Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा: रमनीया | हाम्रो कथाघर

पुस २१, २०८२

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: संस्कार | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: शून्य वक्षस्थल | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: अन्तिम पत्र | हाम्रो कथाघर

पुस २१, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कथा: उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन् | हाम्रो कथाघर

कथा: उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन् | हाम्रो कथाघर

आख्यान - कथा
लीलानाथ गौतमलीलानाथ गौतमपुस २१, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

कथा: उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन्
कथाकार: लीलानाथ गौतम


मोबाइलको रिङटोन बजेपछि उदयबहादुरले हतपत पाइन्टको खल्तीमा हात हाले र हतारिँदै मोबाइल निकाले । ‘कसले फोन गरेछ?’ मनमा प्रश्न उब्जियो । उनले उत्साहपूर्वक मोबाइलको स्क्रिनतिर हेरे, तर रिसिभ गर्न खासै जाँगर चलेन । त्यो खुसी मनले रमाएर उठाउनुपर्ने फोन थिएन । जहिले पनि आफ्नो काम पर्दा मात्र स्वार्थवश गरिने, अझ उदयबहादुरलाई ‘यो गरिदेऊ र त्यो चिज पठाइदेऊ’ भनेर फर्माइस गर्न मात्र आइलाग्ने फोन थियो त्यो । प्रायः रिङटोनको दुई-तीन घन्टीमै फोन उठाएर हँसिलो आवाजमा संवाद गर्ने उदयबहादुर अहिले फोन उठाऊँ कि नउठाऊँ भन्ने दोसाँधमा परे । ‘आज फेरि के काम अह्राउन फोन गरेको होला?’ उनलाई थोरै रिस पनि उठ्यो । ‘आ! होस्, रिसिभ नै गर्दिनँ,’ एक मनले भन्यो । मनै त हो, फेरि बदलियो, ‘होइन! अरू नै केही खास कामले गरेको पनि त हुनसक्छ । फोन त उठाउनै पर्छ होला!’

फेरि आफूलाई आतुर पर्दा हत्तपत्त फोन नउठाइदिने केही कपटी मानिसको चित्र उनको दिमागमा आयो । उनीहरूले फोन नउठाउँदा त्यसबेला आफूलाई परेको मर्का निष्कपट उदयबहादुरले झलक्क सम्झिए । उनलाई कपटी बन्न मन लागेन । उनले फोन उठाउने निर्णय गरे, तर त्यतिबेलासम्म ढिला भइसकेकाले फोन काटियो । मिस्ड कल भएर बसेको नम्बरमा कल ब्याक गर्ने तरखरमा लाग्दालाग्दै फेरि उताबाटै फोन आयो । हातैमा भएको मोबाइल पहिलो घन्टी राम्ररी बजिनसक्दै उनले रिसिभ गरिहाले ।

“हजुर दाजु!” उनले संवाद सुरु गरे । ‘दाजु!’ भनेर सम्बोधन गरिएको व्यक्तिलाई पनि उदयबहादुरले ‘ढोग गरेँ दाजु!’ वा ‘दर्शन दाजु!’ केही भनेनन्, नमस्कारसमेत गरेनन् । एकै पेटबाट जन्मिएका दाजु भएर औपचारिकता पूरा नगरेका होलान् भन्ने पनि थिएन, किनकि फोन गर्ने मानिस र उदयबहादुर सात पुस्ताअघि नै हाँगो फाटिएका दाजुभाइ थिए । अझ उताबाट फोन गर्ने मान्छे धेरैबाट नमस्कार गरिने, नेपालको कर्मचारीतन्त्रको ठूलै ओहोदामा रहेका व्यक्ति थिए । उदयबहादुरको “हजुर दाजु!” सम्बोधनपश्चात् ती फोनकर्ताले एकछिन ‘नमस्कार’ पाउने आशामा आफू नबोली प्रतीक्षा पनि गरे, तर ज्याद्रो स्वभावका उदयले नमस्कारसमेत गरेनन्, ‘ढोग गरेँ दाजु’ त परको कुरा!

