कवि : भूमिका गैरे तिमिल्सिना
ऊ क्रान्तिको अर्थ भन्छ—
भाषणमा क्रान्ति, दङ्गाफसादमा,
मासमा क्रान्ति, नारा-जुलुसमा,
कोणसभामा क्रान्ति, युद्धमा,
द्वन्द्वमा क्रान्ति, सडकमा,
प्रतिस्पर्धामा क्रान्ति, विद्रोहमा ।
ऊ
केवल दोहोर्याइरहन्छ,
केवल दोहोर्याइरहन्छ ।
म भन्छु—
हिमालको अटलतामा छ क्रान्ति,
र त शान्त रहन्छ !
पहाड अनि चट्टानमा छ क्रान्ति,
अडिग रहन्छ !
नदीमा छ क्रान्ति,
निरन्तर आफ्नो गति पछ्याइरहन्छ ।
झरनामा छ क्रान्ति,
सुस्साएर लगातार झरिरहन्छ ।
हावामा छ क्रान्ति,
मान्छे चलायमान छ ।
जमिनमा छ क्रान्ति,
फसल उत्पादन भइरहन्छ ।
आकाशमा छ क्रान्ति,
घामपानी वर्षिरहन्छ ।
बुवाको जिम्मेवारीमा छ क्रान्ति,
आमाको संस्कारमा ।
वृद्धको वैशाखीमा छ क्रान्ति,
युवाको जोसमा ।
बालकको तोते बोलीमा छ क्रान्ति,
दौँतरीको साथमा ।
दिदीको सामीप्यतामा छ क्रान्ति,
अटुट नातामा ।
सहनशीलतामा छ क्रान्ति,
सम्बन्धमा ।
विधवाको सेतो पहिरनमा छ क्रान्ति,
उसको सङ्घर्षमा ।
कविको विचारमा छ क्रान्ति,
बुलन्द आवाजमा ।
दुरदराजका गाउँमा छ क्रान्ति,
बेसहाराको आशमा ।
किसानको दश नङ्ग्रामा छ क्रान्ति,
गरिबको छाकमा ।
परिवारको बिछोडमा छ क्रान्ति,
फर्कने आशमा ।
आवाजविहीनका आवाजमा छ क्रान्ति,
उसको मौनतामा ।
अशक्तको पीडामा छ क्रान्ति,
उसको छट्पटीमा ।
लुप्त छन्, केवल लुप्त ।
के गर्छौ घमण्डको कुरा ?
धनको यदि घमण्ड हो भने
मृत्युशय्याबाट फर्काउन सक !
जवानीको यदि घमण्ड हो भने
बालापन बचाउन सक !
रूपको यदि घमण्ड हो भने
बुढ्यौली लुकाउन सक !
शासनको यदि घमण्ड हो भने
निलम्बन विश्वास टिकाउन सक !
बलको यदि घमण्ड हो भने
बुद्धिमत्ता जित्न सक !
म भनिरहन्छु, केवल भनिरहन्छु ।
कविको ठेगाना : गैंडाकोट ४, नवलपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



