Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा: रमनीया | हाम्रो कथाघर

पुस २१, २०८२

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: संस्कार | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: शून्य वक्षस्थल | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: अन्तिम पत्र | हाम्रो कथाघर

पुस २१, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कथा: रमनीया | हाम्रो कथाघर

कथा: रमनीया | हाम्रो कथाघर

आख्यान - कथा
पद्मावती सिंहपद्मावती सिंहपुस २१, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

कथा: रमनीया
कथाकार: पद्मावती सिंह


सोच्दै नसोचेको कुरा अनायास फुत्किन गयो श्वेताको मुखबाट। अब परिणाम के हुने हो—ऊ सङ्कटग्रस्त भई।

रिपोर्टमा स्पष्ट लेखेको छ—ऊ कहिल्यै आमा बन्न सक्दिन भनेर। दोष उसैमा छ, उसको पतिमा होइन। सन्तान भनेपछि हुरुक्क हुने आफ्नो पतिको पोल्टामा एउटा सन्तान हालिदिन नसक्नु जतिको अभिशाप एउटी आइमाईका लागि अरू के हुन सक्छ र?

बिहे हुनुअघि शाश्वत अर्थात् उसका पतिले स्पष्ट भनेका थिए, “विवाह जीवनको आवश्यकता हो भने सन्तान जीवनको प्राप्ति हो।” उनले यसो पनि भनेका थिए, “सन्तान बिना दाम्पत्य जीवन काँडासरी हुन्छ र सन्तानमै जीवनको सार लुकेको हुन्छ।”

श्वेताले कातर दृष्टिले एकपल्ट आफ्ना पतितिर दृष्टि फ्याँकी। उनी निश्चिन्त बनी टेबुलमाथि दुवै खुट्टा पसारेर चुरोट तानिरहेका थिए। झुटको सहारा लिएर भए पनि सन्तान प्राप्तिको क्षणिक सुखको आभास दिन सफल भएकोमा ऊ केही आश्वस्त भई।

तर झुट कतिन्जेल छिप्छ र?

श्वेताको मनले थाम्न सकेन। दुवै आँखाबाट बरर आँसु झारी आफ्नो दाम्पत्य जीवन छताछुल्ल भई जताततै बगेर जाने आशङ्काले भित्रभित्रै काँपी। आँसु लुकाउन ऊ बार्दलीमा उभिन पुगी। सडकमा चलमलाइरहेका सवारी साधनहरू, मान्छेका ताँतीहरू उसका नयनभित्र चलमलाइरहे।

एउटा सम्भावनाले चिहायो—उसको मनाकाशमा। एउटा किरण झिलमिलायो—उसको अवचेतनामा। नत्र त्यस गरिब थरुनीको विचार कसरी प्रस्फुरित भयो एकाएक उसको मनभित्र?

“सम्भावना त छ…।” उसले मनमनै दोहोर्‍याई। उसको कम्प्युटरजस्तो मस्तिष्कमा सुटुक्क एउटा विचारले प्रवेश गर्‍यो। उसको ओठका किनाराहरू खुसीले फाटिए।

“यो अवाञ्छित सोचाइ हो,” ऊ अन्यमनस्क भई।

परिस्थितिवश मान्छेले अनेक अवाञ्छित कुराहरू सोच्नुपर्दोरहेछ। श्वेतालाई अब अरू कुनै कुरा सोच्न मन लागेन। सोच्दासोच्दै भारी भएर आएको मनलाई सम्हाल्न उसले बार्दलीको रेलिङमा टाउको अड्याई। नियतिसित सम्झौता गर्नुबाहेक अब अर्को विकल्प नै के रह्यो र…?

“सुनिस्योस् त…” उसले आफूतिर पतिको ध्यान आकर्षण गर्दै भनी।

“दिज्यूले भनिस्या थियो नि… याद छ हजुरलाई? एउटी तरुनी थरुनी छ भनेर। मेरो रेखदेख गर्न झिकाउनुपर्‍यो कि? डाक्टरले कम्प्लिट रेस्ट लिनुपर्छ तीन महिनासम्म भनेर भनेका छन्।”

“हो त नि…। झिकाइहाल तुरुन्त।” शाश्वत यस्तो खुसीको मुडमा थिए कि आफ्नी गर्भवती पत्नीका लागि जे गर्न पनि उनी तत्पर देखिन्थे।

“दुई/तीन महिना दिज्यूकहाँ जाने हो कि?” शाश्वतले भने।

“हुन्न, हजुरलाई छाडेर एक्लै कहाँ जाने? फेरि तीन महिनासम्म यात्रा गर्न हुन्न भनेर हजुरलाई थाहा छैन?”

