उपन्यास: गरुराहा
स्रष्टा परिचय:
वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन् । हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन् ।
साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन् । उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यमा पुर्याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन् । उनका महत्वपूर्ण कृतिमध्ये “गरुराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो । सो उपन्यासलाई “हाम्रो कथाघर डट कम” अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ ।
अध्याय: ०९
ज्योति ! घरपरिवारबाटै सास्ती दिएर नाजुक पारिएकी मालतीको व्यथाले भरिएको पत्र पढेर मेरो हालत कस्तो भयो होला, आफैँ अनुमान गर । उल्लेख गर्न शब्द छैनन् ।
तुरुन्तै त्यहाँ रहेका मिस्त्रीहरूसँग घर नपुगी भएन भनेर बिदा मागेँ । उनीहरूले स्वीकारोक्ति दिँदा नदिँदै म बाटो लागिसकेको थिएँ । “छिट्टै फर्क है” भन्दै एक जना चाहिँ मेरो साथमा लाग्यो । म एक्कासि हडबडाएको कारण सोध्यो । मैले पनि खुलेरै सारा कुरा बताएँ ।
ऊ पनि मझैँ पीडित भएको र प्रेममा असफल भएकाले अहिलेसम्म बिहे नगरी बसेको रहेछ । उसको मनमा करुणा जागेछ । नमान्दा नमान्दै मेरो गोजीमा रु ५००/- हालिदियो । आफ्नै पैसाले बसको टिकट काटिदियो र मलाई चढाएर बिदा भयो । उसको सहानुभूतिले मलाई ऊर्जाको काम गर्यो ।
भोलिपल्ट झिसभिसेमा मालतीको आँगनमा उभिएँ ।
बुबाचाहिँ उठेर घुर बाल्न लागेका रहेछन् । म बोल्न खोजेँ, उनी बोलेनन् । आमा आइन् । “भाउजू” भनी बोलाएँ, बेवास्ता गरिन् । झ्यालबाटै चियाएँ । मालतीले देखिन् तर फुपू तैनाथ भएकीले तुरुन्तै घोसेमुन्टो लगाइन् । मलाई पनि बोलाउने आँट आएन ।
यहाँसम्म कि, मालतीका बहिनी र भाइ समेत मेरो छेउमा परेनन् । बोलाए पनि बोल्दै बोलेनन् । मअघिपछि सधैँ झुम्मिने परिवारका सदस्यको पत्याउन नसकिने व्यवहारले म साह्रै अपमानित भएको महसुस गरेँ ।
टुसुक्क बसेको म जुरुक्क उठेँ । हिँडेँ आफ्नै जन्मघर गरुराहा । म घर पुगेपछि मात्र सूर्यको राम्ररी दर्शन भयो । आँगनको एक कुनामा परेवाहरू घुर्दै थिए । हाँसहरू लामबद्ध भएर पोखरीतिर लम्किँदै थिए । ओस्रामा बाँधिएको बोको टाट्नाको घाँस थुत्दै थियो । सबैको मनमा उमङ्ग थियो, मेरो मनमा मात्रै आँधीतुफान मडारिरहेको थियो ।
उता बुबा हुक्का तान्दै हुनुहुन्थ्यो, आमा कुट्टी काट्न व्यस्त हुनुहुन्थ्यो, दाजु भने डोरी बाट्दै थियो । भाउजू सुसेधन्दामा लाग्नुभएको रहेछ । भतिजा-भतिजी निद्रादेवीकै शरणमा थिए ।
सधैँ सामान्य परिधानमा देखिने म नयाँ कपडा लगाएर, नयाँ ब्याग बोकेर एकाबिहानै आएको देख्दा सबै सदस्य छक्क परे । एक क्षण कोही पनि बोलेनन्; किनभने म काठमाडौँ पुगेर कामधाममा लागेको कुरा कसैलाई थाहै थिएन ।
कताबाट छोरो आएछ भन्ने जान्नका लागि बुबाले प्रश्न राख्नुभयो, “राजदेव ! तुँ कोने से एलें ?”
मैले पनि काठमाडौँबाट आएको कुरा बताउनासाथ भाउजू ब्याग खोतलखातल पार्न लाग्नुभयो । रिबन, टीका, चुरा, कुर्ता-सुरुवाल, लेडिज घडी, रुमालजस्ता आइमाईले प्रयोग गर्ने सामानहरू देखेर उहाँ चकित हुनुभयो ।
र, आफ्नै लागि त्यत्तिका सामान ल्याइदिएको महसुस गर्दै भन्नुभयो, “हमर दिअर बौवा हमरा बहुत सिनेह करैछै । हमरा खातिर एतेक ढौवा खर्चा करलकै ।”
मेरो मुख लाजले रातो भयो । ती सारा सामान भाउजूका लागि नभई मालतीका लागि थिए । बोल्ने ठाउँ पनि थिएन र साँचो कुराले कुनै अर्थ पनि राख्दैनथ्यो । उल्टै भाउजूको खुसी खोसिन्थ्यो, मप्रतिको स्नेह पातलो बनाइदिन्थ्यो । म निःशब्द भई टोलाइरहेँ ।
अचेलका ठिटीलेजस्तो कुर्ता-सुरुवाल लगाउने नारी आफू नभएको जनाउ दिँदै भाउजू पुनः बोलिन्, “मुदा हम कुर्ता-सलवार नई लगेबै । हम आइकालके छौडीजकाँ नई छी ।”
काठमाडौँबाट ल्याएको कोसेली बाँडचुँड गरियो । सबै खुसी भए । अझ बुबाको हातमा एक हजारको नोट राखिदिएँ । खाली पैसा मात्र माग्ने छोराले एक्कासि हजारको नोट थम्याएको देखेर उहाँ छक्क पर्नुभयो । मैले काठमाडौँमा कमाएको कुरा गरेपछि भने प्रसन्नता व्यक्त गर्नुभयो ।
त्यस पारिवारिक मिलनले ल्याएको हाँसो र प्रसन्नता मेरा लागि अर्थहीन थियो । म चुपचाप एक कुनामा थच्चिएँ । म स्वार्थी भइसकेको थिएँ; किनभने मेरो मस्तिष्कमा मालतीको घरपरिवारको दृश्य झल्झली आइरहेको थियो ।
ज्योति ! अरू कुरा के लेखूँ र ! सम्झेर ल्याउँदा पनि औडाहा हुन्छ । नलेखी नछाड्ने, आफ्नो जीवनदशा तिम्रो सोच-समझमा नपुर्याई नछाड्ने सोच लिएका कारण मात्रै लेख्दै छु । नितान्त व्यक्तिगत मामिलाका कुराहरू फलाक्न थाल्यो भनी झन्झट नमान है त । जे भए पनि तिमीसामु मनको उकुसमुकुस बाहिर ल्याउन मलाई गाह्रो छैन ।
मालतीको घरको ढोका मेरा लागि बन्द भएपछि दतिवनको रुखमुन्तिरको डब्रा नियाल्न जानुको अर्को विकल्प मसँग थिएन । म त्यहीँ पुगेर झोक्राइरहेको थिएँ । त्यत्तिकैमा उनी हस्याङफस्याङ गर्दै आइन् । उनकी फुपू भने “छिटो आइज है” भन्दै परै बसेकी थिइन् ।
मलाई त्यस ठाउँमा एक्लैदोक्लै देखेर सुरुमा हच्किन् । मेरो अनुहार नियालिन् । हत्तपत्त आएर मलाई अङ्गालोमा बाँधिन् । म भने सकसमा परेँ ।
