कवि: सरस्वती पुडासैनी
कसैलाई मप्रति घृणा छ,
कोही मलाई माया गरेर बसेका छन् ।
कसैले मलाई विश्वास गर्दैन,
त कोही मेरै विश्वासमा बाँचेका छन् ।
कति अनौठो छ यो संसारको नियम—
कोही मेरो उपस्थितिबाट टाढा भाग्छन्,
त कोही मेरो अनुपस्थितिमा पर्खेर बस्छन् ।
यही विरोधाभासको भिडमा उभिएकी म,
आफ्नै अस्तित्वको अर्थ खोज्दै हिँडिरहेकी छु ।
घृणा र प्रेमको दोबाटोमा उभिएकी म,
आफ्नै कथामा कहिले हराउँछु, कहिले भेटिन्छु ।
तर विश्वासको सानो ज्योति मुटुभित्र बालेर,
अँध्यारो यात्रामा पनि उज्यालो बोकेर अघि बढ्छु ।
कहिले बिछोडको पीडाले मुटु चिर्छ,
कहिले मिलनको सपनाले आशा जगाउँछ ।
कहिले घामझैँ मुस्कुराउँछ जीवन,
कहिले अँध्यारो रातझैँ मौन भएर रुन्छ ।
यिनै उतारचढावको सङ्गममा
जीवनको साँचो यथार्थ फुल्छ ।
मभित्र सत्य–असत्य दुवै छन्,
मसँग असल–खराब दुवै छन्;
त्यसैले किन जिद्दी गर्ने—
“म नै असल हुँ” वा
“म नै खराब हुँ” भनेर ?
कहिलेकाहीँ समय र परिस्थितिलाई नै
न्यायको निर्णय गर्न दिऊँ ।
पूर्णता त स्वीकारमा बस्छ,
मानवता सन्तुलनमा फुल्छ ।
विरोधाभासलाई अँगाल्न सक्ने हृदय नै
सत्यको सर्वोच्च प्रतिमूर्ति बन्छ ।
यही अनौठो संसारमा,
पीडा र आशाको सङ्गमबीच,
म आफ्नो अस्तित्व लेखिरहेकी छु—
सत्य, साहस र विश्वासको अमर कहानी ।