वास्तवमा उनी जोकोहीलाई नमस्कार गर्ने मान्छे होइनन् । मन नपरेको मान्छे जति नै ठूलो ओहोदाको होस्, त्यस्तालाई ‘बाल मतलब नदिने’ उनको गज्जबको शैली थियो । भित्र मनबाटै आदर उब्जाउने आदरयोग्य मानिस मात्र उनको नमस्कारका काबिल हुन्थे । उनी भन्ने पनि गर्थे, “जसले शिर ठाडो पारेर हिँड्न सक्ने काम गर्छ, त्यसलाई मात्र शिर झुकाउने हो ।”

“ए! दाजु, म त काठमाडौँतिरै पो छु त,” फोन गर्ने हाकिमले “कता हो उदय भाइ?” भनेर सोध्दा उनले जवाफ दिए ।

“ए! बर्बाद भै’गो नि! तँ उतै गाउँतिरै छस् होला भन्ठानेको! यहाँ सानोतिनो जमघटलाई दुई-चारवटा लोकल भाले पठाइदिन्थीस् कि भनेर फोन गरेको थिएँ । कुरो बिग्रियो!” फोनमै हाकिमले चित्त दुखाए ।

हाकिमको चित्त दुखे पनि उदय भने रमाए । झट्ट मनले भनिहाल्यो, ‘सधैँ सित्तैमा खान पल्केकाले आज भने थाहा पायो!’

“काठमाडौँतिरै रै’छस्! भोलि मेरोतिर आइज न त! दिउँसो तीन बजेलाई घरमै जमघट कार्यक्रम छ,” हाकिमले औपचारिकता पूरा गर्न यतिको निम्तोचाहिँ दिइहाले । उदय केही बोल्न खोज्दै थिए, तर उताबाट फ्याट्टै फोन काटियो ।

फोनकर्ताले छोटो र रूखो शैलीमा वार्तालाप टुङ्ग्याएपछि उदय एकछिन सोचमग्न भए । ‘मानिसहरू आफूलाई केचाहिँ ठान्दा हुन्? सबै मानिस चाकरीदार हुँदैनन् भन्ने कुरा यी स्वघोषित ठूलाबडाले कहिले बुझ्ने? अझ मसँग दुई-चारवटा लोकल भाले माग्न पो फोन गर्‍या’थेँ भन्छ! अरूको पसिनाको उपजलाई बाउको बिर्ता ठान्ने? पैसो दिँदै गरौँला भन्दै धेरैपटकका दसैँमा लगेको घोर्ले खसी, कतिपटक मगाएको बोराका बोरा जुनार, सुन्तला, कैयौँ लोकल कुखुराका जखमले भाले, के-के चैँ खैरातमा लगेन होला यसले?’ उदयले फोनकर्ताको अनुहार सम्झिए । उनमा रिस र घृणा एकैपटक उत्पन्न भयो ।

उनी उदयबहादुर! अहिले विक्रम संवत् २०८२ साल चलिरहँदा पचपन्न वर्षको उमेरमा रमाइरहेका । अझ भनौँ, नागरिकताको प्रमाणपत्रमा लेखिएअनुसार वि.सं. २०२७ भदौ ६ मा जन्मिएका, पिता पहलमानसिंह गोदार थापाका छोरा उदयबहादुर गोदार थापा । वर्षौँअघि नै त्रिभुवन विश्वविद्यालय, शङ्करदेव क्याम्पसबाट जारी भएको स्नातकोत्तरको सर्टिफिकेटले उदयबहादुरलाई प्रथम श्रेणीमा उत्तीर्ण भएको तेजिलो विद्यार्थी ठहर गरेको थियो ।

गाउँकै सरकारी स्कुलबाट एस.एल.सी. गरेपछि बुबाको सल्लाहमा ‘नेपालको पढाइ पढेर तुर्न’ उनी काठमाडौँ हानिएका थिए । साधारण साक्षर भईकन पनि मज्जाले जिब्रो फड्कार्दै लय हालेर धार्मिक ग्रन्थ पढ्न सक्ने पहलमानसिंह ‘बा’का दृष्टिमा ‘मास्टर डिग्री’को अध्ययन पूरा गर्नु नै नेपालको पढाइ पढेर सकिनु थियो । उनले ‘बा’को वचन पूरा गरे, स्नातकोत्तर तह पूरा गरे ।

काठमाडौँमा पढुन्जेलका आठ वर्ष उदयले सधैँ गाउँ सम्झन्थे । गाउँबाट अवसरको खोजीमा हुर्किरहेका मकैका बोट र झुलिरहेका कोदोका बाला छोडेर सहर हानिएका गाउँलेको लस्कर देख्दा उनी विस्मित हुन्थे । उनलाई गाउँ र त्यहाँको उर्वर माटोमा फुलिरहेका फलका बोटहरू, झुलिरहेका धान र गहुँका बालाहरू, चरुवाको आवश्यकता नै पर्न नदिई पहाडी जङ्गलमा चरेर आफैँ अगाएर आइदिने सीधा गाईबस्तु र तीबाट निःशुल्क प्राप्त हुने गोरसको यादले धेरै सताउँथ्यो । प्रकृतिको कोमल आत्मीयतामा रमाएका, शैलुङडाँडाजस्तै पवित्र मान्छे उदयबहादुरलाई निस्सासिँदो काठमाडौँले कहिल्यै फस्ल्याउन सकेन, बन्धक बनाएर आफ्नो चाकर बनाउन सकेन । ती आठ वर्ष उनले काठमाडौँमा भएर पनि काठमाडौँसँग प्रेम नै नगरी बिताइदिए । उनको मनमा एउटै कुरा खेल्थ्यो, ‘बा’ले भन्ने गरेको नेपालको पढाइ कहिले तुर्ने? यो खाल्डोबाट मैले कहिले उन्मुक्ति पाउने?’

