कवि: रोजिना विश्वकर्मा
देशको भित्ताभरि
आश्वासनका पोस्टर टाँसिएका छन्,
तर गाउँका गल्लीहरूमा
अझै भोक नाङ्गै हिँडिरहेको छ ।
कोही विदेशिन बाध्य छ,
कोही ऋणमा डुबेर हराइरहेको छ,
र कोही यही व्यवस्थाको भीडमा
आफ्ना सपना गुमाइरहेको छ ।
जेलको कस्टडीभित्र मात्रै होइन,
यो देशमै कतिपय मानिस
अदृश्य जेलमा बाँचेका छन्—
बेरोजगारीको जेल,
अभावको जेल
र अन्यायको जेल ।
कसैले किताब छोडेर इँटा बोक्नुपरेको छ,
कसैले कलम बेचेर पासपोर्ट बनाउनुपरेको छ ।
यहाँ प्रतिभाभन्दा बढी
‘चिनेको मान्छे’ बलियो हुन्छ ।
नेताका भाषणमा देश सधैँ विकसित हुन्छ,
तर किसानको खेतमा अझै मल र पानी पुग्दैन ।
युवाका आँखामा सपना त छन्,
तर ती सपना टेक्ने आफ्नै माटो छैन ।
जेलको कस्टडीले
केवल अपराधीलाई मात्र थुन्दैन,
यो व्यवस्थाले निर्दोष इच्छाहरू पनि थुन्छ,
जहाँ गरिब हुनु नै
कहिलेकाहीँ सबैभन्दा ठूलो अपराध बन्छ ।
तर अझै कुनै गाउँको बिहानमा
आशा उम्रिरहेको छ,
कुनै युवाको मुटुभित्र
देश बदल्ने अठोट बाँचेको छ ।
सायद एक दिन यो देशको आकाशबाट
निराशाको ताला फुट्नेछ,
र मानिसहरूले
जेलजस्तो जीवन होइन,
स्वतन्त्र सास फेर्न पाउनेछन् ।
भोजपुर