जीवनमा पहिलो पटक कुनै युवतीको अङ्गालोमा बेरिएको थिएँ । अपूर्व आनन्दानुभूतिले म भित्रभित्रै पग्लिन थालेको थिएँ; तर आफूलाई नियन्त्रण गर्दै परतिर सरेर खडा भइरहेँ । उनैले बसाइन् र मेरो हात सुम्सुम्याइरहिन् ।
कानेखुसीकै भाकामा हामीले चाँडै भाग्नुपर्ने कुरा दर्साइन् । बिहेको दिन नजिकै आएको समेत स्मरण गराइन् । मचाहिँ तटस्थ भएर कुरो सुन्दो भएँ । के भनूँ, के नभनूँ भएँ । कुरो बुझे पनि परिस्थिति पचाउने आँट थिएन ।
गाउँघर छाडेर बाहिरिएको एउटै मात्र अनुभव छ— काठमाडौँ बसाइ । त्यो पनि अर्काले नै जागिर खोजी गरिदिएको थियो । खुरुखुरु काम गर्थेँ । समय आएपछि पारिश्रमिक पाउँथेँ । आवश्यकता पूरा गर्थेँ । अरू कुनै आवश्यकताको मुकाबला गर्नै परेको थिएन । यहाँ मालतीको कथन चानचुने थिएन । उनका कुरालाई हृदयङ्गम नगरी नहुने अवस्था थियो ।
उनी बोल्दै गइन्, “मसँग समय छैन । आँट गर्नुस् । एक छाक भोकै भए पनि सँगै बसौँला । भोकभोकै पर्नुपरे पनि पछि नसरौँला । परिस्थितिलाई हातमा लिऔँला । बाँचे सँगै बाँचौँला, मर्नुपरे पनि सँगै मरौँला । आँट गर्नुस्, छोरोमान्छे तपाईँ किन खुट्टा कमाउनुहुन्छ ? दुई सरिता एक भएपछि हुने वेगलाई कसैको सितिमिति प्रयासले रोक्न सक्दैन, छेक्न सक्दैन । तगाराहरू तोडौँला, फोडौँला । खुट्टा नकमाउनुस्, धैर्य नगुमाउनुस् ।”
उनी एकोहोरो फलाक्दै थिइन्, म भने सुन्दै थिएँ । त्यत्तिकैमा फुपूले जोडजोडले चिच्याइन्, “ए मालती ! तँ आउँछेस् कि म आऊँ ? छिटो आइज । तँले मेरो जहाज डुबाउने भइस् कि क्या हो ?”
मालतीले पनि चाँडै आउन लागेँ भनेर जनाउ दिइन् र मपट्टि फर्केर भनिन्, “चाँडो भन्नुस् न ! फुपू आइन् भने बर्बाद हुन्छ ।”
आश्वासनका शब्द मिलाउँदै मैले फर्काएँ, “ठीक छ । हाम्रो खुसीका लागि म जे पनि गर्न तयार छु ।”
उनी खुसी भएर उठिन् र मेरो मुहार हेर्दै भनिन्, “बुझ्नुस् राजदेव ! मेरो संसार तपाईँबाहेक अरू कोही र केही होइन । जे गर्नु छ, चाँडो गरौँ । लगनपछिको पोतेको के काम ?”
मैले पनि स्वीकारोक्तिमा टाउको हल्लाएँ । उनी उठेर हिँडिन् । उनकै पाइलासँगै मेरो मुटु हिँडिरहेको आभास भयो । सामुमा जब्बर बन्ने तर परोक्षमा सबैभन्दा बढी तड्पिने रोग मलाई नै लागेको रहेछ ।
घोरिइरहँदा एउटा विचार मनमा आयो । मेरो नजिकको स्वजातीय मित्र प्रकाश विराटनगरमा बसेर पढ्थ्यो । गाउँघरमा असल शीलस्वभावको ठिटो भनेर चिनिएको थियो । उसलाई भेटेर शिरदेखि पुछारसम्मका कुरा बताएँ ।
कुरा सुनेर सुरुमा उसले धाप मार्यो । केही बेरमै उछिट्टिने गरी मलाई धकेल्यो । म अवाक् भएँ ।
“धत् राजे ! तँ मर्द होइनस्, नामर्द रहेछस् । जे पर्छ, पर्छ । आँट गर्, म छु । पछि हटिस् भने म तेरो खुट्टा काट्छु ।”
कुरा सुनेर मैले हत्तपत्त आफ्नो खुट्टा हेरेँ ।
ऊ हाँस्यो । दुई कदम पछि सर्यो र अलिक ठूलै स्वरमा भन्यो, “तँ कत्ति सरल छस् । तेरो सरलता र अकर्मण्यता देख्दा तँलाई मालतीले कसरी मन पराई, मलाई नै शङ्का लाग्न थाल्यो ।”
उसले आफूलाई प्रेमविवाहमा सफल भएको व्यक्तिका रूपमा अर्थ्यायो । अहिले लक्ष्मीजस्ती सुन्दरी स्त्री आफ्नो सेवामा खटेकी र छोराकी महतारी भएर आफ्नो जीवनमा सदाबहार वसन्त ल्याइदिएको झलक दिन पनि भुलेन ।
वास्तवमा ऊ एक सफल व्यक्तिका रूपमा चिनिएको थियो । परिवर्तनकारी काम जसले गरे पनि सघाउनका लागि जोखिम मोल्न ऊ तयार थियो ।
उसले हाम्रो जोडी बाँध्नका लागि जस्तोसुकै खतरा पनि काँधमा बोकेर हिँड्ने कुरा गरेको थियो । मैले पनि मुसुमुसु हाँसेर उसको प्रतिबद्धताप्रति साधुवाद दिएको थिएँ ।
ज्योति ! अब भने अलिक भिन्न पाराले घटनालाई अघि बढाउँदै छु—
लोकमार्गसँग खरचुहिया टाँसिएको छ । त्यसका वरपर आँपका रूखहरू लहरै ठडिएका छन् । यातायातका साधनहरू आफ्नै धुन र वेगमा ओहोरदोहोर गर्दै छन् ।
आँपका हाँगामा एक जोडी ढुकुर प्रेमालाप गर्दै छन् । मुन्तिर फेदमा गहभरि आँसु बनाएर म भने सिन्काले माटो खोस्रिँदै छु । चारैतिर असफलताले गाँजेको महसुस गरी घरिघरी आफ्नै पुर्पुरो ठोक्दै छु ।
त्यसैबिचमा सय मिटर पर एउटा बाइक रोकिन्छ । पुलुक्क हेर्छु । प्रकाश ‘हेलो’ भन्दै हात उठाउँछ । म त्यसलाई बन्दुक तेर्साएको सम्झन्छु । ऊ केहीबेर ठिङ्ग उभिन्छ । वरपरको तमासा हेर्छ । जोडी ढुकुर अर्कै रुखमा बस्छन् र आफ्नो पूर्वकर्मलाई निरन्तरता दिन्छन् । मलाई प्रकाशको आँखाबाट ओझल पर्ने मन हुन्छ । उठिहाल्नुभन्दा पनि निहुरिएर माटो कोट्याइरहनु मनासिब लाग्छ ।
ऊ नजिकै आउँछ । मेरो बेहाल परिस्थिति नियाल्छ । एक्कासि मेरा पाखुरी समाएर उठाउन खोज्छ । म अझ लुते भइदिन्छु । ऊ हार मान्छ र मेरै सामु टुक्रुक्क बसिदिन्छ । एक क्षण सन्नाटा छाउँछ ।
“भएको चाहिँ के हो, मित्र ?” ऊ मेरो मुख खोल्न खोज्छ तर म बोल्दिनँ । ऊ उत्तर पाउने प्रयास गर्छ । ढुङ्गो बोल्ला, म बोल्दिनँ ।
अलिक कडा स्वरमा पुनः प्रश्न तेर्साउँछ, “नबोली, नजुधी र नकुदी जित हात पार्छु भन्नु यस दुनियाँमा मूर्खता सिवाय केही होइन । तँ मसँग नबोली परिस्थितिलाई बसमा पार्छु भन्दै छस्, केवल एक्लो प्रयासले ?”
