कवि: एम. डी. फिराक
यात्राको अन्तिम मोडमा आइपुग्दा
सबै कुरा फेरि शून्यझैँ लाग्छ ।
जति अगाडि बढेँ,
मन किन अझै अधुरो
र अपुरो लाग्छ ?
पछाडि फर्केर हेर्दा
घाउहरू मात्रै देखिँदैनन्—
त्यहीँभित्र लुकेका छन्
मेरो सिकाइका उज्याला अक्षरहरू ।
हरेक हारले केही न केही त लुट्यो,
तर त्यही हारले मलाई
अझ बलियो र अझ आफ्नै बनायो ।
अब फर्कने बाटो छैन,
समयले ढोका बन्द गरिसक्यो ।
अब त अगाडि मात्र हिँड्नुपर्छ—
आफ्नै छायासँग कुरा गर्दै ।
सायद,
यही मोड नै हो
जहाँ अन्त्यको आभास हुन्छ,
तर
जीवन भने चुपचाप
एउटा नयाँ सुरुवात लेखिरहेकै हुन्छ ।
सोलुखुम्बु


