भूमिका गैरे तिमिल्सीनाका
१० लघुकथा
१. लघुकथा: समय
ऊ र मबिच रस्साकस्सी चल्यो । ऊ चर्को आवाज गर्छ ।
ऊ भन्छ, “पावर ठुलो ।”
म भन्छु, “समय !”
ऊ होच्याउँछ, “काँचाकलिला नबुझी धेरै जान्ने हुने !”
फेरि चिच्याएर आवाज दबाउन खोज्छ अनि औँला नचाउँदै बोल्छ, “चुप ! केवल चुप !”
म शान्त मनले सोच्छु, “हावाले भरिएको बेलुन र घमण्डले भरिएको मान्छे कतिखेर फुट्छ, थाहा छैन ?”
मेरो मौनता उसलाई खपिनसक्नु हुन्छ, जुरुक्क उठेर आगो हुँदै बोल्छ, “निरीह केवल निरीह !”
ऊ पैसाको राजनीति गर्छ, म विवेकको ।
ऊ कुरा मोड्छ र भन्छ, “म ठुलो, हैकमवादी, शासक हुँ, बुझिस् ।”
म हल्का मुस्कानले मौनता साँध्छु ।
ऊ अनेक प्रसङ्ग जोड्छ, आफूलाई महान् साबित गर्न पछि पर्दैन । ऊ भन्छ, “खान्दान खान्दान, सत्ता सत्ता !”
उसको अनुहार पुलुक्क हेर्छु अहङ्कारले भरिएको र सोच्छु, “खोइ मनन गरेको ? मान्छेको सबैभन्दा ठुलो शत्रु रोग हो, कतिखेर आउँछ थाहा छैन, तर जतिखेर आउँछ तहसनहस पार्छ ।”
ऊ आवाज बुलन्द पार्छ, “जित जित केवल मेरो, सधैँ मेरो हुनुपर्छ !”
म चकित हुँदै पुनः दोहोर्याउँदै औँल्याउँछु, “समयले परिवर्तन चाहन्छ, न त रोकेर रोकिन्छ, न छेकेर छेकिन्छ, ऊ बलवान् छ ।”
२. लघुकथा: झटारो
विवादले विवाद निम्त्याउँछ ।
बजेट भाषण भयो, मान्छेका सन्तुष्टि-असन्तुष्टिका छुट्टै चाङ छन् । कसैलाई यही भाषण फलिफाप भयो त कसैलाई पुर्पुरोमा हात भनेझैँ भयो । व्यर्थैको टीकाटिप्पणीको ओइरो मात्रै, सबैको आक्रोश पोख्ने ठाउँ चाहिँ धन्न यही सञ्जाल रहेछ, नत्र के गर्थे होलान् ?
पहिलोले मजाक गर्दै बोल्यो, “डायरीमा लेख्थे कि !” उसले सम्भावना दर्सायो ।
चिया पसलमा गफ्फिएका छन् । सबैले आ-आफ्ना विचार राखेका छन् । घरी खित्का छाडेर हाँस्यो त घरी गम्भीर देखिन्छन् । तर्क देश, काल, परिस्थिति अनुरूप नै चलेको देखिन्छ ।
दोस्रो फिस्स हाँस्यो, कर्के नजर जुधाउँदै बोल्यो, “लाजको पसारो, जसको सरकार बने पनि संसद् भवन त बाँदर नाच्ने चौतारो भएछ । माइक नपाएरै हो त, त्यो हानाहान ?”
पहिलोले पुलुक्क हेर्यो, चियाको सुर्की लियो, ङिच्च दाँत देखायो अनि सोचेर तर्क राख्यो, “नपाउन्जेल कस्तो, पाएपछि सस्तो भनेको यही हो । त्यो भागदौड, चुनावको जित, दुई तिहाइको सरकार के भएका हुन् ? केटाकेटी पारा !”