“ठीक छ। उसोभए तुरुन्त फोन गरिहाल। म हिँडे है त,” भनेर उनी सुरुक्क कोठाबाट निस्के।

शाश्वतले सहमति जनाएकोले श्वेता केही क्षण ढुक्क भई। तर पीडाको लहरले उसको अन्तःस्करण भिजाउन छाडेन। एक साता नपुग्दै एउटी सत्रवर्षीया थरुनीले घरमा प्रवेश गरी। नाम हो उसको—रमनीया। एउटी ग्रामीण बाला पनि त्यस्ती रूपवती हुन सक्छे, श्वेता मनमनै निकै खुसी भई।

श्वेताले अब एउटा योजना जन्माई। आफ्नो वरिपरि एउटा भ्रमको जालो बुनेर दिनपरदिन ऊ त्यसभित्र गुजुल्टिन थाली। भ्रमको जालोभित्र गुजुल्टिन उसले आफ्नो सम्पूर्ण बुद्धिमत्ता आफ्नो पराजय लुकाउन प्रयोग गर्न थाली। गणितीय जोड-घटाउको चौरसमा उसले आफ्नो जीवनलाई दाउमा थापी।

“तिम्रो नाम के हो?”

“रमनीया।”

“रमनीया, म बिरामी छु। मालिकको स्याहारसुसार र हेरविचारका लागि मैले तिमीलाई झिकाएकी। तिमीले घरको कामधन्दा गरी मालिकको राम्ररी सुसार गर्नुपर्छ है।”

“हवस्।”

“तिम्रो बिहे भइसक्यो?”

“बिहे त भयो तर गौना भएको छैन। मेरो ससुरा साह्रै लालची छ। सुनको सिक्री मेरो मरदलाई र औँठी ससुरालाई दिएपछि मात्र मेरो गौनाको दिन तोक्छु भन्छ। मेरो बाबु धेरै गरिब छ, सुनको सिक्री र औँठी कहाँबाट जुगाड गर्छ?” रमनीयाले अँध्यारो मुख लगाउँछे।

“तिमीलाई तिम्रो लोग्ने मन परेको छ?”

“मालकिन, मेरो मरद धेरै राम्रो छ। ऊ मलाई धेरै प्यार गर्छ। ऊ धेरै धनी छ। उसको पक्की घर छ, छ वटा भैँसी, चार वटा गाई र दुई जोडी हल छन्।”

“उसले तिमीलाई कसरी मन परायो?”

“मेरो मरदले मलाई मेलामा देख्यो। अनि उसले ससुरालाई भन्यो कि मसित बिहे नगरिदिए ऊ परदेश भाग्छ भनेर। त्यसपछि त मेरो ससुरालाई हाम्रो विवाह गरिदिनैपर्‍यो। कुरा यस्तो छ हजुर…।”

“ठीक छ रमनीया—मैले भनेको मान्यौ भने तिम्रो गौना छिट्टै गरिदिन्छु। तिम्रो गौना गरिदिने जिम्मा मेरो भयो।”

“अनि सुनको सिक्री र औँठी कहाँबाट आउँछ?”

“त्यो सब म दिउँला, तर मैले भनेको कुरा माने मात्र नि…।” श्वेताको आँखाभित्र उसको योजना चलमलायो।

“रमनीया जाऊ, मालिकको गोडा मिचिदेऊ। मालिक बाहिर धेरै काम गरेर थाकेर आइसिन्छ। म बिरामी छु, नत्र मै मिचिदिन्थेँ।”

“पराई मरदको गोडा छुन मलाई लाज लाग्छ मालकिन,” रमनीयाले अस्वीकार जनाई।

“मालिक त बाबुजस्तै हुन्छन्। बाबुको गोडा छुन केको लाज? तिमीले तिम्रो बाबुको गोडा छुन्नौ?”