म भने निरुत्तर प्रकाशको अनुहार टुलुटुलु हेरिरहन्छु ।
प्रकाश उठ्छ । दस पाइला अघि बढ्छ । मुन्टो फर्काउँछ, आँखा गाडेर मलाई नै हेर्छ र भन्छ, “साथीलाई आपत् परेको छ भनेर साथ दिन आएको, ऊ भने शत्रुभावले एकोहोरो हेरिरहन्छ !”
यस पटक भने आशावादी भएर म टाउको उठाउँछु तर वाक्य निकाल्न सक्दिनँ । ऊ नजिकै आउँछ । मेरा आँखाको आँसु पुछिदिन्छ र भन्छ, “तँ नबोल् ! मैले तेरी मालतीसँग दुई घण्टा कुराकानी गरेर निष्कर्षसहित आएको छु । भोलि साँझ नेपाल टेलिभिजनबाट ‘रामायण’ कार्यक्रम प्रसारण भइरहेको समयमा उनी कसैले थाहा नपाउने गरी घरबाट निस्कन्छिन् । तैँले उनलाई कल्याणपुर चोकमा ल्याउनू । विराटनगर लगेर लुकाउने काम मेरो भयो । यहाँको रिसराग र चहलपहल साम्य भएपछि आएर मालतीसँग बिहे गर्नू ।”
उसका कुरा सुनेर म उठेँ । फिस्स हाँसेँ र आँसु पुछेँ, अनि मित्रलाई आफ्नो बाहुपासमा आलिङ्गनबद्ध पारिरहेँ ।
ज्योति ! अर्को प्रसङ्ग यसरी अघि बढ्छ—
लोकमार्गमै टाँसिएको कल्याणपुर चोकलाई एघार बजे रातको अन्धकारले खर्लप्पै निलेको छ । म र मालती दुई प्राणी हर्दम पश्चिमतिर हेरिरहेका छौँ । मोटरसाइकल आयो कि आँखा च्यातेर नियाल्छौँ । ठूला गाडी आउँदा भने उत्ति साह्रो हेक्का राख्दैनौँ ।
दुई घण्टे प्रतीक्षा मालतीलाई सकस हुन्छ । उनी भुइँमै थ्याच्च बस्छिन् । म पनि उनैलाई साथ दिन्छु । दुवैले दोस्रो पटक एकअर्कालाई स्पर्श गर्छौँ । अपूर्व आनन्दानुभूतिले दुवै पग्लिन्छौँ ।
डर भाग्छ, उमङ्ग छाउँछ । मालती अझ मुलायम बन्छिन् । म भने कठोर बन्न पुग्छु र मुख खोल्छु, “तीतो सकिएपछि मीठो अवश्य आउँछ मालती ! म वरपरका काँडा पन्छाएरै छाड्छु । सिर्फ तिमी मभित्र प्राण भरिराख ।” म दह्रो मुट्ठी बनाउँछु ।
“प्रिय ! अनर्थ नसोच । दुःख दिन्छन् । मेरा बाबुको अधर्मी मन तिमीले देखेका छैनौ । तिमीले आवेगमा आएर सत्य देखाइदियौ भने मेरा करङ बाँकी रहने छैनन् । खोक्रो इज्जतको बचावटमा भन्दै तिम्रा हातगोडा पनि सोझा राख्ने छैनन् । कालो मन भएकाहरूलाई सिद्धान्तले जित्न सकिन्न । हार मानेरै बरु जित हात पार्न सकिन्छ ।”
मालतीको यस सैद्धान्तिक मार्गलाई अनुसरण गर्न तयार भएको भावमा म मनोद्गार प्रकट गर्छु, “ठीक छ प्रिय ! प्रकाशले जहाँ लुकाउँछ, लुक्नू । उसमाथि मलाई पूरा विश्वास छ । दुई-चार दिनमा परिस्थिति साम्य भएपछि लुक्दैछिप्दै म आउँछु, अनि भूमिगत भएरै पनि हामी दुई आनन्दले गुजारा गरौँला ।”
त्यत्तिकैमा प्रकाश मोटरसाइकलमा आइपुग्छ । “ढिलो भएकामा सरी” भन्दै दस हात परै उभिन्छ । म एक चिम्टी माटो उठाउँछु । मालतीको सिउँदोमा लगाउँदै ठूलै स्वरमा भन्छु, “यस धर्ती र सुनसान रातलाई साक्षी राखी आजैका मितिदेखि मालतीलाई आफ्नी जीवनसंगिनीका रूपमा वरण गर्दछु । र, मित्र प्रकाशका जिम्मामा केही दिनका लागि सुम्पँदै छु ।”
प्रकाश ताली बजाउँछ । मालती बाइकको पछिल्तिर बस्छिन् । प्रकाश तीव्र वेगका साथ बाइक पूर्व दिशातिर हुइँक्याउँछ । म हेरेको हेर्यै रहन्छु ।
त्यति मात्र होइन ज्योति ! प्रकाशले बताएअनुसार त्यसपछिका घटना सुन—
रातको बाह्र नाघेको सङ्केत घण्टीको आवाजले दिन्छ । मोटरसाइकल तीव्र वेगमा अघि बढ्दै छ । भारदहको कङ्कालिनी मन्दिरको गेटमा पुगेपछि बाइक रोकिन्छ ।
मन्दिर एक्लै खडा छ । न पुजारी छ, न भक्तजन नै ! सुनसान रातमा मन्दिर कठ्याङ्ग्रिँदो जाडोमा छ । यता प्रकाश एक्लै आफ्नै लोकमा छ, उता मालती भयग्रस्त संसारमा एक्लै हराइरहेकी छिन् ।
प्रकाश कसरी मालती र राजदेवको विश्वास जितिराखूँ भन्ने सोचमा छ । अर्कातिर विराटनगरमा महिलालाई लुकाएर राख्न पनि सकस सम्झन्छ । नलिऊँ, जिम्मा लिइसकेपछि खुट्टा कमाउनु हुन्न भन्ने सोच्न पुग्छ ।
ऊ मन्दिरबाहिरै उभिन्छ र मनोद्गार फलाक्न थाल्छ, “ए कङ्काली माई ! तिमी यस मन्दिरभित्र छ्यौ वा छैनौ, त्यसमा विश्वास र अविश्वास गर्ने कुनै कारण छैन । तिमी हरेक भक्तजनका मनमनमा विराजमान छ्यौ, त्यही ठूलो कुरा हो । म न तिम्रो भक्त हुँ, न विरोधी नै हुँ ! म मात्र तटस्थ मनोदशा लिएर संसारसँग जुधिरहेको ठिटो हुँ ।”
ऊ उभिएको उभियै, हात जोडेको जोड्यै खडा हुन्छ । मालती भने ‘के गरूँ र कसो गरूँ’को मनोदशामा अल्झिरहन्छिन् ।
प्रकाश फलाक्दै जान्छ, “माते ! तिमी सङ्कट निवारक हौ रे ! पीरव्यथाले आक्रान्त भएकाहरूलाई सांत्वना दिने काम गर्छ्यौ रे ! तिमीले अरूको केके काम गर्यौ, त्यो तिमी नै जान । तर, आज मेरो कुरा सुन र जे गर्न सक्छ्यौ गरिदेऊ !”