दोस्रोले सहमति जनायो, छड्के हान्यो, “घरी नबोलेरै हैरान त घरी किन बोल्या होला भन्नुपर्ने ? अचम्म !” ऊ झिझियो ।
सबै सुनिरहेको तेस्रोले सौम्य भाव देखायो । मौनतामा शक्ति हुन्छ, शान्त रहेको मान्छे एक्कासि किन यसरी बोल्यो त ? उसले गहन हुँदै तर्क राख्यो, “राजनीति भनेको छोरी तर्साएर बुहारी तह लगाउने कला हो, कुरा एकातिर निशाना अर्कोतिर, भो झटारो नहान त ?”
एकाएक सन्नाटा छायो ।
३. लघुकथा: मुखौटो
“बजारमा किन्न पाइन्छ र ?” विकलले अञ्जान स्वरमा सोध्यो ।
उसको आवाज गह्रौँ थियो । अनुहार थकित देखिन्थ्यो, उसको मुहार पढ्ने कोसिस गरेँ । केही पीडा दबिएको जस्तो लाग्यो र ठट्यौली पाराले सोधेँ, “के किन्न पाइन्छ भनेको ?”
उसले परिवेश नियाल्दै बोल्यो । केही विरक्तिएको लवजमा विश्वासका कुरा गर्यो, “मान्छे पहिलाका जस्ता सरल छैनन् अचेल, किन हो ? बोली अनि व्यवहारमा पार्थक्य छ, बाहिरी आवरण अनि भित्री रूप !”
म अचम्मित भएँ, प्रसङ्ग कोट्याउन खोजेँ । उसको विश्वास गुमेको महसुस गरेँ अनि लामो सास लिँदै सोधेँ, “के भयो ?”
उसले सुस्केरा हाल्दै भन्यो, रामशरणलाई औँल्यायो र बोल्यो, “समाजमा जल्दाबल्दा देखिन्थे, उनैको समर्थन गरेर हिँडियो तर आफूलाई पर्दा आज टाउको लुकाए । चिल्लो मुखको धमिलो पेट भन्थे, हो रहेछ ।” उसले खिन्नता जनायो ।
“के गरे ?” मैले उत्सुकता देखाएर सोधेँ ।
“प्रशासनिक कामले गएको थिएँ, बाहिर निकै बेर कुरेँ । पालो आयो भनेर भित्र के पसेको थिएँ, उनी पछिपछि भन्दै देखेर नि नदेखेझैँ गरी निस्किए बा ! त्यति सानो सही गर्ने कामलाई दुई दिन भो हल्लिएको ।” उसले दिक्दारी व्यक्त गर्यो ।
उसले फेरि विस्मित स्वरमा गुनगुनायो, “मुखौटोको कला पनि अचम्मको रहेछ, पहिरिन जाने बादशाह, नजाने कौडी हगि !” उसका कुराले म अवाक् भएँ ।
४. लघुकथा: शीतलता
आमा दमको रोगी छिन् ।
उनलाई घरीघरी स्याँ-स्याँ भइरहन्छ । वाफ लिइरहनुपर्ने हुन्छ । औषधी त कति हो कति ? घरपरिवारले अनेक गरे— झारफुक, ओखती, अस्पताल धाएको पनि महिनौँ भएछ, तर निको हुने छाँट थिएन । आजित परे ।
बुढाले समय-समयमा औषधी खुवाउने, नियमित चेकअप गराउने, सुगरको इन्सुलिन लगाउने उनको दैनिकी बनेको थियो । “बुढ्यौलीको लाठी हो,” भन्थे । राम्रो हेरविचार गरेका थिए ।
बुढाले देखाएको माया अनि सामीप्यताले उनले केही राहत महसुस गर्थिन् र भन्थिन्, “विगत सम्झँदा यति स्याहार गर्नुहुन्छ भन्ने विश्वास लागेको थिएन ।” जीवनको उत्तरार्द्धमा एकअर्काको महत्त्व बुझेकोमा उनी खुसी थिइन् ।
आज औँसी, छोरी कतिखेर आउँछे भनेर उनी बाटो हेर्दै थिइन् । घरीघरी फोनमा घन्टी बजाउँथिन्, अरूका छोरी आउँदा उनलाई हतारो भएको थियो ।
फेरि फोनमा छोरीलाई भनिन्, “खाना बनाउँछु, चाँडै आउनु है !” उनकमा छुट्टै उत्साह आएको थियो, खुसी थिइन् ।
एक्कासि उनलाई ‘घ्यार घ्यार’ भयो । सास फेर्न असहज भयो, अचेत भइन् । एम्बुलेन्स बोलाए, अस्पताल लाने तरखरमा थिए ।
त्यत्तिकैमा छोरी आइन्, उनी आमाको समीप गइन् । सुम्सुम्याउँदै “आमा ! आमा !!” के भनेकी थिइन्, उनी बौरिइन् । उनले पुलुक्क छोरीलाई हेर्दै शीतलताको आभास गरिन् ।
५. लघुकथा: तर्क
“विचार नमिलेको हो र ?”
