कवि: विनय इलामेली
ओ सपना बोकेर उडेका पन्छीहरू हो !
कति परसम्म उड्छौ हौ ?
कोही खाडीका तातो हावामा पसिना झार्दै हौला,
कोही युरोपका गल्लीहरूमा हराउँदै होला,
अनि केही झुन्डहरू
अस्ट्रेलियामा कङ्गारु हेर्दै होला ।
कति उड्छौ ?
कति परसम्म पुग्छौ ?
सपनाको पोको कहिले भर्छौ ?
तिम्रा गुँडहरूमा माकुराले जालो लगाइसक्यो,
केही सिँक्राहरू झरेर गुँड ढल्किसक्यो ।
बचेराहरू पनि खै कता उडे कता !
न गुँड छ, न बचेरा छन्,
न त छ केही सहारा ।
त्यो सपनाको पोको—
कसका लागि ? केका लागि ?
बगेका ती पसिना—
केका लागि ? कसका लागि ?
ओ सपना बोकेर उडेका पन्छीहरू हो !
फर्क अब, आफ्नै गुँडमा फर्क ।
जसरी फर्किन्छ
शिशिरपछि एउटा हरियाली वसन्त,
उसै गरी फर्क पन्छी—
एक अँगालो खुसी बोकेर ।
उसै गरी फर्क पन्छी—
एक अँगालो खुसी बोकेर ।।


