ‘मौनता तोड्नु नै पहिलो क्रान्ति हो’ भन्ने हो। यसले महिलालाई पीडित (Victim) को भूमिकाबाट लडाकु (Fighter) र निर्णयकर्ता (Decision-maker) को भूमिकामा रूपान्तरित हुन प्रेरित गर्छ।

३. चरित्र–चित्रण
कथामा दुई मुख्य पात्र छन्:
क) राधिका (केन्द्रीय चरित्र): सुरुमा उनी दबिएकी, थकित र कैदीझैँ देखिन्छिन्। उनको मौनता र आँसु वर्षौंदेखिको नियन्त्रणको परिणाम हो। तर, कथाको अन्त्यसम्ममा उनी साहसी, आत्मविश्वासी र निर्णायक बन्छिन्। लेखकले राधिकाको रूपान्तरणलाई उनको भित्री विचार (‘आँसु बोल्दैन आज…’) र बाहिरी कार्य (‘अब बोल्न सिकेकी छु,’ ब्याग उठाउनु, ढोका पुरै खोल्नु) को माध्यमबाट एकदमै विश्वसनीय बनाएका छन्।
ख) पति (प्रतिपक्ष चरित्र): उनको चरित्र ‘कठोर अनुहार’ र ‘बेवास्ता’ मार्फत चित्रण गरिएको छ। उनको ‘फेरि किन रोएकी?’ भन्ने प्रश्नले उनीमा संवेदनाको कमी र पीडितलाई दोष दिने प्रवृत्ति (Victim Blaming) भएको स्पष्ट पार्छ। उनी घरेलु हिंसाको प्रतीकका रूपमा प्रस्तुत भएका छन्।

४. भाषा र शैली
लघुकथाको भाषा सरल, भावनात्मक र कलात्मक छ।
कलात्मक बिम्बहरू:

आधा खुलेको ढोका: दुविधा, अपूर्ण निर्णय, डर।

एकान्त: जेल, बन्धन, पीडा थुन्ने कोठा।

नीलडाम: हिंसाको मूर्त प्रमाण।

बाहिरको हावा: स्वतन्त्रता, चिसो तर मुक्त।

आँसु बोल्दैनन् तर म बोल्न सुरु गर्छु: मौनताको अन्त्य र मुक्तिको सुरुवात।

कथात्मक गति: लघुकथाको मागअनुसार कथाको गति तीव्र छ। सुरुवाती डर र थकान तुरुन्तै आत्म–प्रण र कार्यमा परिणत हुन्छ। संवाद अत्यन्त कम भए पनि ती अर्थपूर्ण छन्। राधिकाको पहिलो संवाद “रोएकी छैन, अब बोल्न सिकेकी छु” ले सम्पूर्ण कथाको सार बोकेको छ।

५. द्वन्द्व
कथाको द्वन्द्व मुख्यतया मानसिक र आन्तरिक छ, जसले बाह्य कार्यमा परिणाम दिन्छ।
क) आन्तरिक द्वन्द्व: राधिकाको मनभित्रको डर, थकान र वर्षौंदेखिको सहनशीलता विरुद्ध बाँच्ने चाहना, आत्म–सम्मान र बोल्ने प्रण।
ख) बाह्य द्वन्द्व: राधिका (पीडित) विरुद्ध पति (हिंसक) र सामाजिक संरचना (जसले महिलालाई मौन सहन बाध्य बनाउँछ)।

६. परिवेश
कथाको परिवेश एउटा ‘आधा खुलेको ढोका’ भएको कोठा (घर) हो। यो परिवेशले भौतिक घर राधिकाका लागि वर्षौंदेखि जेल बनेको थियो भन्ने सङ्केत गर्छ। अन्त्यमा, उनले त्यही ढोकालाई ‘पुरै’ खोलेर बाहिरको ‘चिसो तर मुक्त’ हावामा निस्कनुले परिवेशको प्रतीकात्मक उपयोगलाई सशक्त बनाएको छ।

७. निष्कर्ष
‘आँसु बोल्दैन आज’ लघुकथा मनोवैज्ञानिक, सामाजिक र कलात्मक दृष्टिले सफल तथा सशक्त सिर्जना हो। यसले घरेलु हिंसाको गम्भीर विषयलाई भावनात्मक गहिराइ, प्रतीकात्मक भाषा र तीव्र कथागत गतिमार्फत प्रस्तुत गरेको छ। राधिकाको मौनताबाट आवाजसम्मको यात्रा एक महिलाको आत्म–मुक्ति र नयाँ जीवनको सुरुवातको घोषणा हो, जसले हरेक पाठकलाई पीडाको चक्र तोड्न र आफ्नो ‘ढोका बाहिरतर्फ खोल्न’ उत्प्रेरित गर्छ।
यस कथाको प्रभावकारिता यसको सरलता, सघनता र आत्मिक जागरणको सन्देशमा निहित छ।
❀❀❀