एक मनले भन्यो, मनमा खुल्दुली चल्यो । फेरि अर्को मनले, “होइन, किन नमिल्नु ? नबुझेर झर्किएको होला, केही बेरमा शान्त होला अनि सम्झाउँला ।” मैले आफैँसँग प्रतिप्रश्न गरेँ ।
छोराले तर्क राख्यो, “ऊ परिवर्तनका कुरा गर्छ । शब्दकोशमा सीमित रहेको ‘असम्भव’ भन्ने शब्दलाई सही डिजाइन दिएर सम्भवमा रूपान्तरण गर्न सक्ने क्षमता युवामा हुन्छ । त्यो जोस अनि साहस अरूमा कहाँ ?” उसले एकै सासमा कुरा टुङ्ग्यायो ।
मैले उसको मुहारमा पुलुक्क नजर दौडाएँ अनि भनेँ, “अहिले आँचलाकाँचला छौ, उमेर नै कति भएको छ र ? परिपक्वता आउन घामपानीले खारिनुपर्छ क्या ! जोसमा होस हुँदैन ।” मैले केही शान्त गराउन खोजेँ ।
ऊ रन्कियो, “हामीलाई काँचो दिमाग भन्ने ? देख्नुभएन भदौ २३ र २४ को ‘जेनजी’ आन्दोलन ! एकै दिनमा सत्ता पलट, त्यसैको परिणाम हो अहिलेको सरकार । बा-आमा बिचरा ! सडकमा गए नि शान्तिले नाचेर आउँछन् अनि तिनका माग ज्युँका त्युँ ।” उसले परिस्थिति नियाल्दै बोल्यो ।
मैले शब्दले सम्झाउने हरसम्भव प्रयत्न गरेँ । उसका कुरा ठुला थिए । मैले नम्रता देखाएँ, “बोली अनि व्यवहारमा फरक छ, भन्न जस्तो सजिलो गर्न हुँदैन । परिवर्तन कुनै जादुको छडी होइन, समय लाग्छ ।” मैले सौम्य भावले सम्झाएँ ।
ऊ निडर हुँदै, “शक्तिको भरमा शासन टिकाएर हुन्छ ? शासकदेखि रैतीसम्म मान्य हुने सिस्टम बनाएर सबैलाई कानुनको दायरामा नल्याएसम्म परिवर्तन सम्भव छैन ।” उसको सोचमग्न तर्कले म निःशब्द रहेँ ।
६. लघुकथा: सङ्कुचित
“खोइ हार्दिकता ?” म चिन्तित थिएँ ।
गाउँघर कहिल्यै छोडिएन । गाउँले परिवेश नै प्यारो थियो, कामले कहिल्यै फुर्सद भएन । दिनभरि मेलापात, अर्मपर्म, गोठालो हुन्थ्यो भने बिहान-बेलुका घरमा बास हुन्थ्यो । दिन सामान्य थियो, त्यही खुसी अनि रमाइलो लाग्थ्यो । कहिले कसकोमा त कहिले कसकोमा काममा गइन्थ्यो, मिलेर खाइन्थ्यो, खेती लगाउँदा, थन्काउँदा मिलेरै गरिन्थ्यो ।
खर्च गर्न भनेपछि मरे जत्तिकै हुन्थ्यो । आफैँले उब्जाएको खाने बानी परेकाले हरियोपरियो तरकारी, फलफूलका बोट घरमै हुन्थे । लुगाफाटो पनि वर्षको एकपटक किनिन्थ्यो, सकेसम्म टार्ने परम्परा बाउबाजेकै पालादेखि चलिआएको रित ।
एकदिन उसले नौलो कुरो गर्यो, म बबुरोले हुन्छ भन्दै टाउको हल्लाएँ । उसले कानमा फुसफुसायो, “कति गँवार भएर बस्ने हो ? सहरको झिलिमिली हेर्न जाऊ, मरेर लानु के छ र ?” उसले बाहिरी संसार देखाउने प्रयत्न गर्यो ।
मैले अन्योलताले भरिएको नजर उठाएँ र उसको मुहार हेरेँ । आत्मविश्वासले भरिएको चमक थियो, ढुक्क भएँ । अचानक ! झिलिमिली सहर हेर्ने इच्छा जाग्यो अनि भनेँ, “हुन्छ, कहिले जाने ?”