बेलाबेलाका दसैँ-तिहार, जाडो र अन्य बिदामा कलेज छुट्टी हुँदा उनी प्राथमिक स्कुलको बच्चाजस्तै रमाउँथे र झटपट झोला भिरेर गाउँ जाने बस समाउन कलङ्कीतिर दौडिहाल्थे । उनका लागि गाउँ जानु भनेको फोक्सोभरि सफा र ताजा अक्सिजन भरेर काठमाडौँले गिजोलिरहेको शरीरमा फेरि नयाँ प्राण भर्नु पनि थियो ।

गाउँबाट फर्किएर आएको केही हप्तापछि फेरि उनी उस्तै ‘नोस्टाल्जिक’ भइहाल्थे । खाने बेलामा गाउँ मिस गर्थे । सुत्ने बेला उत्तरतिरबाट बहँदै आफ्नो गाउँको घरको कोठासम्म आइपुग्ने शीतल बतास खुब मिस गर्थे । हरेक झिसमिसेमै भालेको डाकले जगाउने जाँगरिला मानिसहरूको परिश्रमी दिनको सुरुवात देख्न नपाउँदा नरमाइलो मान्थे । रेडियो नेपाल जाग्नुभन्दा पहिले नै जागिसकेर वस्तुभाउको पेटमा कुँडो पुऱ्याइसकेका ‘बा’ले घ्वाइँ-घ्वाइँ पार्दै गाई-भैँसी दुहेपछि बल्ल जाग्ने रेडियो नेपालको धार्मिक कार्यक्रम सुन्दै निद्राबाट बिउँझने क्षणहरू मिस गर्थे । हातभरिका चुरा छनछन बजाउँदै आमाले दैलो पोतेपछि उज्यालो हुने बिहान मिस गर्थे ।

‘जाबो सहर! आँत भरिने गरी मोही पिउन पनि नपाइने! पाकेटका दूध र दही पनि गोरस नै होलान् र?’ सहरप्रति उदयबहादुरलाई वितृष्णा जगाउने चुरो कुरो भने दारको ठेकीमा जमाइएको तरसहितको ढिक्के दही खान नपाउनु र दिउँसोको बेला ‘बा’ले पारेको मोही पिउन नपाउनु नै थियो; ‘बा’ले पार्ने त्यस्तो मोही, जुन भुइँमा झरिहाले पनि बग्न गाह्रो मान्थ्यो । गाउँको स्वर्गमा रमाएका उदयबहादुरलाई सहर नर्क नै लाग्यो । सारा मान्छेलाई आकर्षित गर्ने सहरले उनलाई कहिल्यै आफ्नो बनाउन सकेन ।

मास्टर डिग्रीको थेसिसको ‘भाइभा’ (मौखिक परीक्षा) सक्नेबित्तिकै उनी गाउँ फर्कन हतारिँदै थिए । सहपाठीहरूमध्येको एउटा फुर्तिलो समूहले स्नातकोत्तर गर्दाका साथीहरूको याद सञ्चित गर्न भाइभा सकिएको भोलिपल्टै गोदावरीमा वनभोज कार्यक्रमको चाँजोपाँजो मिलाइसकेछ । त्यही दिन घर फर्कने मीठो कल्पनामा रमाएर सुत्न लागेका उदयलाई राति नै विनोदले फोन गर्‍यो, “थापा काजी! (सहपाठीहरू उनलाई यही नामले सम्बोधन गर्थे) भोलि नै घर जाने हैन नि! भोलि गोदावरीमा पिकनिक आयोजना गरिएको छ । मिस गर्नुहुन्न नि!”