त्यतिबेलै मन्दिरबाट आत्तिएर परेवा उड्न थाले । सायद ढाडे बिरालाले बास बसेका परेवाहरू पक्रन खोज्दा प्राण बचाउन भागेका हुँदा हुन् । मालती त्यो दृश्य हेर्नमै व्यस्त रहिन् । प्रकाश भने परेवा उडेतिर पुलुक्क हेरेर फेरि आँखा चिम्लन पुग्यो ।
“होइन ए माते ! तिम्रा शरणमा परेका यी परेवाहरू प्राणको भिक माग्दै छन् । मलाई भन्दा ठूलो आपत् तिनलाई छ । पहिले तिनको ज्यान बचाऊ, अनि मेरा कुरा सुन ।”
नभन्दै परेवा उड्न छाडे । मन्दिर परिसर चकमन्न भयो । पूर्व-पश्चिम लोकराजमार्गमा पातला गाडीहरू दगुरेको आवाज प्रस्टै सुनिन्थ्यो । खै, कताबाट हो कुन्नि, बुढाबूढी मान्छे खोकेको आवाज आइरहेको थियो ।
उसले आवाज अलिक उच्च पार्यो, “कङ्कालिनी माई ! म मधेसको दलित ठिटो हुँ । दुई-चार अक्षर पढेको थिएँ, सुशील व्यवहारले अरूको मन हरण गरेको थिएँ । त्यसैले जागिरको सिलसिलामा पहाड पुगेँ । त्यहाँ बाहुनकी छोरीलाई मन पराएँ । बिहेको प्रस्ताव राखेँ । उनी लजाइन् । त्यसलाई मैले स्वीकारोक्ति मानेँ र उनका अभिभावकसँग कुरा राख्नुपर्ने ठानेँ ।
सुन्छ्यौ माते ! मलाई तिनीहरूले के भने ? म मसानघाट कुर्ने जाति रे ! म शूद्र रे ! मेरो मनमा क्रान्ति, बहादुरी र परिवर्तनका कुरा आउनु पनि पाप अरे ! दलित भनेर सरकारले करुणावश दिएको जागिरबाट दम्भ देखाउन सुहाउन्न रे ! अझ छोरीचेलीमाथि दृष्टि राखे निचोरेर मेरा आँखा निकाल्ने रे ! अझ आधापाटो शरीर जलाएर पहाडबाटै लखेट्ने रे !
म चुपचाप थन्किएँ । गर्ने काम गरेकै हो, एक किसिमले साहस गरेकै हो । नमिलेपछि मरिहत्ते गर्नु ठीक छैन, बरु नयाँ तरिकाले काम गर्नुपर्ला भनेर चुपचाप बसेको थिएँ ।
एक दिन तिनै दिलमाया मकहाँ आइन् र घरको खम्बामा छलिँदै भन्न थालिन्, ‘ए सर ! अस्ति तपाईँले के भन्नुभएको थियो ?’
म सकसमा परेँ । नबोली भएन र भनिदिएँ, ‘केही होइन, त्यत्तिकै ख्यालठट्टा गरेको !’
उनले लाडे पाराले भनिन्, ‘भन्ने बेलामा अर्कालाई केके जाति भन्ने ! अहिले चाहिँ तर्कने ! कस्तो मान्छे तपाईँ त !’
‘भो, भो ! मलाई तपाईँका पिताश्रीले झन्डै काँचै चपाए । मैले औकातभन्दा ठूलो कुरा सोचेँ रे ! समाजको रीतिथितिमा प्रश्नचिह्न तेर्साएँ रे ! अहिलेलाई ती कुरा मैले बिर्सिदिएँ ।’
उनी रिसाइन् र अर्कापट्टी मुन्टो फर्काएर भन्न थालिन्, ‘तपाईँ पापी हो, तपाईँ कायर हो । तपाईँ नामर्द र डरपोक हो । तपाईँ पुरुष होइन, नपुंसक हो । तपाईँ यहाँ नआएकै भए बेस हुन्थ्यो, अझ धर्तीमै नजन्मेको भए बेस हुन्थ्यो ।’
उनी घुक्कघुक्क गर्न थालिन् र आँसु पुछ्दै त्यहाँबाट फर्कने उपक्रममा लागिन् । मैले हत्तपत्त भनेँ, ‘दिलमाया ! आफ्नो दिल किन दुखाउँछ्यौ ? मैले कुनै अपराध गरेको छैन, कसैलाई जबर्जस्ती गरेको पनि छैन, कसैको भावनामा खेलबाड पनि गरेको छैन । सोझो राजमार्गमा हिँड्दाहिँड्दै कसैलाई ठेस लागेको भए हात जोडी माफी माग्छु । कृपया मदेखि नरिसाउनुस् ।’
मेरो बोली सिद्धिन नपाउँदै उनी अडिइन् र मनजिकै आइन् । गहिरो श्वास फेरिरहिन् र मसँग आँखा जुधाइरहिन् । त्यस बेलासम्ममा उनको लज्जा भागिसकेको थियो; तर उनले कालीको रूप धारण गरेकी थिइन् । अब डराउने पालो मेरो थियो, अब सिद्धान्तच्युत हुने पालो मेरो थियो ।
उनले भनिन्, ‘के रे ! माफी रे ! अर्काको भावनामा खेलबाड गरेर माफी रे ! अर्काको मनमा सुतेका सपनाहरू जगाइदिएर अलपत्र छाड्दा गल्ती भएकै छैन रे ! भन्न पनि कसरी सकेको !’