दुवै लाग्यौँ, बसको यात्रादेखि रङ्गीचङ्गी माहोल नियाल्दै थिएँ । परिदृश्य रमाइलो थियो, मान्छे सुकिला, चमकदार आलिशान बिल्डिङ, कामको व्यस्तता अनौठो बेफुर्सदिलो थियो ।
एक वृद्ध मानिस सडक पेटीमा मागेर बसेका थिए । कसैले दया देखाएनन् ? गुहार लगाएका थिए, चासो कसैले दिएनन् । उनको थकित अनि जीर्ण शरीरले विश्राम खोजिरहेको प्रष्टै देखिन्थ्यो ।
सबै परिदृश्य नजरभरि कैद गर्दै थिएँ । उसले सोध्यो, “कस्तो लाग्यो सहर ?”
केही तालमेल नमिलेको पाएँ । छटपटी भयो, तुलना गर्दै व्याकुलताले जवाफ फर्काएँ, “घर ठुला तर मन सङ्कुचित, मानवता हराएको, केको तछाडमछाड हो ?” गम्भीर भएँ ।
७. लघुकथा: ढलिमली
“७२ सालको भूकम्पमा भन्दा बढी भौतिक संरचनाको क्षति नहोला भन्न सकिन्न ।” चर्को आवाज आयो ।
बसपार्कमा गफ्फिएका छन् । गन्तव्य फरक छ, गाडीको प्रतीक्षामा रहेका बेला देश, काल, परिस्थिति सापेक्ष पहिलोले व्यङ्ग्य कस्यो, “डोजर चलेको चल्यै छ, कस्तो अचम्म ! मौकामा चौका हानेर हुन्छ ? खाली जग्गा देख्नै नहुने, पहुँचवालाहरूले शक्तिको आडमा मिचिहाल्ने प्रवृत्तिको जे होस् अब अन्त्य होला जस्तो छ । पिओर हो भने दया देखाउने ठाउँ थियो तर यहाँ त मामाको धनमा फुपूको श्राद्ध भएको रहेछ ।”
दोस्रोले सही थाप्यो, “त्यहीँ त, त्यत्रा आलिशान महल कसरी बनाएका— अव्यवस्थित अनि मापदण्ड विपरीत ? सरकारले फाल्ला भन्ने डर पनि छैन । निडर हुन् है मान्छे !” ऊ चकित हुँदै नजर उठाएर बोल्यो ।
अपरिचित भए पनि कुरो मिलेको छ । प्रसङ्गमा उपस्थित सबैले आ-आफ्नो तर्क बेजोडले राखेका छन् । मतमतान्तर भयो, विचारको द्वन्द्व माझिएको छ । सुन्नेले पनि उत्सुकता दिएका छन्, सबैका कान ठाडा छन् । विषय अझ रोचक बन्न पुग्यो ।
प्रतीक्षालय खचाखच भरियो, भिड जम्मा छ । एकपछि अर्को तर्क मननयोग्य छ । सबैका नजर आपसमा दौडिएका छन् । लाग्छ, न्यायालय नै त्यहीँ छ जस्तो ।
त्यत्तिकैमा सबै सुनिरहेका एकजना अलि पाका मान्छेले गम्भीर हुँदै बोले, “अतिशय लालच पनि दुःखको कारण बन्छ, सुकुम्बासीको नाममा हुकुम्बासीको रजाइँ, के टिक्यो त ?” सबैको ध्यान उनितिरै मोडियो ।
८. लघुकथा: आत्मसन्तुष्टि
“घरपरिवार नै बिर्सिएर समाजसेवा गरेर पुग्छ र ?”