भोलि बिहानैको डे-बस चढेर साँझसम्म घर पुग्ने र आमाले चुराको सङ्गीत बजाउँदै पकाएको तातो भात खाने योजनामा रहेका उदयले अलिकति दुःख त माने, तर फेरि रोमाञ्चित हुँदै जिन्दगीमा कहिल्यै नआउने यादगार पलको भागीदार हुनबाट नचुक्ने निर्णय लिए । उनले भोलिको दिनलाई साथीहरूको नाममा नामसारी गरिदिए ।

गोदावरीको सुन्दर पिकनिक स्थलमा भर्खरै वाणिज्य शास्त्रको स्नातकोत्तर टुङ्ग्याएर ‘गेट टुगेदर’ गर्न आएका, आसन्न जिम्मेवारी बोक्न काबिल ती विद्यार्थीहरू र साथमा तिनका केही आदरणीय प्राध्यापकहरूको राम्रै जमघट भएको थियो । खानपान, नाचगान र फोटो सेसन सकेर पिकनिकको बिट मार्ने बेलामा सबैजना हरियो चौरमा गोलबद्ध भएर बसे । त्यस जमघटमा प्रमुख आकर्षणका रूपमा अर्थशास्त्रका धुरन्धर विद्वान् प्रा. डा. शर्मा स्वयं सामेल थिए । कुनै बेला राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरिसकेका कुशल योजनाकार शर्माले विद्यार्थीहरूको त्यो समूहलाई छोटो तर सटिक सम्बोधन गर्दै जुनसुकै क्षेत्रमा गए पनि लगनशील भएर काम गर्न अर्ती दिए ।

आफ्नो छोटो सम्बोधन सकिएपछि सेतै फुलेका, बाक्लो सिसा भएको पावरवाला चस्माधारी अर्थविद् प्रा. डा. शर्माले एक-एक विद्यार्थीलाई “अबको योजना के छ? मलाई एक वाक्यमा भन्नुहोस्,” भनेर प्रश्न तेर्स्याए ।

विद्यार्थीबाट पालैपालो जवाफ आउन सुरु भयो । पावरवाला चस्माबाट तिखा आँखाले विद्यार्थीको शिरदेखि पाउसम्म नियाल्दै डाक्टर शर्माले ध्यानपूर्वक जवाफ सुन्दै गए । जवाफहरू कसैका मिल्दाजुल्दा र कसैका फरक सुनिँदै थिए । केही बैङ्किङ क्षेत्रमा करियर बनाउने, केही लोकसेवा तयारी गर्ने, कोही त्रि.वि. सेवा आयोग भिड्ने भन्दै थिए । कोही संस्थानको अधिकृतमा लड्ने कुरा बताउँदै थिए । कोही विदेश गएर थप अध्ययन गर्ने त कोही एनजीओ/आईएनजीओतिर लाग्ने भन्दै थिए । कति त गाउँमा भर्खरै खुलेको ‘टेन प्लस टु’मा पढाउन अफर आएकाले त्यतै गएर अध्यापक बन्ने सुनाउँदै थिए । एउटाले त गा.वि.स. अध्यक्षमा लड्न प्रस्ताव आएकाले नजिकिँदै गरेको स्थानीय चुनावमा उम्मेदवारी दिने घोषणा नै गर्न भ्याए । भिडमध्येका एकाधले भने व्यापारतिर लाग्ने बताए ।

त्यो जमघटमा लगभग सबैले आ-आफ्नो योजना चर्चित योजनाकारलाई सुनाउन भ्याए । अब प्रोफेसरको प्रश्नको जवाफ, या भनौँ आफ्नो अबको योजना सुनाउन बाँकी एउटै विद्यार्थी थिए— ‘थापा काजी’ अर्थात् उदयबहादुर । कक्षामा सधैँ पहिलो बेन्चमा बस्ने, हरेक परीक्षाका टपर विद्यार्थी उनी आज भने जवाफ दिनेमा अन्तिममा परे । प्रोफेसर शर्माले कहिल्यै नबिर्सिने नामको पहिचान बनाएका आफ्ना प्रिय चेलालाई बुलन्द आवाजमा सोधे, “उदयबहादुर गोदार थापाजी! तपाईंको अबको योजना के छ?”

उदय ठिङ्ग उभिए । आफ्ना आदरणीय गुरुको सम्मानमा शिर निहुराएर झुके । फेरि शिर ठाडो पारेर एकछिन मौन भई गम्भीर अनुहार बनाए । सहपाठी साथीहरू र बाँकी प्रोफेसरहरू क्याम्पसकै टपर ‘थापा काजी’ले के भन्छ होला भन्ने भावमा उनलाई एकटकले हेरिरहेका थिए । सबैका कान उदयले दिने जवाफ सुन्न छटपटाइरहेका थिए । कोही-कोहीले त राष्ट्र बैङ्कको अधिकृत ताकेको होला या त्रि.वि.को उप-प्राध्यापक, नत्र भने निजामतीको अधिकृततिर लाग्छु भन्ला भनेर अनुमान गर्नसम्म भ्याए । केही क्षणको उकुसमुकुसलाई चिर्दै, भिडको अनुमानविपरीत, ठाडो शिर र तनक्क छाती तन्काउँदै उदयले गर्विलो स्वरमा जवाफ दिए, “कृषिर्मूलश्च जीवनम्! पूजनीय किसान पहलमानसिंह गोदार थापाको छोरा म, उदयबहादुर गोदार थापा, मानिसको पेटमा आहारा पुऱ्याएर उनीहरूलाई जिउँदो राख्ने सर्वकालिक र सर्वदेशीय महान् पेसा कृषि भएकाले किसान बन्छु सर!”

