कवि: भूमिका गैरे तिमिल्सिना
बिहानै
सूर्यको किरणले स्पर्श गर्दा
मुहारमा जुन कान्ति आउँछ,
हो,
त्यसैले गर्छ दिनको सुरुवात ।
मान्छेका अव्यवस्थित कामहरूलाई
घडीको सुईले निर्धारण गर्छ,
अनि त्यसैले व्यवस्थित बनाइदिन्छ
छरिएका चाहनाहरू पनि ।
हामीलाई
हरेक कुरा गाह्रो लाग्छन्,
भाग्न खोज्छौँ तनावबाट
र
शान्तिको अर्थ खोज्दै भौँतारिन्छौँ
बाह्य झिलिमिली संसारमा ।
अरूलाई खुसी देख्छौँ,
आफू पनि त्यस्तै बन्न खोज्छौँ,
तर बुझ्दैनौँ—
उसका भित्री पीडा अनि मर्म,
केवल देख्छौँ त
बाहिरी मुस्कान र आवरणमात्र ।
उसको
सुखसयलले लोभ्याउँछ,
तान्छ घरिघरि,
लाग्छ ऊ कति खुसी छ
अनि शान्त पनि ।
शान्ति ! शान्ति !! शान्ति !!!
तर त्यो कहाँ छ, थाहा छैन ।
अबुझ मनले जब बुझ्छ—
शान्ति त प्रकृतिमा, हरियालीमा,
यो वसन्तमा अनि यी ऋतुहरूमा छ ।
जब सूर्यको किरण
वनस्पति, चराचर जीव र प्रकृतिमा पर्छ,
आहा !
त्यो सुन्दरता, त्यो सृष्टि, त्यो निरन्तरता
कति मनमोहक हुन्छ पत्तै हुँदैन ।
जब बुझ्छौ—
शान्ति हामीभित्र र प्रकृतिको सामीप्यमा छ,
मनको चञ्चलता क्षणभरमा विलीन हुन पुग्छ ।
हामी रमाउँछौँ,
सत्यको सामीप्यता छर्लङ्ग देखिन्छ,
मन पुलकित हुन्छ
अनि पर्यावरण प्यारो लाग्न थाल्छ ।
सृष्टि अद्भूत लाग्छ;
प्रत्येक जराजरा, पातपात,
कणकणको अस्तित्व भेट्छौँ,
महत्त्व बुझ्छौँ ।
हो, शान्ति हामीभित्रै छ,
परिवर्तन हामीभित्रै छ,
प्रकृतिमा, पर्यावरणमा,
हो,
केवल पर्यावरणमा छ शान्ति
अनि जीवनको पर्याय !
कविको ठेगाना: गैँडाकोट-०४, नवलपुर