उनी छड्के आँखा तर्दै बोलिन्, “घरको काम केही गर्ने होइन ? बिहान उठ्नेबित्तिकै लखरलखर गाउँ डुलेर हुन्छ ? परिवारभन्दा समाज पहिला आउने हो । भोलि दुःख-बिमार हुँदा त पहिला परिवार नै उभिनुपर्ने होला, होइन किन कुरा बुझ्नुहुन्न ?” बुढी थकित हुँदै झिझिएको स्वरमा कराइन् ।
उनले सुने-नसुनेझैँ गरेर हतारो देखाउँदै भन्दै थिए, “हेर न, कति पटक भएछ फोन आएको ? विवाद परेछ क्या ! मिलाउनुपर्ने भयो ।” मोबाइलमा कल देखाए, “म गएँ, एकछिनमा आउँछु है” भन्दै नम्रता देखाए अनि निस्किए ।
उनी एक्लै फत्फताउँदै काममा लागिन् । भान्सा, भकारोमा अल्झिइन् । छोराछोरी स्कुल पठाइन् । भ्याइनभ्याइ भयो, मनमा अनेक तर्कना खेलाउँदै भनिन्, “यस्तै गरी कसरी चल्छ ?”
बुढाले साइकल शीतलमा राखे, उनी आए । ठट्यौली पारामा देखिए, उनको रिस शान्त गर्न अनेक प्रसङ्ग जोड्दै सोधे, “नरिसाउन न बरु भन न, खानामा के छ ?” उनी शान्त थिए ।
उनले विगत कोट्याउँदै भनिन्, “यत्रो वर्ष समाजका लागि काम गर्नुभयो, के पाउनुभयो ? त्यति झन् आरोप लागेको बिर्सनुभयो, ‘काम गर्ने कालु मकै खाने भालु’ भनेझैँ भयो । हैन कहिले मति फिर्छ हजुरको ?” उनले सम्झाउने प्रयत्न गरिन् ।
उनी एकछिन सोचमग्न भए अनि गहन हुँदै बोले, “समाजसेवा गर्नु नितान्त निजी कुरा हो, न केही पाउने आश, न गुमाउने डर, केवल आत्मसन्तुष्टि !” उनी शान्तियुक्त स्वरमा बोले ।
९. लघुकथा: मर्का
“फेरि फेरि, के फेरि बढ्यो ?”
मध्यम वर्गीय परिवार छ, जेनतेन गुजारा चलेको छ । जागिर गर्यो, महिना मर्दा यसोउसो, तिरोतारो गर्दा तलब सकिन्छ । कतिपयको त अझ हिसाबै आउँदैन, गाह्रो छ । महँगी चुलिएको छ ।
गाउँघर नै ठिक बस्न त ? मेलापात, दाउराघाँस, भैँसी भकारो, उकाली-ओराली गर्दा दिन बित्थ्यो । आफैँले उब्जाएको बिस्कुन सुकायो, उठायो, अर्गानिक खायो । स्वस्थ पनि भइने, कसरत पनि हुने, गजब थियो दिनचर्या त !