रमनीया नाजवाफ भई।

भोलिपल्टै श्वेताले रमनीयालाई फकाई-फुल्याई शाश्वतको कोठामा गोडा मिच्न पठाई।

“यो के वाहियात हो?” शाश्वत जङ्गिए—रमनीया कोठाभित्र प्रवेश गर्नेबित्तिकै।

“मैले स्वविवेकले पठाएकी,” श्वेताले प्रतिवाद गर्दै भनी, “केही महिनाको कुरा त हो नि श्रीमान् जी। स्वस्थ भइसकेपछि म आफैँ हाजिर हुनेछु हजुरको सुसार गर्न।”

“श्वेता, तिमीलाई सञ्चो त छ? कुनै विवेकशील आइमाईले यस्तो नकाम गर्दैन।”

श्वेताले केवल एउटा मीठो मुस्कान छोडी, मुस्कानको साङ्केतिक अर्थ उनले राम्ररी बुझे। पत्नीको ‘ग्रिन लाइट’ को सिग्नलले शाश्वत पर्नुसम्म छक्क परे।

“कतै दिमाग त खुस्केन?” श्वेताको चर्तिकला बुझ्न नसकी तीनछक परेर क्यारक्वार्ती हेर्‍याहेर्‍यै भए।

“शायद तिमी मेरो अग्निपरीक्षा लिन खोज्दैछ्यौ। मेरा पनि आफ्ना मान्यताहरू छन् बुझ्यौ?” शाश्वतले आफ्नो सच्चरित्रताको वकालत गर्दै खुट्टा बजार्दै कोठाभित्र पसे।

“हेरौँला कतिन्जेलसम्म…।” श्वेता मनमनै हाँसी, “हरियो घाँस देखेपछि के गोरु चर्दैन?”

शाश्वतले तीन महिनाको लागि परहेज गर्न आफ्नो ओछ्यान पल्लो कोठामा सारे। शाश्वतको कोठा बढारकुढार गर्न, उसको आवश्यक सरसामानहरूको तहबह लगाउन रमनीया अब निर्धक्क उनको कोठामा ओहरदोहर गर्न थाली। श्वेताले ठ्याम्मै चहलपहल नगरी बेडरेस्ट लिएपछि रमनीयामाथि भर नपरी अरू कुनै विकल्प नै रहेन।

एक रातको कुरो। पूर्वयोजना अनुरूप श्वेता माइत गई नफर्किने गरी। माइतबाट आफू सञ्चो नभएर घर नफर्किने सूचना प्रेषित गरी शाश्वतको अफिसमा।

राति सधैँ झैँ दूध लिएर रमनीया मालिकको कोठामा पसी। दूध पलङको टेबुलमा राखेर ऊ फरक्क फर्की। मालिक्नी नभएकोले उसलाई कताकता असजिलो अनुभव भइरहेको थियो—मालिकको कोठामा पस्न पनि।

“किन फर्केकी? आऊ भित्र…।” मालिकको आदेश होइन, अनुरोध मुछिएको आवाज सुनेर रमनीया टक्क अडिई।

“खै, त्यो सिगरेट प्याकेट ल्याऊ त…।” मालिकले आदेश दिएपछि रमनीया पुनः कोठाभित्र पसी। कुनाको टेबुलबाट चुरोटको प्याकेट उठाई मालिकलाई दिई।

“तिमी पनि पिउँछ्यौ?”

अस्वीकृतिमा रमनीयाले टाउको हल्लाई। चुरोट पिउँदै रमनीयातिर लोलुप आँखाले हेर्दै शाश्वत केही बेर विचारमग्न भइरहे। मालिकको लोभी दृष्टिले आफ्नो सर्वाङ्ग सुम्सुम्याएको चाल पाएर रमनीया मनमनै रिसाई।

“मेरो गोडा नमिच्ने?” मालिकको जिस्किएको हाउभाउ देखेर रमनीया मनमनै झसङ्ग भई।

“छिः मालिक भएर किन यस्तो पात्तिएको?” मनमनै रिसाई।

एक त घरमा पत्नीको अनुपस्थिति त्यसमाथि एउटी यौवनले ढककक्क फुलेकी बैँसालु युवतीको उपस्थिति। शाश्वतको मनमा आँधीबेरी चल्न थाल्यो। रमनीयाको कुमारी बैँसबाट निस्केको मोहक गन्धले मान्यताको पर्खाल नाघ्न थाल्यो। शाश्वतले बिर्सिए आफ्ना आदर्शता र सच्चरित्रताका कुराहरू। उसभित्रको आदिम पुरुषले एउटी आदिम नारीलाई भोग्न तत्परता देखायो।

“रमनीया, लेऊ यो तिमीलाई नै…।” आफ्नो गलामा लगाएको सिक्री फुकालेर रमनीयालाई लोभ्याए।

“सुनको ! बाफ रे… मेरो लागि हो मालिक?” रमनीयाका आँखा खुसीले चम्किए।

“लेऊ यो औँठी पनि…। तिम्रो ससुराले तिम्रो गौनामा सुनको सिक्री र औँठी मागेको छ होइन र?”