मेरो मन काँप्न थाल्यो, आँत सुक्न थाल्यो । म साँचैको मन्दबुद्धिको हुन पुगेँ । बरु उनका पितासँग सहजै कुराकानी गरेको थिएँ, सुनेका अप्रिय कुराहरूलाई प्रिय रूपले श्रवण गरेको थिएँ । अहिले भनिँदै गरेका कुराहरू सुनेर आफ्नै जहाज डुब्दै छ जस्तो लाग्यो ।
‘के गल्ती भयो ? सुधार गर्नुपरे गर्छु; तर प्रस्ट भन्नुस् न दिलमायाजी !’ मनमा जस्तोसुकै आँधी चले पनि सहज ठानेको आभास दिँदै मैले मुख खोलेँ ।
उनले तत्कालै केही सहज भएर भनिन्, ‘तपाईँ डराउनुभयो । अब म नै भन्छु— ए प्रकाश सर ! तपाईँ मलाई बिहे गरेर तराई मधेस लग्नुहुन्छ ? म तपाईँकी धर्मपत्नी बनेर जीवन बिताउन हरतरहले तयार छु । आँट गर्नुस् ! हामीले आँटे सगरमाथा मुट्ठीमा कैद गर्न सक्छौँ ।’
ए माते ! म धर्मसङ्कटमा फसेँ । निकैबेर घोसेमुन्टो लगाएर सोचिरहेँ— दिलमायाका कुरा आँटिला छन् । संसारसँग लडूँला, भेटेको पीडालाई आशीर्वाद सम्झी तन्तनी पिऊँला; तर दिलमायाको कोमल दिललाई चोट नलगाई कसरी सुरक्षित राख्न सकूँला ? मेरै घरपरिवारले, मेरै गाउँसमाजले, मेरै नातागोताले प्रत्यक्ष-परोक्ष रूपमा उनको दिल दुखाउने काम अवश्य गर्छन् । उनका निर्दोष आँखा कहिल्यै ओभाउँदैनन् । उनका माइतीपट्टीकाले ‘कालो मदिसेलाई रोजिछे मोरीले’ भनेर हर्दम चिथोर्छन् । अहँ ! म यो काम गर्न सक्दिनँ । हुन्न, बन्दै हुन्न !
मैले मनमा मात्र कुरा खेलाएको र मुख नखोलेको देखेर उनैले भनिन्, ‘के सोच्नुहुन्छ ? छोरा मान्छेले चिताएपछि चितायो, चितायो । अघि लागेर हिँड, म पछि लाग्छु भन्नुस् न !’
‘हुन्न, हुन्न ! बिल्कुलै हुन्न ! म आफ्नो इच्छा र खुसीका लागि तिमीलाई जीवनभरि कष्ट हुने काम गर्न सक्दिनँ । तिम्रो सुकोमल अनुहारमा आँसुको धारा बगिरहेको पचाउन सक्दिनँ । समाज परिवर्तनको नाममा यहाँका मान्छेहरूको मनमा आक्रोशको ज्वाला दन्काउन चाहन्नँ ! त्यत्रो जोखिम मोल्ने साहस अहिले मसँग छँदै छैन ।’
मेरा कुराले उनी अझ पो रन्थनिन् र भन्न थालिन्, ‘अर्काको सपना जगाएपछि तपाईँले सबै कुरा सहनुपर्छ । अब म नै तपाईँको मनलाई अपहरण गर्छु । म यहाँबाट टसकोमस नभई बसिरहन्छु । अब प्रस्ताव तपाईँ होइन, म राख्छु । तपाईँ होइन, म तपाईँको घरपरिवार र समाजलाई रिझाउँछु । हण्डर भेटे पचाउँछु, ठक्कर पाए सहन्छु । तपाईँको खुसीका लागि होइन, मेरो खुसीको लागि अब हामी पहाड र तराई मिल्नुपर्छ । ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने उक्ति व्यवहारमा देखाउनुपर्छ ।’
म निरुत्तर भएको मौका छोपेर उनले अगाडि थपिन्, ‘रिसाउने रिसाउँदै गर्छन्, पुरातन सोच र समझको ओड्ने ओढेर नवीन युगमा प्रवेश गरेको स्वाङ रच्नेहरू रच्दै गर्छन् । हामी मौलिक काम गर्छौँ, आफ्नो पाराले बाँच्छौँ । समाजले देखाएका राम्रा पाटा र बाटामा रमाएर दगुर्छौँ । युग नसुहाउने पश्चगामी पाटालाई कुल्चिँदै अघि बढ्छौँ ।’
आखिरमा उनकै जित भयो । परिणाम भने मेरो हातमा छ, मेरो साथमा छ । र, अझसम्म उनले नै गाउँसमाजलाई रिझाएकी छिन् । मेरा मातापितालाई सुखसन्तोष दिएकी छिन् । र, मेरो एक मात्र पुत्रकी आमा बनेर मलाई चाहिँ माथिल्लो शिक्षा आर्जनका लागि विराटनगर पठाएकी छिन् ।
कङ्कालिनी माता ! मैले मेरा कुरा तिमीलाई सुनाएँ । अब मेरोजस्तो सरल र सफल तवरले राजदेव-मालतीको घरजम गराई देऊ । र, एक-एक गर्दै पहाड र मधेसलाई जोड्दै हरेकलाई हरेक कुरामा अपनत्वको भावना जगाई देऊ, माता !”
मन्दिरमा सुनेको कुराले मालती भने एकोहोरो टोलाइरहेकी छिन् । उनका आँखामा आँसु भरिएका छन् । प्रकाशले ‘भाउजू’ भन्दा पो उनी झसङ्ग हुन्छिन् र बाइकतिर लम्किन्छिन् ।
मन्दिरअगाडिको सप्तकोशी आफ्नो अथाह विशेषताले युक्त भएर बगिरहेकी छिन् । बाइकका दुई प्राणी मालती र प्रकाशलाई पनि शीतलता अनुभूत गराउँदै छिन् ।
त्यत्तिकैमा कोशी ब्यारेजमा तैनाथ सुरक्षाकर्मीको सिठी बज्छ । बाइक रोकिन्छ । सोधपुछ सुरु हुन्छ । प्रकाश अलमलमा पर्छ, मालतीको शिर निहुरिरहन्छ ।
“उहाँ मेरी भाउजू हुनुहुन्छ । दाइ विराटनगरमा सिकिस्त हुनुहुन्छ, त्यसैले रातारात हिँड्नुपरेको हो साहब !” सत्यमा थोरै असत्य मिसाएर प्रकाश मुख खोल्छ ।
उमेर कलिलै देखेर सुरक्षाकर्मी मालतीको सिउँदो नियाल्छ । सिन्दुरको ठाउँमा माटो लेपेको पाउँछ । ‘केही त अवश्य गडबड छ’ भनेर आशङ्का गर्छ । “रातारात नेपाल टपाएर भारतमा नेपाली चेली बेच्ने दलाल त होइनस् ?” भनी केरकार गर्छ ।
निकै बेरको गलफत्तीपछि प्रकाश मालतीको गोडामा ढोग्दै भन्छ, “हाम्रो संस्कारमा आमा र भाउजूमा केही फरक छैन । मैले मालती भाउजूलाई आमा नै सम्झेको छु । आमालाई बेच्ने पुत्र आजसम्म जन्मेको छैन । हामीलाई छाडिदिनुस् साहब !”