कुनै देशको राष्ट्रप्रमुखले पद तथा गोपनीयताको शपथ लिएजस्तो शैलीमा उदयले जवाफ दिए । भिडमा सन्नाटा छायो । सबै अवाक् भए । साथीहरू एक-अर्काको मुख हेराहेर गर्न थाले । कसै-कसैले त ओठ लेप्र्याउनसमेत भ्याए । केहीले त थापा काजीको दिमाग सड्किएको कुरा खुसुक्क छेउमा बस्ने साथीको कानमा भन्नसमेत भ्याए ।

उदयको जवाफले सबैभन्दा बढी असर प्रोफेसर डाक्टर शर्मालाई पुऱ्यायो । सुरुमा त उनी जिल्ल परे, फेरि तुरुन्तै सम्मोहित भए । प्रोफेसरले आफ्नो अडतीस वर्षको प्राध्यापनमा कुनै विद्यार्थीबाट पाएको यो सबैभन्दा सानदार जवाफ थियो । एडम स्मिथ अनि माल्थसहरूले दिएको अर्थशास्त्रको परिभाषाभन्दा पनि प्रिय लाग्यो उनलाई यो जवाफ । ‘म मान्छेको पेटमा आहारा पुऱ्याएर उनीहरूलाई जिउँदो राख्ने कृषिकर्म गर्छु!’ यो वाक्य उनको कानमा गुन्जिरह्यो । देशको जीडीपीमा कृषि क्षेत्रको योगदान राम्रोसँग बुझेका प्रा. डा. शर्मालाई उदयको आवाज वेदको ऋचाजस्तो, भागवत गीताको श्लोकजस्तो र महान् दार्शनिकको जीवनोपयोगी उद्गारजस्तो लाग्यो । कुनै पनि स्नातकोत्तरधारीले आजसम्म दिन नसकेको जवाफ र छान्न नसकेको पेसा आज छनोटमा परेपछि उनले अपलक उदयबहादुरलाई सम्मानको आँखाले हेरिरहे । कुनै बेला यिनै डाक्टर शर्माले पढाएर अहिले राष्ट्र बैङ्कको गभर्नरमा बहाल रहेको, नोटमा हस्ताक्षर गर्ने त्यो गभर्नर चेलोभन्दा पनि उदयबहादुरलाई उनले उत्तम श्रेणीको चेलोका रूपमा लिए ।

घर आएका उदयका लागि गाउँमा के थिएन र? डिग्री सकेको छोरो दराजमा सर्टिफिकेट थन्क्याएर हलो जोत्छु भनेर गाउँ फर्किँदा पनि रमाएर स्वागत गर्ने, स्कुल कहिल्यै नपढेका तर प्रोफेसर शर्माजत्तिकै बुद्धिमान् बा-आमा थिए । पौरख गरेर देखाउन खेतबारी थिए । प्रशस्त पाखाहरू, जुनार, सुन्तला, कागती र निबुवाका बोटहरू, परेवा, कुखुरा, खसी, बोका, बाख्रा, गाई-भैँसी र रोप्नु न गोड्नु तैपनि जाँगर चलाए फलिदिने खुर्पानी, काफल र कटुसका बोटहरू, बिनासित्तिमा लहराएर साग र फल बनिदिने स्कुसका लहराहरू! सबथोक गाउँमै थिए । गाउँको ऐश्वर्यले उदयबहादुर फेरि पनि बेसकन रमाए । ‘अलिकति व्यावसायिकता अपनाउँदा पैसो नाथे मनग्गे कमाइन्छ,’ उनको अन्तर्मनले बतायो ।

