कविता: कहिल्यै नजन्मेकाहरू
कवि: सुरेश राई
जन्मदिन
कहिल्यै सार्वजनिक नगर्ने
दुई अनाम प्रेमी-प्रेमिका,
आफ्ना जन्मदिनमा
गुपचुप गुपचुप
एक-अर्कालाई शुभकामना दिँदै आए ।
देश छाडेर परदेश उडेपछि
प्रेमीले— व्यस्त परिस्थितिहरूले
बिस्तारै बिस्तारै
प्रेमिकाको जन्मदिन भुल्दै गयो
र शुभकामनाहरू पनि छुट्दै गए ।
जीवनको अर्को मोडमा
फेरि प्रेमिकाले पनि
सात समुद्रपार तरेपछि,
व्यस्तता र परिस्थितिहरूमा
प्रेमीको जन्मदिन भुल्दै भुल्दै गइन्
र शुभकामनाहरू छुट्दै छुट्दै गए ।
यसरी एक दिन यस्तो आयो,
उनीहरूका जन्मदिनहरू
एक-अर्काका मानसपटलमा
सम्पूर्ण रूपले विस्मृत भए ।
हो,
उनीहरूबीचको प्रेम उस्तै रह्यो
सम्बन्ध सधैँ सुमधुर रह्यो
सबथोक उस्तै-उस्तै रह्यो;
यद्यपि क्रूर समयले
जिन्दगीको ठूलो हिस्सा चपाइसक्दा पनि
उनीहरूको जन्मदिन फर्कन सकेन ।
त्यस उप्रान्त उनीहरू
फेरि कहिल्यै जन्मिएनन् ।
खोटाङ


