साहित्यिक समाचार
‘जुनेली’ कथा सङ्ग्रहमाथि परिचर्चा सम्पन्न
काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आफ्नो ‘सिर्जना र संवाद’ शृङ्खलाको १६औँ भागमा साहित्यकार मनु विकद्वारा लिखित ‘जुनेली’ कथा सङ्ग्रहमाथि परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम यही आषाढ २० गते आयोजना गरिएको थियो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन प्रतिष्ठानकी सदस्य तथा ‘सिर्जना र संवाद’ शृङ्खलाकी संयोजक गौरी देवकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकारहरू मित्रलाल पंगेनी, वन्दना ढकाल र डा. चतुर्भुज केवरतले कृतिमाथि समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । समारोहमा प्रा.डा. जगदीशचन्द्र भण्डारी, कथाकार इस्माली, डा. नन्दिस् अधिकारी, प्रा. लोकबहादुर थापा, धनेश्वर पोख्रेल, आविष्कार कला, गिनिज बुढा लगायत उल्लेख्य सङ्ख्यामा साहित्यकार तथा साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो ।
समीक्षाका क्रममा वन्दना ढकालले कथाकारले वि.सं. २०७० देखि २०८३ को आसपासको समय र परिवेशलाई कथामा समेटेको बताउनुभयो । नेपाली समाजको पिँधमा रहेका मानिसका भोगाइ र यथार्थको मार्मिक वृत्तान्त प्रस्तुत गरेकोमा उहाँले लेखिकालाई धन्यवाद दिनुभयो । २१ वटा कथा सङ्गृहीत यस कृतिले श्रमजीवी वर्ग र क्षेत्रका सङ्घर्षलाई अभिव्यक्ति दिएको ढकालको भनाइ थियो । पुस्तकले वर्ग र वर्ण व्यवस्थाका साथै वर्गभित्रको वर्णाश्रम विभेदलाई मात्र नदखाई पितृसत्ताले लादेका अनगिन्ती कुप्रथाविरुद्ध सचेततापूर्वक आवाज उठाउने हिम्मत गरेको उहाँले उल्लेख गर्नुभयो ।
अर्का समीक्षक डा. चतुर्भुज केवरतले कविता विधामा सक्रिय मनु विकसँग आख्यान विधामा यो पहिलो भेट भएको बताउनुभयो । कथामा पात्र छनोट र चरित्र चित्रणको मुख्य आधार श्रमजीवी वर्गलाई बनाइनु कृतिको सबल पक्ष रहेको उहाँको भनाइ थियो । पितृसत्ताले थोपरेको दुःखान्त चित्रलाई अझ छर्लङ्ग पार्दै स्थापित गलत भाष्य (संकथन) लाई उल्ट्याउने सन्देश प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बाह्य उत्पीडनका अगाडि आन्तरिक उत्पीडन छायामा पर्ने समस्याप्रति सचेत रहँदै आन्तरिक मामिलालाई पनि सूक्ष्म रूपले खोतलेर प्रस्तुत गर्नु महत्त्वपूर्ण पक्ष भएको डा. केवरतले बताउनुभयो । शाश्वत सत्यलाई छायामा नपारी चरित्र निर्धारण गरिएको र यथास्थिति विरुद्ध सशक्त प्रतिरोध गर्ने साहस देखाइएको भन्दै उहाँले यसलाई कृतिको सुन्दर पक्ष मान्नुभयो । पुरुषवादी चिन्तनको सङ्केत मात्र नभई त्यसका हरेक अवयवलाई छर्लङ्ग पार्नुपर्ने सुझाव दिँदै उहाँले अङ्ग्रेजी साहित्य र राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक तहसम्मको औपचारिक अध्ययन गरेकी स्रष्टाबाट धेरै अपेक्षा रहेको बताउनुभयो ।
त्यस्तै, समीक्षक मित्रलाल पंगेनीले पात्र, चरित्र र त्यसले बोकेको कथानकताले पाठकमा कस्तो प्रभाव पार्छ भन्ने कुरा मुख्य हुने बताउनुभयो । कृतिमा ग्रामीण जीवनका सामाजिक कथा र व्यथाको सजीव चित्रण गरिएको उहाँको भनाइ थियो । कथाकार आफैँ सङ्घर्षबाट यहाँसम्म आइपुगेको र यो क्रम जारी रहने विश्वास व्यक्त गर्दै पंगेनीले स्रष्टाबाट थप ओझिलो र खारिएको कृति आउने अपेक्षा राख्नुभयो । उहाँले पात्र र चरित्रबीच कसिलो तारतम्य मिलाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लेखिका तथा कथाकार मनु विकले पुस्तकमाथि समीक्षकहरूले राख्नुभएका महत्त्वपूर्ण सल्लाह, सुझाव र औँल्याइदिनु भएका कमीकमजोरीहरूलाई आत्मसात् गर्दै जाने बताउनुभयो । समीक्षकहरूका गहकिला विचारले आफूलाई हौसला मिलेको र थप मेहनत गर्नुपर्ने महसुस भएको बताउँदै उहाँले यो परिचर्चा नयाँ सिर्जनाका लागि प्रेरणाको स्रोत बनेको धारणा राख्नुभयो ।