“हो मालिक, सुनको सिक्री र औँठी दिएपछि मेरो गौना होइजान्छ,” रमनीयाले पुलकित हुँदै भनी।

“लेऊ न त, राख सिक्री र औँठी,” शाश्वतले रमनीयातिर हात लम्काए। त्यसपछि जसै रमनीयाले मालिकको हातबाट सुनको सिक्री र औँठी लिन खोजी, मालिकले रमनीयालाई ओछ्यानमा तानिहाले।

“मालिक… ककक…।” रमनीयाको क्रन्दन त्यस कोठाको भित्तामा धेरै बेरसम्म ठक्कर खाइरह्यो।

त्यसपछि त्यस कोठामा के–कस्ता घटनाहरू/दुर्घटनाहरू घटे, भनिरहनुपर्छ र पाठकवृन्द !!

मालिकको ओछ्यानमा सिक्री र औँठीहरू रिसले पर हुत्याएर रमनीयाले मालिकको अनुहार घृणाले हेरी। आफ्नो अक्षत यौवन एक लुटेराबाट लुटिएको पीडाले मर्माहत भई रुँदै खोच्याउँदै मालिकको कोठाबाट बाहिरिई।

भोलिपल्ट श्वेताले बिरालाको चालले घरको वातावरणलाई सुँघ्दै घरभित्र प्रवेश गरी। शाश्वत अफिस गइसकेका रहेछन् भने रमनीया भान्छाको एक कुनामा आफ्नो पतिलाई सम्झेर टोलाइरहेकी रहिछ।

मालिक्नीलाई देख्नासाथ रमनीया जुरुक्क उठी, गोडामा छाद हालेर रोई।

“के भो रमनीया?” स्नेहिल स्वरमा उसले सोधी।

उसको बक फुटेन, केवल अश्रुधारा बगिरह्यो आँखाबाट। श्वेताले परिस्थितिबाट जन्मिएको यथास्थिति बुझिहाली। विषयान्तर गर्दै त्यस अन्योलको स्थितिबाट मुक्त हुन उसले भनी, “हेर त रमनीया, एउटा राम्रो सारी ल्याइदिएको छु तिम्रो गौनाको निम्ति।”

रुन छोडी फूलबुट्टे रातो सारीलाई धीत नमरुन्जेल हेरिरही रमनीयाले अश्रुपूर्ण नजरले। उसको आँसु केही दिनको निरन्तर बगाइपछि आफैँ सुक्यो।

अर्को महिना श्वेताको योजनाले साकार रूप लियो। अर्थात् रमनीया गर्भवती भई।

रमनीया गर्भवती भएपछि श्वेताको स्थिति विचित्रको भयो। उसलाई रोऊँ कि हाँसू—हाँसूँ कि रोऊँ जस्तो भइरह्यो। आफूले बुनेको जालोभित्र आफैँ ऊ धेरै बेर छटपटाइरही।

आफूबाटै सिर्जित यस महासङ्कटको परिस्थितिबाट अब कसरी मुक्त हुने?

आफ्नो दाम्पत्य जीवनलाई भत्किनबाट बचाउनका लागि उसले जुन असोचनीय भूमिकाको निर्वाह गरी, त्यस भूमिकाभित्र बाँच्न अब सम्भव भएन उसलाई। त्यसपछि उसका आँखाहरू बर्सिन थाले। आफूले निम्त्याएको समस्याको समाधान आफैँबाट हुनुपर्ने चेतनाबाट प्रेरित भई तत्कालै समस्या समाधानको एउटा गतिलो उपाय पत्तो लगाई।

दुई आइमाईहरू एउटी मालिक्नी र अर्की नोकर्नीका बीच त्यस रात धेरै बेरसम्म साउती चलिरह्यो। दुवैले विवश भएर एउटा मौन सम्झौतामा हस्ताक्षर गरे। त्यो सम्झौता दुवैको हितमा थियो। पाँच महिना नाघ्नासाथ दुवै बैङ्ककतिर प्रस्थान गरे—प्रसवका लागि। बैङ्ककमा श्वेताकी बहिनी गीताले सुरक्षित प्रसवका लागि आवश्यक बन्दोबस्त गरिदिई। महिना पुगेपछि एउटा छोरालाई जन्म दिई रमनीयाले आफ्नो कोखबाट।