महाभारतको थाप्लोमै घमाइलो लेकमा रहेको उनको गाउँलाई तराईबाट तन्किँदै आएर जिल्ला सदरमुकाम हुँदै देशको राजधानीसम्म छोटो दूरीमै जोडिदिने ‘लाइफलाइन’का रूपमा रहेको कालोपत्रे सडक भर्खरै सुचारु भइसकेको थियो । सडकको भरपुर उपयोग गरेर आफ्ना उपज जिल्ला सदरमुकाम, तराईका उदयमान सहर र पाँच घण्टामै पुगिने काठमाडौँमा सजिलै पुऱ्याउन सकिने उनले प्रस्ट देखे । अब त उदयले पैसै-जाबो बोटका पात-पातमा, कुखुराका साँप्रामा, स्कुसका लहरामा, खसी-बोकामा, सागसब्जीमा, गाई-भैँसीका थुन-थुनमा, काफल, खुर्पानी, कटुस, जुनार, सुन्तला, कागती र निबुवामा जताततै उडिरहेको देखे । ‘आहा! पैसै-पैसा मात्र! उडिरहेको पैसालाई च्याप्प समाउनचाहिँ सक्नुपर्छ!’ उदयले सन्तोषको सास ताने ।

बा-आमाले घिउ बेचेर, खोरका खसी-बोकाका दाम्लो जिम्मा लाएर, जुनार र सुन्तलाका दाना सदरमुकामलाई चखाएर सङ्ग्रह गरेको पैसाको बलमा उदयले एउटा बोलेरो जिप किने, हाते ट्र्याक्टर लिए । उनी आफैँ जोडतोडले खेतबारीमा पसिनाको सिञ्चन गर्न तम्सिए । बिरुवाहरूले उदयबाट मलिलो पसिना पाएपछि प्रशस्त उपज दिएर पुरस्कृत गरिरहे । पहाड फोडेर सडक बनाउने दशरथ माझीझैँ एकोहोरो कसैको कुरा नसुनी, अनवरत रूपमा उदयले पसिनाको नदी बगाइरहे । उनको मिहिनेत फलिभूत हुँदै गयो । कमाएको पैसालाई थप लगानीमा लगाउँदै गए । बिस्तारै गोठमा थप गाई-भैँसी, उन्नत जातका बाख्रापाठा, कुखुरा र घरपालुवा कालिजका बथान बढ्दै गए । आफ्नो जमिनले नपुगेर अझै तरकारी र फलफूल खेती गर्न प्रशस्त जग्गा भाडामा लिँदै गए । कामदारको अभाव खड्किएपछि ठेकेदारसँग ज्यामी गर्न हिँड्ने १० जना ग्रामीण युवाहरूलाई आवासीय रूपमै खान, लाउन दिएर अनि ठेकेदारले दिने पारिश्रमिकभन्दा अझ बढी दिएर खुसी पारी काम लिँदै गए ।

काकाकुल काठमाडौँ, गम्किएर बसेको सदरमुकाम र गर्मीले आहत तराईका सहर उदयका उपज खान लालायित थिए । उदयले बाच्छा र पाडाले मात्र पिउन पाउने शुद्ध दूध, घिउ, दही, रासायनिक मलको गन्ध नभएका अर्गानिक तरकारी, जुनार, सुन्तला, निबुवा, कागती, खुर्पानी, लोकल कुखुरा र खसी-बोका सारा कुराहरू राम्रै मोल लिएर बेच्न सफल हुँदै गए । दिनानुदिन उनले प्रगतिको फड्को मार्दै गए ।

यस बीचमा लगभग एक दशक चलेको जनयुद्धले धेरथोर प्रभाव पार्‍यो नै, तर पनि उनले कृषि उद्यमशीलताबाट विचलित भएर पलायन नै हुनुचाहिँ परेन ।

देश शान्ति प्रक्रियामा गएसँगै उनको उद्यमशीलता झन्-झन् उचाइमा पुग्यो । उनको कृषिकर्म गर्ने जमिन थपियो, गाडी र ट्र्याक्टरहरू थपिए । गोठमा उन्नत जातका गाई-भैँसी, खोरमा थप बाख्रापाठा, काम गर्ने कामदार— सारा कुरा थपिए ।

स्नातकोत्तर भएर गाउँ फर्कनेबित्तिकै उही बेला नै बा-आमाले उदयको विवाह गरिदिएका थिए । अहिले २०८२ सालसम्म आइपुग्दा उनी जवान भइसकेका तीन छोराछोरीका बाबु र गतिलै आर्थिक हैसियत बनाइसकेका व्यक्तिमा रूपान्तरित भइसकेका थिए । जेठो छोरो त त्रि.वि.बाट एम.एस्सी. भर्खरै सकेर केही समयका लागि पढाइको थकान मार्दै थियो ।

