कवि: नन्दलाल आचार्य
इतिहासको ब्याडमा
‘जेन–जी’ पुस्ताले रोपेका सपनाका बेर्नाहरू,
अहिले ढकमक्क फुल्न खोज्दै छन्—
सहिदका रगतले भिजेको यो माटोमा
अब फेरि सत्ताको ‘दुर्योधन शैली’ चल्ने छैन ।
खबरदार !
ती पुराना विकृतिका ऐँजेरुहरूले
अब विकासको रुख लतार्नु हुँदैन;
किनकि यो नयाँ सूर्योदय,
कुनै व्यक्तिविशेषको होइन—
यो त सिङ्गो जनताको आँसु
र आकाङ्क्षाको कोलाज हो ।
सिंहदरबारको चिसो ढुङ्गामा बसेर होइन,
जनताको चुल्होको राप
र हत्केलाको ठेलामा स्पर्श गर्दै शासन गर ।
भ्रष्टाचारका पुराना ढड्डा जलाएर
सुसंस्कृत र सभ्य थिति बसाल;
जहाँ कुर्सीको मान होइन,
कर्मको मुस्कान देखियोस् ।
सिंहजस्तो गर्जने होइन,
बुद्धजस्तो शान्त र सिर्जनशील भएर
नेपालको शिरमा स्वाभिमानको चन्दन दलिदेऊ ।
याद राख—
सहिदका सपनाहरू
अझै आकाशबाट तिमीलाई हेरिरहेका छन्,
तिनका रित्ता घरका भित्ताहरूले
अझै न्याय मागिरहेका छन् ।
यदि फेरि पनि
तिमीले स्वार्थको जाल बुन्नेछौ भने—
यो ‘जेन–जी’ पुस्ताको औँला
केवल भोट हाल्न मात्र होइन,
सत्ताको सिंहासन हल्लाउन पनि उत्तिकै सिपालु छ ।
सभ्य बन, सुसंस्कृत बन,
अनि मात्र यो देश ‘नेपाल’ बन्नेछ ।
शुभकामना छ—
तिम्रो पाइलाले इतिहास कुँदोस्,
कुरीति होइन !
कविको ठेगाना: उदयपुर