नवजात शिशुलाई काखमा राखी श्वेता हुनुसम्म गद्गद् भई। आफ्नो जिम्मेवारीबाट मुक्त भएकोमा ऊ हुनुसम्म प्रफुल्ल भई। यतिखेर उसको मनमा महाभारतको कथाको पुनरावृत्ति भयो।

अम्बा र अम्बालिकाले सन्तानका लागि परपुरुष गमन गरेका थिए। उसले परिस्थिति र आफ्नो बुद्धि र विवेकलाई प्रयोग गरी सन्तान प्राप्त गरी। अम्बा र अम्बालिकाबाट जन्मेका सन्तानहरूबाट भरतवंशको रक्षा भएको थियो भने रमनीयाको कोखबाट जन्मिएको सन्तानबाट उसको स्त्रीत्वको रक्षा भएको छ।

यस्तै तर्कहरू मनमा खेलाई श्वेताले सकेसम्म आफूभित्र अग्लिँदै गएको अपराधबोधको पर्खाललाई उत्तिखेरै भत्काइदिई।

केही दिनपछि छोरालाई काखमा राखी श्वेता बैङ्ककबाट काठमाडौँ फर्की। सम्झौताअनुसार केही सुनका गहनाहरू, राम्रा लुगाहरू र गौना गर्न मनग्य पुग्ने धनराशि दिएर रमनीयालाई बिदा गरी। ऊ पनि खुसी-खुसी बिदा भई तर एउटा नमिठो घाउलाई मुटुभित्र खोपेर।

जानुभन्दा पहिले रमनीयाले अश्रुपूर्ण नजरले मालिकको काखमा निदाइरहेको शिशुलाई हेर्दै रमनीया चुपचाप त्यहाँबाट प्रस्थान गरी।

ऊ गएपछि श्वेता ढुक्क भई। उसले आफूलाई दिग्विजयी भएकी ठानी। आफ्नो योजनाको सफल कार्यान्वयनमा ऊ हुनुसम्म मख्ख परी।

“यदि म बाँझी भएकी भए हजुरले के गरिबक्सन्थ्यो?” श्वेताले अचानक प्रश्न गरी। “कस्तो अप्रासङ्गिक प्रश्न?”

“सन्तानको प्राप्तिमा मात्रै दुई शरीरको संसर्ग सफलीभूत हुन्छ। सन्तानविना दाम्पत्य जीवन केवल एउटा खाली पानाजस्तै हुन्छ। जसमा न कुनै रङ्ग हुन्छ न चित्रहरू नै। जिन्दगीको चार्म नै खत्तम हुन्छ यदि सन्तान प्राप्ति भएन भने। कर्कलाको पातमा पानी नअडिएझैँ पति र पत्नीबीच प्रेम पोखिएर रित्तिँदै जान्छ।”

शाश्वत अर्थात् आफ्नो पतिको विचार सुनेर श्वेताको सर्वाङ्ग ढक्क फुल्यो।

“त्यसै, बेलैमा बुद्धि पुर्‍याएछु नत्र बिताउने रहेछन् यिनले…।” मनमनै आफ्नो विवेकलाई आफैँले सराहना गरी।

त्यसपछि उसले सोची—एउटी अबोध स्त्रीको गर्भको क्रय-विक्रय गरी उसको स्त्रीत्वको अपमान गरे पनि आफूले स्त्रीत्वको रक्षा गरी गृहस्थीलाई बचाई समाजमा आफ्नो मान्यता स्थापना गरेको र स्त्रीको कर्तव्यलाई पूरा गरेको ठानी मनमनै सन्तोष मानी।

उसले सोची र सोचिनै रही।

“आफू मरेपछि आफ्नो कुलको रक्षा गर्ने एक कुलको दीपलाई जन्म दिई आफ्नो वंश थाम्ने संस्कारलाई मैले कायम राखेँ। त्यसैले मैले जे गरेँ ठीकै गरेँ। आफू भलो त जगत् भलो…। मान्छेको सोचाइ यस्तै स्वार्थमा अनुवाद भइरहेका छन् भने म मात्र अपवाद कहाँ हुन सक्छु र…।” यस्तै तर्कहरू मनमा खेलाई श्वेताले आफूभित्रको अपराधबोधमाथि विजय हासिल गरी।

