कवि: योगी नारायण नाथ
रात छिप्पिँदै जान्छ,
र म आफ्नै कोठाको मौनतामा थुनिन पुग्छु;
जहाँ भित्ताका घडीहरू टिक-टिक गर्दैनन्,
बरु मेरो आयुको एउटा–एउटा त्यान्द्रो लुछिरहन्छन् ।
अगाडि ऐना छ,
जहाँ म आफ्नो अनुहार होइन,
एउटा अपरिचित इतिहास देख्छु ।
त्यो अनुहार—
जो मेरो त हो, तर म जस्तो छैन;
त्यो प्रतिविम्बले मलाई हेरेर
व्यङ्ग्यको अट्टहास गर्छ,
र बिस्तारै ऐनाबाट बाहिर निस्केर
मेरो कण्ठ निमोठ्न खोज्छ ।
म आफ्नै विचारको एम्बुसमा परिरहेको छु ।
तिमी— जो मेरो स्मृतिमा
एउटा ‘सिजोफ्रेनिक’ छाया बनेर बाँचेका छौ,
हरेक रात मेरो सपनाको सगरमाथाबाट
मलाई तल खसालिदिन्छौ ।
म खसिरहन्छु—
अनन्त शून्यताको गहिराइमा;
जहाँ न टेक्ने भुइँ छ,
न समात्ने आकाश,
मात्र एउटा संज्ञाहीन डर छ,
जो मेरो रगतमा पौडी खेलिरहन्छ ।
के यो मेरो अवचेतनको विद्रोह हो ?
या मेरा दमित इच्छाहरूको हिंस्रक प्रतिशोध ?
म आफैँलाई सोध्छु—
“यो शरीरभित्रको म को हुँ ?”
एउटा बन्दी—
जो आफ्नै मस्तिष्कका न्युरोनहरूमा अल्झिएको छ ?
वा एउटा शासक—
जो आफ्नै साम्राज्यको भग्नावशेषमा रोइरहेको छ ?
म बलात्कृत भइरहन्छु—
अदृश्य समयद्वारा,
अतृप्त चाहनाहरूद्वारा,
र ती शब्दहरूद्वारा—
जसलाई मैले कहिल्यै उच्चारण गर्न सकिनँ ।
बिहानको उज्यालोले
जब मेरो झ्याल ढकढकाउँछ,
म एउटा नयाँ लास बनेर ब्युँझन्छु;
जसको खल्तीमा
अझै केही अधुरा सपनाका सिसाहरू बाँकी छन्,
र म फेरि एकपटक—
आफ्नै अस्तित्वको मलामी जान तयार हुन्छु ।
कविको ठेगाना: इटहरी, सुनसरी