उदयबहादुर बेलाबेला काठमाडौँ गइरहन्थे । त्यहीँ बसेर पढ्ने छोराछोरी भेट्न र व्यापारीहरूसँग आफ्नो उपजको हिसाबकिताब मिलाउन उनलाई काठमाडौँ गइरहनु पर्थ्यो । तराई र सदरमुकामतिरको हिसाब हेर्ने उनको छुट्टै कारिन्दा थियो । यसबेला उनी काठमाडौँ गएका थिए । उनले कालिमाटी र बल्खुतिरका व्यापारीहरूसँग दुई महिनादेखिको लिन बाँकी तरकारी, फलफूल, खसी-बोका र कुखुराको पैसा लिए । गाउँ फर्किँदा लानु पर्ने च्याउको बिउ र बाँकी थुप्रै सामान किनेर दिनहुँ काठमाडौँ आउने आफ्नै बोलेरो जिपमा हालेर घर पठाइदिए ।

आज उदयबहादुरलाई गाउँ फर्कनु थियो, तर हिजो मात्र नाताले दाजु पर्ने हाकिमले लोकल भाले मगाउन फोन गर्दा दिएको जमघटको निम्तोमा जाऊँ कि जस्तो लाग्यो । उनी अलिकति दोधारमा पनि परे । ‘औपचारिकता पूरा गर्न दिइएको जस्तो त्यो निम्तो नमाने पनि हुन्छ कि?’ फेरि सोचे, ‘होइन, जमघट भनिएको छ! केही विशेष कार्यक्रम पो हो कि? कि त खानपिनको पार्टी मात्र हो? होला! हिजो कुखुराको कुरा भएको पनि त थियो । आ! खानपिनवाला पार्टी मात्र रै’छ र खास अरू भेटघाटजस्तो लागेन भने व्रत बसेको छु भन्नुपर्ला र फुत्त उम्केर आउनुपर्ला! होइन! जे भए पनि जान्छु, बरु मौका परेछ भने दाजुसँग एकान्त पारेर लिन बाँकी उपजको पैसाको कुरो पनि चुहाउँछु ।’ आफ्नो पसिनाको उपजको पाई-पाई हिसाब कसैलाई सितिमिति नछाड्ने, हरामको कमाइको सितो पनि नखाने, बरु सहयोगको याचना लिएर आउनेलाई दिल खोलेर सहयोग गर्ने स्वाभिमानी उदय त्यो निम्तो मान्न जाने नै भए ।

माटोसँग खेलेर हातभरि पौरखका ठेला बोकेका उदय काम गर्दाका बखत धुस्रेफुस्रे भए पनि बाहिरफेर हिँड्दा ठाँटिएर हिँड्थे । आइरन लगाइएको दौरा-सुरुवाल, कोट, शिरमा चट्ट छड्के पारेर लगाइएको ढाकाटोपी, खुट्टामा टिलिक्क टल्किने छालाको जुत्ता; उनी साँच्चिकै काजी नै भएर हिँड्थे । उनको बुझाइ थियो, “किसान हुँ भन्दैमा लुम्रेझुम्रे भएर हिँड्नुपर्छ भन्ने छैन! आफ्नो बर्कतले आर्जेको सम्पत्तिले राम्रै लगाएर ठाँटिएर हिँड्ने हो!”

स्वभावअनुसारै आज उनी हाकिमले आयोजना गरेको जमघटमा ठाँटिएरै जाने भए । हिँड्ने बेला फुर्सदमा बसिरहेको जेठो छोरालाई “आइज केटा! आज मसँग हिँड्,” भन्दै ३५० सीसीको रोयल इन्फिल्ड बाइक स्टार्ट गरे । एकैछिनमा छोरो तयार भई बुबाको पछाडि आयो ।

उदयका बाबुछोरा कार्यक्रम भइरहेको हाकिम दाजुको निवासमा पुग्दा लगभग सबै निम्तालु आइसकेका झैँ प्रतीत हुन्थ्यो । उनी पुग्दा घरको आँगनमा खचाखच मानिसहरू देखिन्थे । उदय एउटा कुर्सीमा अदबसँग बसे । छोरोचाहिँ कुर्सीमा नबसी बाबुको नजिक यताउता टहल्दै थियो । कार्यक्रम स्थलमा पुगेको केही क्षणमै उदयले त्यो कार्यक्रम हाकिम दाजु-भाउजूको वैवाहिक वर्षगाँठको उत्सव भएको पत्तो पाए । उनले त्यहाँ धेरैजसो आफ्नै जिल्लातिरका मानिसहरू देखे । सायद हाकिमले आफ्नै जिल्लाका भनेर होला, त्यताका माननीय मात्र नभई मेयरदेखि वडा अध्यक्ष, विभिन्न दलका नेता-कार्यकर्ता र ठेकेदारसमेतलाई बोलाएका रहेछन् । त्यहाँ केही सरकारी अधिकारीहरू, कक्षाकोठामा भन्दा पनि नेताका दैलोमा चाकरी गर्न पुग्ने आफ्नै जिल्लाका अगुवा शिक्षक र प्राध्यापकहरूलाई पनि उदयले देखे । यदाकदा टेलिभिजन र पत्रिकामा देखिने अनुहारहरू पनि त्यहाँ थिए । उदयले त्यो भिडमा ठालु मानिएका थुप्रै मान्छे देखे पनि असल मान्छे धेरै नै कम देखे ।

