कविता: प्रेम दिवस
कवि: ईश्वर साउद ‘भिक्षु’
एक दिन फूल साटेर मात्र
हुँदैन माया ।
देखावटी दुनियाँमा
रमेर मात्र हुँदैन प्रेम दिवस ।
हरेक पलमा साथ दिने,
हरेक सुखदुःखमा हात दिने,
उकाली होस् या ओरालीमा,
हाँसोमा होस् या आँसुमा,
हरबखत एकै रफ्तारमा
हिँड्ने र हिँडाउन सिकाउने
मान्छे नै
जीवनसाथी हो ।
त्यही पल प्रेम दिवसको पल हो ।
प्रेम दिवस एक दिनमात्र नआओस्,
जो फेब्रुअरी चौध बनेर,
मायापिरतीका कथाव्यथा सुनाउन
कुनै दिन नतोकियोस्,
न त कुनै बार ।
यसरी तिथि, मिति र समयमा
कैद गरिएको प्रेम दिवस
हुँदै होइन मेरा लागि ।
यहाँ त,
मात्र होस् आदानप्रदान माया,
चौबीसै घण्टाहरूमा,
तीसै दिनहरूमा,
हरेक महिनाहरूमा,
अनि,
बाह्रै महिनाका ती
तीन सय पैसट्ठीऔँ दिनहरूमा ।
देखावटी हुँदैन माया,
भोगावती हुन्छ ।
लैलैमा कसैको पछि लागेर
हुँदैन कसैलाई माया,
आफूले आफ्नो जीवनबाट
निकालेर दिएको समयबाट हुन्छ ।
हरेक पल परिवर्तनशील छ,
हरेक बखत परिवर्तन चाहिरहेको छ ।
त्यसकारण,
माया नै परिवर्तन,
परिवर्तन नै माया हो ।
रामारोशन गाउँपालिका-६, सुदूरपश्चिम, अछाम


