कवि: नवीनबन्धु पहाडी
मनका कोलाजहरूमा सूचना टाँसेर
प्रसारित गरिरहेको छु विज्ञापन,
जहाँ एउटा मानिस हराएको छ—
त्यो म आफैँ पनि हुनसक्छु !
कतै फेला पार्नै सकिनँ आफैँलाई,
हराएर आफैँबाट आफू
हैरान छु खोज्दाखोज्दै,
के तपाईँले देख्नुभयो ?
हिँड्दाहिँड्दै राजधानीका गल्लीहरूमा
अथवा हुनसक्छ—
कुनै नदीको जँघार तर्दातर्दै,
वा सेमिनार र बैठकका विमर्शहरूमा म हराएँ ।
पेट्रोलको लाइनमा लामबद्ध हुँदाहुँदै,
नभए पासपोर्टको भीडमा
रुमल्लिँदा-रुमल्लिँदै म हराएँ ।
हराएँ—
अथवा हुनसक्छ,
मेरो बहुमूल्य वस्तु गुमाएँ ।
टाउको साटियो कि मन ?
भन्न सक्दिनँ,
तर म हराएको भने साँचो हो ।
भन्नुहोला—
बहुलायो, मगज सडकियो !
तर मलाई पूरा सचेतना छ—
मैले केही गुमाएँ ।
हुन त केही थिएन मेरो टाउकारूपी सन्दुकभित्र,
विद्यालय-महाविद्यालयले रेकर्ड गराएका
केही सूचना र तिनका सूची,
बन्दकी दिएका केहीथान प्रमाणपत्र,
अनि तिनलाई बुझाएपछि पाइने
‘इमानदार चरित्र प्रमाणपत्र’ !
त्यही त थियो जीवनको सातुसामल,
अब त्यो हराएको सूचना कहाँ दिनु ?
तब म हराएँ कि मेरो टाउको ?
प्रश्न आफैँभित्र उरुङखात छ ।
मेरो सूचना र मेरो प्रमाणपत्र मेरै साथ नभएपछि,
मेरो टाउको भित्रभित्रै साटिएको हुनसक्छ
किंवा बन्दकी परेको छ ।
मलाई मेरै टाउको चाहिन्छ,
मेरै मन चाहिन्छ ।
नदीले बगाएर सीमापार पुर्यायो कि ?
नभए फाइलका बिटाहरूमा अल्झाएर
फाँटका कर्मचारीले लुकाए कि ?
रगतले लथपत मेरो मुटु—
कुनै मठाधीश, पादरी
वा मौलवीको मोलमोलाइमा
खरिद-बिक्री भयो कि ?
हराएपछि
आफैँभित्र प्रश्नका चाँग छन् ।
यौवनका मस्त यामहरूमा
नवयौवनाको मार्क्सवादी रापताप,
प्रजातन्त्रका गुलाबी रहरहरू—
के म अल्झिएँ तिनका प्रेमिल पछ्यौरीहरूमा ?
ढल्किँदो जीवनको यो घामछायामा आएर
आज म पूरा होसमा छु,
फर्किएको छु आफैँतिर
र आफ्नै अनुहार हेर्न सक्ने भएको छु ।
देखिरहेको छु—
मेरो टाउकोमा भरिएका छन्
अनेक दर्शनका सुन्दरी गानहरू,
मेरो अनुहारमा चुम्बन गरेका आदर्शका
उर्वशी-फलाकोबाट म व्यथित छु ।
थकित छु, क्लान्त छु
र हैरान छु तिनीहरूदेखि !
अहिले म खोजिरहेको छु आफैँभित्र—
मेरै सक्कली अनुहार ।
मलाई आफ्नै टाउको चाहिएको छ,
आफ्नै शरीर र मन,
जहाँ बाँकी हुन्—
इमान, रहर र
चरित्रका केही थोत्रा अवशेषहरू !
अक्षर आवास, धादिङ