अन्ततः दुवै मुक्त हुन्छन् र अघि बढ्छन् । इनरुवामा समेत उस्तै स्पष्टीकरणले काम गर्छ । विराटनगर क्षेत्रमा व्यवधान नआएकाले टाउको दुखाउनुपर्दैन । गन्तव्यमा पुगेको अनुभूति भएपछि मालती लामो श्वास फेर्छिन् ।
प्रकाश भने मेरो नासो मालतीलाई सुरक्षित रूपमा अज्ञातस्थलमा ल्याउन र लुकाउन सकेकोमा मख्ख परिरहन्छ ।
मालती र म छुट्टिएको पनि हप्तादिन नाघेको हुन्छ । दुवै पूर्व र पश्चिम दुई किनारामा रहेर एकअर्कालाई सम्झिरहन्छौँ । आठौँ दिन मालती विराटनगरको कुनै साइबर छिर्छिन् र हत्तपत्त कम्प्युटरको किबोर्डमा औँला खेलाउन थाल्छिन् ।
प्रिय राजदेव !
तिमीले लगाइदिएको कल्याणपुरे माटाको सिन्दुरले म सौभाग्यवती भएँ । त्यस भावनात्मक बन्धनले मलाई अर्को सौभाग्य दिलायो । मैले आफूभन्दा उमेरमा जेठो छोरो पाएँ । अहिले तिम्रो प्रिय साथी प्रकाश मेरो छोरो बनेको छ । हरतरहले मेरो हेरचाह गरिरहेको छ । म त त्यसकै ऋणले थिचिने भइयो भन्दै अत्तालिँदै छु ।
म त भन्छु— कसैसँग जुध्न नजाऊ । जुधेर प्रेम सफल हुँदैन । झुकेर प्रेमको बिरुवा टुसाउँछ र झाङ्गिन्छ । प्रेम आगो होइन, पानी हो; सिर्जनाको बीज हो, विनाशको प्रतीक होइन । प्रेम अङ्कुराउन खोज्छ, चाम्रिन चाहँदैन । प्रेम दुःखको छहारीमा बसी सुखको साम्राज्य स्थापना गर्ने हतियार हो । हुन त प्रेममा थोरै स्वार्थ हुन्छ, यसले अवसरको पनि खोजी गर्छ । प्रेम प्राप्ति मात्रै होइन, समाप्ति पनि हो । होससहित थोरै पाउनु र धेरै गुमाउनुको अर्को नाम नै प्रेम हो ।
तसर्थ राजदेव ! हाम्रो प्रेमको विजयका लागि मशाल बोक्ने काम गर्दै नगर । तिमी त्यहाँ एक्लै छौ, म यहाँ एक्लै छु । हामीलाई जोड्ने प्रकाश छँदै छ । उसलाई काम गर्न देऊ । भनेको मान्छौ भने तिमी झट्टै मकहाँ आइदेऊ ।
तिम्री,
मालती
उता म भने प्रेम प्राप्तिका लागि विद्रोही बन्ने ध्याउन्नमा हुन्छु । इमेल-पत्र पढेपछि भने भावविभोर बन्छु । प्रकाशको निःस्वार्थ प्रेम र सहयोगका लागि शिर झुकाउँछु, मनको आगो शान्त बनाउँछु ।
र, मुखबाट आवाज निकाल्छु, “प्रिय मालती ! म संसारसँग झुक्दै र लुक्दै तिमीकहाँ अवश्य आउँछु । केवल प्रतीक्षा गर । प्रतीक्षा गर्न गाह्रो हुन्छ, तर त्यसले दिने फल स्वादिलो हुन्छ ।”
ढेडुझुलाबाट मालतीका बाबुले पठाएका आधा दर्जन मान्छे आएर मेरो घर घेर्छन् । मालतीलाई बोलाउँछन् । म सुनेर पनि नसुनेझैँ गर्छु । मेरी आमा हर्दम ‘मालती ! ए मालती !’ भनेर बोलाएको सुन्नुहुन्छ ।
उहाँ आँगनमा निस्कनुहुन्छ र ‘मालती’ नामको कुनै मान्छे नभएको जानकारी दिनुहुन्छ । उनीहरू घर जाँच गर्न खोज्छन् । आमा मलाई बोलाउन थाल्नुहुन्छ ।
म पनि आङ तन्काउँदै उठ्छु र आँगनमा देखापर्छु । अब उनीहरू ममाथि नै खनिन खोज्छन् । कोही के भन्छन्, कोही के भन्छन् । म जुधूँ कि भागूँ भन्ने द्विविधामा अल्झिन्छु ।
झट्टै मालतीले भनेको सम्झन्छु— प्रेम त सिर्जनाको संवाहक हो, विध्वंस त्यसको शत्रु हो । शत्रुलाई दबाउने हो भने प्रेमको जात जान्छ र प्रेम घृणामा परिणत हुन्छ ।
तत्कालै म अघि बढ्छु र भन्न थाल्छु, “हो, मैले मालतीसँग बिहे गर्न सोचेको थिएँ । उनी पनि तयार थिइन्, उनका मातापिता तयार भएनन् । तसर्थ मैले त्यो अध्याय त्यहीँ भुलिदिएँ । यो कुरा मेरा परिवारका कसैलाई पनि थाहा छैन । तपाईँहरू फर्कनुस्, आमालाई तनाव भइसक्यो ।”
एउटा भुसतिघ्रे अघि सर्छ, “मालती हाम्रासामु ल्याऊ । हामी फर्किहाल्छौँ, बस् भने पनि बस्दैनौँ ।”
“म यहाँ छु, घरमा छिन् भने खोजेर लैजानू । म केही जान्दिनँ । मैले नपाउने भएपछि मालतीलाई उहिल्यै बिर्सिसकेँ,” म बचाउका लागि झुटो व्यहोरा सुनाउँछु ।
उनीहरू घरभित्र छिर्छन् । चारैतिर खोज्छन्, कतै फेला पार्दैनन् र रित्तै ढेडुझुला फर्कन बाध्य हुन्छन् ।
म युद्ध जितेको सिपाहीजस्तो छाती फुलाउँछु ।
दिनैपिच्छे मानिसहरू अप्रत्यक्ष रूपले मेरो पछि लाग्न थाले । म के गर्छु, के भन्छु र कस्तो क्रियाकलाप गर्छु— एक-एक कुराको जानकारी लिन थाले ।
म पनि के कम ! केही नभएजस्तो चुपचाप र शान्त मुद्रामा रहन थालेँ । एक कान दुई कान हुँदै मालती र मेरो चर्चा गरुराहा र ढेडुझुला गाउँभरि फिजियो ।
कोही हेलमेल भएका त कोही सामान्य चिनजानका मान्छेहरू आएर मलाई केरकार गर्न थाले । म पनि केही थाहा नभएको भनेर तर्कँदै गएँ ।