गौतमले छड्के आँखा तर्यो अनि ओठ लोप्ल्याउँदै बोल्यो, “किन आएको त, उहीँ बसेको भए हुने हो । धेरै फुटानी नलगाऊ भो, उति बेला सहर-बजार सुख-सुविधा हुन्छ भनेर धायौ, अहिले महँगीको चपेटाले गाउँ नै सम्झियौ हैन !” उसले ङिच्च दाँत देखाउँदै बोल्यो ।
काफ्ले केही नरम भयो । ऊ समाजको गतिशील पात्र हो, देखेको कुरा स्पष्ट बोल्ने अनि सहयोगी स्वभावको छ । उसले शब्दले छेड हानेको चाल पायो र भन्यो, “घरमा साधन हुँदाहुँदै किन हिँडेर आयौ, के भयो ?”
गौतमले भन्यो, “नयाँ सरकार के बनेको थियो ? पेट्रोलियम पदार्थको मूल्य आकासियो । कसरी थेग्नु हो भार पनि ? छाडेँ चलाउन, जे-जे भने पनि मर्का चाहिँ सर्वसाधारणलाई नै पर्ने रहेछ ।” उसले समसामयिक परिवेश दर्सायो ।
काफ्ले सोचमा परे, उनले विगत सम्झिए अनि बोले, “पहिला मूल्यवृद्धि सुन्नेबित्तिकै कामै ठप्प पारेर सडकमा उत्रिएर नारा-जुलुस गर्ने, टायर बाल्ने, हडताल गर्ने जनता पनि यिनै हुन्,” भन्दै तुलना गरे ।
गौतम कड्किए, छनक कसे । समकालीन परिस्थिति नियाल्दै भने, “मूलयवृद्धिले ढाड सेक्दा पनि सबैले मौनता साँधेका छन्, हैन ! विगतमा किन अबुझ भएका त ?”
१०. लघुकथा: गुगल म्याप
लौ ! आयो आयो ।
पानी आयो, पानी ! पिउनुहोस्, लिनुहोस् लिनुहोस् ।
मकै, काँक्रा, फलफूल, चिप्स बेच्नेको तछाडमछाड अझ बेग्लै थियो ।
अर्को करायो, “लिनुहोस् लिनुहोस्, मौकाको फाइदा उठाउनुहोस् । फेरि छुट्नुहोला नि !”
गाडीको हर्न, ट्राफिक जाम, साइरन एकैसाथ गुन्जिएको थियो । पैदल यात्री जेब्रा क्रसिङबाट बाटो काट्दै थिए त कोही ट्राफिक लाइटमा नजर दौडाइरहेको प्रष्टै देखिन्थे ।
व्यापारीहरू व्यापारमा व्यस्त थिए । गाडीभित्र “के खानुहुन्छ ? ल लिनुहोस्” भन्ने दृश्य पनि कम्ती रोचक थिएन । चारैतिर भिडभाड, कोलाहल, माहोल व्यस्त छ । कसैलाई को, कहाँ, के भन्ने जानकारी छैन र पनि परिदृश्य रमाइलो छ तर फुर्सद भने कसैलाई छैन ?
गाडीले हर्न बजायो, सहचालकले हात उठाउँदै सोधे, “कहाँ जाने ?” प्रश्न गरे अनि आफैँ भन्दै थिए, “नयाँ बानेश्वर, टेकु, कालीमाटी, त्रिपुरेश्वर, कलङ्की, थानकोट कहाँ हँ ?” उनी नजर घुमाउँदै बोले ।
म खिस्स हाँसेँ, टाउको हल्लाएँ र मौनता साँधेँ । मेरो गन्तव्य फरक थियो, बहस गरिनँ, सरासर बाटो लागेँ ।
म अन्योलमा परिनँ, नयाँ परिवेश भएकाले गुगल म्यापलाई साथी बनाएँ । समयको पाबन्दीलाई हेर्दै कहाँ जाने अनि के गर्ने भनी समय व्यवस्थापनमा लागेँ । निर्धारित समयमा नै काम सकेँ ।
व्यस्त सहर, अपरिचित अनुहार, अन्योलको वातावरणबिचमा रोमाञ्च हुँदै मेरो अन्तर्मनले भन्यो, “आज गुगल म्याप नहुँदो हो त समय अनि कामको सहजता कसरी हुँदो हो ? धन्यवाद गुगल !” म मनमनै मुस्कुराएँ ।
गैँडाकोट-०४, नवलपुर