ठीक चार वर्षपछि एकाएक रमनीयालाई आफ्नो सामु पाएर श्वेता आकाशबाट पृथ्वीमा झरी, उसको होसहवासै उड्यो।

“मालकिन, चार वर्षसम्म बच्चा नपाएकीले मेरो मरदले मलाई बाँझी भनी घरबाट निकालिदियो। उसले अर्कै स्वास्नी भित्र्याइसक्यो। त्यसैले हजुरको शरणमा आएकी छु—सदाका लागि। हजुरको सेवा गरी जीवन काटौँला भनी।”

रमनीया दुःख र पीडाको प्रतिमूर्ति बनी धुरुधुरु रुन थाली।

रमनीयाको पीडाजनक कुराबाट प्रखर पीडाको अनुभूति भए पनि आकाशको सारा शून्यता आफूभित्र समाहित भएझैँ उसको मन महाशून्यमा बिलाउँदै गएको उसलाई भान भयो।

उसको कुशाग्र बुद्धिले भविष्यमा आउन सक्ने यस्तो आकस्मिकताको कल्पनासमेत नगरेको, तर मुख बाएर यतिखेर खडा भएको महासङ्कटको सामना कसरी गर्ने?

श्वेता भित्रभित्रै आत्तिई। श्वेता भित्रभित्रै छटपटाउन थाली।

रमनीयाको फुङ्ग उडेको व्यथित अनुहार, तिर्खाएका आँखाहरू र त्यसभित्र छचल्किएको मातृत्वले आफ्नो विजय एकाएक पराजयमा परिणत भएको यथार्थबाट ऊ त्रस्त भई।

रमनीयाले कुनै कुटिल चाल त खेलिरहेकी छैन? हुन सक्छ—रमनलाई उसबाट हत्याउने एउटा कुटिल योजना बोकेर उसको प्रत्यागमन भएको छ।

श्वेताको आँखा अगाडि अब कुनै पनि बेला आफ्नो आजसम्म जोगाइराखेको अस्तित्व छताछुल्ल भई यत्रतत्र छरिने सम्भावना दृष्टिगोचर भयो।

अचानक सिर्जित यस प्रतिकूल परिस्थितिसित तादाम्य कायम गर्न नसकी श्वेता किंकर्तव्यविमूढ स्थितिमा टोलाइरही। उता रमनीया टोलाएर निर्निमेष हेरिरहेकी थिई—पर चउरमा खेलिरहेको धुतुमुने बालकलाई, मातृत्वले अभिप्रोत भएको दृष्टि फ्याँकी।

उसले देखी रमनीया दुवै हात फैलाई चउरतिर लम्किरहेकी। उसलाई त्यसरी रमनतिर दौडिरहेको देखेर श्वेता हल न चल बनी जमिरही, हिमशिलाझैँ भत्किएका दृष्टिहरूलाई टाढा-टाढा आकाशतिर ओसारी। उसले सोची जीवन र जगत्‌बारे कुनै पनि बेला घट्न सक्ने घटना वा दुर्घटनाको लेखाजोखा कसले गर्न सक्छ र…?

उसलाई लाग्यो एउटा अदृश्य सूत्र उससम्म आइपुगेको छ, जसमा सबकुरा गुजुल्टो परेको छ र सम्पूर्ण जीवन अल्झिएको छ।


–०००–
काठमाडौँ

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा पद्मावती सिंह रमनीया

यो पनि पढ्नुहोस्...

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

लघुकथा: संस्कार | हाम्रो कथाघर

लघुकथा: शून्य वक्षस्थल | हाम्रो कथाघर

लघुकथा: अन्तिम पत्र | हाम्रो कथाघर

लघुकथा: सन्तुष्टिको बुझाइ | हाम्रो कथाघर

लघुकथा: अदृश्य शक्ति | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन् | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: ३१ | हाम्रो कथाघर

कथा: पाठशाला | हाम्रो कथाघर

कथा: अर्की आमा | हाम्रो कथाघर

भर्खरै

कथा: रमनीया | हाम्रो कथाघर

पुस २१, २०८२

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: संस्कार | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: शून्य वक्षस्थल | हाम्रो कथाघर

पुस २१, २०८२

लघुकथा: अन्तिम पत्र | हाम्रो कथाघर

पुस २१, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.