मालतीलाई खोज्ने क्रम तीव्र भयो । स्थानीय प्रहरी-प्रशासन पनि बेलाबेलामा आएर बुबाआमालाई केरकार र छेडखानी गर्न थाल्यो । मालतीलाई लुकाउन साथ दिएमा छिमेकीहरू पनि फस्ने भनेर प्रहरीहरूले डर देखाए ।
विद्यार्थी छँदा जानी-नजानी विद्यार्थी सङ्गठनमा रहेर काम पनि गरेको थिएँ । वैध वा अवैध रूपमा राखिएका हतियार सङ्कलन गर्ने र चमार जातिको जातीय पेसाका सामानहरू खोस्ने कामहरूमा म पनि संलग्न भएको थिएँ ।
त्यसैले एक समय मलाई प्रहरीले जङ्गल पसेको गिरोह अर्थात् माओवादीसँग लागेर लुटपाट गरेको आरोप लगाएर पक्रन खोजेको थियो । म भागेर बचेको थिएँ । मास्टरी काममा लागेपछि प्रहरीले मलाई खोज्न छाडेको थियो ।
मालती पक्षधरले पहिलेकै मुद्दा फेरि ब्युँताइदिएछन् । प्रहरी “राजदेव नामको माओवादी ठिटो खोई ?” भन्दै खोज्दै घरमै आएको थियो । त्यसबेला मलाई चिन्न सकेन र म फुत्किन सफल भएको थिएँ । यसरी मेराविरुद्ध ढेडुझुलावासी मात्र नभएर प्रहरी-प्रशासन पनि लागिपरेको थियो ।
एक दिन बिहानीपख उठेँ । गाउँघरका मानिसहरूको हर्दमको आवतजावत सम्झेँ । मान्छेपिच्छेका नानाभाँतीका अनर्गल कुराकानी सुनेँ । मेरै कारणले बुबाआमाले वाक्क मानेको ठानेँ । मालतीलाई सम्झेँ । सूर्य उदाउने समय नै भएको थिएन, म भने मुखै नधोई घर छोडेर हिँडेँ ।
गाउँनजिकै बाटामा प्रहरीहरूले मेरै निगरानी गरिरहेको पाएँ । फनक्क फर्केँ, नजिकैको काकाको घरतिर लम्केँ । प्रहरीको आवाज सुनिँदै थियो, “एइ केटा ! को होस् ? रुक् ! रुक् !” नसुनेझैँ गरेर म काकाको घरमा पसेँ ।
म देउताघरमा छिरेँ र आनन्दले एक कुनामा बसेर बाहिरका कुराहरू सुन्न कान ठाडो पारेँ । प्रहरीहरू मलाई पछ्याउँदै काकाको घरमा छिरे । म आत्तिन थालेँ, मुट्ठी बाँधेर आफूलाई नियन्त्रण गर्दै गएँ ।
प्रहरी हबल्दारले गर्धन तन्काएर हेर्यो र काकासँग भन्यो, “यहाँ एउटा ठिटो हामीलाई देखेर डराउँदै आएको थियो, कता गयो ? खोजी गर्न सघाओ, नत्र तिमीहरू पनि खोरमा पर्लाउ ।”
काका-काकी डराउनुभयो । आफूले कसैलाई पनि देख्दै नदेखेको कुरा जाहेर गर्नुभयो । उहाँहरूले जे भने पनि प्रहरीले पत्याएन र आफैँ धुइँपाताल लगाएर खोज्न थाल्यो ।
मेरो झन् सातो उड्यो । प्रहरी काकासँग अलमलिएको मौका पारेर म देउताघरबाट सरक्क निस्केर धानको कोठी भएको घरमा पसेँ । काकीले देख्नुभयो, डराई-डराई आउनुभयो र म लुकेको कोठीको मुखमा पटेरको गुद्री ओढाइदिनुभयो ।
प्रहरी देउताघरमा पस्न खोज्दा काकाले रोक्नुभयो । प्रहरीले कारण सोध्यो, काकाले देउता रिसाउँछन् भन्नुभयो ।
असईले रिसाउँदै भन्यो, “तिमर्का देउता रिसाए हामेरूले के गर्ने त ? हामेरू रिसायौँ भने तिमेर्को खैरात हुन्न, तिमर्का देउताले पनि बचाउन सक्दैनन् ।”
उसले देउताघरसमेत चेकजाँच गर्न आदेश दियो । बुट लगाएरै हुरुरु प्रहरी सबै घरमा पसे, लौराले घोचे । फोहोरी शब्द उच्चारण गरेर घरै थर्काए, मलाई भेटे ठाउँको ठाउँ नै उडाइदिने कुरा समेत गरे । म झन् भयभीत भएँ ।
निकै बेरपछि काका-काकीलाई चेतावनी दिएर प्रहरी निस्केर गयो । मेरो मन शान्त भयो । काकी आउनुभयो, गुद्री हटाउनुभयो र बाहिर आउन भन्नुभयो । बल्लतल्ल म निस्किएँ ।
काकाले सत्य कुरा बताउन कर गर्नुभयो । मैले पनि मालतीसँगको सम्बन्ध, प्रकाशको भूमिका र विराटनगर लगेर मालतीलाई लुकाएर राखेका सारा कुरा बताएँ ।
उहाँ छक्क पर्नुभयो र रु १०००/- सहित एक पोको थम्याउँदै भन्नुभयो, “राजदेव ! आब तुँ एत नई बैस । तुरुन्त बिलाठनगर जो आ कन्याके साथमे घरजम कर ! एत नई रुक ।”
मालतीलाई भेट्ने र उतै घरजम गर्ने भन्ने काकाको सल्लाह कसरी पूरा गर्नु भनेर चिन्ता गर्न थालेँ । त्यसभन्दा बढ्ता चिन्ता प्रहरीबाट कसरी छलिएर गाउँबाट निस्कनु भन्ने थियो ।
सूर्यका किरण देखापर्न थाले । चराचुरुङ्गी चिरबिराउन थाले । गाउँलेहरू पनि उठेर लैना वस्तुभाउ खोलेर कोही चौरी त कोही पोखरीतिर लान थाले । महिलाहरू भने टाउकामा बडेमानको हँडी र त्यसभित्र बेलुकाका जुठा भाँडाकुँडा बोकेर माझ्नका लागि पोखरीतिर लागे । बुढापाका लोटामा पानी बोकेर बाँसघारीतिर दगुर्न थाले ।
काकाकै सल्लाह मुताबिक सर्ट र पेन्ट खोलेर झोलामा हालेँ, हाफप्यान्ट लगाएँ । टाउकामा गम्छा बेरेँ, हातमा लामो लौरो लिएँ । भैँसी खोलेँ र त्यसैमाथि चढेर चौरीतिर लागेँ ।