❛उत्तरकथा❜
लघुकथा: न्यायको उद्घोष
✒ नन्दलाल आचार्य

वर्षौँको मौनतालाई अन्ततः एउटा कठोर निर्णयमा बदल्ने सङ्कल्प लिएर राधिका इजलासमा थिइन्। अदालतको चिसो वातावरणमा पनि उनको मनभित्र न्यायको ज्वाला दन्किरहेको थियो।

वकिलको अनुहारमा चिन्ताको धर्का देखियो। उनी गुनगुनाए, “राधिकाजी, केस फिर्ता लिनुस्। घरको मामिलालाई सार्वजनिक गर्नु सामाजिक मूल्य–मान्यताविरुद्ध हुन्छ।”

राधिकाले सीधा नजर लगाइन्। उनका आँखामा वर्षौँको पीडाबाट उब्जिएको स्पष्टता थियो, तर डर थिएन। उनको स्वर स्थिर र निर्णायक सुनियो, “घरभित्रको कुरा तबसम्म मात्रै निजी हुन्छ, जबसम्म त्यो शरीरमाथि सार्वजनिक घाउ बन्दैन। जब शरीर हिंसाको दस्तावेज बन्छ, तब न्यायको लागि बोल्नु कर्तव्य हुन्छ।”

अदालतको ढोका बाहिर पत्रकार, अधिकारकर्मी र कौतुहली छिमेकीहरूको ठूलो भीड जम्मा भएको थियो। उनका पति छेउको पर्खालमा अढेस लागेर उभिएका थिए, पहिलो पटक शक्तिहीन र मौन। उनले राधिकालाई हेर्दै गुनगुनाए, “तिमीले मेरो वर्षौंदेखिको इज्जत माटोमा मिलायौ।”

राधिकाले एक पाइला नजिक गएर दृढताका साथ भनिन्, “इज्जत चोट लुकाएर होइन, सत्यको पक्षमा उभिएर जोगिन्छ। जसले हिंसा गर्छ, इज्जत उसले सकाउँछ, सहेको मान्छेले होइन।”

अस्पतालको मेडिकल रिपोर्ट र उनको संक्षिप्त, तर शक्तिशाली बयान अदालतमा प्रस्तुत भयो। वर्षौँको शारीरिक र मानसिक यातनाका प्रत्येक विवरण ती केही वाक्यमा सघन भएर बसेका थिए। साक्षी र प्रमाणको भार यति गह्रौँ थियो कि तर्कको कुनै स्थान रहेन।

अदालतले निर्णय सुनायो: राधिकाको पक्षमा कानुनी संरक्षण, पुनर्वास र निषेधाज्ञा जारी भयो। यो उनको व्यक्तिगत विजय मात्र थिएन, मौन तोड्ने साहसको उद्घोष थियो।

“आज म एक्लो छैन,” उनले भीडलाई हेर्दै भनिन्, “म धेरै आवाजहरूलाई जन्म दिने सुरुआत हुँ।”

भीडबाट एउटी कलिलो किशोरीले आशासहित सोधी, “दिदी, अब आँसु बोल्छन्?”

राधिकाले ओठमा मुस्कान ल्याइन्, जुन पीडाबाट मुक्त थियो। उनले उत्साहका साथ जवाफ दिइन्, “अब आँसु होइन, हामी बोल्छौँ; अब कोही पनि बोल्नबाट वञ्चित हुनेछैन।”
❀❀❀

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नन्दलाल आचार्य लघुकथा स्तम्भ लघुकथामा एक प्रयोग

यो पनि पढ्नुहोस्...

लघुकथामा एक प्रयोग अङ्क: २८ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २० | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २७ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २६ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टमा स्मार्ट लघुकथा श्रृङ्खला: १९ | किशन पाैडेल | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २५ | नन्दलाल आचार्य | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

बाल उपन्यास : अद्भुत विवाह | भाग: एक | नन्दलाल आचार्य

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २० | हाम्रो कथाघर

पोस्टमा स्मार्ट लघुकथा श्रृङ्खला: १९ | किशन पाैडेल | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २५ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भर्खरै

श्री रामकृष्ण परमहंसज्यूकी अर्धाङ्गिनी श्री माँ शारदा देवीज्यू

मंसिर २९, २०८२

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

मंसिर २८, २०८२

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

मंसिर २८, २०८२

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

मंसिर २७, २०८२

समाचार: विद्युतकर्मी साहित्यिक समाजले पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्झियो

मंसिर २७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.