स्याङ्जा, वालिङ । १६ साउन । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर (ढूट) भाषाको अक्खालिपिकेन्द्रित पुस्तक ‘आखरहील्मा (अक्षराङ्क)’ को लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर लेखक सङ्घ, स्याङ्जाको आयोजनामा शनिबार वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रममा मगर (ढूट) भाषा–साहित्यको इतिहासमा विशेष महत्त्व बोकेको कृतिका रूपमा प्रस्तुत पुस्तकको लोकार्पण तथा विमर्श गरिएको थियो ।
नेपाल मगर लेखक सङ्घ, स्याङ्जाका अध्यक्ष तथा युवा स्रष्टा जी.बी. रानाको अध्यक्षतामा सम्पन्न समारोहमा नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष हर्क आले मगर प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा उपस्थित थिए ।
कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव, युवा स्रष्टा तथा साहित्यिक अभियन्ता एवं पुस्तकका नेपाली भाषा सम्पादक मिलन समीर, पुस्तकका भूमिकाकार तथा नेपाल मगर लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष रुद्र श्रीस मगर, प्रगतिशील लेखक सङ्घ, स्याङ्जाका अध्यक्ष अग्रज स्रष्टा अनन्त अर्याल तथा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य गीता रखाली मगरले संयुक्त रूपमा कृतिको लोकार्पण गरे ।
लोकार्पणपछि अनन्त अर्याल, मिलन समीर, गीता रखाली मगर तथा रुद्र श्रीस मगरले प्रस्तुत कृति र लेखकद्वय जी.बी. राना तथा सावित्रा थापाको लेखनमाथि केन्द्रित समीक्षात्मक मन्तव्य प्रस्तुत गरे ।
कार्यक्रममा नेपाल मगर सङ्घ, स्याङ्जाका सचिव धनबहादुर थापा, मगर लेखक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष खड्क पामी आले, नेपाल मगर सङ्घ गण्डकी प्रदेशका अध्यक्ष दानबहादुर थापा तथा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य लक्ष्मी थापा मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
बुवा लोकबहादुर राना र आमा स्वर्गीय नैकली रानाका सुपुत्र जी.बी. रानाको जन्म वि.सं. २०४० फागुन १२ गते हालको गल्याङ नगरपालिका–१, सारङ्ज्ञा (याँकीह्या), स्याङ्जामा भएको हो । उनले जनसङ्ख्या विषयमा स्नातकोत्तर गरेका छन् । वि.सं. २०६२ जेठ १३ गतेदेखि शिक्षण क्षेत्रमा सक्रिय राना हाल दिसिङकोट आधारभूत विद्यालय, चापाकोट नगरपालिका–३, कमिरे, स्याङ्जाका प्रधानाध्यापकका रूपमा कार्यरत छन् । उनी गल्याङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा नेपाली लेखक सङ्घ, स्याङ्जाका सदस्यसमेत हुन् ।
बुवा इन्द्रबहादुर थापा र आमा ज्ञानकुमारी थापाकी सुपुत्री सावित्रा थापाको जन्म वि.सं. २०४४ वैशाख १० गते हालको चापाकोट नगरपालिका–५, साहान्दी, स्याङ्जामा भएको हो । उनले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेकी छन् । वि.सं. २०६५ पुस १३ गतेदेखि शिक्षण क्षेत्रमा सक्रिय थापा हाल महेन्द्र माध्यमिक विद्यालय, चापाकोट नगरपालिका–३, दिसिङ्कोट, स्याङ्जामा माध्यमिक तहमा अङ्ग्रेजी विषय अध्यापन गरिरहेकी छन् । उनी नेपाल मगर लेखक सङ्घ, स्याङ्जाकी सहसचिवसमेत हुन् ।
यो लेखकद्वयको पहिलो कृति हो । नेपाल मगर लेखक सङ्घ, स्याङ्जाद्वारा प्रकाशित उक्त पुस्तकको नेपाली भाषा सम्पादन मिलन समीरले गरेका हुन् । मगर (ढूट) अक्खालिपि र भाषाशिक्षणलाई सरल, सहज तथा प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस पुस्तकमा सिक्ने व्यक्तिको उमेर र सिकाइको स्तरअनुसारका सामग्री समावेश गरिएको छ ।
नेपाल मगर लेखक सङ्घ, स्याङ्जाकी सहसचिव सावित्रा थापाले सहजीकरण गरेको समारोहमा आयोजकका तर्फबाट प्रमुख आमन्त्रित व्यक्तित्व तथा वक्ताहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।