बाटामा प्रहरीहरू थिए, उनीहरूले मलाई वास्तै गरेनन् । बरु मैले लगेको भैँसीलाई दुधालु रहेछ भनेर प्रशंसा गरे ।
म चौरीमा पुगेँ र उत्रेँ । प्रहरीहरू निकै पर थिए, मतिर हेर्दै पनि थिए । भैँसी चर्न थाल्यो, अरूका भैँसीहरू पनि थिए । अरू गोठालाहरूले एक्कासि मलाई देखेर ट्वाल्ल परेर हेरिराखे । म भने प्रहरीबाट छलिएर घुमाउरो बाटो हुँदै राजमार्गमा निस्किएँ ।
काकाले पोकोपन्तुरोसहितको झोला ल्याइदिनुभएछ । लिएँ र गाडी चढेँ । वीरगञ्ज-विराटनगरको गाडी परेछ, छिट्टै विराटनगर पुर्यायो ।
विराटनगर शहरपूर्व रहेको भव्य मन्दिरको शिर उच्च छ । पूजाका लागि आउने आउँदै छन्, जाने जाँदै छन् । आ-आफ्नो श्रद्धा प्रकट गरी पुण्य आर्जन गरेको अनुभूति गर्दै छन् । मन्दिरको छहारीमा त्यसको पुजारी भने हात मल्दै छ ।
पुजारीसँग कुराकानी सुरु भयो ।
“पुजारीजी ! हामीलाई दलित भगवान्ले होइन, मान्छेले बनाएको हो । हामीलाई विवाह गर्न दिनुस्, सहयोग गर्नुस् । हाम्रो पवित्र सम्बन्धलाई गाढा बन्न दिनुस्, परमात्माले हजुरको कल्याण गर्नेछन्,” म हात जोडेको जोड्यै बिन्ती बिसाउँछु ।
“म धर्मको रक्षक हुँ, दलितलाई मनपरी गर्न दिएर भक्षक हुन सक्दिनँ । तिम्रो कुरा मानेर दलितलाई यहाँ विवाह गराइदिएँ भने मेरो कल्याणको त कुरै छाड, नरकमा समेत स्थान पाउँदिनँ,” पुजारी टसकोमस हुँदैन ।
जति गरे पनि पुजारी नरकको भय देखाएर पन्सिन्छ । प्रकाशलाई रिस उठ्छ । ऊ के भनूँ र कसो भनूँ भनेर द्विविधामा पर्छ । म र मालती भने किङ्कर्तव्यविमूढ भई टोलाइरहन्छौँ ।
प्रकाश अघि सर्छ, “ए पुजारी बाजे ! दलितले मन्दिरमा बिहे गर्न मनाही छ भनेर कुन शास्त्रमा लेखिएको छ ?”
प्रकाशको कडा स्वर सुनेर पुजारी अवाक् हुन्छ । त्यही मौकामा ऊ अगाडि भन्छ, “ल, तिमीहरूजस्तै धर्मका पाखण्डीहरूले लेखेको शास्त्रमा वर्जित होला; तर नेपालको कुन कानुनले दलित प्रवेश निषेध भनेर तोकेको छ ?”
“अधिकारका कुरा मसँग नखोज, आफ्नै खानदानसँग खोज । बढी क्रान्तिकारी कुरा नगर, नत्र…” पुजारी बोल्न रोकिन्छ ।
प्रकाश अघि सरिहाल्छ, “क्रान्ति होइन, सुधार खोजेको महाशय ! समाजमा हामी दलितले आफ्नो अस्तित्व खोजेको ! धर्मका ठेकेदार तिमीहरूजस्ताको हातमा समाजको रीतिथिति रहँउजेल हाम्रो मान्छे हुने हक कुण्ठित भइरहने निश्चित छ ।”
ऊ अझ विवाद गर्दै थियो, मालती अघि सरेर रोकिन् र प्रकाशलाई शान्त गराइन् ।
म भने तमासा हेरेको हेर्यै भएँ ।
पर कतैबाट घण्टको आवाज सुनियो । घुमेर हेर्दा एक कुनाबाट सानो मन्दिर देखापर्यो । त्यसैले पुकारा गरिरहेको आभास भयो ।
अन्ततः तीनै जना त्यहीँ पुग्यौँ । पुजारीसामु उही नमन दोहोर्याउँदै प्रकाशले हात जोड्यो, “हजुर ! ऊ मेरो साथी राजदेव राम हो, उहाँ मालती शर्मा हुनुहुन्छ । हामी सप्तरीका गरुराहाली हौँ ।”
पुजारीले मुख खोले, “अँ, अरू भन ! अनि मैले के-कस्तो सहयोग गर्नुपर्यो ?”
प्रकाशले मलाई बोल्न उकास्यो । म लजाएँ । ऊ नै भन्दै गयो, “खाट्टी कुरा के भने नि पुजारीजी ! यी दुवैलाई विवाहबन्धनमा बाँधिदिनुपर्यो । ठूलो आशा र भरोसाले हजुरसमक्ष आएका छौँ !”
केही बेर पर्खन सङ्केत गर्दै पुजारी ध्यानस्थ भए । पुजारी बाजे म र मालतीमा आफ्नै विगत देख्न थाल्छन् ।
एउटा ठिटो तल्लाघरे दर्जी दाइकी छोरी प्याउलीको हात समाएर दौडिँदो छ । पछिपछि बन्दुक तेर्साउँदै ठिटाका बुबा नभाग्न आदेश दिँदै छन् । केही बेरको दौडधुप एक भयङ्कर आवाजसँगै टुङ्गिन्छ ।
प्याउली “मरेँ नि आमा !” भन्दै ढल्छे । ठिटो काखमा मुन्टो राख्छ र हम्कन थाल्छ । पानी पियाउन खोज्छ, कतै देख्दैन । शरीर नियाल्दा कोखामा गोली लागेको ठम्याउँछ ।
बाबुतिर हेर्छ, ऊ घरतिर फर्किइसकेको हुन्छ । प्याउलीले उसकै काखमा प्राण छाडिसकेको थाहा पाउँछ । बाबु पर पुगुन्जेल थुक्छ र आफ्नै कपाल उखेलेर बाबुतिरै फ्याँकेर ठिटो अज्ञातस्थलमा विलीन हुन्छ ।
आँखा खोल्दा पुजारी पसिनाले निथ्रुक्कै हुन्छन् । आँखा राता-राता हुन्छन्, समस्यामा अल्झिएजस्ता देखिन्छन् । उनको चाउरिन लागेको अनुहारमा ती सबै कुरा स्पष्ट रूपले पढ्न पाइन्छ ।
उनी अनुहारको पसिना पुछ्छन् । उनी मेरो र मालतीको हात समाएर मिलाइदिन्छन् र मन्दिरको मूर्तिनेर लगेर वैवाहिक विधि पूरा गरिदिन्छन् ।
∎∎∎∎∎
क्रमशः