उनले केही मनैदेखि आदर उब्जाउने थोरै मानिसलाई मात्र आफ्नो शिर निहुराएर नमस्कार गरे । पैसाको बलमा चुनाव जितेका आफ्नै क्षेत्रका विधायक र आफ्नै पालिकाका मेयरलाई उनले आँखा जुध्दा पनि नमस्कार गरेनन्; इग्नोर गरिदिए । बाबुको यो चाला देखेर सँगै गएको छोरोचाहिँ छक्क पर्यो ।

त्यो समारोहमा एउटा हेर्नलायक दृश्य देखिन्थ्यो; सबै मानिस एक-अर्कासँग केही न केही मागिरहेका थिए । कोही ठेक्काको टेन्डर मलाई पारिदिनुपर्यो भन्दै थिए । कोही हात मोलेर फलानो पोस्टमा मलाई नियुक्ति दिनुपर्यो भन्दै थिए । कोही सरुवा माग्दै थिए । कोही आफ्नो दलका लागि चन्दा माग्दै थिए । कोही आसन्न चुनावमा उम्मेदवार बन्न टिकट माग्दै थिए । सबै एक-अर्कासँग जे-जे माग्न सकिन्छ, त्यही-त्यही माग्दै थिए ।

उदयबहादुरको पच्चीस वर्षको लक्का जवान छोरो, लोकमान्य गोदार थापाले मानिसहरूको त्यो भिडमा कसैसँग केही नमागी ठाँटले शिर ठाडो पारेर बसेको र मान्छेको सुगन्ध र दुर्गन्ध पर्गेलेर नमस्कार गर्न सक्ने एकजना मान्छे मात्र देख्यो— आफ्नै पूजनीय किसान पिता उदयबहादुर गोदार थापा । उसले पूज्य पितालाई अपलक हेरिरह्यो । आफ्नो पिता उसलाई सबैभन्दा स्वाभिमानी मान्छे लाग्यो । उसले मनमनै भर्खरै पढ्न सुरु गरेको ‘आएल्ट्स’ (IELTS) को किताब च्यात्यो । उसलाई देशभित्रै स्वावलम्बी बन्न नदिई अमेरिका जान सहयोग गर्ने सबै डकुमेन्ट अन्तर्मनले फ्याँकिदियो । उसले आत्मामै पितालाई शिर झुकाई दण्डवत् गर्‍यो । आफू बाँचेर अरूलाई बचाउने संसारभरिका किसानलाई नमन गर्‍यो ।

भिडलाई एकपटक तिरस्कारपूर्ण नजरले हेर्दै बुबाको नजिक गएर लोकमान्य गोदार थापाले दृढ स्वरमा भन्यो, “बुबा! असारको चटारोमा हामी किसान यसरी बरालिनुहुन्न; खेतमा कति काम बितिसक्यो होला! आजै बाबुछोरा घर जाऔँ, बरु अहिले नै गइहालौँ!”

छोराको प्रस्तावको स्वीकृतिमा उदयबहादुरले मुन्टो हल्लाए र पच्चीस वर्षदेखि हाँस्न बाँकी मीठो हाँसो हाँसे ।


–०००–
बर्दिबास

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन् कथा लीलानाथ गौतम

यो पनि पढ्नुहोस्...

कथा: रमनीया | हाम्रो कथाघर

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

लघुकथा: संस्कार | हाम्रो कथाघर

लघुकथा: शून्य वक्षस्थल | हाम्रो कथाघर

लघुकथा: अन्तिम पत्र | हाम्रो कथाघर

लघुकथा: सन्तुष्टिको बुझाइ | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन् | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: ३१ | हाम्रो कथाघर

कथा: पाठशाला | हाम्रो कथाघर

कथा: अर्की आमा | हाम्रो कथाघर

भर्खरै

कथा: रमनीया | हाम्रो कथाघर

पुस २१, २०८२

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: संस्कार | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: शून्य वक्षस्थल | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: अन्तिम पत्र | हाम्रो कथाघर

पुस २१, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.