कवि: उज्ज्वल पौडेल
सपनाको नाममा
डिग्रीहरू खोज्दै छु,
छन् केही थान,
जो कयौँ वर्ष खेर फाली
जम्मा गरेर राखेको छु ।
फाइलभित्र
टुसा पलाएका छन्,
राष्ट्रिय सहीछापले विभूषित
प्रतिशतका घेरामाथि
मुसाका लागि,
म अझै दौडिँदै छु—
डिग्रीकै लागि ।
डिग्रीले
मेरो मोलतोल बढाएको छ,
वस्तुको जस्तो—
“यति दिन्छु, यता आइज”
मोल तोकेको छ,
वस्तुजस्तो,
हो,
म डिग्रीसँगै बिक्रीमा छु ।
यी
लोकसेवाका नाममा चलेका
आयोगका परीक्षाहरू मलाई
हाटबजारजस्तो लाग्छन् ।
जहाँ
बिक्रीका लागि बस्छन् डिग्रीहरू,
प्रश्न फाल्छन्
डलरका लागि डिलरहरू,
यति सिट तोकिदिन्छन् क्रेताहरू,
वस्तु छानेजस्तो
छानी–छानी ढुवानी गर्छन्
मजस्तै बेचिएका कर्मचारीहरू ।
राता अबिर नपाएका
डिग्रीहरू अर्को हाट कुर्छन् ।
छाम्दा किनूँ–किनूँ जस्तो लाग्ने
रङ्गिएका डिग्रीहरू
म यति ‘ट्याग’मा बेचिएँ भनेर
उत्साहित हुन्छन् ।
अनि म…
अहिले हाटमै छु,
हातमा डिग्री बोकेर
डिग्रीसँगै बिक्रीमा छु ।
कविको ठेगाना: धादिङ


