पुस्तक समीक्षा: ‘बूढो समय’ भित्र फर्किँदा
मानव हृदयको सबैभन्दा कोमल, गहिरो र कलात्मक अभिव्यक्ति हो— कविता । मानिसले अनुभूति गरेका सुख, दुःख, प्रेम, वियोग, विद्रोह, आशा, सपना र जीवनका अनगिन्ती अनुभवहरू जब कल्पना, संवेदना र कलात्मक भाषासँग मिसिन्छन्, तब कविता जन्मिन्छ । त्यसैले कविता केवल शब्दहरूको संयोजन होइन; भावना र विचारलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने विशिष्ट साहित्यिक विधा हो । कवितामा जीवनको यथार्थ पनि हुन्छ र कल्पनाको उडान पनि । यसले पाठकलाई मनोरञ्जन मात्र दिँदैन, सोच्न, महसुस गर्न र जीवनलाई फरक दृष्टिकोणबाट हेर्न पनि प्रेरित गर्छ— र वास्तवमा गर्नैपर्छ पनि ।
असल कवितामा मौलिकता हुनुपर्छ । अरूको विचार वा शैलीको अनुकरणभन्दा आफ्नै अनुभूति र दृष्टिकोणको प्रस्तुति नै कविताको वास्तविक शक्ति हो । कविताको भाषा सरल भए पनि अर्थ गहिरो हुनुपर्छ । प्रतीक, बिम्ब तथा अन्य अलङ्कारहरूको सन्तुलित प्रयोगले कवितालाई अझ प्रभावशाली बनाउँछ । कवितामा लय हुनुपर्छ, चाहे त्यो छन्दबद्ध होस् वा मुक्तछन्द । त्यसरी नै कविताको प्रत्येक हरफले पाठकको मनमा कुनै न कुनै अनुभूति जगाउन सक्नुपर्छ । कविता पढिसकेपछि पनि त्यसका भाव, प्रश्न वा सन्देश पाठकको मनमा लामो समयसम्म बाँकी रहन सक्नु नै त्यसको सफलता हो ।
यसरी हेर्दा कविता साहित्यको एउटा विधा मात्र नभएर मानव आत्माको आवाज हो । यसले समाजको यथार्थ बोल्छ, समयको इतिहास लेख्छ, प्रेमको गहिराइ मापन गर्छ र पीडाको मौन भाषालाई शब्द दिन्छ । त्यसैले कविता भाव, कल्पना, कलात्मकता, लय र गहन सन्देशको सन्तुलित समन्वय भएको हुनुपर्छ, जसले पाठकको मन छोएर उसको चेतनामा दीर्घकालसम्म प्रभाव छाड्न सकोस् ।
‘बूढो समय’ बाबुराम श्रेष्ठ ‘यात्री’ (हालको नाम: निरुपम श्रेष्ठ) द्वारा लिखित कविताहरूको सङ्ग्रह हो । यो समकालीन नेपाली कविताको एउटा महत्त्वपूर्ण कवितासङ्ग्रह हो, जसमा समय, समाज, मानवीय सम्बन्ध, पीडा, विस्थापन, सङ्घर्ष, आशा र जीवनका अनेक आयामलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । यस सङ्ग्रहका कविताहरूले समयको परिवर्तनसँगै मानिसको संवेदना, मूल्य–मान्यता र सामाजिक यथार्थलाई गहिरो रूपमा चित्रण गर्छन् ।
यस सङ्ग्रहमा ‘बूढो समय’ केवल उमेर ढल्किएको समयको प्रतीक होइन, बरु इतिहासका अनुभव, समाजले भोगेका घाउ, स्मृतिहरू र परिवर्तनको साक्षी बनेको कालखण्डको प्रतीकका रूपमा आएको छ । कविताहरूमा सरल तर प्रभावशाली भाषा, सशक्त बिम्ब, प्रतीक र रूपकको प्रयोग गरिएको छ, जसले पाठकलाई गहिरो चिन्तन गर्न प्रेरित गर्छ ।
उनन्चासवटा कवितालाई एकै धागोमा उनेर तयार गरिएको सुन्दर माला हो— ‘बूढो समय’ । यसभित्र समावेश ‘भीडमा एक्लो उभिन्छु’ कवितामा कविले जीवनका अनेक चुनौती, सङ्घर्ष र उतारचढावका बीच पनि आफ्नो अस्तित्व र पहिचान खोज्ने मानिसको मनोदशा व्यक्त गरेका छन् । भीडमा हराउनुभन्दा आफ्नै पहिचान कायम राख्न एक्लै उभिनु नै आफ्नो साहस र स्वाभिमान भएको कविको धारणा छ । जीवनमा साथ छाड्नेहरू धेरै भए पनि उनी निराश नभई आफ्नो बाटोमा अघि बढिरहन्छन् । अन्ततः कविताले आत्मविश्वास, सङ्घर्षशीलता र आफ्नै पहिचानका लागि दृढ भएर उभिनुपर्ने सन्देश दिन्छ ।
त्यसैगरी ‘मकै पोल्ने आमै’ शीर्षकको कवितामा कविले जीवनभर दुःख, अभाव र सङ्घर्षसँग जुधिरहेकी एक वृद्धा आमाको यथार्थ चित्रण गरेका छन् । फुलेको कपाल, चाउरी परेको अनुहार, कमजोर शरीर र पसिनाले भिजेको श्रमले भरिएको उनको जीवन गरिबीको प्रतीक बनेको छ । उनी मकै पोलेर आफ्नो जीविका चलाउँछिन् र परिवारका सपना पूरा गर्न निरन्तर सङ्घर्ष गरिरहेकी छन् ।
कविताले गरिब मानिसहरूको पीडा र उनीहरूप्रति समाजको उपेक्षापूर्ण व्यवहारलाई पनि उजागर गरेको छ । मानिसहरू उनको दुःख बुझ्नुको सट्टा उल्टै हेप्छन् र तिरस्कार गर्छन् । यति धेरै कठिनाइका बीच पनि उनी आफ्ना सन्तानको भविष्यका लागि निरन्तर मिहिनेत गरिरहन्छिन् । यसरी कविताले श्रमको सम्मान, गरिबीको यथार्थ, मातृत्वको त्याग र सामाजिक असमानताको मार्मिक चित्र प्रस्तुत गरेको छ । कविता प्रगतिशील छ, यसलाई प्रगतिवादी भन्न पनि नमिल्ने होइन ।
यस सङ्ग्रहका कविताहरू दुःख, विद्रोह, अभाव र श्रमको सौन्दर्य झल्काउने खालका छन् । मृदुभाषी तथा सरल स्वभावका कवि ‘यात्री’ महलमा बसेर भुइँमान्छेका कविता लेख्ने कवि होइनन्, बरु भुइँमै बसेर भुइँको यथार्थ र सौन्दर्य लेख्ने कवि हुन् ।
समग्रमा, ‘बूढो समय’ जीवन र समाजको यथार्थलाई संवेदनशील ढङ्गले प्रस्तुत गर्ने उत्कृष्ट कवितासङ्ग्रह हो । यसले पाठकलाई समयको मूल्य, मानवता, परिवर्तन र जीवनप्रतिको गम्भीर दृष्टिकोण विकास गर्न प्रेरित गर्छ ।
—गान्तोक, सिक्किम—


